साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथाकार मनोहर पोखरेललाई मातृशोक

साहित्यका अनेकन विधामा फुटकररूपमा कलम चलाए पनि मूलतः लघुकथाका क्षेत्रमा ख्यातिप्राप्त मनोहर पोखरेललाई मातृशोक परेको छ ।

Nepal Telecom ad

सप्तरी, २०८१ बैशाख २१ । साहित्यका अनेकन विधामा फुटकररूपमा कलम चलाए पनि मूलतः लघुकथाका क्षेत्रमा ख्यातिप्राप्त मनोहर पोखरेललाई मातृशोक परेको छ ।

पोखरेलकी ८२ वर्षिय आमा मेनकादेवी पोखरेलको २०८१ बैशाख १९ गते निधन भएको थियो । उहाँको जन्म भने वि.सं. १९९९ बैशाख १ गते भएको थियो ।

मनोहर पोखरेलको पारिवारिक वातावरण नै प्रजातान्त्रिक आन्दोलनबाट प्रभावित थियोे । विद्यार्थीकालदेखि नै अनेक पटकका जनआन्दोलनमा होमिएका पोखरेल पेशाले पत्रकार र मानवअधिकारकर्मी हुन् । हर्दम जनआन्दोलनमा सरिक भएको देख्दा आमा मेनकादेवीमा वितृष्णा जाग्नुको साटो आशक्ति जागेको एउटा रोचक घटना छ-

२०६२/२०६३ सालको लोकतान्त्रिक आन्दोलनमा अग्रपंक्तिमा मनोहर पोखरेल सरिक थिए । खासगरी सप्तरीका जनतालाई जनचेतना जगाउँदै मनोहरले आन्दोलनलाई उचाइमा पुर्‍याउने काम गर्दै थिए । त्यसबेला उनी पक्राउ परे । प्रहरीले अरूलाई छाडे पनि उनलाई छाडेन । मुद्दा चलायो र दोष ठहर्‍याई जेलचलान गर्यो । आन्दोलनले झन् उग्र रूप लियो । यस घटनाको विरोधमा राजविराजमा ‘जेल भरौँ’ आन्दोलन चल्यो । कयौंले गिरफ्तारी दिए ।

बिग्रँदो माहोल सपार्न प्रशासनले आत्मसमर्पण गर्न भन्यो मनोहरलाई । उनी आफ्नो पूर्ववत् अडानमा चट्टान बने । मनोहरका पक्षधरले नि:सर्त सम्मानजनक रिहाइ गर्न भने । यद्यपि प्रशासनले अनेकौं तिकडम अपनायो । एउटा झुकाउने अर्को सम्मानजनक रिहाइ खोज्ने हुँदा समस्या बल्झिरह्यो । आमा मेनकादेवीलाई छोराको तर्फबाट सार्वजनिक माफी माग्न लगाई मनोहर र उनका समकक्षीलाई रिहाइ गर्ने कदम चाल्न पुग्यो प्रशासन ।

त्यसबेला उहाँले भन्नुभएको थियो- “मेरो छोराले नेपाल आमालाई रुवाउने कर्म गरेको रहेछ भने देशको कानुनले कुवाओस् । हँसाउने काम गरेको रहेछ भने तपाईंहरू नै उसको नीतिको अनुयायी बन्नुस् । यसमै सबैको भलो छ । मलाई विश्वास छ, मनोहर मेरो कोखबाट जन्मेको भए पनि नेपाल आमाको छोरो हो । जनताको हितमा डटेर लाग्छ । पिठ्युँ फर्काएर कायरपन देखाउँदैन । उसलाई मैले यस्तै पारिवारिक संस्कार दिएकी छु ।”

यस्तो दृढता व्यक्त गरी सत्य र न्यायको पक्षमा निडर भई परोक्षरूपमा सङ्घर्ष गर्ने मेनकादेवीको स्वर्गारोहणले एक असल आमा र अभिभावकको अभाव खट्किरहने छ । उहाँको आदर्शलाई अस्त्र बनाउन सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली भएको ठहर्ने छ ।

०००
– नन्दलाल आचार्यद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x