साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टी. भी. मा मुख देखाउन पाए

तर सधैंँ रित्तै जर्किन लिएर फर्केको छु । छोराको पनि त्यही हाल छ । कता पढ्नु, कता लेख्नु, रित्तो जर्किन लिएर गयो, रित्तै लिएर फर्क्याे । कति दिन भइसक्यो ।

Nepal Telecom ad

रमेश विकल :

रसराजको त काम नै हरेक कुरामा हरेक दृश्य र हरेक घटनाबाट रस लिनु हो । यही घटना लिउँ न, भारत नेपाल बीच व्यापार र पारवहन सम्बन्धलाई लिएर पौँठाजोरी पर्‍यो । यति बेला देशविदेसिने हरेक दृश्यमा, देशवासीका मनमा बटारिने भावनाले बिहान बेलुकी कुनै न कुनै मनोरञ्जक घटना सम्भव भइदिन्छ । भनौँ, अगिपछि घरबाट बाहिर दुई पाईला मात्र पैदल सार्नु पर्दा बाबुको बिहे देख्ने नवाफराजहरूलाई आफ्नो टलक्क टल्कने केही ग्यारेजमा थन्क्याएर चुट्टिएको मूसो अनुहार लाएर लुरुलुरु सडकमा हिँडेर सिंहदरबार धाउनु परेको देख्ता रसराजको मनमा हास्यरस छचल्किन्छ । रसराज बडो मजाको स्वाद लिएर भन्छ- अँ, खुच्चिङ हर्रो नपाउँदा जाइफल धाउँदा मोरा । हिजो अस्ति त सत्ताले रजत जयन्तीको धुमधामसँग विकास गरिदिएका बित्ते लङ्गौटी जत्रो सडकलाई पनि आफ्नो बाबुको पेवा सम्झेर हाम्रो ज्यानलाई कुकुरको ज्यान जत्तिकै ठानेर दगुराउँथिस् नि तेरो बाबुको ठाँडो चारपाङ्ग्रे । अहिले पाइस् कि स्वाद ?

… अनि त्यस्तै बाटा सडकका छेउछाउमा राति एक बजेदेखि अर्को दिन आधा रातसम्म टसमस नगरी लाम लागेका दुई तीन किलोमिटर लामा जर्किन, तुम्लेट, टीन, ग्यालन र मान्छेका लामलाई देखेर पनि रसराजको मनमा तीतो टर्रो रस नै रसाउँछ । त्यही टर्रो स्वादले मुख मिठ्याउँदै ऊ भुतभुताउँछ- पायौ स्वाद मोरा हो । भएभरका जङ्गल खायो, नयाँ जङ्गल लाउने वृक्ष रोप्ने नाउँमा बिदेशी हुण्डीको सदावर्त खायौ, विकासका नाउँमा डिनर, भोज पार्टी रमायौ, आफ्नो बारी बगैँचा उमार्नु सट्टा छिमेकका करेसामा सिला खोजेर चारा चुग्यौ । अहिले आएर हाइ मट्टितेल ! हाइ दाउरा ! हाड नून ! हाइ चिनी ! भन्दै लाटोकोसेराको रुवाइ रोएर कसले दिन्छ तिमीलाई स्वास्नी ! तिम्रा अल्छी तिघ्रा र ठगबुद्धिले सिर्जना गरेको तिम्रो यो नियतिभन्दा उम्दा नियतिले के खोज्छौ तिमी मुर्दारहरू ।

ठीक छ, बाहिर देखिएका यो हाहाकारी हृदय- यो छाती पिटाइ र यो रुवाबासीका खेलमा त रसराजलाई रस मिल्छ । तर बेलुकी मनमा श्रृङ्गार रसको इन्द्रधनुषी सागर छचल्काउँदै घरभित्र पस्ता चिसो चुल्हाको अगाडि घुँडाको बीचमा मुण्टो घुसारेर शोकको मूर्ति भएर अँध्यारामा बसेको श्रीमतीलाई देख्ता भने उसको मनको त्यो घडा फुटेर छताछुल्ल हुन्छ । अनि ऊ छाँगाबाट खसेको व्याङ झैँ टर्रटर्र गर्न थाल्छ- किन ? आज पनि चुल्हो चिसै ?

चिसो नभएर के हात खुट्टा बालेर तताउने त ? – श्रीमतीको शोक मूर्ति अब रणचण्डी अवतारमा रूपान्तरित भइसकेको हुन्छ । उनको स्वर पनि वर्खाको खस्रो भ्यागुताको झैँ टरटरे भैसक्छ । जानोस् न तपाईंका अधछेफधछे, रजत मन्त्री, काँस मन्त्री, घाँस मन्त्रीलाई मेरो चुल्हो तताइदेउ न ।

