सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तपाईं किन त्यसरी हाँसेको ?

तर तिमी जस्ता थोत्रो सपना देखेर, थोत्रो आदर्श भिरेर गल्लीमा भौँतारिने, होटेल-भट्टी चहार्ने एक मुडी स्वाभिमानी देशभक्तले केहो लछार्न सक्तैनन् । केही गर्न शक्ति चाहिन्छ । शक्ति हामीजस्ता राजनीतिज्ञका हातमा हुन्छ ।

Nepal Telecom ad

रमेश विकल :

– ए काजी ! तपाईंको टेलिफोन !
मेरो टेलिफोन ? लुगा लगाएर हिँड्ने लागेको रसराजलाई साँच्चै अचम्म लाग्यो । एक त उसको टेलिफोन, दोस्रो दिल्लीबाट ट्रङ्कल । अचम्म त हुँदै हो । कसले गर्छ उसलाई टेलिफोन ? अरु त अरु उसलाई उधारो दिने पसलेले सम्म पनि उधारोको पैसा असुल गर्नुपरे टेलिफोनबाट होइन, सोझै झम्टा दिन्छ । … भने आज उसलाई टेलिफोन- त्यसमा टनि दिल्लीबाट ? … ऊ सम्झन खोज्छ यसरी सोझै दिल्लीबाट टेलिफोन गर्न सक्ने इष्टमित्र, आफन्त को छ उसका ?… घरपट्टिका त छँदैछैनन् (मोरी बल गरेर सम्झदा पनि) ससुराली तर्फका पनि कोही छैनन् । …त ?…

– हल्लो । … ऊ बडो हच्की हच्की रिसिभर लिएर बोल्छ । एक्कासि उसका कानमा हिन्दी सिनेमाको जडाउरीमा बनेको नेपाली सिनेमाको खलनायक जस्तो अत्यन्त नमिठो, मुटुमा चिराइतो भर्ने स्वर पस्छ । ऊ हडबडाएर सोध्छ- तपाई को ? किन यसरी सुँगुर डुक्रेझैँ डुक्रेको ? त्यसरी नचिच्याउनोस् न । मेरो त गिदी नै खलबलिन्छ ।

– हा हा हा – उताको कटु स्वर आउँछ- अँ तिमी त अचेल हरेक कुराबाट खुब रस चोषण गर्छौ रे । …त टाइम्स अफ इण्डियाको मेरो वक्तव्य पढ्यौ ? कत्तिको चुस्यौ त्यसबाट ?

– ओहो ! शाहजी हजुर ?… रसराज हडबडायो । हि हि हि… मैले त चिन्न नसकेको । नमस्कार । …हजुर अहिले एम्यासीबाटै ?

– अन्त कहाँ जाउँ त ? – उताको स्वर आउँछ- घर किन्न नमिलुन्जेल यो नै त आफ्नो वर मान्नु पर्‍यो । हा हा हा… आफ्नो बुहारीको आवास पनि त आफ्नै घर हो नि, होइन र ? – हाः हाः हाः

– तर शाहजी । स्वदेशको अन्न खाएर, स्वदेशी बुहारीकै घरमा आँगन जमाएर स्वदेशकै व्यवस्थाको स्वाभिमानमा धक्का दिने खाले वक्तव्य गरी दिनुभयो ? … आखिर नैतिकता पनि त…

– के रे ?… उताको स्वरमा उपहास बज्छ कसको स्वाभिमान ? के हो नैतिकता ? नेपाली भन्ने जन्तुको पनि स्वाभिमान हुन्छ ?… नैतिकता ! हूँ, मैले नेपालको माटोमा बसेर बोलेको छैन, न त स्वाहाँको धर्तीमै उम्रेको अन्न खाएको छु अहिले… अहिले म त दिल्लीको धर्ती टेकेर कनात सर्कलको सुपर मार्केटको बार एण्ड रेष्टोरेण्टमा बिफ र बियर खाँदै पो बोल्दैछु ।… अनि केको नैतिकता ?… कस्तो नैतिकता ?…

– तर हजुरको त्यस सागर्भित वक्तव्यलाई लिएर यहाँ राजधानीमा बने थरीका टिप्पणीको हुँदैछन् । हजुरले देशको सुरक्षा..

