साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो र असलीमा फरक

यद्यपि असलीमा पनि शंका गर्ने र अलिकति अझ असली खोज्ने तपाईंको मनोविज्ञानले राम्रोमा पनि अलिकति राम्रो खोज्ने लक्षण त छँदैछ । तपाईं आफैँ राम्रो हुनुहुन्छ कि असली ?

Nepal Telecom ad

सञ्जय साह मित्र :

राम्रो र असली दुवै साथी भएका थिए क्याम्पस पढ्दा । गधापचिसी दुवैको मेल बेमेलभन्दा कम थिएन । फिमेल नभएजस्तै दुवै इमेलमा पनि थिएनन् । केवल टेबलमा बसेर चिया खाँदा बुद्धि माझामाझ गर्थे जुन अरुलाई बाझाबाझ लाग्यो । क्यान्टिनमा कहिलेकाहीँ चर्काचर्की र झर्काझर्की हुँदा बाँदरलाई धपाऊँ झैँ क्यान्टिनकी च्यान्टी अन्टीलाई लाग्थ्यो तर यी दुवैको झगडा सुन्दै रमाइलो गर्दै चियाको चुस्की र अनुहारमा मुस्की लिनेको जमात पनि थियो ।

दिनदिनै झगडा गरे पनि पतिपत्नी झैँ एकले अर्कालाई छोड्न नसक्ने राम्रो र असली चाहिँ साँच्चिकै चाम्रो र सक्कली मित्र थिए । सहयोगीमा पनि एकले अर्काको बाहिरी र भित्र थिए । अन्तरंग र बहिरंग दुवै विभागका सच्चा हितैषी दुवैको मित्रतामा दाउको घाउ थिएन । मुखमुखै कुरैकुरा गरे पनि कुरैले छुराभन्दा बढ्ता कुरा काटे पनि एकले अर्काप्रति मुखमा राम राम र बगलीमा छुरा गरेको कसैले थाहा पाएन । एक अर्काको तर्क विरुद्ध स्वर्ग र नरक झारे पनि, दर्शन छाँटे पनि ढाँटेनन् ।

क्यान्टिनमा नियमित आउने नाइन्टिन एज र गफको क्रेजकी एक चर्चित चिया ग्राहकले अप्ठ्यारो नमानी अप्ठ्यारो प्रश्न तेर्स्याइन् – तपाईंहरूको असली झगडा हो कि नक्कली हो भनेर छुट्याउने आधार के ?

असली चाहिँ हाजिरजबाफे पनि थियो – ब्युटी पार्लरमा जानुअघिको र ब्युटीपार्लरबाट निस्कने बित्तिकैको सोही अनुहारमा कोही बहस गर्छ ? कुन अनुहार सक्कली र कुन अनुहार नक्कली भन्न मिल्छ ? कोही आयुर्वेदिक अनुहारलाई राम्रो मान्ला र कसैलाई लिपपोत गरिएको अनुहारको प्रशंसा गर्न मन लाग्ला ।

राम्रोले पनि चुपो लागेर बस्न उचित मानेन । दर्शन खोक्यो – जुन प्राकृतिक छ त्यो नक्कली मान्ने पनि छन् । सधैँ वनस्पति घिउ मिसाइएको खानेलाई एक दिन शुद्ध गाईको घिउ दिनुस् त असलीलाई नै नक्कली भनेर सत्र जोडी उदाहरण र तर्क दिन्छन् । आलु खाएर पेंडाको धाक लगाउने जमानामा नक्कलीको धाक बढी हुन्छ हैन र ?

टिनिनि… घन्टी लागेपछि चिया र गफ छियाछिया भए । क्यान्टिनलाई ख्लास पार्दै सबै क्लासमा गए । अध्यापक क्लासमा आए, एकैछिन गम खाए । अनि कनिकुँथी आसनमा बस्दै भाषण डायरी निकाले । सेतो बोर्डमा कालो दाग लगाउँदै शीर्षक लेखे – असली र नक्कली झगडिया कसरी चिन्ने ?

आजभोलि त एक दिनको ज्याला दियो कि साक्षी पाइहालिन्छ । अझ अलिकति खाजा र भाडा हो भनेर दिने हो भने जस्तोसुकै अपराधको पनि साक्षी बन्न तयार हुन्छ मान्छे । तालिममा गएजस्तै झगडियाको पक्ष वा विपक्षमा मानिस बोल्न तयार हुन्छ । कहिलेकाहीँ त वादी र प्रतिवादी दुवै एकै जनाकहाँ एकैचोटि पुग्छन् र प्रत्यक्ष देखेकै जस्तो बोल्न सक्ने साक्षी मजदुरको डाँक बढाबढमा मोल तोक्छन् । अनि यस्तो अवस्थामा असली र नक्कली झगडिया कसरी चिन्ने सर ? एक विद्यार्थीले तारतम्य मिलाएर स्वैर काल्पनिक प्रश्न ठोक्छ ।

पढाउने मुड गुड नहुँदा विद्यार्थीको प्रश्नले अध्यापकलाई खेद्छ । एउटाले सोध्यो- लामखुट्टे र झिँगामा लडाइँ भयो भने को बलियो हुन्छ ? प्रश्न सोध्नेका कर्के आँखा छड्के बसेका तिनै असली र राम्रोको जोडीमा थिए । कुटिल हाँसोजस्तै मुस्कानको कटाक्ष उतैतिर छर्दै पुच्छ्रे प्रश्न थप्यो – माउसुली भोकाएको बेला बढी कराउँछ कि खाएको बेला ?

