सञ्जय साह मित्ररमेश समर्थनको ‘बदनाम आँचल’को समर्थनमा
समर्थनको मुक्तक सिर्जनयात्राको पथ निकै फराकिलो बनेको छ । विचार, सिद्धान्त, दर्शन तथा भावले पूर्ण सङ्क्षेपमा भन्नुपर्दा ‘गागरमा सागर’ अटाउने मुक्तकहरूको यो कृति पठनीय, सङ्ग्रहणीय छ ।

सञ्जय मित्र :
साहित्य सुखलाई जीवनको सौन्दर्य मान्ने सर्जकमध्ये एक हुन् रमेश समर्थन । पाल्पाको पोरकनीमा जन्मेर भारतको बनारसमा अध्ययन गरी मधेसको रौतहटमा शिक्षण तथा प्राध्यापन पेशामा संलग्न रही हाल लुम्बिनीको रूपन्देहीमा सेवानिवृत्त जीवनयापन गरिरहेका समर्थन बहुविधा अलङ्कृत साहित्यकार हुन् । साहित्यिक जागरणलाई अभियानकै रूपमा सञ्चालन गर्ने, पत्रिकाको प्रकाशन तथा सम्पादन गर्ने, गोष्ठीहरू गरिरहने, सिर्जना गर्न पनि सिकाइरहनेजस्ता कार्यलाई पनि सिर्जनीय कृति गन्ने हो भन्ने समर्थनका शिष्यरूपी कृतिहरूले साहित्याकाशमा प्रकाशवान् भई अरूलाई पनि आलोकित गरिरहेको पाउँछौं । यस अर्थमा साहित्यकार समर्थन आफैंमा एक ब्रह्माण्ड हुन् ।
साहित्यको अनेक विधामा कलम चलाउने समर्थनको मुख्य समर्थन भने काव्यविधामा रहेको छ । समर्थनका ‘ब्रह्मलुट’ मुक्तक सङ्ग्रह २०५३, ‘दक्षिणा’ खण्डकाव्य २०५७, ‘पर्खी बसें’ गजल सङ्ग्रह २०६०, ‘चीसा पसिना’ संस्मरण तथा नियात्रा सङ्ग्रह २०७४, ‘देवरात’ खण्डकाव्य २०७६ र ‘बदनाम आँचल’ मुक्तक सङ्ग्रह २०८२ गरी आधा दर्जन साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । ‘बदनाम आँचल’ सर्जक समर्थनको पछिल्लो सिर्जना हो । यो मुक्तक कृति हो ।
नेपाली साहित्यमा मुक्तकलाई कविताको उपविधाको रूपमा लिइएको छ । पूर्वीय साहित्य कविताका लघुत्तम रूपमा मुक्तकको नामसमेत जोडिएको हुन्छ । मुक्तकलाई सामान्यतया चार पङ्क्तिको पूर्ण रचना मानिन्छ । चार पङ्क्तिमध्ये पहिलो र दोस्रोको अन्त्यानुप्रास मिलेको, तेस्रो चाहिं मुक्त भाव र संरचनाको र चौथो चाहिं पुनः अन्त्यानुप्रास मिलेको हुनुपर्छ । चौथो पङ्क्तिको अन्त्यानुप्रास पहिलो र दोस्रो पङ्क्तिको अनुप्राससित मिल्दो हुनुपर्छ । परम्परागत मुक्तकमा हास्य वा व्यङ्ग्यको अपेक्षा गरिन्छ भने वर्तमानमा समग्र साहित्य आफैंमा व्यञ्जना हुने भएको मानिन थालेको छ । यसले हास्य वा व्यङ्ग्यको अपेक्षा गराउँदैन र तेस्रो पङ्क्ति बन्धनमुक्त हुने भएकोले पनि मुक्तक भनिएको हो भन्ने मान्यता पनि कतैकतै उल्लेख गरिएको पाइन्छ । यसका अन्य आन्तरिक संरचनाहरू पनि हुने गर्दछन् तर सामान्यतया मुक्तकलाई चार पङ्क्तीय सिर्जनाको रूपमा सबैले स्वीकार गरेका छन् । यहीं मान्यतालाई स्वीकार गरेर समर्थनले पनि मुक्तक सिर्जना गरेका छन् । यस कृतिका सम्पूर्ण मुक्तक चार पाउमा रचित छन्–
तेल सकिएपछि पनि यदि दियो जलिरहेको छ,
बुझे हुन्छ त्यहाँ बातीको हियो जलिरहेको छ
बुबाको चितामा आगो लगाएर फर्केपछि देखें–
