साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्ट्राइक

मर्नेवालाको परिवारका लागि हाकिमसाहेबले चन्दा सङ्कलन गरे अनि आफ्नो तर्फबाट पाँच सय रुपैयाँ पनि दिए । मर्नेवालाको सञ्चयकोष र परिवार पेन्सनआदिका लागि पनि सबै कुरो मिलाइदिए । केही दिनपछि हाकिमका प्रशंसकहरू पहिलेभन्दा पनि बढी भए ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

बितेका दिनमा कैयौँ यस्ता समाचारहरू पढ्न पाइयो जुन निकै रोचक थिए । एउटा समाचारअनुसार अस्ट्रियामा एउटा रेलगाडी केही घण्टा ढिलो हुने कारणमा एउटा डिब्बामा एउटा नवविवाहित जोडी मायामा डुबेका थिए र यस प्रक्रियामा युवतिको खुट्टो डिब्बामा लागेको गाडीको ब्रेकमा अल्झेछ जसले गर्दा गाडीलाई धेरै बेरसम्म नै रोकिराख्नुपरेछ । पढ्दा घटना केही अनौठो लाग्छ तर वास्तवमै घटना साँचो हो । रमाइला खबरहरूका सम्बन्धमा आफ्नै देश पनि पछाडि छैन । दिल्लीको बहादुर शाह जफर मार्गमा कुनै बिजुलीको मिटरमा एक थान स्वस्थ मुसो कसरी न कसरी पसेर पुरै इलाकामा घण्टौँ बिजुली काटियो र देशका केही प्रमुख समाचारपत्रहरू पनि छापिन पाएनन् । यसै गरी एउटा विभागले जब आफ्नो कर्मचारीलाई दाह्री नपाल्ने आदेश जारी गर्‍यो अनि त्यस व्यक्तिले अदालतको शरण लिनुपर्‍यो ।

अदालतले विधिपूर्वक थमौती आदेश जारी गर्दै आदेश दियो ‘यस मामिलाको छानबिन भई फैसला नआएसम्म अमुकलाई दाह्री फाल्न बाध्य गर्न पाइने छैन ।’ यसै गरी एउटा समाचार पढ्न पाइयो जसअनुसार एउटा प्रसिद्ध मुर्दाघाटमा त्यहाँका कर्मचारीहरूले शवदाहका लागि किनिएको दाउरामा पनि लाखौँको गोलमाल सम्पन्न गरेछन् । मुर्दाघाटमा जीवनको क्षणभङ्गुरता देखेर पनि चरित्रवान्‌हरू पैसा बटुल्न पछि परेनन् । तर यी सबै समाचारहरू त्यो स्ट्राइकको तुलनामा पछि परे जुन यस नगरका एउटा ठुलो कार्यालयमा सम्पन्न भएको रहेछ । अब म त्यस स्ट्राइकको चर्चा केही विस्तारमा गर्नेछु ।

म जुन स्ट्राइकको चर्चा गर्दै छु त्यो एउटा यस्तो सरकारी कार्यालयमा सम्पन्न गरिएको थियो जहाँ हजारौँ मानिसहरूले काम गर्छन्, सयभन्दा बढी त अधिकृतहरू छन्, सयौँ परिचरहरू छन् अनि नजाने कति यस्ता केटीहरू पनि छन् जसलाई देखेर काम गर्ने ठाउँमा मायाप्रीति लाउन मन लाग्छ । स्वभावतः कार्यालयमा कर्मचारीहरूको एउटा युनियन छ जुन आम प्रचलनअनुसार कर्मचारीहरूका नाजायज मागहरूलाई लिएर होहल्ला गरिरहन्छ, दिनमा काम नगर्ने कर्मचारीहरूलाई ओभरटाइम दिलाउँछ अनि चन्दामा पाएको पैसाले ऐस गर्छ । कार्यालयका चिनिएका गुन्डाहरू नै युनियनका पदाधिकारी छन् अनि तिनीहरूमध्ये जो सबैभन्दा बढी बेकुप छ त्यसैलाई अध्यक्ष बनाइदिएका छन् ।

चलनअनुरूप नै कार्यालयमा एउटा ठुला अधिकारी पनि छन् जसका नामले त्यो कार्यालय चल्ने गर्छ । आम चलनअनुसार ती अधिकारी निकै शिक्षित, शालीन अनि ठाँटिला पनि छन् अनि आफ्नी सुन्दरी स्टेनोग्राफरसित इस्क गर्छन्, महिनामा पन्ध्र दिन भ्रमणमा रहन्छन् अनि ठेकेदारहरूसित मोटो रकम घुस पनि वसुल्छन् । उनको सबैभन्दा ठूलो गुण त एकातिर त उनी आफ्नी पत्नीलाई आमासमान ठान्छन् भने अर्कातिर अर्काका पत्नीहरूलाई पत्नीको स्थान दिन चाहन्छन् । कार्यालयमा जुन स्ट्राइक भयो त्यो युनियन र ठुला अधिकारीका बिचको टकरावका कारण भयो ।

यस ऐतिहासिक टकरावको वास्तविक कारण बताउनका लागि त अझै यस मुद्दाको जाँचबुझ हुनै बाँकी छ । बाहिरबाट त केवल कति मात्र थाहा पाइएको छ भने दिउँसोको एक बजेतिर जब ठुला अधिकारी लन्चमा जानका लागि कारमा बस्दै थिए त्यसै वेला युनियनका अध्यक्ष उनको गाडीका अगाडि पसारिएछन् । युनियनका मान्छेका भनाइमा अध्यक्षले हाकिम साहेबलाई गरेको नमस्कारको उनले कुनै प्रत्युत्तर दिएनन् अनि युनियनका अध्यक्षले हाकिमसित भेट्ने समय माग्दा हाकिमले दिएनन् । यिनै कारणहरूले नै युनियनका अध्यक्षलाई हाकिमको कारका अगाडि पसारिन विवश गरेका रहेछन् ।

हाकिम साहेबको फेरि के भनाइ छ भने न त उनले कसैले नमस्कार गरेको देखे, न कसैलाई भेट नदिने भने । यीमध्ये कसको भनाइ सही हो भनेर भन्न त कठिन छ किनभने बाँकी कैयौँ कमीहरू हुँदाहुँदै पनि दुवैजना साँचो बोल्ने व्यक्ति थिए । जे होस्, युनियनका मान्छेको धम्की थियो, आफ्ना अध्यक्षसित कुरा नगरिकन हाकिम साहेबले कार्यालय छोड्न पाउँदैनन् र उता हाकिमको भनाइ थियो चाहे जे होस् युनियनको दवाबमा आएर उनले कसैसँग पनि कुरा गर्न सक्दैनन् । यति भनेपछि हाकिम साहेब आफ्नो कक्षमा गए भने युनियनका मानिसहरू बाहिर दुबोको चउरमा जम्मा भए । यता कार्यालयमा लन्चको समय भयो भने उता सयौँ कर्मचारीहरूले युनियनको स्तुतिगान गर्न थाले । ठुला मानिसप्रति साना कर्मचारीहरूमा जुन हीन भावना हुन्छ त्यो निकै डरलाग्दो हुन्छ । ती हाकिम साहेब लन्च नगरिकनै आफ्नो कोठामा बसेको कुराले धेरैलाई सन्तोष दिएको छ । स्टाफका केही शान्तिप्रिय व्यक्तिहरूले हाकिम साहेबले युनियनसित कुरा गरून् अथवा युनियनले नै उनलाई लन्चमा जान देओस् भनेर धेरै प्रयास पनि गरे तर दुबै पक्ष झुक्न तयार भएन । युनियनका व्यक्तिहरू कुन कुराका लागि हाकिमलाई भेट्न चाहन्थे भन्ने कुराको खुलासा कहिल्यै भएन ।

बिस्तारै तनाव बढ्दै गयो । कार्यालयमा काम बन्द भयो अनि हजारौँ कर्मचारीहरू कार्यालयका बाहिर जम्मा भए । युनियनवालाहरूले माइक मगाए अनि हाकिम साहेबको नाम लिएर मुर्दावादको नारा लगाउन थाले । यसपछि भाषण भयो जसमा कार्यालयको भवन सानो भएकाले तत्काल ठुलो बनाइयोस् र जसजसका मेडिकल बिलहरू प्रशासनमा थन्किएका छन् ती तत्काल पास गरियून् भन्ने स्वर गुन्जियो । वास्तविकता त के थियो भने कसैलाई पनि भाषणमा के भन्ने भन्ने कुरो थाहा थिएन किनभने जहाँसम्म प्रशासनको प्रश्न थियो त त्यहाँका हाकिम निकै कडा र जिम्मेवार प्रकृतिका अफिसर थिए ।

कार्यालयको भवन पछिल्ला बीस वर्षदेखि नै सानो थियो र त्यसलाई तत्काल ठुलो बनाउन सकिँदै सकिन्नथ्यो । अनि जुन मेडिकल बिलहरूको कुरो थियो ती बिलहरूमा अधिकांश त फर्जी हुन् भन्ने पनि यथार्थ थियो । तर जनतालाई यी कुरासित कुनै लिनुदिनु थिएन । उनीहरूले त यस आवारगर्दीको वातावरणबाट अनिर्वचनीय सुखलाभ गरिरहेका थिए । कार्यालयमै पिकनिकको पनि आनन्द लिन पाइयो भने त्योभन्दा ठुलो कुरै पो के हुन्छ र ? पिकनिक र तनावको यो वातावरण पाँच बजेपछि समाप्त हुन थाल्यो किनभने मानिसहरू अब घर फर्किन थाले । हाकिम साहेबलाई भने साँझ सात बजेसम्म पनि च्याम्बरबाट निस्किन दिइएन र पछि पनि जब पुलिस आयो तबमात्र उनी घर जान पाए ।

घटनाको भोलिपल्ट आइतवारको विदा थियो । सोमवार बिहान जब कार्यालय खुल्यो सबै कुरो एकदम सामान्य थियो । हाकिमसाहेब कार्यालयमा आएर फाइलहरू हेर्न थाले । युनियनका मानिसहरू पनि आएर आआफ्नो विभागमा गई काममा लागे । युनियनका धेरै मानिसहरूलाई लाग्यो उनीहरूले हिँजो हाकिमसित जेजस्तो व्यवहार गरे त्यो ठिक थिएन र उनीहरूले हाकिमसाहेबको कोठामा गएर क्षमायाचना पनि गरे । हाकिमसाहेबले पनि निकै प्रसन्नता प्रकट गरे र आफ्नोतर्फबाट पनि भएको असमझदारीका लागि माफी माग्दै सबैलाई चिया पिलाए ।

युनियनका अध्यक्षले पनि हाकिमसित माफी माग्न चाहन्थे तर केही गलत प्रवृत्तिका खरिदारहरूले उनलाई रोके । उनीहरूको कुतर्क के थियो भने अध्यक्ष त उच्च श्रेणीको ब्राह्मण जाति जातिको हो र हाकिम कथित अनुुसूचित जातिको हो भने ठुलो जातिले सानो जातिसित कसरी माफी माग्न मिल्छ ? युनियनको अध्यक्ष पनि जन्मजात मूर्ख भएकै कारणले अध्यक्ष बनाइएको हुनाले अरूका कुरा सुनेर हाकिमकहाँ गएन । यता कार्यालयका केही कर्मचारीहरू जसको युनियनका पदाधिकारीहरूसित व्यक्तिगत दुस्मनी थियो उनीहरूले युनियनका नेताहरूमाथि कडाभन्दा कडा कार्वाही हुनपर्छ भनेर हाकिमलाई उचाल्न थाले ।

उनीहरूको तर्क थियो, जब हाकिमसाहेबका साथमा यस प्रकारको अशिष्टता हुन सक्छ भने अरूसँग के होला ? तर हाकिमसाहेबले भने उनले सबैलाई माफ गरिसकेका हुनाले यसपछि फेरि उनीहरूमाथि एक्सन लिनु नैतिक दृष्टिले पनि अनुचित हुनेछ । उनको यस भनाइको उत्तर कार्यालयको त्यस कर्मचारीले दियो जो जीवनमा हरेक दृष्टिले भ्रष्ट थियो । उसले भन्यो, ‘युनियनको अध्यक्ष अझैसम्म माफी माग्न आएको छैन । त्यसैले कम्तीमा उसका विरुद्ध त कार्वाही गर्न सकिन्छ नि !’ धेरै बहस र कुराकानीपछि हाकिमले त्यही गरे जे गराउन ती गलत प्रवृत्तिका व्यक्तिहरू चाहन्थे । उनले युनियनका कैयौँ पदाधिकारीहरूलाई त्यस ठाउँमा नियुक्त गरे जहाँ बढी घुस चल्थ्यो र युनियनको अध्यक्षलाई निलम्बित गरे अनि कार्यालयमा एउटा युनियन अर्को पनि बन्नुपर्ने निर्णय पनि गरे । उनको सोचाइ थियो दुइटा युनियन भए भने यिनै आपसमा लडिरहने छन् र प्रशासनलाई भविष्यमा कुनै प्रकारको डर रहने छैन ।

युनियनको अध्यक्ष निलम्बनमा परेको कुरो सिङ्गो कार्यालयमा फैलियो । जसले घुस आउने ठाउँ पाएका थिए तिनीहरू र जसलाई नयाँ युनियनमा ठाउँ पाउने आशा थियो उनीहरू त चुप लागे तर बाँकीले भने बिचरा अध्यक्ष एक्लै परे भन्दै उनको हिम्मत बढाउन थाले । अध्यक्षले पुरै कार्यालयले हडताल गरोस् र विद्रोहीहरूलाई बहिष्कृत गरोस् भन्ने सुझाव दिए । केहीले भने हाकिमसाहेबलाई उनको च्याम्बरबाट लतारेर बाहिर ल्याउनुपर्ने र सबैका अगाडि नङ्ग्याउनुपर्ने सुझाव राखे । अब त हरेक व्यक्तिले आफ्नो छुट्टै सल्लाह दिने स्थिति बन्यो र यसै बिचमा हाकिम साहेबको आदेशमा शान्तिसुरक्षाका लागि बोलाइएका प्रहरीहरू पनि आए । युनियनको अध्यक्षले पुरै स्थिति देखेर र बुझेर कार्यालयको हाकिमले माफी नमागेसम्म यहीँ कार्यालयबाहिर आमरण अनशन बस्ने घोषणा गरे ।

भोकहडतालको घोषणाले कार्यालयप्रशासनमाथि तुरुन्तै प्रभाव पार्‍यो । हाकिमसाहेब त पन्ध्र दिनको भ्रमणका लागि हेलिकप्टरबाट उडे भने केही वफादार कर्मचारीहरूले यस हडतालको अवधिभरि अध्यक्षको हेरविचार गर्ने घोषणा गरे । उनीहरू चाहन्थे अध्यक्षको अनशन साँचो होस् र त्यस राजनीतिक नेताको जस्तो नहोस् जो केही नखाएर न नपिएरै तीन सय पैँसट्ठी दिन नै हडतालमा थियो तर जब ऊ हडतालबाट बाहिर आयो तब ऊ पूर्ण स्वस्थ थियो । जे होस्, भोकहडताल आरम्भ भयो । अध्यक्षलाई माला लगाइदिए, मुर्दावादका साथमा हाकिमको सम्झना गरियो अनि एकजनाले हार्मोनियममा भगवान्‌को स्तुतिगान गर्न थाले । भोकहडतालमा बसेका अध्यक्षलाई घेरेर बस्ने मानिसहरूको भिड लाग्यो भने बिचरा अध्यक्षले आफ्नो गल्ती महसुस गरे । उनी साँच्चै नै भोकै बसे र छ दिनपछि त स्थिति कति गम्भीर भयो भने प्रहरी आएर एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइयो ।

अस्पताल जाँदाजाँदै नै भोकहडतालमा बसेको त्यस कर्मचारीको मृत्यु भयो । ऊ आफ्नो देखावटी सानका लागि सहिद भयो अनि आफ्नी पत्नी, चारवटा सन्तान र बुढा बाबुआमालाई छोडेर अर्को संसारमा गयो । कार्यालयमा सानदार शोकसभा भयो र केहीले मर्ने व्यक्तिका विषयमा ताजा ताजा गजल पनि प्रस्तुत गरे । मर्नेवालाको परिवारका लागि हाकिमसाहेबले चन्दा सङ्कलन गरे अनि आफ्नो तर्फबाट पाँच सय रुपैयाँ पनि दिए । मर्नेवालाको सञ्चयकोष र परिवार पेन्सनआदिका लागि पनि सबै कुरो मिलाइदिए । केही दिनपछि हाकिमका प्रशंसकहरू पहिलेभन्दा पनि बढी भए ।

युनियनका अध्यक्षको मृत्युलाई लिएर श्रमजीवी मानिसहरूको महायुनियनका तर्फबाट विधानसभामा प्रश्न सोधियो अनि सरकारले पनि अवकाशप्राप्त न्यायाधीशलाई सिङ्गो घटनाको जाँचका लागि नियुक्त गर्‍यो । यस आयोगले बढीमा पाँच वर्षमा त घटनाको विस्तृति प्रतिवेदन दिने आशा छ । हाकिमसाहेबको पनि बढुवा र सरुवा भयो अनि बिस्तारै मानिसहरूले त्यस मर्ने कर्मचारी र उसको परिवारका सदस्यहरूलाई बिर्सिदिए ।

०००
व्यङ्ग्यकार रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’अन्तर्गत ‘स्ट्राइक’ शीर्षकको निबन्धबाट अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
आफ्नो छोराका नाममा एउटा खुला पत्र

आफ्नो छोराका नाममा एउटा...

रवीन्द्रनाथ त्यागी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x