कुलप्रसाद घिमिरेआवरण र आत्माको धुलो
सभ्यप्रसाद बाहिर निस्कँदा भीडले ताली पिटेन । धुलो मात्रै उड्यो र त्यही धुलो उसले वर्षौंसम्म अरूलाई चाट्न लगाएकाे थियाे । आज आफैँ चाट्दै थियाे ।

कुलप्रसाद घिमिरे :
शहरोन्मुख गाउँको बीचमा ठडिएको एउटा चिल्लो भवन थियो उक्त भवनको नाम सभ्य समाज केन्द्र भवन थियो । त्यही भवनको तेस्रो तलामा दिनहुँ कालो सुट, चम्किलो बुट र टाईमा कस्सिएको एक पात्र देखिन्थ्यो— नाम थियाे श्रीमान् सभ्यप्रसाद ।
सभ्यप्रसादलाई समाजले बुद्धिजीवी र प्रतिष्ठित व्यक्ति भन्थ्यो । कहीँ कतै कार्यक्रम हुँदा उसलाई आमन्त्रण नगरी हुन्नथ्यो । भाषण गर्न नदिइ हुन्नथ्यो । उसका हातमा माइक परेपछि भने उसका शब्दहरू किताबबाट झरेजस्तै लाग्थे । मेरोबारेमा कसैले केही भन्नु छ तपाइँहरुले ? मलाई केही भन्नु छैन किनकी म सबैलाई बराबर गर्ने नातावाद, कृपावाद नगर्ने मानिस हुँ । म त प्रष्ट व्यवहारको मान्छे हुँ उ यसै भन्ने गर्थ्याे । मानौ उसको व्यवहारले समावेशिता, समानता र प्रजातन्त्रको ठेक्का लिएकाे उही हाे । रेडियो, टेलिभिजनले उसलाई खोज्थ्यो, मञ्चले उसलाई चाहन्थ्यो, र समाजको भीडले पनि उसैलाइ ताली पिट्थ्यो ।
तर त्यो ताली सुन्नेहरूलाई के थाहा— त्यो सुटभित्र एउटा ऐरावत राक्षसको आत्मा बस्थ्यो । सभ्यप्रसादको नजरमा मान्छे तीन थरीका थिए— पहिला आफ्ना नाता नालाका र दोस्रा नातानाला भन्दा बाहेक अन्य जो आफ्नो गुणगान गाओस्, उसैलाइ नै राम्रो मान्छे भनोस् । तेस्रा अर्का वा अरू । अरू भन्नाले गाउँबाट आएका, साधारण बोली बोल्ने, सोझा सिधा सबैसँग चिनजान नभएका, सबैसँग घुलमिल नगर्ने खाने खुवाउने नगर्ने आवश्यक र चाहिने मात्र बोल्न,आफ्नो सिधा गरी खाने मेहनती ।
एकदिन केन्द्रमा एउटा युवा आयो । ऊ सामान्य लुगा, सरल बोली, तर आँखामा आत्मविश्वास भएको देखिन्थ्यो । उसको नाम हरि थियो । उसले एउटा परियोजना लिएर आएको थियो । परियोजना समाजका सीमान्तकृत युवालाई सीप सिकाउने,स्वाबलम्बी बनाउने थियो । सो प्रस्ताव सभ्यप्रसादले मुस्कुराउँदै सुन्याे। सबैको अगाडि भन्याे, “वाह ! निकै राम्रो सोच, यस्ता युवालाई हामीले अगाडि बढाउनै पर्छ।” तर बैठक सकिएपछि हरिले नजिक गएर सोध्यो, “सर, अब प्रक्रियाअनुसार के गर्ने ?” सभ्यप्रसादको अनुहार सुट जस्तै चिल्लो रहन सकेन। आँखा साँघुरिए । किनकी हरि त यसको आफन्त थिएन । त्यसैले उसले हरिलाइ प्रश्न गर्यो “तपाईं कुन कलेज पढ्नु भएको ?” हरिले उत्तर दियो, “सरकारी कलेज ।” तपाइँको बुबा हजुरबा के गर्नुहन्छ ? “किसान ।” तपाइँले यस प्ररियोजनामा मेरा नातानालालाई जागिर दिनुहुन्छ ? हरिले उत्तर दियाे- क्षमता भए मात्र । त्यसपछि सभ्यप्रसादले टाई मिलाउँदै भन्या–
“हेर्नुहोस्, यहाँ काम गर्न म्याचिङ प्रोफाइल चाहिन्छ ।” त्यही दिन साँझ सभ्यप्रसादको सालो– पोख्रेलको छोरो आयो— विदेशी डिग्री त के, पास मार्क पनि गाह्रोले पुगेको । तर प्रस्ताव उसैको स्वीकृत भयो । कारण ? “उसमा सभ्यप्रसादको नाता सम्बन्ध छ, भनेको मान्छ, उसको बयान गरेर हिँड्छ, चाकरी गर्छ । त्यसैले हरिको मेहनत, साधारण व्यवहार, मिठो बोली, क्षमताको कुनै काम लागेन ।
समय बित्दै गयो । सभ्यप्रसादको ऐरावत रूप विस्तारै देखिन थाल्यो । अफिसमा गर्ने व्यवहार, बोली बचन बिस्तारै सबैले बुझ्दै गए । पहिला सबैको वाहीवाही केवल सीमित नाताका मानिसले मात्र गर्न थाले । उक्त सभ्य केन्द्रमा काम गर्ने कर्मचारीहरू डराएर हाँस्थे, असहमति जनाउनेहरू अयोग्य घोषित हुन्थे । उनका भाषण र व्यवहार बीचको दूरी अब खाल्डो जस्तै गहिरो भयो । एकदिन त्यो खाल्डो भासियो । केन्द्रले आयोजना गरेको ठूलो कार्यक्रम थियो । मिडिया, मन्त्री, समाजसेवी, बुद्धिजीवी गाउँ टोल जिल्लाका सबै थिए । सभ्यप्रसाद मञ्चमा चढ्दै थिए, जब पछाडिबाट आवाज आयो, “सभ्यप्रसादज्यू, तपाईंले हामीलाई पनि बोल्न दिनुहुन्छ ?”
त्यो आवाज हरिकाे थियो । हातमा कागजको फाइल, आँखामा साहस बोकेकाे हरिले मञ्चमै केन्द्रका निर्णयहरू, नातावाद, कृपावादले भरिएकाे विभेद र दोहोरो चरित्रका प्रमाणहरू पढ्न थाल्यो । माइक बन्द गर्ने प्रयास भयो, तर भीड अब मौन थियो। सुटभित्रको ऐरावत राक्षस छटपटायो । सभ्यप्रसादको मुखबाट शब्द निस्कन सकेनन् । मानौ ऊ अवाक बन्यो । आज पहिलोपटक उसका चम्किला बुटहरू धुलाम्मे भए । त्यो दिन सभ्य समाज केन्द्रको भित्तामा ठूलो पोस्टर टाँसियो, “सुटले मान्छे ठूलो हुँदैन, व्यवहारले हुन्छ।”
सभ्यप्रसाद बाहिर निस्कँदा भीडले ताली पिटेन । धुलो मात्रै उड्यो र त्यही धुलो उसले वर्षौंसम्म अरूलाई चाट्न लगाएकाे थियाे । आज आफैँ चाट्दै थियाे ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest







