बुबाके शव होइन त्यहाँ घरको मियो जलिरहेछ ।
कुनै एक शब्दको सन्दर्भ, आवश्यकता र प्रयोजन अनुसार पुनरावृत्तिलाई पनि आनुप्रासिकता नै मानिन्छ । मुक्तककार समर्थनको यस कृतिको पहिलो मुक्तकले यस धर्मलाई निर्वाह गरेको छ । यस मुक्तकको भाव गाम्भीर्यलाई कुनै नापोमा बाँध्न असम्भव छ । यसले यथार्थ, पीडा, जीवनबोध सबै एक साथ अभिव्यक्त गरेको छ । यसले पिताको मूल्यलाई पनि बोध गराएको छ । मुक्तकले जुन विम्ब उभ्याउँछ र जुन दर्शनसित साक्षात्कार गराउँछ, ती दुवै अमूल्य हुन् ।
जीवनका यथार्थ, संस्कृति, प्रकृति, नाता र सम्बन्धको मूल्य, सामाजिक विकृति आदि पनि मुक्तकमा आएका छन् । सामान्यतया एकै विषयमा मुक्तक रचिएका छन् तर कतिपय मुक्तकमा प्रत्यक्ष र कतिपयमा लाक्षणिकरूपमा एकभन्दा बढी विषय समेटिएका छन् । हुनत कुनै पनि रचनामा सर्जकले आफूलाई विषयसितको सातत्यमा परिचित गराउने हो । आफूलाई टेक्ने आधार सिर्जना गर्ने हो । मुक्तकीय धर्मलाई निर्वाह गर्दै यस कृतिमा विषय वैविध्य र मुक्तककारको जीवन–दर्शनलाई पनि बुझ्न सकिन्छ । यस कृतिमा परेको यस मुक्तकलाई हेरौं –
बिहान चाहिएको हुन्छ, चिहान पठाउँछन्
शान्ति चाहिएको हुन्छ, तूफान पठाउँछन्
बिरामी हुँदा अस्पताल पुग्ने बाटो हुँदैन
मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् ।
सर्जकले आक्रोश, असन्तुष्टि पनि सिर्जनामैं पोख्दछन् । विश्वास र अविश्वासलाई पनि सिर्जनाकै आकार दिन्छन् । चिन्ता र पीर तथा व्यथालाई पनि सिर्जनाको आकार दिन्छन् । भोगाइ, अनुभव तथा अध्ययनलाई पनि सिर्जनाको विधागत संरचनामा बाँध्दछन् । जब योग्यता, अनुभव तथा त्याग र तपस्याको मूल्य बुझ्नेले बुझ्दैन, त्यहाँ सर्जक मौन रहन सक्दैन । समयको मूल्याङ्कन पनि सिर्जनामा हुन्छ, यसरी–
अरूलाई माथि चढाउँछु भन्नु आफैंलाई लडाउनु हो
अरूको आगो निभाउन खोज्नु आफैंलाई जलाउनु हो
कसैले पनि कसैलाई सधैंभरि खुशी राख्न सक्दै सक्दैन
सबैलाई खुशी पार्छु भन्नु त आफैंलाई बलि चढाउनु हो ।
सर्जक समाजमा बस्दछन् । सर्जक समाजको चेतनशील व्यक्ति हुन्छ । बौद्धिक व्यक्ति हुन्छ । भनिन्छ, बुद्धिजीवीहरूको अभिव्यक्ति नै साहित्य हो । यस कारण समाजको अनेक पक्षको प्रस्फुटन र उद्घाटन हुन्छ साहित्यमा । समाजको अनेक अङ्ग सर्जकको मस्तिष्कमा विचरण गरिरहेका हुन्छन् । भाव, भावना र चेतनाको उचाइ र गहिराइमा पुगेर सर्जक सम्भव भएसम्म समाजलाई नवसन्देश दिन खोज्दछन्, निकास बताउँछन् तर समाज लोभ, मोह तथा स्वार्थबाट माथि उठ्दैन तब सर्जकलाई अनुभूति हुन्छ, म आफैं चाउरिंदै छु–
असन्तुष्टिले ओइलाएको छु र अभावले चाउरिएको छु
आफैंभित्रका राग, अनुराग र विषादले चाउरिएको छु
किन चाउरिइस् मरिच भनेर नसोध्नुहोला मरिचलाई
उसले भन्नेछ, ‘हजूर, मत त आफ्नै रागले चाउरिएको छु ।’
