सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘गोर्खेलौरी’का जुइना र ठेडीहरू

निबन्धको प्रारम्भिक लेखनकालमै उप्रेतीको चिन्तन र कला, सठन शिल्प र सौन्दर्य विन्यासमा अत्यन्त सहज, सशक्त र सरल ढङ्गले प्रस्तुत गर्ने खुबी यस सङ्ग्रहबाट अभिव्यक्त भएको तथा प्रकट भएको छ ।

Nepal Telecom ad

निबन्धकार हरिकला उप्रेतीको प्रस्तुत कृति नेपाली हास्यव्यङ्ग्य क्षेत्रको उल्लेख्य सामग्री बनेको छ । ‘उपद्रो’ शीर्षकमा २०५८ सालमा एउटा कविता सङ्ग्र्रह प्रकाशित गरिसकेकी स्रष्टा उप्रेतीको यो कृति प्रकाशनको सूर्यदर्शनाथ दैलोका ठेलाबाट बाहिर पाइला सार्दैछ । यस सङ्ग्र्रहमा जम्मा ३० वटा लघु आयतनका निबन्धहरू समाविष्ट हुन तर्खर गरिरहेका छन् ।

नारी लेखकको कलम सशक्त बन्ने प्रयत्नमा सिर्जित तीव्र व्यङ्ग्यका रचनाहरूमा सुधा त्रिपाठीपछि हरिकला उप्रेतीको नाम उल्लेख्य बन्न पुगेको छ । नेपाली समाजले हरपल सामना गर्नुपर्ने अनेकौं समस्यालाई विषयवस्तुका रूपमा टिपेर निबन्धको रूप दिने उप्रेती नेपाली निबन्ध क्षेत्रको फराकिलो मैदानमा सहज र सम्वेद्य स्रष्टाको रूपमा स्थापित बन्न पुगेकी छन् ।

‘वाह ! अटलबहादुर’ को शैक्षिक परिचय र उसले आठ कक्षालाई ५/५ वर्ष गरेर ४० कक्षा पढेको र पछि विदेश गएपछि पत्नीलाई लेखेको पत्र निबन्धकारले पढिदिनु परेको प्रसङ्ग व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । २/४ महिना देशबाहिर पुगेकाहरूमा नेपाली भाषा र संस्कृति चाउरिएर सबै मूल्यहीन बन्द संस्कृति र सभ्यता, जीवनचर्यासमेत अनेपाली बन्न पुग्दछ भन्ने कुरालाई मीठो र सरस पाराले प्रस्तुत गरेको तथ्य देखिन्छ ।

महत्त्वाकांक्षाको रोगबाट ग्रस्त नेताहरूलाई धज्जी उडाउने काम ‘भाप्रमने’ शीर्षकको निबन्धले धेरै प्रभावशाली ढङ्गले प्रस्तुत गरेको छ । ‘उमेरको अड्को’ शीर्षकमा लेखिएको निबन्धले आइमाईको उमेर र लोग्नेमान्छेको तलब नसोध्नु भन्ने मिथक बनिसकेको केन्द्रमा टेकेर लेखिएको छ । यसमा २५ वर्ष पहिलेदेखि २५ वर्ष भएँ भन्दै आएकी महिलाले आफ्नो उमेरलाई प्रेमीको उमेरनै २ गुणा गर्नुपर्ने स्थितिबाट मुक्त भएर आफ्नो सही उमेर भन्न राजीखुशी बनेको र बूढी प्रेयसी र तरुणप्रेमीको सम्झौता भएको कुरा प्रस्तुत भएको छ । यसरी हेर्दा उप्रेतीका निबन्धहरू बाह्य समस्याबाट ग्रस्त मान्छेका अन्तर्मनका स्वाभाविक तनावहरूलाई सचेततापूर्वक प्रस्तुत गर्नुपर्ने पक्षहरू सजग ढङ्गले उपस्थापन भएका छन् ।

रसका पारखीहरूलाई व्यङ्ग्य गर्न कोदोको रक्सीलाई ‘कोद्रस’ को संज्ञामा उभ्याएर मदिराप्रेमीहरूको दुराचारहरूलाई नङ्ग्याउने काम भएको छ । डेरा गरेर बसेको अवस्थाको पीडा प्रकट गर्ने ‘म साहुजी है’ निबन्धमा घरमालिकको आचरणलाई व्यङ्ग्यको झापट प्रहार भएको छ । मान्छेले आवासको अधिकार पाउनुपर्ने ध्वन्यात्मक सूचना सम्प्रेषण गर्ने यस निबन्धले घरभाडामा डेरा गर्नेलाई मात्र होइन, घरभाडामा लाउनेलाई पनि ठूलो झण्झट रहेको कुरा प्रस्तुत गरेको छ ।

महात्म्य जुनसुकै पर्वको भए पनि महत्त्वपूणर् हुन्छ भन्ने कुरामा ‘वार्ता’को नाटक रचेर भात पचाउनेहरूलाई तिखो व्यङ्ग्यको झापू प्रहार गर्ने काम ‘वार्ता महात्म्य’ र ‘वार्ता न सार्ता’ शीर्षकका निबन्धले प्रस्तुत गरेका छन् । त्यसै विषयको केन्द्रमा लेखिएको छ ‘सङ्कटकालको सङ्कट’, ‘गज्जव चुनाव’, ‘सांसद महान्’, ‘आत’, ‘बित्थाको रडाको’ जस्ता निबन्धमा पनि सत्ता हड्पेर अपच हुने गरी भत्ता हसुर्नेहरूको करतूत-कलालाई प्रस्तुत गर्न अत्यन्त मिहनत गरिएको छ । उप्रेतीले राजनीतिक छुच्याइँलाई गम्भीर रूपमा प्रहार गर्ने काम गरेकी छन् ।

युवाशक्तिको पलायनताले मुलुक शून्यतातिर धकेलिदै गरेको देख्ने स्रष्टा हरिकलाको ‘खोरिया बेची कोरियातिर’, ‘बिकीलाई चिठी’ जस्ता निबन्धले प्रतिनिधित्व गरेका छन् । नेपालको महिलावादी चिन्तन र महिला अस्मिता बारेको महिला चेत ‘मैं छोरी सुन्दरी’ निबन्धले प्रस्तुत गरेको छ, जहाँ महिला अस्मिता लिलाममा बेचिने कवाडीको माल बनेको देखाइएको छ ।

नवधनिकहरू रातारात च्याउ उम्रिनाले र भ्रष्टाचारीको निम्ति नेपाली धर्ती उर्बर बन्दै जानाले नेपाली मान्छेको औसत जीवन बाँच्नलायक बन्न नसकेको तथ्य ‘तुजुक’, ‘अल्पविद्या भयङ्करी’, ‘के तालको नयाँ वर्ष’, ‘तिहारको तिरीमिरी’, ‘बहुवाद जिन्दावाद’, ‘सुनाम कमाउने धुनमा’ जस्ता निबन्धहरूले पैसा, पावर र पोजको हविगत छाम्ने काम गरेका छन् । सदाचार र मर्यादाबाट बाहिर पुगेपछि मान्छे मान्छेको परिधिबाट चिप्लिने कुरा यी निबन्धहरूले प्रस्तुत गरेका छन् ।

प्रदूषित पर्यावरणको शिकार बन्दै गएको राजधानीप्रति चुनौती प्रस्तुत गरिएको निबन्ध ‘कुछेद काठमाडौं’, ‘हेलमट जात्रा’, ‘आहा टेनसन’ जस्ता निबन्धहरू सबल देखिएका छन् । क्षमताको अभावमा पनि पद ओगट्न पुग्ने दुव्र्यवहारबाट ग्रसित परम्पराको भण्डाफोर गर्ने निबन्धहरूमा ‘चलचित्रमा चतुरमान’, ‘कवि गोष्ठीमा कविराज’ जस्ता निवन्ध पनि उल्लेख्य रहेका छन् । ‘भन्नै मिल्दैन’, ‘ज्वाईसाहेबको जयगान’ जस्ता निबन्धहरूले विकृत पर्यावरणमा धसिदै गएको समग्र संस्कृति प्रस्तुत भएको देखिन्छ । यी निबन्धहरूमा समसामयिक जीवनका पक्षहरू प्रस्तुत भएका छन् । नेपाली समाजका राजनीतिमा देखिएका विसङ्गतिहरू, आर्थिक क्षेत्रमा विकसित भएका विकारग्रस्त स्थितिहरू, सामाजिक र नैतिक मर्यादाका पक्षहरूमाथि थपिन आएका ऐंजेरूहरू उप्रेतीका निबन्धहरूमा प्रहारका विषय बनेर उपस्थिति भएका छन् ।

भाषिक सीपका दृष्टिले उप्रेतीको कलम आनुप्रासिक शब्द चयनमा, यमक श्लेषमूलक शब्दावलीको प्रयोगमा र तुकबन्दी तथा उखानको प्रयोगमा एकदम ससेंत रहेको छ- ‘कविले कविता कथेका छन्’ (कोदरस) क वणर्को पुनरावृत्ति ‘चड्कन चिउराको चोटिलो प्रहारले …’ (कोद्रस) चवणर्को पुनरावृत्ति (वृत्यनुप्रास त्यस्तै अनुप्रासयुक्त शब्दावलीको प्रयोग पनि उप्रेतीको उल्लेख्य सिप देखापरेको छ । उदाहरणका निम्ति दरबारको परिक्रमा गर्नेले घरवार जोडेका छन् (भाप्रमने), स्वास्नी नै उस्ती संधै कुस्ती खेलेर (वार्ता न सार्ता) ‘नायक र गायक त आफै भइन्छ ।’ (चलचित्रमा चतुरमान)। जुवा तासले उठिबास नपारुन्जेल खास तिहार आएको आनन्द आउदैन (तिहारको तिरिमिरी जस्ता आनुप्रासिक प्रसङ्गहरू लेखनमा यत्रतत्र प्रयुक्त छन् ।

