राजेन्द्र सुवेदीखुसखुस कम्पनी पूर्वाध्ययन
शब्दले आनुप्रासिकता पायो भनेर राख्दा विचारमा, मर्यादा र कलामा धक्का पुग्यो कि भन्ने पनि विचार पुऱ्याउनुपर्ने हुन्छ । विट् (वाक्वैदग्ध) देखाउने नाममा इतरभाषाका अप्रचलित शब्द, अर्थ र मर्यादाको जथाभाबी प्रयोग गर्नाले के कुरामा आघात पर्न सक्छ त्यो स्रष्टाको अयथार्थ विचारभित्र खाँदिनुपर्दछ ।

राजेन्द्र सुवेदी :
निबन्धकार विष्णु प्रभातको यो तेस्रो निबन्ध हो । यसभन्दा पूर्व खुर्सानीपुराण र खुच्चिङपछि यो तेस्रो कृतिको आकृति खुसखुस कम्पनी भएर आएको छ । प्रभात ’खु’ व्यञ्जनबाट किन मोहित भए ? त्यो मैले किटान गर्न सकेको छैन । एक-दुई वर्षकै समयातनभित्र ‘ख’ गुणा ३ = खुर्सानीपुराण, खुच्चिङ र खुसखुस कम्पनीसम्म जोगिन सफल भए, त्यो पनि मलाई थाहा हुने विषय भएन ।
नाकमा नस हाल्नेहरूका अघिल्तिर पुग्दा आँखामा खुर्सानीकै धूलो हाल्नुपर्ने स्थितिको बोध हुने आजका युगमा पर कतै बसेर अर्काको दुर्गतिमा खुच्चिङ मात्र मनाउने र अरू अवसर र ओल्टेकोल्टे परेको बेला आँखा छलेर खुसखुस गर्ने र एन्ड कम्पनीहरूको आजको विकारग्रस्त युगमा हाम्रो जुन अवस्था छ त्यसलाई निबन्धकारले सचेत र सबल ढङ्गले प्रतिपादन गर्न प्रयास गरेका छन् । विषयवस्तुको सामान्यताबाट उठेको रचनाशिल्प र चिन्तनको उच्चतासम्म पनि आरोहित हुन पुग्नु हास्यव्यङ्ग्यकारको विशेषता हो । स्रष्टाको परिपक्व दृष्टिकोणमा सामान्य स्तरबाट असामान्य वा विशेष तहमा आरोहित हुन्छ । त्यस आरोहित अवस्थामा पुगेको रचना पढेका क्षणमा विषयको सरलता र गहनता, शिल्पको सरसता र नीरसता पढिरहेको हुँदैन, ऊ त मानवीय संवेदनाको चरम स्थितिलाई आत्मसात् गरिरहेको हुन्छ र चरम तन्मयतामा विलुप्त बन्न पुगिरहेको हुन्छ । यसै अवस्थालाई रसवादी विद्वान्हरूले ब्रह्मानन्दको संज्ञा दिएका छन् । खुसखुस कम्पनी दर्ता गर्न सफल बनेका प्रभातको सृजनात्मक प्राप्तिको उत्कर्षता यसलाई मान्न सकिन्न किनभने एउटा स्रष्टाको सृजनात्मक भविष्यमा पूर्णविराम लगाउन सक्ने म त्यस्तो कुनै आधिकारिक व्यक्तित्व पनि होइन ।
