सञ्जय साह मित्रअसली मित्र
नक्कली आफन्त तथा मित्रहरूको घरमा पछुतोको चिसो पस्यो । ऊसित नाफा मात्र खोज्नेको पासा पल्टियो । घरमा फूलमालासहित उत्सवको नयाँ तयारी तयारी भएको थियो नयाँ जन्म दिवसझैँ ।

सञ्जय साह मित्र :
उसले एउटा जाँच सञ्चालन गर्यो, एउटा प्रश्नको सम्बोधनमा । प्रश्न थियो – मलाई कतिले माया गर्छन्, सम्मान गर्ने कति छन् ?
ऊ मर्यो । क्रन्दनको भयावहताले डर लाग्दो दृश्य सिर्जन गर्यो । यस खबरले सामाजिक सञ्जालमा श्रद्धाञ्जलिको सुनामी ल्यायो । सुकर्मको अर्चना फलाकिए । चिया पसलमा अमृत वमन भयो । अतृप्तहरूले पनि तृप्तिको नाटक मञ्चन गरे । सधैं खोइरो खन्ने दुरात्माहरूले सन्तोषको साँस फेरे ।
एउटा लस्कर खोला किनारसम्म पुग्यो । बाजा पनि घन्केको थियो, करुण स्वरमा । बाजाको तालमा कतिपयले अमिल्दो कम्मर हल्लाए, पापात्माहरूले निर्लज्ज खुसी मनाए मनमनै ।
चितामा राख्नेवेला ऊ उठ्यो । सबै डराए । अचानक खुसीको शीतल लहर व्याप्त भयो खोलाको बतासझैँ । उसले स्वस्थ सम्बोधन गर्यो – “सबैलाई धन्यवाद । मलाई यति मात्रले माया र सम्मान गर्नुहुँदो रहेछ । मैले सबैलाई चिनें ।” घाँटीभन्दा माथिका मित्रहरू छाँटिइएका थिए ।
नक्कली आफन्त तथा मित्रहरूको घरमा पछुतोको चिसो पस्यो । ऊसित नाफा मात्र खोज्नेको पासा पल्टियो । घरमा फूलमालासहित उत्सवको नयाँ तयारी तयारी भएको थियो नयाँ जन्म दिवसझैँ ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































