सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छठको सांस्कृतिक महत्व

यो एक अति प्राचीन पर्व हो र शास्त्रीयतावादीहरूले यसलाई कालान्तरमा शास्त्रको रङ दिने प्रयास गरेका छन् वा गरिरहेका छन् जुन वास्तवमा निराधार हुन् । यसमा व्रतालुहरू नै सबैथोक हुन् ।

Nepal Telecom ad

“कार्तिकस्य सिते पक्षे षष्ठी वै सप्तमीयुता ।
तत्र व्रतं प्रकुर्वीत सर्वकामार्थसिद्धये ।।”

भविष्य पुराणमा उल्लेख गरिएको श्लोक हो यो । यसको अर्थ हुन्छ – कात्तिक महिनाको शुक्ल पक्षको षष्ठी र सप्तमी तिथियुक्त तिथिमा सर्व काम सिद्ध हुने व्रत हुन्छ ।

यत्तिकै भरमा कतिपयले छठ पर्वको पौराणिक आधार रहेको उल्लेख गर्ने गरेका छन् । यसमा यस दिन गरिने पर्वले सबै काम सिद्ध हुने बताइएको छ तर यो पर्वको नाम छठ नै रहेको बताइएको छैन ।
कुनै पनि शास्त्रीय आधारले स्पष्ट रुपमा लोकमानसमा विद्यमान नामजस्तै छठ पर्व भनिएको पाइएको छैन । धेरैले पण्डित्याइँ गरेर षष्ठीको दिन हुने भएकोले अपभ्रंश भएर षष्ठीबाट छठी भएको बताउने गरेका छन् तर अन्यत्र कुनै अन्य व्यवहारमा षष्ठ वा षष्टबाट छठ भनिएको सन्दर्भको उल्लेख पुष्टि हुँदैन ।

अर्को मुख्य कुरो के हो भने जसरी लोकमानसले जसरी यसलाई छठीमाईको पूजा वा पबनी भन्ने गरेका छन्, त्यसरी नै शिक्षित समुदायले यसलाई स्वीकार गर्ने गरेको पाइएको छैन । छठ पबनी भनेको सूर्य पूजा हो भन्ने अर्थ लगाउन थालिएको पाइन्छ । कालान्तरमा छठ पबनीको मौलिकतामा नै प्रहार हुने खतरा यसबाट रहेको देखिन्छ । वास्तवमा छठीमाईको पूजा मूल पूजा हो र सूर्यलाई पनि अर्घ दिइन्छ । अर्घ नै मूल पूजा भने होइन ।

यसको नितान्त मौलिक पक्ष यो हो कि पहिले अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र त्यसपछि उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्वको समापन सुरु हुन्छ ।

छठ पर्वको सुरुआत गोधन कुटाइबाट हुन्छ । कतिपयले नहा खाएबाट हुन्छ भन्ने गरेका छन् । तर यदि छठ पर्वको अन्तर्यलाई विचार गर्ने हो भने गोवद्र्धन पूजा नगरीकन कोही पनि छठ पर्व गरेको पाइँदैन । गोवद्र्धन पूजा सामूहिक रुपमा गरिन्छ । गाउँ वा टोलभरिका ती विवाहित आइमाई जो छठ व्रत गर्दछन्, तिनीहरू मात्र सामूहिक गोवद्र्धन पूजा अर्थात् गोधन कुटाइ गर्दछन् । छठ पर्वको सुरुआत भएको रौतहटमा अहिलेसम्म यही चलन छ । रौतहटबाट विश्व विस्तार हुने क्रममा छठले विस्तार पाएको तथा पाउँदै गएको अन्य क्षेत्रमा यसको स्वरुप र मान्यतामा विस्तारै पार्थक्य स्वीकार हुँदै गएको यथार्थ हो तर छठ पर्वको प्रकाट्यस्थली रौतहटमा भने छठको व्रत लिनेहरूले गोधन कुटाइ अनिवार्य गर्दछन् । छठ पर्वको व्रत नलिनेले गोधन कुटाइमा आलंकारिक सहभागिता जनाउने गर्दछन् । यसैले गोधन कुटाइलाई छठ पर्वको सुरुआत भएको संकल्पको रुपमा लिइएको पाइन्छ । गोधन कुटेपछि नै व्रतालुहरूले छठ पर्वमा प्रयोग गरिने चुलोको निर्माण गर्दछन् । गोधन कुटाइको सन्दर्भमा तिथि र बार दुवैको विचार गरिन्छ । सम्भव हुँदासम्म आइतवार, मंगलवार, विहीवार र शनिवार गोधन कुटाइ गर्नु हुँदैन ।

