कुलप्रसाद घिमिरेबालराम र वृद्धाराम
टाढाबाट वृद्धारामको मुस्कान देखिन्थ्यो, त्यो मुस्कानमा आत्मविश्वास कम र कब्जाको सन्तुष्टि बढी थियो । उनीहरूलाई थाहा थियो, पार्टीको ऐना अझै पुरानै छ— नयाँ अनुहार देख्दा त्यसले दोष मात्रै देखाउँछ ।

कुलप्रसाद घिमिरे :
विशेष सम्मेलनको हलमा बिहानदेखि नै लोकतन्त्रको मेला लागेको थियो । झण्डा त्यति धेरै थिए कि विचार नै देखिन छाडेका थिए, नारा यति ठूला ठूला थिए कि अर्थ सुन्न र बोध गर्न नसकिने भएका थिए । यही भीडभित्र दुई पुस्ता आमनेसामने थिए बालराम र बुढा बृद्धाराम । नाम दुवैको राम नै थियो, भाषण दुवैको देश, जनता र पार्टीकै लागि, तर बुद्धि चल्ने दिशा भने ठीक विपरीत आभास हुन्थ्यो ।
सम्मेलनको बाहिर लोकतन्त्रको जयजयकार थियो, भित्र भने पद, प्रभाव र पुस्तागत अहंङ्कारको खुला कुस्ती चलिरहेको थियो । मञ्चमा उभिएका वृद्धाराम बोल्न थालेपछि घडी पनि बूढो हुन्थ्यो । उनले आफ्ना भाषणमा इतिहास यति धेरै सुनाउँथे कि वर्तमानले बोल्ने पालो नै पाउँदैनथ्यो । आफ्ना नजिकका मान्छेलाई जिम्मेवारी दिँदा त्यसलाई “त्यागको पुरस्कार हो” भनिन्थ्यो, आफन्तवादलाई “अनुभवको निरन्तरता” भनेर अर्थाइन्थ्यो । हलभित्र ताली बज्थ्यो, मिडियामा त्यो कदम राष्ट्रव्यापी बुद्धिमत्ताको नमुना बनाइन्थ्यो । वृद्धारामले गरेका हरेक गल्ती पनि बाध्यता बन्थ्यो, हरेक स्वार्थ पार्टीको हितमा रूपान्तरण हुन्थ्यो । यतिसम्म कि सही र गलत छुट्याउने लाइसेन्स जन्मँदै उनीहरूले लिएर आएको ठानिन्थ्यो ।
त्यसै अधिवेशनमा बालरामले पनि मुख खोल्ने साहस गरे । उनले आफ्नै पुस्ताका इमानदार र काम गरेका साथीलाई अघि सारे । तर उनको प्रस्ताव सुन्नासाथ हलको तापक्रम घट्यो । त्यो निर्णय अनुभवहीनताको उदाहरण ठहरियो, पार्टी फुटाउने षड्यन्त्र कहलियो । वृृद्धारामले जे गरे पनि रणनीति बन्यो, बालरामले त्यही गरे अनुशासनहीन भयो । नियम कागजमा एउटै थियो, तर प्रयोग गर्दा उमेर, कद, वजन हेरेर चलाइन्थ्यो । यहाँ विधि होइन, वंश चल्थ्यो ।
सम्मेलनको टिफिने छुट्टीमा बालरामले चिया होइन, यथार्थ निलिरहेका थिए । उनले बुझिसकेका थिए— यहाँ विचार बोल्दैन, उमेर बोल्छ; योग्यता होइन, पुरानोपन गनिन्छ । टाढाबाट वृद्धारामको मुस्कान देखिन्थ्यो, त्यो मुस्कानमा आत्मविश्वास कम र कब्जाको सन्तुष्टि बढी थियो । उनीहरूलाई थाहा थियो, पार्टीको ऐना अझै पुरानै छ— नयाँ अनुहार देख्दा त्यसले दोष मात्रै देखाउँछ ।
सम्मेलनको समापनमा माइकबाट घोषणा भयो— “सम्मेलन ऐतिहासिक रूपमा सफल भयो, पार्टी एकताबद्ध छ, सबै निर्णय सर्वसम्मत छन् ।” हल तालीले गुञ्जियो । तर त्यो ताली उत्साहको होइन, अभ्यासको आवाज थियो । किनकि यहाँ सही र गलत कामले होइन, काम गर्ने राम कति पुरानो हो भन्ने कुराले फैसला हुन्थ्यो । र जबसम्म बालरामले वृद्धाराम बन्ने उमेर कुर्नुपर्छ, तबसम्म परिवर्तन पनि भाषणमै सीमित रहनेछ— प्रस्तावमा होइन, पदमा होइन, व्यवहारमा त झन् हुँदै होइन ।
०००
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest








































