साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्व धर्मान परित्यज्य मामेकम् शरणम् ब्रज

तपाईकै छत्रछायामा मेरा भाइ-भतिजाको अकण्टक सत्ता-व्यापार, ऐश-आराम अखण्डित भएर चल्छ । त्यसैले त तपाईलाई तस्करपति भन्छन् - वञ्चते परिवञ्चते तस्कराणम् पते प्रभो ! हजुरको महिमा अपार छ ।

Nepal Telecom ad

रमेश विकल :

कुमारजी आज्ञा गर्नुहुन्छ, हे दुई कोटि जन्तु जनार्दन हो ! एक दिन कैलाश पर्वतको दरबारमा शिवजीसँग पासा खेल्दाखेल्दै जगन्माता पार्वती एक्कासि उदास भइन् । त्यो देखेर शिवजीले मायालु पाराले सोधे किन गिरिजे ! किन उदास भयौ ?

शिवजीको मायाको तातोले पग्लेर पार्वतीको मन झन् तरल भयो। त्यही तरलतालाई आँखाबाट बर्साएर उनले लाडिएको स्वरमा भनिन्- माइत घरको सम्झना आयो । माइत नगएको धेरै भयो । त्यहाँ अहिले मेरा दिदीबहिनी, दाजुभाइ, भदाभदैहरू के गरी बाँचिरहेका होलान् । यही सबै सम्झेर मन खल्लो भयो प्रभू !

तिम्रो माइती देश ? शिवजीले मुसुमुसु हाँसेर जवाफ दिए- त्यहाँको कुनै धन्दै मान्नु पर्दैन । तिम्रा दिदीबहिनी, दाजुभाइ, भदाभदै सबै आनन्दमा छन्, शान्तिको सास फेरेर ढुक्क भएर बाँचेका छन् ।

तर मैले त सुनेको थिएँ प्रभो पार्वतीले बडेबडे मीननयनले शिवको सौम्य आकृक्तिमा काम बाँण प्रहार गर्दै भनिन् त्यहाँ ९० सालको भन्दा पनि ठूलो सात सालको भन्दा पनि भयावह भैँचालो आएर मेरा माइती खलकलाई बिचल्ली तुल्यायो लथालिङ्ग घरबारविहीन र भयभीत, त्रसित र अर्धमृत तुल्यायो भन्ने सुनेथेँ… ।

त्यो सबै त हो – शिवले भने जन-क्रान्ति नाउँको भुँइचालो पनि आएको हो । त्यस भुइँचालोले तिम्रा दिदीबहिनी, भाइभदाको तीस वर्षे जरो खलबल्याएको पनि हो । तर तिम्रा भाइ-भतिजा अखण्ड बाठा उनीहरूले ती भुइँचालोहरूमध्ये एक थरीलाई थपक्क मन्त्र सुनाएर आफ्नो अनुहार पनि रातारात नीलो रङले पोतेर त्यो क्रान्तिलाई भ्रान्तिमा बदलिदिए। त्यसैले अहिले उनीहरू भुइँचालोले मथेर झिकेको नौनी मथ्नेहरूलाई जिल्लाराम पारेर आफैँ लतार्दैछन् । तिमीहरूले उनीहरूको धन्दै मान्नु पर्दैन, मज्जासँग यहाँ कैलाश दरबारमा पासा गुडाएर बसे हुन्छ ।

त्यसो भए उनीहरूलाई सञ्चै छ ? गिरिजाले ढुक्कको सास फेरेर, तर अझै संशय बाँकी रहेको स्वरमा भनिन्- उनीहरूको ज्यान-मालको कुनै खतरा छैन ?…

गिरिजे तिमी अलि संशय बढी गर्यो धेरै प्यार प्यार गरेको मन नपर्ने भोलानाथ शिवले पार्वतीको खरख्वाइँलाई अलि नपचाएर भने तिमीलाई थाहा छ –

अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ! माथिको यो वाक्य भगवान् श्रीकृष्णले गीताजीमा भन्नुभएको हो ।… तिमी त्यस्तै संशय गर्थ्यो । … यस्तो गर्नु ठीक छैन ।…

तर के गरौं प्रभो- पार्वतीले दुःखित भएर भनिन्- आफ्ना माइती, आफ्ना भाइ-भदा, दिदीबहिनी – तिनले दुःख पाउलान् भनेर दुःख लाग्छ ।

दुःख मान्नै पर्दैन । यहाँ म भएसम्म र त्यहाँ मेरो छत्रछाया भएसम्म तिम्रा भाइभदा, दिदीबहिनीले दुःख पाउने करे छैन शिवले आश्वासन दिंद भने- हो कहिलेकहीँ कर्मदोषले गर्दा अनिश्चित स्थितिमा पर्छन्, आशन डोल्छ त्यो त स्वाभाविके को हो नि ।… तिमीले देखेकी नै छौ मलाई पनि कर्म-दोषले गर्दा कहिलेकहीं भस्मासुरले लखेट्छ, कालकूट विष पनि कण्ठमा धारण गर्नुपर्छ । मलाई मात्र होइन जगत् नियन्ता आदित्य देव सर्यलाई पनि बराबर राह-केतुले झम्टन्छन् । त्यो क्षणिक हो । त्यस्तै तिम्रा दिदीबहिनी भाइ-भतिजालाई पनि कर्मदोषले क्षणिक डाँवाडोलको स्थिति आएको थियो। तर मेरो कृपाले गर्दा ती सबै संकट हटे।