अध्यापकलाई पनि गोलमटोल उत्तर दिन सजिलो हुन्छ । चुम्ककले फलामलाई तान्ने होइन, जो बलियो छ आफ्नै ठाउँमा बस्छ । रुख नभए पानी पर्दैन, पानी नभए जीवन कतै सर्दैन, सबै खत्तम । अनि प्रश्न गर्नेमाथि सबै झम्टिन्छन् – सरलाई पढाउने मुड नभएको बेला तिमी झन् जिस्कने हो भने कक्षाबाट बाहिर निस्कने काम गर्नुपर्छ । भात न छानेको मिठो हुन्छ न झानेको, तारेको त झन् मिठो हुँदैन । सरले बोर्डमा लेखेको र तिम्रो आँखाले देखेको विषयमा छलफल हुन देऊ, अन्य चहलपहलको रहलपहल हुन नदेऊ । कोदोको पिठोको खिर पकाउन आफैँ सिपालु हुनुहुन्छ सर ।

काम गर्न नसक्नेहरूलाई बढी कुरो गर्न फुर्छ र सबै तर्क मुखमै जुर्छ, भन्छन् । पढेको अभिनय गर्न सिपालु राम्रोले बोल्यो कि पोल्यो जस्तो कुरो नगरी कटाक्षको भाव बुझेर व्यङ्ग्यको लोला हान्यो – राम्रा मानिसहरूको भनाइमा असली दूध खान काली भैँसीको गर्भबाटै प्रकट हुनुपर्छ वा कुनै गाईकै कोखमा अवतार लिनुपर्छ । अन्यथा मिसावट र जुठोलाई नै पवित्रको विशिष्टतम श्रेणी दिनुपर्छ ।

राम्रोले राम्रोको कुरो राम्रै गर्‍यो । अनि राम्रोतिर हेर्दै क्लासकी सबभन्दा राम्री युवती विद्यार्थीले अध्यापक सरसित मस्किँदै प्रश्न गरी – उसो भए हामीले असली र राम्रो छुट्याउने कसरी ?

कक्षामा दक्ष हाँसोको पारो फुट्यो । असली र राम्रो पनि खूब हाँसे । जिस्कँदै अध्यापक सरले पनि भन्नुभयो – फुटेको आँखाले पनि असली र राम्रो दुवै साथीलाई छुट्याउन सक्छ, नसुन्ने कानले पनि दुवैको बोली खुट्याउन सक्छ, कपालको चाँयाले वा दुवैको छाँयाले पनि फरक देखाउँछ त हो ?

युवतीलाई भाउ नदिएर दाउमा कुरोलाई जता घुमाए पनि हुने भइसकेको थियो । युवतीले केही भन्न खोज्दै थिइन् तर ताली र हुटिङको आक्रमणले आँधीको धुलोमा रुख छोपिन पुगेजस्तै भयो । युवतीले सम्मान आसन ग्रहण गरेपछि अध्यापकले असली र राम्रोमा भिन्नता पढाउन सुरु गरे ।

मानौँ तपाईं कुनै मुद्दाको फैसला गर्ने व्यक्ति हुनुहुन्छ । झगडाको विषयमा कुरो सुन्ने समय आयो । वादी र प्रतिवादीले आफू निर्दोष रहेको कुरा बताउँछन् । दुवैले आफ्नो साक्षी पनि बकाउँछन् । दुवैका वकिलले आफ्नो पक्षको मानिस निर्दोष रहेको बताउँछन् । एकले अर्कोलाई दोषी बताउने काम गर्छन् । यस्तो अवस्थामा तपाईंले असली दोषी वा असली झगडिया छुट्याउनुपर्छ । भन्नुहोला, असली झगडिया र वास्तविक झगडिया एउटै हो कि ? के गर्नुहुन्छ ?

हो, यहीँबाट राम्रो र असलीमा भिन्नता छुट्याउन सजिलो हुन्छ । जबसम्म राम्रो र असलीमा झगडा हुँदैन तबसम्म राम्रो र असली को हो ? छुट्याउन सकिँदैन । अझै सरल रुपमा बुझ्नु हुन्छ भने दुई झगडियालाई एक ठाउँमा राखेर पालैपालो सोध्नुस्- तपाईं असली झगडिया हो ? त्यसपछि फेरि सोध्नुस् – तपाईं राम्रो झगडिया हो ?

दुवै कन्फ्युज हुन्छन् वा एकले अर्कालाई फेरि दोष दिन्छन् । अनि दुवै झगडियालाई एकै चोटि यीनै प्रश्न दोहोर्‍याउनुस् – असली झगडिया को ? राम्रो झगडिया को ?

जे उत्तर आउँछ, मज्जाले पचाउँछ । फेरि मारामारी भएन भने पनि तपाईंको प्रश्नले उत्तरको झापु खाएर कहिल्यै उत्तर खोज्न नसक्ने हुन्छ तातो दुधमा मुख चोपलेको बिरालोजस्तो ।

यद्यपि असलीमा पनि शंका गर्ने र अलिकति अझ असली खोज्ने तपाईंको मनोविज्ञानले राम्रोमा पनि अलिकति राम्रो खोज्ने लक्षण त छँदैछ । तपाईं आफैँ राम्रो हुनुहुन्छ कि असली ? भन्नुको मतलब तपाईंको मनोलोक राम्रो छ कि असली ? कसरी ? स्पष्टीकरण दिनुहोस् ।

०००
२ चैत २०८०
मित्रनगर, गरुडा -४, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x