गोधन कुटाइको दिन बिहान चुलो बनाउने काम हुन्छ । सोही चुलोमा खरनाको दिन छठको प्रसाद तयार पारिन्छ । गोधन कुटाइ हुनुको अर्थ यो पनि हो कि छठ पबनीमा प्रयोग हुने ठेकुआ तथा कसारका साथै खरनाको दिन पकाइने खिरका लागि धानको तयारी थाल्नु हो । गोधन कुटाइकै दिन गहुँ धोएर घाममा सुकाइने गरिन्छ र धानलाई घाममा सुकाउने काम गरिन्छ ।

वास्तवमा पाँच दिनको यो पर्व हो । पहिलो दिन गोधन कुटाइ हुन्छ । यस दिन बिहानै झिसमिसेमै गोधन कुटाइको रीति पूरा गरिन्छ । उज्यालो खस्नुभन्दा पहिलै व्रतालु महिलाहरूले नुहाइधुवाइ गरेर सम्भव भएसम्मको शृङ्गार गरेर गोधन कुटाइ गर्दछन् र छठ पर्वको सुरुआत गर्दछन् ।

दोस्रो दिन अरबाअरबाइन हो । अरबाअरबाइनलाई नहाखाएके पनि भनिन्छ । यस दिन कुनै नयाँ काम हुँदैन तर धान र गहुँको तयारीका साथै चुलोलाई पनि तयारी गर्ने काम भने हुन्छ ।

तेस्रो दिनलाई खरना भनिन्छ । तिथिको हिसाबले पञ्चमीको दिन खरना मनाइन्छ । यस दिनदेखि निराहार व्रत सुरु हुन्छ । व्रतालुहरू दिनभर निराहार व्रत बसी साँझ छठीमाईको लागि खरना पूजा हुन्छ । नयाँ चुलोमा सम्भव भएसम्म आँपको रुखको दाउरा नभए अन्य दाउराले पनि खिर र चामलको रोटी पकाइन्छन् । मूल तथा अन्य फलफूलका साथ आफ्नो श्रद्धा र भक्तिले जुरेसम्म देवताघर वा आँगनमा छठीमाताको नाममा केराको पातमा चढाइन्छ । यसलाई नेओज भनिन्छ । नेओज चढाएर पूजा गरेपछि समापन गरेर व्रतालुहरू यही प्रसाद खान्छन् जसलाई खरना भनिन्छ । खरना गरेपछि प्रसाद टोलछिमेक वा हितमित्रलाई दिने चलन पनि छ ।

चौथो दिनलाई निखण्ड भनिन्छ । यस दिनको व्रतलाई कुनै पनि मूल्यमा खण्ड गरिनु हुँदैन अर्थात् भंग गरिनु हुँदैन । यस दिन पूरा निराहार बस्नु पर्छ । यस दिन त्यही चुलोमा ठेकुआ, कसार लगायतका सामग्री पकाउने काम गरिन्छ । बाँसको सुपमा सामानहरू सजाउने काम गरिन्छ र दिउँसो नजिकैको पोखरी वा नदीको किनारमा सजाइएको छठघाटमा लगिन्छ । छठघाटको किनारलाई सजाइएको मात्र नभई पूरा सफा गरिएको हुन्छ । नदीलाई पनि सफा गरिएको हुन्छ । जलाशयको सफाइको दृष्टिकोणले पनि यो पर्व निकै महत्वपूणर् रहेको छ ।

छठघाटमा श्रीसप्ता बनाइएको हुन्छ । यो भनेको माटो वा सिमेन्टको त्यो ठाउँ जहाँ पूजा गरिन्छ । व्रतालुहरूले लगेर छठका सामग्री चढाउँछन् । चारैतिरबाट समूहमा बसेका हुन्छन् । अनेक गीत मंगल हुन्छ । अनि अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । अस्ताउँदो सूर्यलाई सबै अर्घ दिएर फेरि पहिलेकै ठाउँमा आएर बस्तछन् । यदि राति त्यहीँ घाटमा नै बस्ने व्यवस्था मिलाइएको छ भने त्यहीँ बस्छन् व्रतालुहरू । आजभोलि घाटमै बस्ने व्यवस्था मिलाउन थालिएको छ । रातभर जाग्राम बस्नुपर्ने मान्यता रहेको छ । यदि घाटमा बस्न सकिने अवस्था छैन भने पूजाका सम्पूणर् सामानसहित व्रतालुहरू घर आउँछन् ।