पहिलो सङ्ग्रह खुर्सानीपुराण खुरासानबाटै आएको खुर्सानीजति पिरो छैन । तरकारी खाने भिंडेखुर्सानीको स्तरबाट केही उठे पनि चिल्ले र डल्ले खुर्सानीको स्तरसम्म पुग्न सकेको छैन । आजको शताब्दी नरम र ललितव्यङ्ग्यको छिटाछिटीबाट झस्किन पनि छाडेको छ । आज त खुर्सानीको स्वाद पाउनेबित्तिकै गालामा लाल रङ्ग र ओठमा राल तरङ्ग उमार्न सक्ने हुनुपर्छ । त्यसमा कति सफल छ खुर्सानीपुराण ? त्यसको चटनी चाखिसक्नुभएको छ प्रिय पाठकगणले । यसपछि लगत्तै आएको खुच्चिङमा कसकसले काखी बजाए त्यसको लेखाजोखा सीधै नआए पनि तुरुन्त ‘खुसखुस’ मार्काको कम्पनी खोल्नेतिर लेखकको उत्साह जागेको स्थितिबाट निकै सङ्ख्याले खुच्चिङ रुचाएको कुरा स्वीकार गर्न सकिन्छ । खुच्चिङ मारेका बेला कति जनाले आँखा
सन्काए, कति जनाले ओठ लेप्याए र कति जनाले ताली पड्काए यसको हिसाबकिताब पनि लेखककै व्यक्तिगत हिसाबखातामा । खुच्चिङ आत्मक्रियात्मक स्थितिमा अभिव्यक्त शब्द भएमा आक्षेपात्मक स्तरमा पर्न सक्छ । यदि त्यसो भयो भने लेखकको महत्ताबोधी मनोभावना प्रकट हुन्छ, तर परागत आक्षेपवाची सन्दर्भमा अभिव्यक्त भएमा लेखन स्वयम्प्रतिको व्यङ्ग्य ठहर्दछ । व्यङ्ग्यको मर्यादा पनि त्यही हो जुनचाहिँ रचनाका माध्यमबाट लेखक आफैप्रति व्यङ्ग्य गर्न पुग्दछ । तर यस सङ्ग्रहका निबन्धले कसप्रति व्यङ्ग्य गर्दछ ? प्रस्ट गर्न भने सकेको छैन ।
खुसखुस कम्पनी यो यहाँहरूका हातमा रहेको कृति हो । यसले आजको वैयक्तिक स्वार्थको दौडधूपमा सारा समय व्यतीत गर्ने मानवीय दुर्वृत्तिलाई मूल केन्द्रमै पाएर लेखकले प्रहार गर्ने प्रयत्न गरेको सृजना हो । यस सङ्ग्रहमा ‘रातो मूला’, ‘मान्छे मार्ने सजिलो तरिका’, ‘भैरव अर्यालको भजमने यात्रा’ र यसका पाँचओटा उपरचनाहरू प्रस्तुत गरिएका छन् । यी तीनओटाका अतिरिक्त उन्नाइसओटा निबन्धसमेत बाइसओटा रचना यसमा सङ्कलित छन् । ‘बारमा बरालिँदा’, ‘हावा खुस्केपछि’, ‘स्वार्थजीवी भव सब !’, ‘आदेश र आदेशबमोजिमका आदेशहरू’, ‘पोथी खाद्यान्न’, ‘कोटीकरणको परिभाषा र साहित्य’, ‘कविहरूको आत्मस्वीकृति’, ‘जेमराजको पार्टीप्रवेश’, ‘लामखुट्टे र भ्यागुताहरू’, ‘खाद्यान्न र मताधिकार’, ‘मोटेनाथहरू’, ‘चैते स्वस्थानी’, ‘नशा, नसामा दौडेपछि’, ‘बल्छी’, ‘विकासको ढोका’, ‘पाँचओटा चाहिने कुरा’, ‘पाँचओटा फाल्तू कुरा’, ‘वासुदेव लुइँटेल जिउँदै स्वर्ग गएका मान्छे’ र ‘सप्रने र बिग्रने कुरा’ खुसखुस कम्पनीका प्रबन्ध सूत्रहरू हुन् । यिनै सूत्रहरूमा समेटिएका छन्- कम्पनीभित्रका सुकृति र विकृक्तिहरू । यिनै दफाहरूमा अल्झेका छन्- वर्तमान नेपाली मानवजगतका सुकृति र दुर्वृत्तिका बुँदा र चेष्टाहरू ।
प्रभातको लेखन नेपाली साहित्यका सरदर लेखकहरूकै तहमा मात्र सीमित छ । व्यङ्ग्यले सामयिकता बोके पनि तीव्रताको सोपानमा भने त्यति आरोहित भएको छैन । आभ्यासिक चरणका लक्षणहरू पछिल्लो सङ्ग्रहसम्म पनि दोहोरिँदै छन् । समाजका दुर्गन्धयुक्त नालीहरू बढार्ने र पखाल्ने बाढी जन्माउने भनेको स्रष्टा हो । मानवीय दुश्चरित्रको स्रोतबाट प्रवाहित विकृति र विसङ्गतिको निराकरण गर्ने बाढी हो- हास्य र व्यङ्ग्य । अर्थात् हास्ययुक्त व्यङ्ग्य नेपाली साहित्यको वर्तमान एउटा प्रश्नचिह्नमा पुगेर अडेको छ । अनि स्रष्टाहरूमा एउटा गम्भीर अन्योलको स्थिति आइपुगेको छ । यस सन्दर्भमा २०४६ पछिको साहित्यसृजना बढ्दो र मौलाउँदो विसङ्गतिलाई समेत निराकरण गर्नबाट असक्षम अनुभूत हुँदै गएको छ । राजनीति र त्यसबाट परेका समाजका विकारग्रस्त तत्त्वहरूलाई प्रकट गर्न र तिनको निराकरणको दिशानिर्देश गर्न पनि सष्टाहरू अलमलिएको स्पष्टै देखिने यस समयखण्डको प्रस्तुत कृति निकै आसलाग्दो छ ।
व्यङ्ग्य वस्तुमा हुनुपर्छ । प्रस्तुति अन्यार्थवाची हुनुपर्छ । प्रस्तुतिमा हास्य कोरल्ने नाममा मर्यादा विचलित हुने गरी शब्दचयन, पर्यायवाची शब्दहरूको सङ्कलन र तिनको विन्यास कौशललगायतका सन्दर्भमा आजको व्यङ्ग्यमा कलापक्ष दुर्बल बन्दै गएको छ । आजका व्यङ्ग्यकारहरूका पंक्तिमा आउने प्रभातले पनि यस पथको यात्रा तय गर्न त निकै नै बाँकी छ । हास्यव्यङ्ग्य सृजनायात्राको यात्री बनेर निस्कने यात्रीलाई गन्तव्यसम्म पुग्नका लागि साथ दिने सातुसामल भनेको शिल्प र कौशल हो । यसको सङ्कलनतर्फ चाहिँ प्रभातले जुट्नुपर्ने काम निकै बाँकी देखिन्छ । शब्दले आनुप्रासिकता पायो भनेर राख्दा विचारमा, मर्यादा र कलामा धक्का पुग्यो कि भन्ने पनि विचार पुऱ्याउनुपर्ने हुन्छ । विट् (वाक्वैदग्ध) देखाउने नाममा इतरभाषाका अप्रचलित शब्द, अर्थ र मर्यादाको जथाभाबी प्रयोग गर्नाले के कुरामा आघात पर्न सक्छ त्यो स्रष्टाको अयथार्थ विचारभित्र खाँदिनुपर्दछ । यिनै वैशिष्ट्यभित्र अडेका रचनाले शाश्वतता र उच्चता आर्जन गर्न सक्छन् भन्ने पक्षमा लेखक दृढ हुन सक्नुपर्दछ । यिनै उत्कृष्टतातिर उन्मुखशील लेखन भएको प्रभातको लेखनयात्रा शिखरमा पुग्न सफल बनोस् । यही कामनासाथ !
०००
(२०५४, पितृपक्ष)
Subscribe
Login
0 Comments
Oldest







































