रमेश विकलशिवजीले पनि सुस्केरा हाले
हो, त्यो पनि मान्छु- शिवले लामो सुस्केरा छोडे तर भन त आजको धर्म कुनै मर्यादा, इज्जत र नीतिसँग सम्वन्ध छ र ? कसले कसको मर्यादा गर्छ यहाँ ? त्यहाँ त आज खालि बाठा, फटाहा, तस्कर, गुण्डा-शक्तिको इज्जत छ । त्यहाँ त सुनको इज्जत छ ।

रमेश विकल :
एक दिन कैलास दरबारमा शिवजीसँग पासा खेल्दाखेल्दै हिमालपुत्री उमा एक्कासि उदास देखिइन् । त्यो देखेर शिवजीले सोधे किन गिरिजे ? किन एकाएक उदास भयौ ?
त्यसै ! गिरिजाले उदास स्वरमा भनिन्- माइत नगएको धेरै भयो । सुन्छु त्यहाँ अहिले त तीसवर्षे अँध्यारो हटेर उज्यालो भएको छ रे। मेरा दिदीबहिनी, भाइ-भदाहरू अहिले के गर्दै होलान्, त्यहाँ के भइरहेको होला ? यिनै कुरा सोचेर – यस्तै कुरा मनमा खेल्दा मन खल्लो भयो ।
मन खल्लो नपार ! शिवले फकाउँदै भने-त्यहाँ सबै कुरा ठिकै छ । अहिले त्यहाँ मानिसदेखि लिएर साँढे र कुकुर समेत स्वतन्त्रताको उपभोग गरिरहेका छन् । मानिस स्वतन्त्र रूपले आफ्नो बाटो हिँड्छन्- चोर स्वतन्त्र भएर चोर्दैछ काला-बजारी कुनै बाधा विरोध कालाबजार गर्दैछ, तस्कर निर्धक्कसँग तस्करी गर्दैछन् । जसलाई जे मन लाग्यो त्यो गर्न स्वतन्त्र छ ?
तर यो त राम्रो भएन नि त- आफ्नो माइती देशको हाल सुनेर उमा बढी दुःखी भइन् त्यसो हो भने त बदमास, फटाहा, दुष्ट सबैले मनलागी गर्न पाउने भए। के त्यहाँ यस्ता दुष्कर्म रोक्ने कोही छैन ।
तिम्रा माइती देशका आजका व्यवस्थापकहरूको सिद्धान्त नै मानवता, मानवताको खुल्ला स्वतन्त्रता हो। शिवले मुसुमुसु हाँस्दै भने- त चोर, डाँका,
ज्यानमारा, तस्कर, कालाबजारी सबै त मानव सन्तति नै हुन् । उनीहरूले पनि आआफ्नो स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्छ, त्यसैले ।
आफ्नो माइती देशको स्वतन्त्रताको रूपरेखाका बारेमा सुनेर पार्वतीको मनमा बडो जिज्ञासा जन्म्यो । के त उनको माइती घर दशकौंपछि साँच्चे स्वतन्त्र भयो त ? एकपल्ट आफ्नै आँखाले हेर्न पाए ! गिरिजा भवानी माइत जान तरखराइन्- त्यसो भए म एकपल्ट माइत पुगेर आउँ कि प्रभो ? नगएको धेरै भयो ।
तर शिवजी बूढा आफ्नी तरुनी स्वास्नीको यस्तो चट्याङ निधोले हडबढाए । पत्नी वियोगको पीडा, यो बुढेसकालमा कसरी सहन सकिन्छ ? उनले बडो फकाउने स्वरमा भने त्यसो नभन प्रिय । म बूढालाई एक्लो छोडेर माइत जान्छु नभन । तिमीलाई माइतको हालखबर बुझ्न त्यति साह्रो आतुरी छ भने बरु म तिमीलाई यहीं बसीबसी सबै कुरा देखाइदिन सक्छु ।
