साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षण संस्थानहरूका लागि एउटा नयाँ कानुन

पहिला त उनीहरूले रजिस्टर मात्र जलाउँथे अब भने रजिस्ट्रारलाई पनि जलाउन चाहन्छन् । यस्तो तीव्र प्रगतिको क्षणमा यदि समयभित्रै केही गर्न सकिएन भने लडकाहरू अघि बढिसक्ने छन् र कानुन पछि पर्नेछ ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

(यो निबन्ध व्यङ्ग्यकार त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘शिक्षा संस्थानों के लिए नया कानून’ भन्ने लेखबाट अनुवाद गरिएको हो । यसले त्यहाँको त्यति वेलाको शिक्षा क्षेत्रको विकृतिमाथि प्रहार गरेको छ भने यसमा क्रमबद्धताको पनि छुट्टै उदाहरण प्रस्तुत गरेको छ : जस्तै – अ,ब,स,द,क,ख…..। अनुवादक)

प्रस्तावना
पछिल्ला धेरै दिनदेखि के देखिँदै छ भने शिक्षण संस्थानहरूका विषयमा समाचारपत्रहरूमा थुप्रै समाचार तथा प्रशस्तै पत्रहरू छापिँदै छन् । कहिले कुनै राज्यमा दिइएका उपाधिहरू फिर्ता लिइँदै छन् भने कहीँ लडकाहरू राजकीय बसहरूको सहायताले अश्वमेध यज्ञ गर्ने काममा संलग्न छन् । एउटा राज्य त कतिसम्म विकाशशील निस्क्यो भने त्यहाँ उत्तरपुस्तिका नै नजाँची विद्यार्थीहरूलाई उत्तीर्ण गरियो । कपी बटुल्न स्टेसनमा कोही जाँदै गएन । स्थिति कस्तो बन्यो भने एकातिर त रेलवेले ती सारा कपीहरूलाई कवाडका रूपमा निलाम गर्न थाल्यो भने अर्कातिर विद्यार्थीहरू तिनै कपीहरूको जाँचविनै धमाधम उत्तीर्ण घोषित हुँदै गए । यस अवस्थामा मेरो विनम्र सुझाव के छ भने समाजका बदलिँदा मान्यताहरूलाई मध्येनजर गर्दै शिक्षण संस्थाहरूप्रति हाम्रो दृष्टिकोण पनि फेर्नुपर्छ । यदि प्रशासनले यस कुरालाई समयमै स्वीकार गर्न सक्यो र शिक्षण संस्थानहरूका यी जीर्णशीर्ण मन्दिरहरूलाई पुनर्जीवित गर्नका लागि कानुन बनाउन सक्यो भने त्यही उचित हुनेछ । सरकारको सुविधाका लागि यस कानुनको मोटामोटी खेस्रा तल प्रस्तुत गरिएको छ ।

मस्यौदा
(अ) राज्यले अब के कुरामा गम्भीरतापूर्वक विचार गर्नेछ भने कपास तथा जुटमिल, बिस्कुट तथा जुत्ता उद्योग, अनि सिनेमाघरहरूको राष्ट्रीयकरणपछि अब उसले शिक्षण संस्थानहरूको राष्ट्रियकरण गर्छ कि गर्दैन ? त्यसै पनि अब यी संस्थानहरूमा कुनै तात्त्विक अन्तर देखिएको छैन ।

(ब) कानुनले कुन कुरालाई प्रस्ट पार्नेछ भने शिक्षण संस्थानहरूले उनीहरूलाई दिइएको अनुदानको लेखाविवरण कतै पनि पेस गर्नुपर्ने छैन र न त उनीहरूले आयव्ययको लेखापरीक्षण नै गराउनुपर्ने छ । वास्तवमा शिक्षण संस्थानहरूको आयव्ययको लेखापरीक्षण गर्नु लेखाकै अपमान मानिने छ ।

(स) सरकारी या गैरसरकारी – दुवै प्रकृतिका शिक्षण संस्थानहरूले भाइभतिजावादको विकासलाई पुरापुर अवसर दिइने कुरामा पुरापुर ध्यान पुर्‍याउने छन् । यस लक्ष्यलाई ध्यानमा राखेर यी शिक्षण संस्थानहरूमा कुनै पनि यस्तो शिक्षक या कर्मचारीको नियुक्ति हुने छैन जसको कुनै भाइ वा भतिज नहोस् ।

