सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपालीलाई घडी चाहिँदैन

हाम्रो समय- हाम्रो दश र पाँच बजाउने अधिकार हाम्रै किन नहुने ? त्यसैले हामीले कुनै बेला पनि दश र पाँच बजाउन- एक र दुई बजाउन (आवश्यक ठानेमा दिनमा चारपल्ट एक बजाउन पनि) स्वतन्त्र हुन पाउनुपर्छ ।

Nepal Telecom ad

रमेश विकल :

मेरो सानो नाति छ । ऊ मलाई सधैँ पिरोलिरहन्छ बा मलाई घडी किनिदिनोस् न । है बा है । है भन्या बा ।

– हुन्छ हुन्छ, म भनिदिन्छु- यसपालिको जाँचमा पैला भइस् भने तँलाई घडी किनिदिन्छु ।

तर तर मलाई थाहा छ मैले उसलाई घडी किनिदिनु पर्दैन । त्यो त ऊ मैले भनिदिनका लागि भनिदिएको मात्र हुँ । आजको शैक्षिक वातावरणमा मेरो नाति जस्तो छप्पन लप्पन नजान्ने (चोर्ने नजान्ने) सोझो, आफ्नै मिहिनेतको भरमा (मैले उसलाई कुनै विषयमा पनि ट्यूशन राखिदिन सकेको छैन ।) पास हुन खोज्ने केटो जीवनमा कहिल्यै पास हुन सक्तैन । कदाचित् कुनै जमानामा गएर पास, त्यसमा पनि पैला हुने चमत्कार देखाउन सकेछ भने पनि मैले उसलाई घडी किनिदिनु पर्दैन । किनभने त्यति बेलासम्म उमेर प्रशस्त छिपिइसकेकाले ऊ अनुभवबाटै नेपालीलाई घडी चाहिँदैन भन्ने कुरो बुझिसकेको हुनेछ । जस्तो आज बुझेको छु ।

हो, वास्तवमा हामी अलिकति पनि बुद्धि भएका र विवेक भिरेका छौँ भने हामीले बुझिसकेका हुनुपर्नेछ । नेपालीलाई घडी चाहिँदैन किनभने एक त आजको जस्तो घडी हाम्रो राष्ट्रिय आविष्कार (हाम्रो राष्ट्रिय आविष्कार त पानी घडी हो, जसको आज अस्तित्व नै लोप भैसकेको छ ।) नै होइन न त यो राष्ट्रिय उत्पादनभित्रै पर्छ । यो त सोझै विदेशी आविष्कारद्वारा, विदेशी उत्पादनकै माध्यमबाट पैठारी भएको शुद्ध विदेशी वस्तु हो- विदेशी संस्कृतिको वाहक । हामीले आज आफ्नै संस्कृति, आफ्नै राष्ट्रियता र आफ्नै उद्योगधन्दाको विकासको – संरक्षण संवर्द्धनको नारा लिएर बढिरहेको बखत – आफैँ भएर बाँच्न चाहेको बखत यस्तो विदेशी वस्तुको सङ्गत गर्नु वाञ्छनीय छैन । यस्तो वस्तुको पछि लागेर हामी आफ्नो राष्ट्रिय चिन्तनमा खलल पार्न किन दिन्छौँ ? त्यसैले यसको कुनै राष्ट्रिय उपयोग छैन ।

अर्को कुरा हामीले यसको उपयोग गर्न चाहे पनि त्यो गर्न सक्तैनौँ किनभने एक त हामीसँग (धेरै वा अत्यधिक जनसङ्ख्यासँग) घडी छैन र भएकासँग पनि त्यसको कुनै उपयोग छैन । हामीलाई ठीक बेलामा कतै जानै पर्दैन, केही गर्ने पर्दैन न दैनिक काममा, न विशेष काममा । यदि हामीले बैङ्कक – हङकङको उपहार पाएर नाडीमा घडी भिरिहाले पनि त्यो केवल हात्तीको दाँतकै मात्र हुन्छ किनभने हामीलाई टाइम चाहिँदैन टाइम नै नचाहिएपछि घडी किन चाहिन्छ ?