यति भनेर भोलेनाथ अबोध शिशुजस्तै गरी मुसुक्क हाँसे र बीसवर्षे बराट्ठिएको केटाको जोशले आफ्ना ऐंसेलु काँडे झारीफैँ जुघा-दाहीले छोपेको खस्रा ओठ लगेर उमाका सुन्तला केस्रा, रसदार ओठमा जडिदिए। अनि नेपाली बम्बै मार्का सिनेमाको भुवन के. सी. मार्का हिरोले नखरमाउली नवीना श्रेष्ठ मार्का हिरोइनलाई झै अपहरण गरी बलात्कारीको एक्सनमा च्यापेर भित्रपट्टिको खास कक्षमा लगेर पलङमा थच्चाइदिए ।
त्यस कोठामा एउटा हजुरआमाले माइतबाट ल्याएको पुरानो बाकस जस्तो एउटा यन्त्र थियो । शिवजीले त्यसको पार्श्वमा एउटा कान निमोठिदिए । एक्कासि त्यो यन्त्रको अगाडिको भाग सूर्यको किरण पर्दा चाँदीको पातो टल्के भँ टल्क्यो ।
आम्मै यो के चीज हो स्वामी ? पार्वतीको स्वरमा घोर आश्चर्य थियो । किनभने आजभन्दा पहिले शिवजीले यो यन्त्र गिरिजालाई देखाएका थिएनन् ।
यो दिव्य दृष्टि यन्त्र हो उमा- शिवले त्यसका पार्श्वका एक एकाध कान निमोठ-नामोठ पार्दै भने- पातालपुरीको राजा मय दानवको चमत्कार । उसले मलाई उपहार दिएको पातालपुरीको सिंहासन दिलाई दिएबापत । यो यन्त्रले यही बसीबसी तीन त्रिलोक चौध भुवनको दृश्य देख्न सकिन्छ ।
तर हजुरले यसलाई कहिल्यै विश्व दर्शन गरेको देखेकी छैन त मेले । -उमाले भनिन् ।
गर्न त गरेको छु, तर तिमीलाई देखाएको छैन । मय दानवले अठासीवटा पुच्छ्रेताराहरूसहित खाडी क्षेत्र भन्ने ठाउँमा महाविनाशको कोटीहोम यक्ष अनुष्ठान गर्दा मैले त्यस महायज्ञको प्रत्यक्ष दृश्य यहीबाट, यसै यन्त्रद्वारा हेरेको थिएँ।
तर हजुरले मलाई त्यत्रो महायज्ञको दर्शन गर्ने महापुण्यबाट किन वञ्चित गरिबक्स्यो त प्रभो ? – उमाले गुनासो पोखिन् । तर बाठा बूढा शिवजीले उनलाई फकाउने हजारौँ जुक्ति जानेका थिए। उनले आफ्नो बालसुलभ निर्दोष मुस्कानको अमोध वाण छोडे- गिरिजे ! तिमी नठुस्सिऊ। मैले तिमीलाई यो महायज्ञको दर्शन नगराएको कारण के हो भने त्यस महायज्ञमा भएको असङ्ख्य-असङ्ख्य मानव जन्तुको महाबलिको बीभत्स दृश्य तिम्रो कमलो हृदयले सहन सक्तैनन्थ्यो । त्यस विनाश यज्ञमा पातालपुरीको राजाले लाएको नाकाबन्दीले गर्दा त्यहाँ औषधी त औषधी, अन्न र पानीसम्म पनि खान नपाएर लाखौ लाखौ बूढा-बाला, रोगी, अशक्तहरूले आफ्नो पापी प्राण यज्ञको बलि चढाएर छटपटाइ छटपटाई कैवल्प मुक्ति पाएको बीभत्स दृश्य थियो, त्यसैले । तर अब तिमी आफ्नो माइती देशको दृश्य हेर्न सक्छ्यौ । त्यो बीभत्स भए पनि स्वतन्त्रताको दृश्य हो।