(द) गैरसरकारी शिक्षण संस्थानहरूका व्यवस्थापक र शिक्षकहरूका बिचमा ठिक त्यस्तै सम्बन्ध हुनेछ जस्तो एउटा मालिक र कुकुरका बिचमा हुने गरेको छ ।

(क) प्रत्येक व्यक्ति या संस्थालाई यस्तो स्कुल या कलेज खोल्ने पुरापुर अधिकार रहने छ जहाँ न त शिक्षक हुनेछन् न त कालोपाटी नै हुनेछ । कुनै कुनै अवस्थामा त विद्यार्थी हुनु पनि अनिवार्य मानिने छैन ।

(ख) सरकारका शिक्षा विभागका अधिकारीहरूलाई उनीहरूले शिक्षकहरूका मुद्दाहरूमा सम्बन्धित शिक्षक जीवित रहँदासम्म कुनै पनि सुनुवाइ नगर्ने स्पष्ट आदेश दिइने छ । निष्पक्ष तथा न्यायसङ्गत निर्णयका निम्ति यस्ता फाइलहरू शिक्षकको मृत्युपछि मात्र सल्टाउनु आवश्यक मानिने छ ।

(ग) शिक्षकको नियुक्तिका वेलामा उनीहरूको योग्यता, व्यक्तिगत पहुँच अनि स्वास्थ्यमाथि विशेष विचार गरिने छ । अन्य सवै कुराहरूका अतिरिक्त शिक्षक बन्न आउने व्यक्ति जीवनका अन्य सवै क्षेत्रहरूमा असफल भएको होस् र उसको स्वास्थ्य पनि औसत मानिसको भन्दा कमजोर होस् भन्ने कुरामा विशेष ध्यान राखिने छ । यस्ता शिक्षकहरू मात्र स्थायी हुनका लागि योग्य मानिने छन् भने सँगसँगै के फाइदा हुनेछ भने यस्ता दुर्बल शिक्षकहरूलाई पिट्ने कुरामा पनि विद्यार्थीहरू हच्किने छन् । शिक्षण संस्थानहरूमा शान्तिस्थापना गर्ने दिशामा यो एउटा क्रान्तिकारी पाइला हुनेछ ।

(घ) गैरसरकारी संस्थाहरूका शिक्षकहरूले आफ्नो बचेको समय कार्यसमितिका सदस्य तथा व्यवस्थापकका अगाडि हात मल्ने काममा लगाउने छन् । शिक्षकहरूले व्यवस्थापक समितिका सदस्यहरूका छोरीहरूको विवाहमा नोकरले झैँ काम गर्नेछन् र आवश्यकताअनुसार प्रशंसाका हरफ पनि पढेर सुनाउने छन् ।

(च) विद्यार्थीहरूको परीक्षा पुस्तकसँगै हुनेछ । यस्तो गर्नुलाई चोरी गर्नु मानिने छैन किनभने अन्ततोगत्वा संसारमा मौलिक भन्ने त केही छँदै छैन । गोस्वामी तुलसीदाससम्मले आर्यासप्तशतीबाट थुप्रै कुराहरू आयात गरेका रहेछन् । यसबाहेक कार्यसमितिका सदस्यहरूका छोराछोरीको सवालमा उनीहरूलाई विनापरीक्षा नै उत्तीर्ण घोषित गरिने छ र यस विषयमा सरकारलाई पनि कुनै आपत्ति हुने छैन ।

(छ) दिनदिनै विद्यार्थीको हाजिरी जाँच हुने छैन । जेलका कैदीहरूलाई गनेझैँ दिनदिनै विद्यार्थीहरूको गणना गर्नु विद्यार्थीको अपमान गर्नु हो । उनीहरूको शुल्क विद्यालयमा जाँदै गर्दासम्म उनीहरूलाई उपस्थित नै मानिने छ ।

(ज) गरिब तथा असहाय विद्यार्थीलाई कुनै प्रकारको सहायता उपलब्ध गराइने छैन र यसको स्पष्ट व्याख्या कानुनमा नै गरिने छ । वास्तवमा जसलाई भगवान्‌ले नै भाग्यहीन बनाएको छ त्यसको सहायता गर्ने अधिकार हामीसँग छैन ।