त्यसरी नै उखानटुक्का समुचित ढङ्गले प्रयोग भएका छन् । यस्ता प्रयोगले पनि रचनालाई सबल र सरस बनाएको अनुभव हुन्छ । उदाहरणका निम्ति ‘म खाउ मै लाउँ’ (मुसाको दसा), ‘राजाको काम, कहिले जाला धाम’ (बहुवाद जिन्दाबाद), ‘कहीँ नभएको जात्रा हाँडी गाउंमा टेन्सन), ‘आगदी अलङ्कार बुझिन्छ’ (तिहारको तिरिमिरी) ‘ढ्याङ्ग्रो ठटाएर बोक्सीलाई सिमाना कटाए (विकीलाई चिठी), ‘दुःख पाइस मङ्गले आपने इने म साहूजी हैं’, ‘जुन जोगी आए पनि कानै चिरेको’ (वार्ता न सार्ता) जस्ता बहुचर्चित उखान र टुक्का प्रयोग भएवाट उप्रेतीको भाषामा सरसता र अर्थको सटीकता अभिव्यञ्जित गर्ने खूबी प्रबल रहेको देखिन्छ ।

निबन्धको प्रारम्भिक लेखनकालमै उप्रेतीको चिन्तन र कला, सठन शिल्प र सौन्दर्य विन्यासमा अत्यन्त सहज, सशक्त र सरल ढङ्गले प्रस्तुत गर्ने खुबी यस सङ्ग्रहबाट अभिव्यक्त भएको तथा प्रकट भएको छ । यति सहज र सम्वेद्य ढङ्गले निबन्धीकरण गर्नु उप्रेतीको स्वयम्मा प्राप्ति हो । केही तथ्यात्मक त्रुटिहरूमा ज्ञानको र चिन्तनको मिश्रित लगानी गरेर परिमार्जन गर्नुपर्ने देखिन्छ । जस्तै ‘वाह ! अटलबहादुर’ निबन्धमा ८ कक्षासम्मका कक्षाहरू ५-५ पटक पढ्दा मात्र चालीस क्लास हुन्छ र एउटा मान्छे ४० कक्षा पढ्न चालीस वर्ष नै लाग्छ, विद्यालय जाने उमेर पनि ४ वर्ष थपिदिने हो भने अब ऊ पैतालिस वर्ष नै पुग्दोरहेछ । पैतालीस वर्ष पुगेपछि लाहुर जाने उमेर बाँकी रहदैन । यस्ता तथ्यहरूलाई स्वाभाविकतामा ढालेमा प्रस्तुत निबन्धसङ्ग्र्रहका कृतिहरूमा पनि स्वाभाविकताको अभिवृद्धि हुने कुरा निर्विवादै छ । यसरी तथ्यका संस्कार र धारणाका, जीवन र जगत्का विश्वजनीन तथा सामयिक र ऐतहिासिक सङ्गति एवम् विसङ्गतियुक्त प्रश्नहरू उपस्थापन गर्नसके निबन्धको स्वणर् रूपमा सुगन्ध पनि उपस्थित हुनसक्ने देखिन्छ ।

कविप्रतिभा आर्जन गरिसकेकी उप्रेतीका निबन्धमा कवितात्मक भावसम्वेग र प्रस्तुतिका नयाँ ढङ्गहरू ठाउँ-ठाउँमा प्राप्त गर्न सकिन्छ । कवितामा व्यङ्ग्यात्मक कला वरण गरिसकेकी उप्रेतीका सृजनामा कवितात्मक छटा पटक पटक पुनरावृत्ति भएको पाइनाले उनमा सृजनाको सौन्दर्य आविर्भाव हुने पक्षमा तदारुक छ भन्ने कुरा पनि स्पष्ट हुन्छ । उदीयमान तर निक्कै प्रखर कलम लिएकी उप्रेतीको सृजनायात्राको फेदीमा देखापरेका यस ऊर्जाले धेरैवटा द्यौराली र चुलीहरूको विजययात्रा तय गरोस् भन्ने कामना व्यक्त गर्नु पनि यस पूर्वलेखनको हरू आशय हो । यिनै सद्भावनाका शब्दावलीसँगै प्रस्तुत लेखनको प्रसङ्ग समाप्त गर्दछु ।

०००

हरिबोधिनी एकादशी, २०६१
कोटेश्वर
‘गोर्खेलौरी’ (२०६१)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाइड्रो प्राज्ञ

हाइड्रो प्राज्ञ

राजेन्द्र सुवेदी
विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

विष्णु नवीनको चिन्तन र...

राजेन्द्र सुवेदी