यति भनेर शिवले यन्त्रको अर्को कान निमोठे। अब यन्त्रमा उमाको माइती देशको एउटा सुनको महल देखियो । यसैमा शिव-पार्वती ससुराली जाँदा त्यहाँ उनीहरूको स्वागत गरिन्थ्यो । अहिले त्यहाँ शिवजीको सालिक मात्र थियो र उनका पण्डा- पूजारीहरू उनका नाउँमा दुवै हातले मालपानी सोहर्ने स्वतन्त्रताको उपभोग गरिरहेका थिए । अनि त्यहाँका आँगन, पेटी, पाटीपौवा र गल्ली सडकमा असङ्ख्य असङ्ख्य आधुनिक पिकासो शैलीका चित्रजस्ता विकृत मानव आकृक्ति-सारङ्गी पेट, सुकेका दाउराझै हातखुट्टा, नग्न, अर्धनग्न, रोगी, बिरामी, बूढा-अशक्त मानवजन्तुहरू एक मुठी अन्न र एक धरो कपडाका लागि आफू आफ्नै सत्तोसराप लुछाचुँडीको भैलो नृत्य गर्दै थिए।
यिनीहरू को हुन् स्वामी! यी यो के गाईजात्रा गर्दैछन् ?-उमाले सोधिन् । शिवले आफ्नो उही निर्दोष मुस्कान छर्दै भने यी तिम्रै भाइ-भदा। यो अहिले आफ्ना गरीबी, अकिंचनता, दरिद्रता, रोग भोकको साथमा आफ्नो बाँच्ने र बाँच्न दिने स्तन्त्रताको पूर्ण उपभोग गर्दैछन् ।
शिवले यन्त्रको अर्को कान निमोठे। अब दृश्य हिँड्न थाल्यो। दृश्य एउटा एकादेशका शहर जस्तो नयाँ र पुराना घर, महल, दरबार, भवन, मन्दिर, देवल, पाटी-पौवाको वर्णसङ्कर शहरका वर्णसङ्कर-कच्चापक्का बजारबीच गएर अडियो । त्यहाँ साँढे र गाईहरूबीच सडकमा मढिया मार्ने आफ्नो स्वतन्त्रता भोग्दै थिए भने सडकको किनारामा ट्राफिक प्रहरीहरू आफ्नो उँध्ने स्वतन्त्रताको उपभोग गर्दै थिए, सडकका पेटीहरूमा देशका कर्णधारहरू आफ्ना सवारी-मोटरसाइकल, साइकल गुडाउने आफ्नो स्वतन्त्र अधिकारको प्रयोग गर्दै थिए भने सडक माझमा देशका स्वतन्त्र युवा वर्ग आफ्नो ठिमीको साँढेझै मस्त मौला चालमा आफ्नो पौरूप प्रदर्शनको पूर्ण स्वतन्त्रताको उपभोग गर्दै थिए । त्यस बजारमा आधुनिक सुगृहिणी-शिक्षित छोरी चेलीहरू आफ्नो नग्न शरीर प्रदर्शन गर्दै आफ्नो शरीर बेच्ने र बलात्कृत हुने आधुनिक स्वतन्त्रता भोग्दै थिए भने त्यस्तै बलात्कारी गुण्डा र बदमासहरू पनि बलात्कार गर्ने नारी शरीर खरिद-बिक्री गर्ने आफ्नो नैसर्गिक अधिकारको पूर्ण अभ्यास गर्दै थिए। त्यहाँ निर्धा, दुब्ला, सोझा, सीधा मानिसहरू आफ्नो लुटिने, पिटिने, ठगिने, शोषिने, सनातन धर्मको पूर्ण पालना गर्दै थिए भने, लुट्ने, पिट्ने, शोषण गर्ने विशिष्ट व्यक्तिहरू पनि आफ्नो लुट-मार, शोषणको प्रजातान्त्रिक समाजवादी स्वतन्त्रको खुले अभ्यास गर्दै थिए।
कर्मचारी आफ्नो घुस खाने स्वतन्त्रता, मन्त्री पार्टी नेताहरू आफ्नो पार्टी चलाउन, चुनाउ जित्न बडेबडे व्यापारीहरूसँग चन्दा असुल गर्ने स्वतन्त्रता र जनता घुस ख्याउने, व्यापारी चन्दाबापत आफ्नो ठेक्का-पट्टा, उद्योग व्यापारको लाइसेन्स पाउने, देशको बजेट आफ्नो अनुकूल पारित गराउने पूर्ण प्रजातान्त्रिक स्वतन्त्रताको पूर्ण उपभोग