– केको राजधानी ?… कहाँको राजधानी ?… उताको स्वरमा उत्पन्न उपेक्षाको भाव छ- राजधानी त पहिलो वासिङ्टन डी. सी. हो । अनि दोस्रो नम्बरमा दिल्ली आउँछ । संसारमा अरु पनि कुनै राजधानी हुन सक्छ ? …वाहियात् !…

– त्यसो भए हजुरको आशय के त साँच्चै देशको सुरक्षा ठूलदाइको हातमै सुम्पिनु रङ भन्ने हो त ? रसराज डराइडराई प्रश्न गर्छ ।

– रसराज ! … तिमी पत्रकार होइनौ पत्रकार हो । – उताबाट आवाज आउँछ । त्यसैले तिमी मूर्ख, तिम्रा भाइभतिजा मूर्ख, तिम्रो देशै मूर्खहरुको देश !… तिमीलाई थाहा हुनु नै हावी राजनीतिका मानिस भाग होइन वक्तव्य दिन्छौ, जो पछि फेर्नुपरे पनि सजिले फेर्न सकियोस् । दोस्रो आश्रय लिनु परेपछि ठूलै रुखको आश्रय लिनुछ । सुरक्षा थाम्न नसक्नेले सुम्पन त पर्छ । अनि सुरक्षा सुम्पँदा बलियाकै हातमा त सुप्पनु पर्छ । अब ठूलदाइ बलियो छ भने…

– हजुरलाई त्यसै कारण विदेशी दलाल भन्न थालेका छन् नि त । अब रसराजमा केही केही साहसरसको संवार हुन थालेको छ- विदेशी दलालको अर्को संस्करण ।

– भन्न देऊ । म कसैको भनाइको पर्वाह गर्ने मानिस हुँदो हूँ त आज यो दुवै हातमा लडडू लिएर बस्न सक्ने थिइनँ । म सही कुरा आज बोल्छु जसबाट मेरो भोलि पनि सुरक्षित होस्, म भोलि पनि त्यसलाई अर्कै सुर लयमा, छन्द र तालमा गाउन सकूँ ।

– तर देशकै लड्डू लुटिए तपाईंको लड्डू कसरी बच्ला ?
– रसराजजी ! तिमी त नाउँ मात्रका रसराज रहेछौ । -उता- बाट बिल्लो उडाएको स्वर आउँछ । – जीवनबाट वास्तविक रस लिन नजानेर थोत्रो आदर्शको तित्रे मोज गर्ने थियो । हुन पनि तिमी जस्ता तिताको मुख हुनेले जोवनको वास्तविक ऐश्यर्य- रस भोग्न कहाँबाट पाउनु ?… मेरो त हेर…

– तर… तर… हजुरको कुरा…
– रसराज हडबडाउँछ । बुझ्न सकेनौ, होइन ? बुझ्न सकेको भए तिमी आज थोत्रो पत्रुकारको सट्टा साँच्चैको पत्रकार बनेर मोज गर्ने थियो ।… लाटा, तिमीले सिक्किमको भाग्य, भुटानको इतिहास त पढेकै हो नि । अब पनि टिभी खुकुरीका भरमा किल्ला-काँगडा हाँक्ने उही पुर्खाका सन्तान ठान्छौ ? आजको तिम्रो खुकुरी किल्ला काँगडा हाँक्नु त के करेसाको सिस्नु फाँड्न पनि काम लाग्दैन, बुझ्यौ ?

– तर हामीलाई खुकुरीभन्दा बढी हतियार नै किन चाहिन्छ र ? आज यो त संयुक्त राष्ट्र संघ युग । यसमा हामीलाई लडाई झगडाको डर पनि छैन नि । हाम्रो देश सानो छ भन्दैमा कसैले हडप्न सक्ने होइन क्यारे ।

– लौ खाउँला बाजे- उताबाट अट्टहास स्वर अउँछ ठूलो समुद्रमा ठूलै सार्क बढी हुन्छ । सानो सार्कको भोजन नगरे ठूलो सर्कको पेट कसरो भरिन्छ । आजसम्म तिमीले संयुक्त राष्ट्र संघले कुनै सानो राष्ट्रको हित गरेको देख्या छौ ?

