साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो छोराका नाममा एउटा खुला पत्र

तिमीलाई त थाहै होला लर्ड चेस्टरफिल्डले आफ्नो छोरालाई यस्तै चिठीहरू लेख्ने गर्थे । छोरामाथि ती सुझावहरूको कति सशक्त प्रभाव परेछ भने ऊ आफ्नी नोकर्नीसित नै युरोप भागेको थियो ।

Nepal Telecom ad

रवीन्द्रनाथा त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

प्रियवर,
अब तिम्रो शिक्षा पूरा भयो । अब तिमीले जीवनको वास्तविक सङ्घर्ष भोग्नु छ । विधिअनुसार पिता हुनुको नाताले म तिमीभन्दा उमेरमा जेठो छु र यसै कारणले म तिमीलाई सल्लाह दिने आफ्नो अधिकारको फाइदा उठाउन चाहन्छु । मैले धेरै पढेको छु, घुमेको छु र गन्नै नसकिने गरी कैयौँ ठुला मान्छेहरूलाई भेटेको छु अथवा उनीहरूको सम्पर्कमा आएको छु । त्यसै पनि म नयाँ पुस्तालाई बढी नै आशा, विश्वास तथा गर्वले हेर्छु । मैले आफ्नो जीवनमा जेजे देखेको छु त्यो तिमीसम्म पुर्‍याउनु मेरो कर्तव्य हो । तिमीले मेरा सुझावहरूलाई सम्झिने छौ र तिनबाट फाइदा पनि लिनेछौ भन्ने आशा पनि गरेको छु ।

मेरो पहिलो सुझाव सुझाव छ – उर्दूको आखिरी किताब ‘इब्ने इंशा’को भनाइका आधारमा तिमी बढी पण्डित या विद्वान् बनेर मात्र नवरत्नको पदमा पुग्न चाहन्छौ कि अनपढ नै रहेर शहंशाह अकबरझैं हिन्दुस्तानको मालिक बन्न चाहन्छौ भन्ने कुरो तिमीमा निर्भर रहन्छ । समय पायौ भने यो चिरन्तन तथा ऐतिहासिक तथ्यमाथि अवश्य विचार गर्नू । आज पनि ठिक त्यही अवस्था छ जुन पाँच सय वर्षपहिले थियो र भविष्यमा पनि यस तितो सत्यमाथि कुनै असर पर्ने छाँट देखिएको छैन ।

मेरो दोस्रो सुझाव छ – कपडा भने तिमीले सधैँ राम्रो नै लगाउनू । कसैसँग पनि तिम्रो आत्माको मापन गर्ने समय हुँदैन । स्पष्ट छ, मानिसहरू गाता हेरेर नै किताब किन्ने गर्छन् अनि एकपटक किनेपछि कहिल्यै पढ्दैनन् र भित्र के लेखेको छ भन्ने कहिल्यै थाहा पाउँदैनन् । जसले तिमीलाई महङ्गो मूल्य तिरेर किन्छ उसले तिमीलाई ठुलो मान्छे भएको हेर्न चाहन्छ । आफ्नो माललाई सही सिद्ध गर्न उसले सधै तिम्रा गुणहरू मात्र हेर्छ र अरूलाई पनि देखाउँछ । योभन्दा बढी सुरक्षा तिमीले कहाँ पाउँछौ ?

मेरो तेस्रो सुझाव छ – आफ्नो निजी सचिवमा सधैँ कुनै स्मार्ट, चञ्चल तथा हँसिली केटीलाई मात्र राख्नू । यस्तो गर्‍यौ भने तिमीले परम सुख प्राप्त गर्नेछौ अनि कठिन कठिन काम पनि अाँखाको झिम्क्याइमै सम्पन्न हुनेछन् । मेनका, तिलोत्तमा अनि उर्वशीहरू अझै जीवितै छन् । उनीहरूले तिम्रो रक्षा गर्नेछन् । मैले त थोरै मात्र भनेको हुँ तर तिमीले यसलाई बढी नै बुझेर यस सुझावको पूरा फाइदा उठाउनू ।

मेरो चौथो सुझाव छ – आफ्नो पियनलाई आफ्नो बाउभन्दा ठुलो मान्नू । सचिवालय या प्राइभेट फर्महरूमा तिम्रो प्रतिष्ठा स्थापित गर्न जति सहयोगी तिम्रो पियन हुनेछ त्यति त सरकारको सचिव तथा फर्मको म्यानेजिङ डाइरेक्टरले पनि गर्न सक्दैन ।