गर्दै थिए। कालाबजारीहरू आफ्नो कालाबजारी गर्ने, जनता ठग्ने र अभाव सिर्जना गर्ने स्वतन्त्रता कार्यान्वयन गर्दै थिए भने जनता-जनार्दन ठगिने र अभाव र विवशता भोग्ने आफ्नै स्वतन्त्रताको उपभोग गर्दै थिए। सत्ता सताउने स्वतन्त्रता र जनता सताइने स्वतन्त्रताको समान उपभोग गर्दै थियो। भनाइको अर्थ के भने त्यस भरखर भरखर खुलेको स्वतन्त्रताको खुल्ला बजार अर्थतन्त्रको बगैंचामा सबै वर्ग, सबै वर्णका सबै रङ र सबै आकारका फूलहरू पूर्ण प्रजातान्त्रिक समाजवादी स्वतन्त्रताको उपभोग गर्दै आ-आफ्नै रङ र आकार-प्रकारमा फुल्दै झर्दै गरिरहेका थिए।
अब दृश्य अलि अगाडि बढेपछि एउटा ठाउँमा गएर अडियो। एक ठाउँमा एउटा मञ्च जस्तो बनेको थियो । त्यस मञ्चका सामु असङ्ख्य-असङ्ख्य जनताका भेडे-च्याङ्ग्रे बथान खचाखच थियो । मञ्चमा चाहिँ आफ्ना केही काँटा-चम्चासहितको दुई-तीन जना नेता अनुहारका, मन्त्री अनुहारका व्यक्तिहरू द्वाङे यन्त्रका सामु उभिएर आफ्ना भव्य दर्शन शास्त्रका शुत्रहरू, आफ्ना विशिष्ट कल्पनाका शब्द र रेखा चित्रहरू कोर्दै थिए। उनीहरू बत्तीस वर्षपछि निरङ्कुश अधिनायकवादी निर्दलीयताको कालरात्रीबाट बहुदलीय प्रजातन्त्रे जुनेली रातमा यात्रा गर्दै समाजवादी देशको यात्रा गर्ने पुराण सुनाउँदै थिए ।
त्यो को हो स्वामी ?- उमाको उत्सुकता बढ्दै गयो ।
ती पनि तिम्रा भाइभदा नै हुन् । शिवले उत्तर दिए । तर ती तिम्रो अरू भाइभदाभन्दा जेठाबाठा दाजु हुन् । उनीहरू निर्दलीय रातमा स्वदेशी बिछ्याउनामा निद्रा नपरे र मित्र घरको प्रवासी बिछ्यौनामा मस्तसँग सुत्न गएकाले तिमीले यिनीहरू चिन्न नसकेकी हो। अब अहिले तिम्रा कान्छा भाइभदाहरूले आफ्नो विद्रोहको टालोलाई बलिदानको रगतमा भिजाएर त्यो रातको कालिमा पुछेर देशको भित्तो टल्काएकाले उनीहरू पनि प्रवासी निद्रा त्यागेर स्वदेशी स्वतन्त्रता उपभोग गर्न आइपुगेका छन् । उनीहरू जेठाबाठा भएकाले अन्धो मेचमा धुम्ने मान्छे बन्न पुगेका छन् र आफ्ना भाइहरूलाई फुल्याउन समाजवाद, खुल्ला बजार, राहत, मानवता, स्वतन्त्रता, अनुशासन, कर्तव्य र खुशहालिका बड़े आकर्षक रङ्गीन चित्रहरू कोरेर दिन थालेका छन् । उनीहरू गरीबी र अभाव, अशिक्षा र रोग-भोकलाई एकैपल्ट सात समुद्र कटाएर देशको पोल्टामा समाजवादी स्वर्गको नक्सा खिचेर हालिदिने सपना देखाउँदै छ ।
तर मेरा साना भाइभदाहरू त्यति लाटा त छैनन् होला, जसले कागतको लड्डु र साँच्चैको मोतिचुरको लड्डुमा फरक देख्न नसकोस् ।- पार्वतीले शंका गरिन् ।
