सञ्जय साह मित्रसुप्रिमो
बाहिर पसिनाले भिजायो र भित्र ओठतालु सुकायो । सबैले एकै स्वरमा बोले – “हो, हजुर ! प्रकृति खराब छ । हजुर राम्रो ।” अनि उसैको संरक्षणमा सबै जना टुप्पोमा रहेको मन्दिरसम्म पुगे ।

सञ्जय साह मित्र :
दुष्ट, विद्वान, सहनशील, साधु र तटस्थ यात्रामा थिए ।
हेर्दा गन्तव्य सोझै देखिन्थ्यो तर बाङ्गोटिङ्गो र उकालो बाटो थियो । लक्ष्य एउटै हो । अघिपछि एक्लाएक्लै हिँडिरहेकाहरू सप्पै मिल्न पुगेका थिए ।
यात्रामा नाम किन सोध्नु पर्यो कसैले । को पहिले पुग्ने भन्ने प्रतिस्पर्धा नभएपछि हिँड्न र बोल्न पनि रोक्नु भएन । बोली हो, निस्किइहाल्छ कोही न कोहीबाट ।
आहा, कति राम्रो दृश्य !
तटस्थको मुखबाट फुत्क्यो । साधुले सहमति जनायो । सहनशीलले मुस्कुराएरै टाउको हल्लायो । विद्वानले भावको गहिराई र प्रकृतिको गम्भीरतालाई गम्यो । दुष्ट चाहिँ बम्क्यो – यत्रो कठिन छ त केको राम्रो । चुप लाग फटाहा ।
बोलेको त तटस्थले थियो । चुप लागिहाल्यो । बाँकी सबै पहिले नै मौन थिए । दुष्टले फेरि बोल्यो – मेरो जीत भयो कि भएन ? भन, सबैजना – यो दृश्य खराब हो ।
दुई पाइलो उक्ल्यो । हातमा एउटा ढुंगो उचाल्यो र फेरि बम्क्यो – “भन, प्रकृति दुष्ट छ । हामीलाई कष्ट दिन्छ ।”
त्रासको चिसो बतासले सबैको निधारलाई छोएको अनुभूति भयो । हौसला बुलन्द पार्दै अझ कडा भएर बोल्यो –“यति भनिनस् भने यो ढुंगोले टाउको ताक्छ … ।”
बाहिर पसिनाले भिजायो र भित्र ओठतालु सुकायो । सबैले एकै स्वरमा बोले – “हो, हजुर ! प्रकृति खराब छ । हजुर राम्रो ।”
अनि उसैको संरक्षणमा सबै जना टुप्पोमा रहेको मन्दिरसम्म पुगे ।
०००
राैतहट
Subscribe
Login
0 Comments
Oldest







