मेरो पाँचौ सुझाव छ – जनताबाट चुनिएका प्रतिनिधिहरू र प्रेसवालाहरूलाई सधैँ आफ्नो बनाएर राख्नू । जुन नेता र पत्रकार चरित्रहीन हुन्छ त्यसको बढी इज्जत गर्नू । मौका पर्दा उनीहरूले नै तिम्रो मद्दत बढी गर्ने छन् ।

मेरो छैटौँ सुझाव छ – स्टाफ युनियन तथा वर्कर्स युनियनका पदाधिकारीहरूलाई राष्ट्रपतिलाई भन्दा बढी सम्मान गर्नू । स्टाफ यदि सौभाग्यवश कुनै दलित या अनुसूचित जनजातिको व्यक्ति छ भने उसलाई त आफ्नो साक्खै बाउलाई भन्दा बढी नै इज्जत दिनू । के सम्झिराख्नू भने तिम्रो गुनासो ‘थ्रू प्रपर च्यानल’ माथिसम्म धेरै दिनपछि मात्र पुग्छ जबकि युनियनका नेताहरूले त्यसै दिन साँझै कुरा पुर्‍याउँछन् । बिचरा मन्त्रीले पनि के गरून्, उनको प्राण पनि त यिनै सुगाभित्र लुकेको हुन्छ ।

मेरो सातौँ सुझाव छ – कुनै भ्रमणमा निस्किँदा दुईचारवटी राम्री केटीहरूसित अवश्य सम्पर्क गर्नू किनभने राम्रा कुराको उपेक्षा गर्नु भगवानको अपमान गर्नु हो ।

मेरो आठौँ सुझाव छ – आफ्ना वरिष्ठ अधिकारीहरूलाई सधैँ प्रसन्न पार्नू । विशेषतः यिनीहरूलाई पुरानो रक्सी र नयाँ केटीहरू बढी प्रिय लाग्छन् । यसबाहेक तिमीले पनि आफ्ना सिनियरहरूका पत्नी र छोरीहरूमाथि विशेष ध्यान दिनू, उनीहरूका चाहनाहरूको ख्याल गर्नू र बाँकी समयमा उनीहरूलाई ‘आमा’ र ‘दिदी वा बहिनी’ भन्ने गर्नू । यसै गरी यदि कुनै वरिष्ठले तिम्री एकमात्र पत्नी वा बहिनी वा आमामाथि रुचि देखाउँछन् भने तिनको रुचिमा भाँजो नहाल्नू ।

मेरो नवौँ सुझाव छ – यदि कुनै श्रद्धालु भद्र पुरुषले तिमीलाई मुद्रा, आभूषण, सुनका बिस्कुट या हिराजुहारादि उपहार दिन चाह्यो भने कहिल्यै नाइँ नभन्नू ल ? घर आएकी लक्ष्मीको आदर तथा स्वागत गर्नु हाम्रो पुरानो चलन हो ।

मेरो दसौँ सुझाव छ – आफ्नी युवति धाई, राम्रा नोकर्नीहरू र समय नपुग्दै विधवा बनेकाहरूलाई सधैँ छातीमा टाँसेर राख्नू किनभने दुःखी आत्मा तथा उपेक्षित नारीहरूको उद्धारको अर्को कुनै उपाय अहिलेसम्म फेला परेको छैन ।

मेरो एघारौँ सुझाव छ – कुनै पनि फाइलमा कहिल्यै निर्णय नलिनू । यदि कहिल्यै निर्णय लिनै परेछ भने पनि त्यसमा हस्ताक्षर नगर्नू किनभने जसले हस्ताक्षर गर्छ त्यही फँस्छ ।

मेरो बाह्रौँ सुझाव छ – गरिबहरूको सहायता कहिल्यै नगर्नू किनभने जसलाई स्वयम् ईश्वरले गरिब बनाएका छन् तिनीहरूलाई धनी बनाउने अधिकार मान्छेलाई कसरी हुन्छ ?