छैनन्, शिवले भने- चर नभएर के गर्नु। नभएको लाई होइन भन्दा जसरी पहिले अराष्ट्रिय तत्त्व, असामाजिक तत्त्व भनेर जातिच्युत गराइन्थ्यो त्यस्तै आजको प्रजातान्त्रिक समाजवादी अन्यो मेचमा घुम्ने मान्छेले पनि प्रजातन्त्रलाई खलबल्याउन खोज्ने उग्रवादी तत्त्व भनेर पानीबाहेक गर्न खोज्छ। त्यसैले यहाँका बुद्धि भएकाहरू या त सत्ताको खैजडी मुजुरा बजाउँदै प्रजातन्त्रे समाजवादी भजन गाउन थाल्छन् या रानीपोखरीमा डुबेर आत्महत्या गर्ने बढी सजिलो ठान्छन् ।
तर प्रभो। हजुर त, न त्यति निर्घो हुनुहुन्छ, न लोभी र बिकाऊ । हजुरले त सेतोलाई सेतो र कालोलाई कालो देखाएर आफ्ना भाइभदाहरूको यो नपुंशकता हटाउनुपर्ने- पार्वतीले फिराद गरिन् ।
हुन त हो-शिवले लाचार स्वरले भने- तर मेरो, म एउटा नाङ्गो बूढोको के लाग्छ शिवे । जब तिम्रो दाजु-भाइ, भदाहरू पातालपुरीका मायावीहरूको मायाजालमा फसेर आफ्ना सम्पूर्ण कुरा हावा, पानी र माटे समेत लुटाउन चाहन्छन् भने म त एउटा अर्कै परिवारको पाहुना ज्वाइँ, मैले के बोल्नु !
तर देव ।- पार्वतीले अझै जिकिर गर्ने मुड झिकिन् त्यो देशे मेरा पिताले दाइजोमा तपाईलाई दिइसकेका छन् र त्यो तपाईकै नाउँबाट प्रख्यात छ भने तपाई कसरी आफूलाई पाहुना भनेर भाग्न पाउनुहुन्छ ? त्यस देशको मर्यादा हजुरकै नाउँ, मर्यादा र इज्जतसँग गाँस्सिएको छ नि ।
हो, त्यो पनि मान्छु- शिवले लामो सुस्केरा छोडे तर भन त आजको धर्म कुनै मर्यादा, इज्जत र नीतिसँग सम्वन्ध छ र ? कसले कसको मर्यादा गर्छ यहाँ ? त्यहाँ त आज खालि बाठा, फटाहा, तस्कर, गुण्डा-शक्तिको इज्जत छ । त्यहाँ त सुनको इज्जत छ । अरू केहीको छैन । त्यसैले, मैले बोले भने पनि त्यहाँ गाँजाको धुवाँमा उडाइदिन्छन्, मदिरा र जाँडको बाढीमा बगाइदिन्छन् । त्यसैले नबोल्नुमा नै प्रतिष्ठाको रक्षा छ ।
प्रभो ! के त आफ्नो अवमूल्यनको डरले आफ्नाले आत्महत्या गरेको हेरिरहने त ? के यो न्याय होला ? उमा रुन थालिन् ।
नरोऊ उमा- शिवले उमाको कपाल मुर्सादै भने- तिम्रा ती अन्धा मदमत्त भाइभदाहरू चाँडै नै ठूलदाजुहरूका कमारा भएर उनका पैतालामुनि छटपटाउने छन्, अनि उनीहरू आफैँ मायापुरीको मायाबाट बिउँझेर विद्रोहको नरसिंह फुकेर उठ्नेछन् । त्यही दिनलाई पर्खनुबाहेक अरू उपाय छैन ।
गिरिजा केही शान्त भइन् र रामनामी पछ्यौराले आफ्नो आँसु पुछिन् । शिवले यन्त्रको कान निमोठे विद्युत् तरङ्ग लोप भयो ।
०००
झ्याइँकुटी गाईजात्रा अङ्क (२०४९)
श्रीमान्जी भन्नुहुन्छ (२०८०)








































तीस वर्षे अँधाराे भनेर स्पट पञ्चायतकाललाइ सङ्केत गर्दै वर्तमान विकृतिकाे कुरा यसमा पाेखिएकाे रहेछ ।