कतिपय सन्दर्भले समाज स्खलनतिर गएको द्योतन गर्दछन् । दृश्यमा सङ्कुचित चिन्तन मुख्य कारक देखिन्छ । यस चिन्तनले स्वार्थको अनेक क्षेत्र उमार्दछ । नातावाद, कृपावाद, जातिवाद आदिलाई पराकाष्ठा मान्ने हो भने ठाडो अपराध, हस्तक्षेप, निर्लज्जताको अपमान हुन्छ । राजनीतिले कुन क्षेत्रलाई गाँजेको छैन । लाजनीतिको पनि कुनै सीमा छैन । सर्जक युवामा देखिएको विदेश मोहले क्षुब्ध छन् । अनि दुःखमा पनि रमाउन सिक्छन् । सर्जक बूढो हुँदै गएकोमा पनि सन्तोष प्रकट गर्दछन् । जब आफूप्रति प्रेम उब्जन्छ तब सेरोफेरोमा धेरै राम्रा कुराहरू देखिन थाल्छन् । सर्जकलाई शरीर, मनोविज्ञान वा भावनाले देश–परदेश घुमिरहँदा जब कतै मृत्युको शाश्वतताबोध हुन्छ तब यसरी उद्गार पोख्छन्–
मर्न नदिनू विदेशमा कतै मेरै नेपाल पुर्याइदिनू
मरें भने पनि ढिलो नगरी लाश तत्काल पुर्याइदिनू
मेरो लाशलाई खरानी बनाएर नछोड्नू छोरा ,
कसैलाई काम लाग्ला त्यसैले अस्पताल पुर्याइदिनू ।
सङ्ग्रहभित्र चार सय एक मुक्तक सङ्कलित छन् । कृतिमा एकसे एक मुक्तकहरू रहेका छन् । विचार प्रधान, राजनैतिक, दार्शनिक, उपदेशात्मक, सल्लाहमूलक प्रवृत्तिका मुक्तकहरू पनि छन् । केही मुक्तकमा इतिहासको गर्व र केहीमा भविष्यका आशा छन् । विपन्नको अवस्था र चाहना पनि प्रतिविम्बित भएका छन् । प्रेमको अनेक रूप देख्न पाइन्छ : पितृप्रेम, भ्रातृप्रेम, देशप्रेम तर दैहिक आकर्षण वा कुखुरे बैंसभन्दा अलिक पृथक प्रेमको सौन्दर्य पाइन्छ । देश र आमा दुवैको सम्मान गरिएको छ । स्वाभिमानको शिर ठाडो पारेर गौरवको गाथा गाइएको छ । कृतिमा आञ्चलिक महत्त्वदेखि वैश्विक महत्त्वका विषयमाथि सिर्जनाहरू परेका छन् । जीवनका अनेक घुम्तीहरू पार गर्दै यस मुक्तक सङ्ग्रहले अन्तिम पाइलो यसरी राखेको छ–
सम्बन्धको डोरी टुटेपछि आयो
सौभाग्यको ऐना फुटेपछि आयो
आमाको खुशी खोज्न गएको छोरो
ममताको अर्थी उठेपछि आयो ।
अनुभव र साधनाले खारिएपछि परिपक्व विचारको सिर्जन हुन्छ । मुक्तककार समर्थनको पहिलो मुक्तक सङ्ग्रहको समीक्षा लेख्ने अवसर पाएको यस पङ्क्तिकारले सर्जकको मुक्तक सिर्जन यात्राको अहिलेसम्म साक्षी बन्ने अवसर पाएको छ । समर्थनको मुक्तक सिर्जनयात्राको पथ निकै फराकिलो बनेको छ । विचार, सिद्धान्त, दर्शन तथा भावले पूर्ण सङ्क्षेपमा भन्नुपर्दा ‘गागरमा सागर’ अटाउने मुक्तकहरूको यो कृति पठनीय, सङ्ग्रहणीय छ । नेपालीय मुक्तक साहित्यको लागि यो कृति ऐतिहासिक दस्तावेज बनेको छ र साहित्यकार रमेश समर्थनको कर्म वन्दनीय बन्न पुगेको छ ।
फित्कौली अनलाइन मिडिया काठमाडौंद्वारा प्रकाशित २५५ रुपियाँ मूल्य रहेको यस कृतिको ओज बढाउने काम गरेको छ डा. मुरारी पराजुलीको ‘अबका मुक्तक सर्वकालिक र सार्वभौम हुनुपर्ने’ शीर्षकको आमुखले ।
०००
eprateekdailly.com बाट जस्ताकाे तस्तै
Subscribe
Login
0 Comments
Oldest







