(झ) छात्र तथा छात्राहरूले आफ्नो जीवनको भविष्यका निम्ति आफूलाई पूर्ण रूपले तयार पार्ने पुरापुर अधिकार हुनेछ । सफल तथा सुखी वैवाहिक जीवनका लागि छात्र तथा छात्राहरू एकअर्कासित पूर्ण र खुल्ला रूपले भेट्न वा अरू कुरा गर्न पाउने छन् र यस अभियानमा शिक्षकहरूले पनि सहभागिता देखाउन चाहेमा प्रशासनका तर्फबाट कुनै अवरोध गरिने छैन । यस प्रकृतिका सांस्कृतिक कार्यक्रमहरूमा यदि कुनै युवक या यवतिको शीलभङ्ग नै भएछ भने पनि त्यसलाई शिवजीको धनुषभङ्गजस्तै एउटा पवित्र कार्य मानिने छ ।

(प) विद्यार्थीले जुनसुकै आकारको चक्कु आफूसँग राख्ने, विनाटिकट यात्रा गर्ने र राजनीतिमा निःसङ्कोच भाग लिने अधिकार पाउने छ । भविष्यका राष्ट्रनायकहरूको निर्माणलाई रोक्न सकिन्न । यस सन्दर्भमा यदि कुनै प्रकारको घटना भइहाल्यो भने पनि त्यसलाई रचनात्मक कार्यक्रमअन्तर्गत स्वीकार गरिने छ र त्यसमाथि कुनै आपत्ति जनाइने छैन ।

(फ) छात्र, छात्रा तथा अध्यापकहरूलाई खुल्ला रूपमा मादक पदार्थ सेवन गर्ने पूर्ण अधिकार हुनेछ । अझ उचित के हुनेछ भने यस प्रकारका पदार्थहरूको विक्रीको दायित्व पनि शिक्षण संस्थानहरूले नै लिऊन् जसले गर्दा उपभोक्ताहरूले विशुद्ध माल सही समयमा पाउन सकून् ।

(ब) शिक्षण संस्थानहरूमा हुने गृहयुद्धमा प्रहरीको हस्तक्षेप हुने छैन । शिक्षण संस्थानहरूको चौघेराभित्र सम्पन्न गरिने हत्यालाई प्रमाणविना नै जुनसुकै अवस्थामा स्वाभाविक मृत्यु मानिने छ ।

(भ) अन्तिममा पुगेर कानुनले कुन कुरा पनि प्रस्ट पार्नेछ भने देशका विभिन्न राजनीतिक दलहरूले शिक्षण संस्थानहरूको अवस्थाबाट पुरापुर फाइदा लिन स्वतन्त्र हुनेछन् । कानुनले के कुरामा पनि ध्यान पुर्‍याउने छ भने जुन शिक्षण संस्थानमा पाँच वर्षसम्म पनि कुनै दङ्गा, विवाद, बलात्कार वा हत्याका घटनाहरू भएनन् भने त्यस्तो शिक्षण संस्थानलाई कुनै कारण नदेखाइकनै बन्द गरिने छ । जुन व्यक्ति वा संस्था युगसँगै परिवर्तन हुन जान्दैन वा सक्दैन त्यसलाई जीवित रहने कुनै अधिकार छैन ।

उपसंहार
माथि जेजति लेखिएको छ त्यो त केवल सङ्केत मात्र हो । यी त मोटामोटी कुरामात्र हुन् जुन बाटामा हिँड्दाहिँड्दै यस अकिञ्चनको मस्तिष्कमा आएका हुन् । जब अनुभवी र परिपक्व व्यक्तिहरूबाट यी कार्यहरू सम्पन्न हुनेछन् तब यी उम्दा ठहरिने छन् । अँ, एउटा कुरो, मेरा देशवासीहरूसित मेरो निवेदन छ, यस्तो कानुन जति चाँडो बनाउन सकियो उति श्रेयस्कर हुनेछ । विद्यार्थीहरू निकै तीव्र गतिमा अघि बढिरहेका छन् । पहिला त उनीहरूले रजिस्टर मात्र जलाउँथे अब भने रजिस्ट्रारलाई पनि जलाउन चाहन्छन् । यस्तो तीव्र प्रगतिको क्षणमा यदि समयभित्रै केही गर्न सकिएन भने लडकाहरू अघि बढिसक्ने छन् र कानुन पछि पर्नेछ । यस्तो हुन दिनु देशका साथमा विश्वासघात गर्नु हुनेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
आफ्नो छोराका नाममा एउटा खुला पत्र

आफ्नो छोराका नाममा एउटा...

रवीन्द्रनाथ त्यागी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x