– चुप लाग्नोस् शाहजी । एक्कासि रसराजले आफ्नो हैसियत बिर्सन्छ, उसेको स्वर चड्कन्छ । त्यत्रो संयुक्त राष्ट्र संघलाई त्यत्रो आरोप लगाउनु…

– तिमी आफूलाई निकै राजनीति जान्ने ठान्छौ कि क्या हो ? उताबाट उपेक्षाको स्वर आउँछ । हेर राजनीति मैले जानेको छु । उसो सार्कले सानो सार्कलाई खानु प्रकृतिको नियम हो । उसले त्यो खान बल गर्नु पर्दैन- मुख बाएर बसे पुग्छ । सानो सार्क आफैँ कसको मुखमा पर्न जान्छ ।

– शाहजी – अब रसराज पूरै निडर भइसकेको थियो- तपाईं सबैलाई आफै जस्तो लेण्डुप काजी ठान्नुहुन्छ ! … तर यस धर्तीमा तपाईं बाहेक अरु पनि छन् ।… अराजनीतिज्ञ, तर देश भक्त, स्वाभिमानी नेपाली बुझ्नुभो ?

लौ लछारून् तपाईंका स्वाभिमानी देश भक्तले । – उताबाट व्यङ्ग्य स्वर आउँछ । तर तिमी जस्ता थोत्रो सपना देखेर, थोत्रो आदर्श भिरेर गल्लीमा भौँतारिने, होटेल-भट्टी चहार्ने एक मुडी स्वाभिमानी देशभक्तले केहो लछार्न सक्तैनन् । केही गर्न शक्ति चाहिन्छ । शक्ति हामीजस्ता राजनीतिज्ञका हातमा हुन्छ । तिम्रो देशका राजनीतिज्ञहरूलाई हेर, कसको छैन सम्पत्ति ठूलदाइका र अरु ठूला सार्कका ढुकुटीमा ?… कसको छैन, कारोवार र घरबार ठूला सार्कका विशाल सागरमा ?… अझ धेरैजसो तिम्रा शक्ति हस्त राजनीतिक पण्डितको जन्म र पालन पोषण त ठूली आमाकै घरमा भएको छ । उनीहरू उतैको छन्दमा बोल्छन्, उतैको लयमा सुसेल्छन् ।… के मौकामा तिनले ठूलदाइ – ठूलो आमाहरूको नूनको सोझो गर्न चुक्लान् ?

– तर, नेपाली जनताले तपाईं जस्ता दहीज्यूरे, चमेरा राजनीतिका पण्डाहरूलाई राम्ररी चिनिसकेको छ । अब तपाईंहरूका गुलियो कुराका इन्द्रजालमा पर्दैन- नेपाली जनता !

– हेरौँला । – उत्तातिरको उपेक्षाको स्वर- पहिले पनि त तिमी त्यसै भन्थ्यो । तर कोशीको कोसेलो ठूलो आमालाई चढाउँदा ट्वाएँ परेर हेर्‍यो हेर्‍या हेर्‍यै भयो । त्यस्तै गरी हिमालको धुरीमा लगेर ठूल्दाइले आफ्ना अर्ना चराउँदा वाक्क परेर हेरिरह्यो । … हेर हामीजस्ता ठूला राजनीतिज्ञहरू एउटा सानो धर्तीको साँगुरो घेरामा बाँधिएर राजनीति गर्दैनौँ । देश भनेको माटो न हो, जहाँ टेक्यो उही माटो आफ्नो । त्यसै मान्यतालाई विश्वास गर्छाैँ हामी । हामीले त्यसै सिद्धान्तमा टेकेर आफ्नो भविष्य विश्वका चारैतिर फैलाएका छौँ । हामीलाई त भैँसीले पाडी पावस् कि पाडी बिगोतीसँग मतलब छ ।

– दलाल ! कमारा !! – रसराजले घृणाले दाह्रा किट्यो । तर उताबाट रिसिभर क्रोडिलमा राखेको आवाज आयो ।

०००
अब अगाडि बढ्नु छ, अझ अगाडि… (२०५०)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad