रवीन्द्रनाथ त्यागीशिक्षण संस्थानहरूका लागि एउटा नयाँ कानुन
पहिला त उनीहरूले रजिस्टर मात्र जलाउँथे अब भने रजिस्ट्रारलाई पनि जलाउन चाहन्छन् । यस्तो तीव्र प्रगतिको क्षणमा यदि समयभित्रै केही गर्न सकिएन भने लडकाहरू अघि बढिसक्ने छन् र कानुन पछि पर्नेछ ।

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
(यो निबन्ध व्यङ्ग्यकार त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘शिक्षा संस्थानों के लिए नया कानून’ भन्ने लेखबाट अनुवाद गरिएको हो । यसले त्यहाँको त्यति वेलाको शिक्षा क्षेत्रको विकृतिमाथि प्रहार गरेको छ भने यसमा क्रमबद्धताको पनि छुट्टै उदाहरण प्रस्तुत गरेको छ : जस्तै – अ,ब,स,द,क,ख…..। अनुवादक)
प्रस्तावना
पछिल्ला धेरै दिनदेखि के देखिँदै छ भने शिक्षण संस्थानहरूका विषयमा समाचारपत्रहरूमा थुप्रै समाचार तथा प्रशस्तै पत्रहरू छापिँदै छन् । कहिले कुनै राज्यमा दिइएका उपाधिहरू फिर्ता लिइँदै छन् भने कहीँ लडकाहरू राजकीय बसहरूको सहायताले अश्वमेध यज्ञ गर्ने काममा संलग्न छन् । एउटा राज्य त कतिसम्म विकाशशील निस्क्यो भने त्यहाँ उत्तरपुस्तिका नै नजाँची विद्यार्थीहरूलाई उत्तीर्ण गरियो । कपी बटुल्न स्टेसनमा कोही जाँदै गएन । स्थिति कस्तो बन्यो भने एकातिर त रेलवेले ती सारा कपीहरूलाई कवाडका रूपमा निलाम गर्न थाल्यो भने अर्कातिर विद्यार्थीहरू तिनै कपीहरूको जाँचविनै धमाधम उत्तीर्ण घोषित हुँदै गए । यस अवस्थामा मेरो विनम्र सुझाव के छ भने समाजका बदलिँदा मान्यताहरूलाई मध्येनजर गर्दै शिक्षण संस्थाहरूप्रति हाम्रो दृष्टिकोण पनि फेर्नुपर्छ । यदि प्रशासनले यस कुरालाई समयमै स्वीकार गर्न सक्यो र शिक्षण संस्थानहरूका यी जीर्णशीर्ण मन्दिरहरूलाई पुनर्जीवित गर्नका लागि कानुन बनाउन सक्यो भने त्यही उचित हुनेछ । सरकारको सुविधाका लागि यस कानुनको मोटामोटी खेस्रा तल प्रस्तुत गरिएको छ ।
मस्यौदा
(अ) राज्यले अब के कुरामा गम्भीरतापूर्वक विचार गर्नेछ भने कपास तथा जुटमिल, बिस्कुट तथा जुत्ता उद्योग, अनि सिनेमाघरहरूको राष्ट्रीयकरणपछि अब उसले शिक्षण संस्थानहरूको राष्ट्रियकरण गर्छ कि गर्दैन ? त्यसै पनि अब यी संस्थानहरूमा कुनै तात्त्विक अन्तर देखिएको छैन ।
(ब) कानुनले कुन कुरालाई प्रस्ट पार्नेछ भने शिक्षण संस्थानहरूले उनीहरूलाई दिइएको अनुदानको लेखाविवरण कतै पनि पेस गर्नुपर्ने छैन र न त उनीहरूले आयव्ययको लेखापरीक्षण नै गराउनुपर्ने छ । वास्तवमा शिक्षण संस्थानहरूको आयव्ययको लेखापरीक्षण गर्नु लेखाकै अपमान मानिने छ ।
(स) सरकारी या गैरसरकारी – दुवै प्रकृतिका शिक्षण संस्थानहरूले भाइभतिजावादको विकासलाई पुरापुर अवसर दिइने कुरामा पुरापुर ध्यान पुर्याउने छन् । यस लक्ष्यलाई ध्यानमा राखेर यी शिक्षण संस्थानहरूमा कुनै पनि यस्तो शिक्षक या कर्मचारीको नियुक्ति हुने छैन जसको कुनै भाइ वा भतिज नहोस् ।
(द) गैरसरकारी शिक्षण संस्थानहरूका व्यवस्थापक र शिक्षकहरूका बिचमा ठिक त्यस्तै सम्बन्ध हुनेछ जस्तो एउटा मालिक र कुकुरका बिचमा हुने गरेको छ ।
(क) प्रत्येक व्यक्ति या संस्थालाई यस्तो स्कुल या कलेज खोल्ने पुरापुर अधिकार रहने छ जहाँ न त शिक्षक हुनेछन् न त कालोपाटी नै हुनेछ । कुनै कुनै अवस्थामा त विद्यार्थी हुनु पनि अनिवार्य मानिने छैन ।
(ख) सरकारका शिक्षा विभागका अधिकारीहरूलाई उनीहरूले शिक्षकहरूका मुद्दाहरूमा सम्बन्धित शिक्षक जीवित रहँदासम्म कुनै पनि सुनुवाइ नगर्ने स्पष्ट आदेश दिइने छ । निष्पक्ष तथा न्यायसङ्गत निर्णयका निम्ति यस्ता फाइलहरू शिक्षकको मृत्युपछि मात्र सल्टाउनु आवश्यक मानिने छ ।
(ग) शिक्षकको नियुक्तिका वेलामा उनीहरूको योग्यता, व्यक्तिगत पहुँच अनि स्वास्थ्यमाथि विशेष विचार गरिने छ । अन्य सवै कुराहरूका अतिरिक्त शिक्षक बन्न आउने व्यक्ति जीवनका अन्य सवै क्षेत्रहरूमा असफल भएको होस् र उसको स्वास्थ्य पनि औसत मानिसको भन्दा कमजोर होस् भन्ने कुरामा विशेष ध्यान राखिने छ । यस्ता शिक्षकहरू मात्र स्थायी हुनका लागि योग्य मानिने छन् भने सँगसँगै के फाइदा हुनेछ भने यस्ता दुर्बल शिक्षकहरूलाई पिट्ने कुरामा पनि विद्यार्थीहरू हच्किने छन् । शिक्षण संस्थानहरूमा शान्तिस्थापना गर्ने दिशामा यो एउटा क्रान्तिकारी पाइला हुनेछ ।
(घ) गैरसरकारी संस्थाहरूका शिक्षकहरूले आफ्नो बचेको समय कार्यसमितिका सदस्य तथा व्यवस्थापकका अगाडि हात मल्ने काममा लगाउने छन् । शिक्षकहरूले व्यवस्थापक समितिका सदस्यहरूका छोरीहरूको विवाहमा नोकरले झैँ काम गर्नेछन् र आवश्यकताअनुसार प्रशंसाका हरफ पनि पढेर सुनाउने छन् ।
(च) विद्यार्थीहरूको परीक्षा पुस्तकसँगै हुनेछ । यस्तो गर्नुलाई चोरी गर्नु मानिने छैन किनभने अन्ततोगत्वा संसारमा मौलिक भन्ने त केही छँदै छैन । गोस्वामी तुलसीदाससम्मले आर्यासप्तशतीबाट थुप्रै कुराहरू आयात गरेका रहेछन् । यसबाहेक कार्यसमितिका सदस्यहरूका छोराछोरीको सवालमा उनीहरूलाई विनापरीक्षा नै उत्तीर्ण घोषित गरिने छ र यस विषयमा सरकारलाई पनि कुनै आपत्ति हुने छैन ।
(छ) दिनदिनै विद्यार्थीको हाजिरी जाँच हुने छैन । जेलका कैदीहरूलाई गनेझैँ दिनदिनै विद्यार्थीहरूको गणना गर्नु विद्यार्थीको अपमान गर्नु हो । उनीहरूको शुल्क विद्यालयमा जाँदै गर्दासम्म उनीहरूलाई उपस्थित नै मानिने छ ।
(ज) गरिब तथा असहाय विद्यार्थीलाई कुनै प्रकारको सहायता उपलब्ध गराइने छैन र यसको स्पष्ट व्याख्या कानुनमा नै गरिने छ । वास्तवमा जसलाई भगवान्ले नै भाग्यहीन बनाएको छ त्यसको सहायता गर्ने अधिकार हामीसँग छैन ।
(झ) छात्र तथा छात्राहरूले आफ्नो जीवनको भविष्यका निम्ति आफूलाई पूर्ण रूपले तयार पार्ने पुरापुर अधिकार हुनेछ । सफल तथा सुखी वैवाहिक जीवनका लागि छात्र तथा छात्राहरू एकअर्कासित पूर्ण र खुल्ला रूपले भेट्न वा अरू कुरा गर्न पाउने छन् र यस अभियानमा शिक्षकहरूले पनि सहभागिता देखाउन चाहेमा प्रशासनका तर्फबाट कुनै अवरोध गरिने छैन । यस प्रकृतिका सांस्कृतिक कार्यक्रमहरूमा यदि कुनै युवक या यवतिको शीलभङ्ग नै भएछ भने पनि त्यसलाई शिवजीको धनुषभङ्गजस्तै एउटा पवित्र कार्य मानिने छ ।
(प) विद्यार्थीले जुनसुकै आकारको चक्कु आफूसँग राख्ने, विनाटिकट यात्रा गर्ने र राजनीतिमा निःसङ्कोच भाग लिने अधिकार पाउने छ । भविष्यका राष्ट्रनायकहरूको निर्माणलाई रोक्न सकिन्न । यस सन्दर्भमा यदि कुनै प्रकारको घटना भइहाल्यो भने पनि त्यसलाई रचनात्मक कार्यक्रमअन्तर्गत स्वीकार गरिने छ र त्यसमाथि कुनै आपत्ति जनाइने छैन ।
(फ) छात्र, छात्रा तथा अध्यापकहरूलाई खुल्ला रूपमा मादक पदार्थ सेवन गर्ने पूर्ण अधिकार हुनेछ । अझ उचित के हुनेछ भने यस प्रकारका पदार्थहरूको विक्रीको दायित्व पनि शिक्षण संस्थानहरूले नै लिऊन् जसले गर्दा उपभोक्ताहरूले विशुद्ध माल सही समयमा पाउन सकून् ।
(ब) शिक्षण संस्थानहरूमा हुने गृहयुद्धमा प्रहरीको हस्तक्षेप हुने छैन । शिक्षण संस्थानहरूको चौघेराभित्र सम्पन्न गरिने हत्यालाई प्रमाणविना नै जुनसुकै अवस्थामा स्वाभाविक मृत्यु मानिने छ ।
(भ) अन्तिममा पुगेर कानुनले कुन कुरा पनि प्रस्ट पार्नेछ भने देशका विभिन्न राजनीतिक दलहरूले शिक्षण संस्थानहरूको अवस्थाबाट पुरापुर फाइदा लिन स्वतन्त्र हुनेछन् । कानुनले के कुरामा पनि ध्यान पुर्याउने छ भने जुन शिक्षण संस्थानमा पाँच वर्षसम्म पनि कुनै दङ्गा, विवाद, बलात्कार वा हत्याका घटनाहरू भएनन् भने त्यस्तो शिक्षण संस्थानलाई कुनै कारण नदेखाइकनै बन्द गरिने छ । जुन व्यक्ति वा संस्था युगसँगै परिवर्तन हुन जान्दैन वा सक्दैन त्यसलाई जीवित रहने कुनै अधिकार छैन ।
उपसंहार
माथि जेजति लेखिएको छ त्यो त केवल सङ्केत मात्र हो । यी त मोटामोटी कुरामात्र हुन् जुन बाटामा हिँड्दाहिँड्दै यस अकिञ्चनको मस्तिष्कमा आएका हुन् । जब अनुभवी र परिपक्व व्यक्तिहरूबाट यी कार्यहरू सम्पन्न हुनेछन् तब यी उम्दा ठहरिने छन् । अँ, एउटा कुरो, मेरा देशवासीहरूसित मेरो निवेदन छ, यस्तो कानुन जति चाँडो बनाउन सकियो उति श्रेयस्कर हुनेछ । विद्यार्थीहरू निकै तीव्र गतिमा अघि बढिरहेका छन् । पहिला त उनीहरूले रजिस्टर मात्र जलाउँथे अब भने रजिस्ट्रारलाई पनि जलाउन चाहन्छन् । यस्तो तीव्र प्रगतिको क्षणमा यदि समयभित्रै केही गर्न सकिएन भने लडकाहरू अघि बढिसक्ने छन् र कानुन पछि पर्नेछ । यस्तो हुन दिनु देशका साथमा विश्वासघात गर्नु हुनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest







