राति कोसिया हुन्छ । भाकल हुनेले कोसिया बनाउँछन् । कसैको हात्तीवाला कोसिया हुन्छ भने कसैको बिना हात्तीवाला । कोसिया पूजामा छठ व्रत गर्ने व्रतालुहरूको अनिवार्य सहभागिता हुन्छ । जसरी अघिल्लो राति नेओज काढेर चठीमाईको पूजा गरिएको हुन्छ, त्यसै गरी कोसियापूजा पनि छठीमाईकै लागि गरिएको हुन्छ । कतिपयले सूर्यलाई अर्घ दिनुलाई मात्र छठ पर्व मान्ने वा भन्ने गरेका छन्, त्यो हुँदै होइन । कोसियापूजामा पनि अनेक गीत हुन्छ, कथाहरू भनिन्छन् । छठीमाईसित सम्बन्धित अनेक लोककथाहरू प्रचलनमा रहेका छन् । यदि घाटमै बसिन्छ भने पनि कोसियापूजा घाटमा नै गर्ने गरिन्छ । आजभोलि छठघाटमा विभिन्न धार्मिक मनोरञ्जनात्मक प्रस्तुतिहरू गरिन थालिएका छन्, कलाकारहरू बोलाएर जागरण कार्यक्रम गरिन थालिएको छ ।

पाँचौँ दिन सप्तमीको दिन हो । यस दिन छठ पर्वको समापन गरिन्छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्वको समापनको आरम्भ हुन्छ । यस दिनलाई पारन भनिन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि पुनः श्रीसप्ता भएको ठाउँमा व्रतालुहरू आउँछन् । श्रीसप्तालाई जलार्पण गरिन्छ । श्रीसप्तालाई जलाभिषेक गरेपछि छठपर्वको समापन हुन्छ । अनि व्रतालुहरू एकले अर्कोलाई आशीर्वाद दिने क्रम शुरु हुन्छ । समापन शृङ्गार हुन्छ व्रतालु महिलाको । अनि प्रसाद साटासाट हुन्छ ।

हरेकको घरमा छठ हुन्छ भन्ने होइन । यो भाकल गरेपछि गरिने पर्व हो तर सायदै कोही कुनै घर होला जसमा छठ पर्व हुँदैन ।

छठ पर्व मान्न जहाँ भए पनि मानिस आफ्नो घर आइपुग्छ । अब त विदेश जाने चलन बढेको छ । विदेशमा हुनेहरू घर आइपुग्न भ्याउँदैनन् तर यदि छुटी मिलाएर आउन सकिने अवस्था भएमा छठकै दिन घरपरिवारसितै बिताउन चाहन्छन् । छठ पबनीको घाटमा व्रतालुहरू त पुग्छन् नै, सम्पूणर् समाज पुगेको हुन्छ । गाउँका सबै मानिस अवश्य पनि दर्शन र पूजा गर्न पुगेका हुन्छन् । एक दृष्टिकोणले छठघाट सामाजिक सम्मिलनको महापर्व पनि हो ।

छठको पारन भएसँगै व्रतालुहरूले छठकै प्रसाद खाएर अन्न ग्रहण गर्दछन् । व्रतालुले भोजन गरेपछि आफन्तकहाँ छठको कोसेली पुर्‍याउने चलन छ । मूलतः छोरी र दिदी-बहिनीलाई छठको प्रसादको आशा हुन्छ । छठ पबनी गर्ने हरेक घरबाट छोरी-बहिनीलाई छठको कोसेली पुर्‍याइने गरिन्छ ।

जसले जेसुकै भने पनि यो शास्त्रीय पर्व होइन । यसलाई शास्त्रीय आधार दिने, प्रमाण बनाउने काम अहिलेसम्म भइरहेको छ । यो एक अति प्राचीन पर्व हो र शास्त्रीयतावादीहरूले यसलाई कालान्तरमा शास्त्रको रङ दिने प्रयास गरेका छन् वा गरिरहेका छन् जुन वास्तवमा निराधार हुन् । यसमा व्रतालुहरू नै सबैथोक हुन् । कुनै निणर्य गर्नुपरेमा व्रतालुहरूको सामूहिक निणर्य नै लागू हुन्छ । शास्त्रीय पर्वमा पूजाको निर्धारित विधिविधान हुन्छ तर छठ पर्वको विधिविधान लोकसम्मत हो । यसकारण यसको विस्तार भएसँगै स्थानीयतालाई पनि अंगीकार गर्दै गएको छ । यसको मान्यतामा पनि फरक पर्दै गएको हुनुपर्छ । यसैले पनि यो लोकआस्थाको महापर्व हो ।

अझै पनि पबनी (पर्व) भनेपछि छठ नै बुझ्ने समाज छ ।

०००
रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बच्यौली

बच्यौली

सञ्जय साह मित्र
उखाने झगडा

उखाने झगडा

सञ्जय साह मित्र
राम्रो र असलीमा फरक

राम्रो र असलीमा फरक

सञ्जय साह मित्र
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे