रामशरण न्याैपानेकात्रो बना अन्तरे
पैसा फल्दछ बोटबाट जसरी जे काम गर्दा पनि रोजै दाखिल गर्दछन् कुत सरी धेरै जनाले अनि खाता राख्न दुरुस्त एक घरमा राख्छन् खजान्ची अरे नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥

रामशरण न्यौपाने “पाँचघरे” :
पैसामा छ अपार शक्ति दुनियाँ तान्ने र छान्ने गुन
पैसाले खुद भोट किन्छ सजिलै पाइन्छ नेता हुन
पैसा धेर बटुल्न झेल झगडा कर्तुर काला गरे
नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥१
नाफाकै छ नि राजनीति अहिले गर्ने ठुला व्यक्तिले
बस्छन् न्याय छलेर मौन जहिले सामर्थ्यले शक्तिले
जस्ले निर्णय गर्न नै अकुत त्यो खाएर पैसा गरे
नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥
खाता देश विदेशमा छ जसको राखिन्न लेखा रती
सक्दैनन् अनुमान गर्न पनि त्यो भन्दैन कोही कति
आधा भाग कमाइको सँगसँगै लाने प्रतीज्ञा छ रे
नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥
धेरै केसहरू लुकाउनु भयो पोसेर पैसा बिटो
पैसा खान दिएर गर्छ पहरा बोकेर झोला ठिटो
खाने धेर खुवाउने अलिक नै बाठा असाध्यै परे
नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥
पैसा फल्दछ बोटबाट जसरी जे काम गर्दा पनि
रोजै दाखिल गर्दछन् कुत सरी धेरै जनाले अनि
खाता राख्न दुरुस्त एक घरमा राख्छन् खजान्ची अरे
नेता लास हुँदा सिएर बगली कात्रो बना अन्तरे॥
०००
चाँगुनारायण ना. पा. ३, दुबुलाँपू, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest





