मेरो तेह्रौँ सुझाव छ – आफ्नो तलबलाई अन्य खजानाको साँचोका रूपमा प्रयोग गर्नू । वास्तविक आय त माथिको कमाइ पो हो । यदि कुनै विधवा पनि आफ्ना पतिको बिमाको रकम वा सञ्चयकोषको रकम लिन झुत्रीझाम्री भएरै आएको अवस्थामा पनि तिमीले आफ्नो कमिसनलाई नबिर्सनू । अँ, यदि विधवा अत्यन्तै राम्री भए स्वविवेकको प्रयोग गरी उचित निर्णय लिनू ।

मेरो चौधौँ सुझाव छ – आफ्नो कार्यालयमा धर्म, क्षेत्रीयता, जाति, वर्ण अनि भाषाका आधारमा खुब गुटबन्दी गर्नू । उत्तर प्रदेशका बासिन्दाहरूले हिन्दुस्तानी बनेर के पाए ? स्मरण रहोस् यदि हामीले जीवनमा अगाडि बढ्नु छ भने हामीले गुजराती, मराठी, पन्जाबी, बङ्गाली या दक्षिणी भारतीयहरूमध्ये केही न केही त बन्नैपर्छ ।

मेरो पन्ध्रौँ सुझाव छ – भ्रमणमा बराबर निस्किरहनू । गर्मीमा कस्मिर, दार्जिलिङ या रानीखेततिर र जाडामा बेङ्गलोर, मद्रास या बम्बईतिर जानू । हरेका ठाउँमा जुन कुरो विशिष्ट लाग्छ त्यो कर्मचारीलाई किन्न लगाएर सानसित फिर्ता आउनू । देहरादुनमा नौसेनाको एउटा रियर एडमिरल बस्छ भन्ने थाहा पाएर तिमीलाई सुखद आश्चर्य लाग्न सक्छ । त्यो गरिब त्यहाँ किन बस्छ भन्ने त उसैलाई पनि थाहा छैन ।

मेरो सोह्रौँ सुझाव छ – तिमीसित चाहे जतिसुकै बेलायती तथा सानदार सुटहरू भए पनि खादीको एउटा सुट भने अवश्य राख्नू र त्यो गान्धी आश्रमबाट नै किन्नू । आपत्‌को समयमा खादीको पोसाकले खुब काम दिन्छ ।

मेरो सत्रौँ सुझाव छ – घरमा चाहे तिमी वैष्णव या पङ्क्तिपावन ब्राह्मण रहू तर बाहिर गएर मासु, माछा, मुद्रा, मदिरा तथा अन्य वस्तुहरूमा पनि विशेष ध्यान दिने गर्नू । वाममार्गीहरूका अनुसार ‘एते पञ्चमकाराः स्युः मोक्षदाः हि युगे युगे’ । वाममार्गीहरूलाई अचेल वामपन्थी भनिन्छ ।

मेरो अन्तिम सुझाव छ – पूजापाठ, सत्यनारायणको कथा, एकादशीको व्रत, सन्तोषी माताको उपवास, हनुमानचालीसा अनि यस्तै पवित्र कुराहरूलाई कहिल्यै नबिर्सनू । हामीले आफ्नो संस्कृतिको रक्षा गर्नुपर्छ । तीर्थयात्रा तथा दानपुण्य त हाम्रो परम्पराकै अङ्ग हुन् । यदि यी धर्महरू नहुने हो भने हामीमा र जनावरहरूमा अन्तर नै के रहन्छ र ? ‘धर्मेण हीनाः पशुभिः समानाः’ ।

बस, आजलाई यत्ति नै । बाँकी फेरि फेरि । रात गहिरिँदै छ र मलाई पनि निँदले च्याप्दै छ । तिमीलाई त थाहै होला लर्ड चेस्टरफिल्डले आफ्नो छोरालाई यस्तै चिठीहरू लेख्ने गर्थे । छोरामाथि ती सुझावहरूको कति सशक्त प्रभाव परेछ भने ऊ आफ्नी नोकर्नीसित नै युरोप भागेको थियो ।

मेरो जुन कर्तव्य थियो त्यो मैले पूरा गरेँ । अगाडि तिम्रो र तिम्रो भाग्य । म हिन्दीका एउटा कवि जसको नाम ‘अज्ञेय’ हो उनको वाणी यहाँ उद्धृत गर्छु –

सागरको तटसम्म
तिमीलाई पुर्‍याउने
उदार उद्यम नै मेरो होस् :
फेरि त्यहाँ जुन लहर होस्, तारा होस्‌
सुनतरी होस्, अरुण बिहानी होस्‌
त्यो सबै ए मेरा बाबु,
तिम्रै होस्, तिम्रै होस् र तिम्रै होस् ।

०००
‘प्रतिनिधि व्यङ्ग्य’बाट ‘अपने पुत्र के नाम एक खुला पत्र’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x