हो, हामीलाई टाइम चाहिँदैन, समय चाहिँदैन । टाइम समय भनेको स्वतन्त्रताका लागि बन्धन हो । बन्धनमा बाँधिएर स्वतन्त्रता बाँच्दैन, प्रजातन्त्र हुर्कँदैन र मौलिकता पुष्टिँदैन । हामीलाई त अहिले स्वतन्त्रता चाहिएको छ, मौलिकता फुस्टाउनु परेको छ र प्रजातन्त्र जोगाउनु परेको छ । घडीले मान्छेलाई समयको बन्धनमा बाँधिदिन्छ समयमा बाँधिएर चल्नु स्वतन्त्रताका लागि हानिकारक हुन्छ । स्वतन्त्रतालाई हानिनोक्सानी पुर्‍याउने नेपालीको चरित्र होइन । त्यसैले नेपालीलाई चाहिँदैन । त्यसैले नेपालीलाई घडी चाहिन्न ।

हो, हामीलाई घडी चाहिँदैन किनभने हामीलाई समय चाहिँदैन । समय चाहिएमा हामीसँग आफ्नै समय छ घामले दिएको समय, छाया (ओझेल) ले दिएको समय – दिन र रातले दिएको समय। बादल लागेको दिनमा हाम्रो समय ढिला चल्न सक्छ र घाम लागेको बेला चाँडो । यस कुराको आफ्नो समयको निक्र्यौल गर्न हामीलाई दोस्रो उपकरणको (घडीको) के आवश्यकता ? हामी आफैँ आफ्नो समय निर्धारण गर्न सक्छौँ । हामीले जागिर खान दश बजे अड्डा, कार्यालय पुग्नुपर्छ भने हामीलाई घडीले समय किन देखाउनुपर्छ ? हामी आफैँ -आफ्नै विवेक, बुद्धि र सुविधाले दश बजाउन सक्छौँ – हामी कार्यालयबाट पाँच बजे (मंसीर-माघ त चार बजे) छुट्छौँ भने घडीले हामीलाई किन बजाएर देखाउनुपर्छ ?

हामी कुनै बेला पनि आफ्नो पाँच बजाउन सक्छौँ – अर्थात् हामी जुनबेला अड्डा पुग्छौँ त्यसैबेला हाम्रो दश बज्न सक्छ, जुनबेला हामीलाई त्यहाँबाट निस्कन पर्छ – त्यसैबेला हामी पाँच बजेको भन्न सक्छौँ । आखिर पाँच र दश बजाउने अधिकार घडी (त्यो विदेशमा आविष्कृत भएर विदेशी सभ्यता संस्कृतिको डोरीले हाम्रो स्वतन्त्रतालाई कमारो बनाउन खोज्ने घडीको) किन ? हाम्रो समय- हाम्रो दश र पाँच बजाउने अधिकार हाम्रै किन नहुने ? त्यसैले हामीले कुनै बेला पनि दश र पाँच बजाउन- एक र दुई बजाउन (आवश्यक ठानेमा दिनमा चारपल्ट एक बजाउन पनि) स्वतन्त्र हुन पाउनुपर्छ । आर्थिक, राजनीतिक र सामाजिक जस्ता धेरै कुरामा त हामी परतन्त्र छौँ, छौँ, जाबो समयको कुरामा पनि हामी किन परतन्त्र (घडीको खटनमा) बस्ने ? चाहिँदैन हामीलाई घडी, चाहिँदैन ।

त आज घडीका लागि मलाई पिरोलिरहने मेरो सानो नातिले समयको अन्तरालमा अभ्यास र संस्कृतिको अनुभवले परिपक्व भएपछि अवश्यै त्यो जिद्दी छोड्ने छ र ऊ आफ्नो समय घडीद्वारा होइन आफ्नै सुविधाद्वारा निर्धारण गर्न समर्थ हुनेछ ।

०००
२०५० असार
मधुपर्क : प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध २०६७ फागुन
‘श्रीमानजी भन्नुहुन्छ’ (२०८०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी