दाउ
अर्को केबिनमा भलाद्मीहरू छन्, कृपया अरुले नसुन्ने गरी बोल्दा राम्रो । दुवै क्याबिनबाट आउने पैसा एकै घरको रहेको साउले जानेको थियो । दोस्रो केबिनमा बस्ने दुवै युवाका बुबा पहिलो क्याबिनमा थिए ।
सञ्जय साह मित्र :
होटलको एउटा केबिनमा दुई प्रौढ रक्सी धोकिरहेका थिए र सामुन्नेको अर्को केबिनमा दुई युवा । रक्सीका बोतलहरू रित्तिएका र कुखुराको खुट्टाका हड्डीहरू छरपस्ट थिए । दुवैका दुवै-दुवै खुबै मिल्ने साथी थिए ।
पहिलो केबिन : मेरो छोरा बर्बाद भयो । कुनै काम लाग्ने भएन । मैले यत्ति दुःख गरेर सम्पत्ति उमारेँ तर उसले सबै गल्र्याम्मगुर्लुम्म ढालिदिने भयो । उसले केही गर्दैन । यही चिन्ताले म रक्सी नखाई बाँच्नै सक्तिनँ ।
अर्को पात्रले समर्थन जनायो । अनि पीडा पोख्यो : मेरोलाई त झन् आमाले पुल्पुल्याई, मामाले माया गर्यो । दिनरात रक्सी खान्छ । सबै सम्पत्ति स्वाहा पार्ला जस्तो गर्यो । मेरो एटिएम चोरेर मोज गर्छ, साथीहरूमा भोज गर्छ ।
सामुन्नेको केबिन : मेरो बुबा त खत्तम । रक्सी खाएर सब्बै सम्पत्ति नाश पार्न खोजे । काम केही गर्दैनन्, खालि रक्सी खान्छन् । मेरो सम्पत्ति सकिन लाग्यो भन्ने लागेर बाबुको बिँडो थामेको हुँ होटलमा ।
अर्को पात्रले समर्थन जनायो । तेरो बाउभन्दा मेरो बाउ झन् खत्तम । तेरो बाउलाई बिगार्ने मेरै बाउ हो । मभन्दा पनि ढिलो घर पुग्छन् हरेक साँझ । मेरो भागमा पर्नुपर्ने सम्पत्तिको आधा रक्सीमै सिद्धियो ।
होटल साउ दुवै क्याबिनमा पुगेर यही भन्थे – अर्को केबिनमा भलाद्मीहरू छन्, कृपया अरुले नसुन्ने गरी बोल्दा राम्रो ।
दुवै क्याबिनबाट आउने पैसा एकै घरको रहेको साउले जानेको थियो । दोस्रो केबिनमा बस्ने दुवै युवाका बुबा पहिलो क्याबिनमा थिए ।
०००
२६ फागुन २०८०
मित्रनगर, गरुडा ४, रौतहट