ओः धन्य प्रभो हजुरको कृपा । पार्वतीले गद्गद् हुँदै भनिन् – तर त्यो संकट कसरी टयो प्रभो ? … कसरी उनीहरूको भाग्यको निराकरण भयो ?…र अहिले उनीहरू कसरी जीवन निर्वाह गर्दैछन्, त्यो सुन्न पाए मन अलि ढुक्क हुँदो हो।

सुन, जब आजभन्दा दुई वर्ष अगि तिम्रो माइती देशमा भुइँचालो आयो, त्यसबाट त तिम्रा भाइ-भतिजाको साँच्चै मुटु हल्लियो । उनीहरू बसेको धरातल एकदमै डाँवाडोल भयो। त्यतिमात्र होइन पीपलको जरोझै उनीहरूका देश-विदेश – समुद्रपारसम्म फैलिएका जराहरू पनि खलवलिएका देखिए । तर ती सब भुईचालो शान्त भएपछि फेरि स्थिर भए । उनका नन्दी-भृङ्गी र प्रथम गणहरूले छेपारोले झै रङ फेरेर नयाँ स्थितिमा बोतलमा कर्क मिलेझै टम्म मिले। … अहिले उनीहरू फेरि एउटा चक्रव्यूहको रचना गरेर तम्तयार रक्षाबन्धन बाँधेर बसेका छन् ।… उनीहरूले तीस वर्षमा गरेको पञ्चखत अहिले हतियारको व्यापारी मानव अधिकारीको कृपाले क्षमादानमा परिसके । … अब त उनीहरूले मानव अधिकारको चार पास बुझाएर वकालत गर्ने लाइसन पनि पाइसकेका छन् । त्यसैले उनीहरूकै न्याय र कानूनी तर्कको चक्रव्यूहमा सुरक्षित तिम्रा भाइ-भतिजा, दिदीबहिनीको तिमीले चिन्ते लिनुपर्दैन ।

त्यसो भए उनीहरू सुरक्षित छन् ।… आनन्दमा छन् । – पार्वतीले जिज्ञासा राखिन् ।

आनन्द मात्र होइन डबल आनन्दमा छन् ।… शिवले भने- तिमीले धन्दै मान्नु पर्दैन । उनीहरू पहिले अल्प-मान्य भए पनि अब सर्वमान्यको अन्यो मेचमा डटिडटाउ भैसकेका छन् ।… पहिले उनीहरूका शरीरमा गैंडाका छालाका कवचमात्र हुन्थे भने अब त मानव अधिकार र प्रजातान्त्रिक समाजवाद भनिने सर्वमान्य जन्तुको अभेद्य छालाको शरीरस्त्राण छ। उनीहरू अब त्यसैको अभेद्य संरक्षणमा देशभित्र मात्र होइन देश-विदेशमा फैलिएर आफ्ना संस्कृति र सभ्यताका खलबलिएका जरा पनि सम्भाल्न सक्षम भैसकेका छन् । तिमीले धन्दै मान्नु पर्दैन । सबै गर्ने गराउने त म छँदैछु। ‘सर्व धर्मान् परित्यज्य मामेकम् शरणम् ब्रज’ तिमी सबै चिन्ता छोडेर केवल एकमात्र मेरो विश्वास गर मेरो शरणमा आऊ । तिम्रो त कुरै छैन तिम्रा सात पुस्तालाई पनि कुनै ठाँगेले पाउने छैन (ठाँगेजति त सबै मेरै स्थानव्यान र अनुचर छन् नि ।)

“यदा यदा हि धर्मस्य ग्लानीर्भवति भारतः”
हो गीताजीमा भगवान् कृष्ण (म) ले भन्नुभएको छ – जबजब संसारमा धर्म नाश भएर अधर्मले टाउको उठाउँछ, म अवतार लिन्छु र अधर्मको नाश गर्छु । त जबजब तिम्रो माइती देशमा पनि धर्मको ग्लानि हुन थाल्छ, तबतब म आफ्ना ठाँगेहरू (नन्दी, भृङ्गी, प्रथम गण, भूतप्रेतपिशाच, गुह्याक आदि) वीरभद्र, महाकाली सिद्धहरू लिएर बहुदलको रूपमा संहार लीला मचाउँदै तिम्रा भाइ-भतिजाका दुष्ट ग्रहको नाश गराउने छु ।

धन्य धन्य प्रभो ! … धन्य हजुरको कृपा । जगन्माता पार्वतीले कृतकृत्य भएर शिवको स्तुति गरिन् – तपाईकै छत्रछायामा मेरा भाइ-भतिजाको अकण्टक सत्ता-व्यापार, ऐश-आराम अखण्डित भएर चल्छ । त्यसैले त तपाईलाई तस्करपति भन्छन् – वञ्चते परिवञ्चते तस्कराणम् पते प्रभो ! हजुरको महिमा अपार छ ।

यति भनेर जगन्माता उमाले आफ्नो मनमोहक अलौकिक मुस्कान लागू छर्दै, काम – कटाक्षले शिवलाई भेदन गर्दै उनका भुसे छातीको जङ्गलभित्र हराएर निश्चन्त निद्रामा मग्न भइन् ।

इति श्री माइतघर पुराणे, बहुदल वर्ष, एक मना खण्डे, प्रजातन्त्र महात्मे, प्रथम वर्षोध्याय ।

नौलो कोसेली/असोज २०४८

०००
श्रीमान्जी भन्नुहुन्छ (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x