होइन तिमो यस्तो राष्ट्रिय सङ्कटको बेलामा पनि उनै हाम्रा देश सेवक हस्तीहरूमाथि किन खनिन्छ्यौ अरिङ्गालका गोला झैँ ? किन तिमी यो खस्रे भ्यागुतोको जस्तो अराष्ट्रिय स्वर निकाल्यो ट्यार्र ट्याार्र- रसराजलाई त्यो मनपर्दैन । किनभने ऊ आजभोलि अत्यन्त राष्ट्रिय भएको छ । श्रीमतीलाई खप्की लाउँदै भन्छ- विचरा उनीहरूले मात्र के गर्ने, भन त ? अब पच्चिस वर्ष पुगेछ हाम्रो निविकल्प प्रजातन्त्र । नपुगोस् भनेर पनि त भएन समय मोरो रोकिने होइन । पच्चिस वर्ष पुगेपछि रजत जयन्ती त मनाउने पर्‍यो, परेन ? अनि के गरुन् विचराहरू ? तै पनि सक्तो त गर्दै पनि त छन्- आफ्नो राष्ट्रिय स्वाभिमानको खुट्टो सकेसम्म दह्रो तुल्याएर टेक्तैछन् । अनि मट्टितेलबाट उपभोक्ता गृहिणीहरुलाई सन्तोष त तुल्याएकै छन् । तिमी देख्तिनौ टेलिभिजनमा बराबर ? त्यहाँ गृहिणी, व्यापारी, उपभोक्ताहरू बराबर आएर कति प्रसन्न मुद्रा देखाएर आफूचाई सुविस्ता भएको, सबै कुरा उपलब्ध भएको, कुनै अभाव नभएको, राहत मिलेको कुरा भन्दैछन् । यो भन्दा बढी के गर्ने व्यवस्थाले ?

हो हो । -श्रीमतीको स्वर झन् उग्र हुन्छ- व्यापारीले त्यसो नभने भोलिदेखि कालाबजारी कसरी चलाउने ? अनि उपभोक्ता गृहिणी – उनीहरूलाई पनि त टी.भी. मा नाच्ने सोख छ नि, मानिसकै सोख त हो । हामीलाई अभाव भयो, दुःख भयो पीडा, र असुविधा भयो भनेर कराउन टी.भी. ले ठाउँ दिन्छ ? … त्यसरी अराष्ट्रिय गुनासो गरेर टी.भी. मा नाच्न पाइने भए हामी पनि नाच्थ्यौँ । म पनि टी.भी. मा मुसुक्क हाँसेर मसक्क मस्केर भन्थेँ- हो हजुर, हामी सबैले सबै कुरा पाएका छौँ- प्रजातन्त्र पाएका छौँ, राहत पाएका छौँ, बजार भाउ पाएका छौँ । प्रशस्त पाएका छौँँ, दैनिक उपभोगका सामग्री पाएका छौँ । हामीले तपाईंहरू जस्ता राष्ट्रिये नेता, राष्ट्रिय मन्त्री र राष्ट्रिय व्यवस्था पाएका छौँ । दाउरा त हामोले बाल्नै हुन्न वातावरण, वनजङ्गल संरक्षण गर्नुपर्छ । दाउराका सट्टा चौबीस घण्टा लाममा बसेर पनि दुई लिटर मट्टितेल पाएका छौँ । चिनी त ठूलदाइका सन्तानलाई कोसेलो पठाउनै परे पनि हाम्रै कारखाना छ । रह्यो नूनको कुरो । नून त सकेसम्म कम खानुमै फाइदा छ । अझ सकेसम्म नखानु नै फाइदा छ । यसले त ब्लड प्रेशर उकास्छ । त्यसैले हामीले जो पाएका छौँ, त्यो यथेष्ट छ । कहिलेकाहीँ चुल्हो र स्टोभ चिसो हुन्छ, त्यो हुनु पनि पर्छ । किनभने एकनाससँग तातिरह्यो भने जे कुरा पनि पड्कन्छ । त्यसैले हामीले सबै पाएका छौँ । सबै भन्दा ठूलो कुरो हामीले टी.भी. मा मुख देखाएर यसरी मस्कन पाएका छौँ ।

तिमी पनि ठट्टा गर्छ्याै बा । रसराज श्रीमतीको कोषबाट पनि रसै लिन खोज्छ । तिमो जेसुकै मन, सरकारले राहत दिन भरमगदुर त गरेकै छ बा ।… अब यही भनन बिहान बेलुकको हिँड्दा तिम्रो आँखााले किलोमिटर लामा लाम र मानिसको भीड त देखेको नै छौ नि । केही नपाइने भए त्यो लाममा लागेर बस्न मान्छे बोलाएको छैन नि ।

मैले होइन त कहाँ भने र श्रीमतीले भनिन्- देख्ने मात्र किन, म आफै कति दिन बिहान झिसमिसेदेखि आधी रातसम्म आफै लाममा बसेको छु- केही पाइन्छ भनेरै त हो । तर सधैंँ रित्तै जर्किन लिएर फर्केको छु । छोराको पनि त्यही हाल छ । कता पढ्नु, कता लेख्नु, रित्तो जर्किन लिएर गयो, रित्तै लिएर फर्क्याे । कति दिन भइसक्यो ।

भैगो जानदेउ – रसराज मनमा सन्तोष रसको तरङ्ग चलाउन खोज्छ- पढ्नु लेख्नु भनेको त तातो पेट भएपछि हो । हाम्रो छोरो पनि चुलो तताउने सामान लिन गएकै छ : लाइनमा बसेकै छ । कति दिन रित्तो जर्किन फर्केला ए ! एक दिन न एक दिन त भाग्य पल्टेला नि । अनि मट्टितेल पनि लिएर आउँला ।

०००
अब अगाडि बढ्नु छ, अझ अगाडि… (२०५०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x