रवीन्द्रनाथ त्यागीतैलचित्र
त्यस शुभ अवसरमा यदि यस महान् कलाकृतिको कलाकार कतै राति कुनै सुनसान बाटामा एक्लै र रित्तोहात भेटियो भने उसलाई पनि समाएर ल्याउने छु अनि यसै चित्रको छेउमा किला ठोकेर त्यसलाई पनि झुन्ड्याउने छु ।

रवीन्द्रनाथ त्यागी :
व्यङग्यानुवाद :: रमेश समर्थन
मेरो ड्रइङ्ग रुम निकै शालीन, सुन्दर तथा भरिभराउ लाग्छ । शालीन कुन कारणले भने पर्दा खादीका छन् अनि चारैतिर किताबहरू सजाइएका छन् । वात्सायनको कामसूत्रजस्ता कामका किताब देखेर कसैलाई न कामले न क्रोधले सताओस् न लोभ र मोह जागोस् भनेर तिनमा गाता लगाइएको छ । ड्रइङ्ग रुम किन सुन्दर छ भने भित्ताहरूमा थरी थरीका पदार्थहरू झुन्ड्याइएका छन् । मेरो मान्यता के छ भने जब जब कुनै यात्रामा जान्छु त्यहाँको स्मृतिचिह्नका रूपमा त्यहाँको कुनै न कुनै वस्तु लिएरै आउँछु । यस कुरामा त म कतिसम्म इमानदार छु भने एक ठाउँमा जब किन्ने कुरो केही पाइएन अनि यो अकिञ्चन बसेको ठाउँ (डाकबङ्गला)बाट चुरोटको बट्टा नै लिएर निस्क्यो । हिन्दीका केही लेखकहरूले त राजभवनबाट पनि चुरोटको बट्टा उडाएका छन् । उनीहरूका सामु त मेरो यो प्रयास चुत्थो हो । कृपया प्रशंसा गरेर मलाई लज्जित नपार्नुहोला ।
मैले मेरो ड्रइङ्ग रुम भरिभराउ छ पनि भनेको थिएँ । यो कुरो एकदम साँचो हो । मेरो तथा मेरी पत्नीको स्वास्थ्य पछिल्ला केही वर्षदेखि यति राम्रो भइरहेको छ कि जहाँ जहाँ हामी दुवैजना सँगै बसेका हुन्छौँ, किन हो कुन्नि त्यो ठाउँ अनायासै भरिभराउ लाग्छ । अवस्था कस्तो छ भने जुन सिनेमाघरमा हामी दुवैजना पुगेका हुन्छौँ त्यहाँ जनताले भनिदिन्छन्, हाउसफुल छ एकदम हाउसफुल । म त बरु विवशतामा स्वस्थ भएको हुँ तर जहाँसम्म मेरी पत्नीको प्रश्न छ उनको वंशमै स्वस्थ हुने एउटा विशिष्ट परम्परा छ । यिनको परिवारका एकजना व्यक्ति यस्ता थिए जसको अङ्गअङ्गबाट एउटा दैवी छटा निस्किन्थ्यो । दुई व्यक्तिको सहायताले उनले आसन ग्रहण गर्थे भने चार भाइको सहायता पाएर मात्र उठ्थे । जुन मोटरमा बसेर एकपटक पवित्र पारिदिन्थे त्यसैको कल्याण हुन्थ्यो सधैँका लागि । भनिन्छ, एकपटक चिडियाघर गएको समयमा यिनले त्यहाँका जनावरलाई बरु त्यति उत्सुकतापूर्वक हेरेनन् तर त्यहाँका पशुपन्छी भने उनलाई हेरेका हेर्यै भए । सके एउटा गैँडाले त उनीसित उनको अटोग्राफ पनि लिएको थियो क्यारे !
जे होस्, वास्तविकता त्यही थियो जुन कुनै वेला महामहोपाध्याय डा. सर गंगानाथ झाले भनेका थिए । मेरो ड्रइङ्ग रुम पनि वास्तवमा एउटा यस्तो ठाउँ थियो जसलाई सबैभन्दा राम्रो राखिन्थ्यो र जसको एकदमै थोरै उपयोग हुन्थ्यो । सवै सुन्दर वस्तुहरूसित त यत्तिको संयमित व्यवहार गर्नु सम्भव पनि नहोला कम्तीमा मेरा लागि त । संयोगवश एक दिन मेरो मनमा पनि हीनभावनाको लहर चल्यो । एकजना कलाकार मित्रको आगमन भएको थियो, उनले त्यो देखेर भने, ‘वत्स, यो पनि कुनै ड्रइङ्ग रुम हो ? ड्रइङ्ग रुमलाई यदि ड्रइङ्ग रुमजस्तै बनाएर राख्न चाहन्छौ भने त्यसको भित्तामा कुनै पेन्टिङ्ग या तैलचित्र झुन्डिएको हुनुपर्छ । यदि तैलचित्र नै नहुने हो भने त ड्रइङ्ग रुम र बेडरुममा खासै अन्तर पनि रहँदैन ।’ कुरो अलि खुलेर भन्न थाले, ‘जहाँसम्म बेडरुमको कुरो छ यदि त्यहाँ तपाईंकी सँगिनी छैनन् भने बेडरुम र बाथरुममा कुनै अन्तर रहँदैन ।’ उनले भने, ‘एउटाले अर्काको कलालाई प्रदर्शित गर्नु कलाकारहरूको नैतिक दायित्व पनि हो । चित्रकारहरूले आफ्नो भित्तामा लेखक तथा कविहरूका कृतिहरू झुन्ड्याऊन् र कविलेखकहरूले आफ्नो भित्तामा कुनै समीक्षकलाई झुन्ड्याऊनु वा त्यो सम्भव नभए कुनै तैलचित्र नै लगाऊन् । यस्तो गर्नाले धेरैको भलो हुनेछ ।
कुराले मेरो मनलाई छोयो । म पेन्टिङ किन्न निस्केँ । निकै खोजेपछि र छानबिन गरेपछि एउटा सानदार पसल फेला पर्यो जहाँ थरी थरीका चित्र र चित्रकार दुबै बिक्थे । मैले प्रवेश गर्ने प्रयास मात्र के गरेको थिएँ मेरो चस्मा एक जना शालीन सज्जनको दाह्रीमा पुुगेर अड्क्यो । मान्छे सज्जन थिए, चस्मा मलाई फिर्ता दिए । मैले ध्यान दिएर हेरेपछि देखेँ उनको त्यो दाह्री त थरी थरी रङ्गहरूमा रङ्गिएको थियो र मेरो चस्माबाट मुक्ति पाउनासाथ कुनै कुल्चिएको इन्द्रेनीझैँ चम्किँदै थियो । पछि थाहा पाएँ उनी त एक एक्सपेरिमेन्टलिस्ट प्रकृतिका पेन्टर थिए । उनी बुरुसको काम नै आफ्नो दाह्रीबाट चलाउँथे । परिचयपछि उनले मलाई त्यस कला सङ्ग्रहालय (आर्ट एम्पोरियम)मा जम्मा भएका अन्य केही कलाकारहरूसँग भेट गराए । एकदुई जनालाई छाडेर सबैका कपडा रङ्गहरूले रङ्गिएका थिए भने सवैको मुखबाट ताडीको गन्ध आइरहेको थियो । सबैका चस्मा र जुत्ता त मूल्यवान् थिए तर लुगा भने साधारण थिए । केही केटीहरू पनि थिए जो पेन्टिङ गर्थे । यो रहस्य भने उनीहरूले आफैँ मलाई भनेका हुन् किनभने बाहिरबाट त उनीहरू पनि केटा नै लाग्थे । कताकति भने उनीहरूका गाला पनि रङ्गिएका थिए । एकजना कलाकार थिए जो कलाकक्षका मालिकसित एउटा पेन्टिङको साटो पाइएको पैसाको कुरालाई लिएर पानीपतको चौथो लडाइँ गर्न चाहन्थे । उनी चिच्याई चिच्याई भन्दै थिए, ‘कलाको पतनको कारण यस्तै पुँजिपतिहरू हुन् ।’ यति भनेपछि उनी फन्किँदै बाहिर निस्किँदै थिए अनि भित्र पसिरहेकी कुनै थ्री टनर महिलासित ठोक्किएर त्यहीँ भुइँमा लम्पसार परे । मैले योभन्दा पहिले कलाको यति सफाइपूर्वक पनि पतन हुन सक्छ भन्ने कुरो देखेकै थिइनँ ।
मैले पेन्टिङ हेर्न थालेँ । पोटे्रट पनि हेरेँ अनि ल्यान्डस्क्याप पनि हेरेँ । राजस्थानी वाटिकमा पनि केही थान दृष्टिपात गरेँ अनि मिथिलाको रामवनी शैलीको पनि अवलोकन गरेँ । पुराना शैलीका चित्रहरू पनि हेरेँ अनि नयाँ पुरानाको अन्तर पनि थाहा पाएँ । पुराना शैलीका चित्रहरूमा नायिकाका आँखा कानसम्म तन्केका थिए भने नाक सुगाको चुच्चोजस्तो थियो । नयाँ शैलीका चित्रमा आँखा चिम्लिएका थिए अनि नायिकाका ओठ कानसम्म च्यातिएका थिए । उनीहरूको नाक डरलाग्दो देखिन्थ्यो । सोध्दा के थाहा पाइयो भने त्यस चित्रमा नायिका हाँस्दै रहिछ । पुराना नायिकाहरूको घाँटी अम्खराजस्तो थियो भने नयाँ नायिकाको घाँटी घैँटाको जस्तो थियो । एउटा चित्रमा एउटी बालिकाका वक्षलाई यति उठाइएको थियो कि म भित्तैमा टाँसिन पुगेँ । एउटा चित्रमा त यसमा यदि कुनै नायिका छे भने त्यो कहाँ छे भनेर पत्ता लगाउनै कठिन भयो । हुनसक्छ ऊ अलि चञ्चल प्रकृतिकी कन्या हुँदी हो र एकछिन सबैसित लुकेर आफ्नो प्रेमिकालाई भेट्न भनी फ्रेमबाट बाहिर निस्केकी हुँदी हो ।
झन्डै एक घण्टाभित्रमा मैले के अनुभव गरेँ भने त्यहाँ भएका तस्वीरभन्दा तिनका फ्रेम बढी राम्रा छन् । तर मैले त तस्वीर पो किन्नु थियो र उसै पनि उनीहरू रित्तो फ्रेम त बेच्नेवाला थिएनन् । मैले एउटी युवति कलाकारको सहायताले एउटा पिस रोज्न थालेँ । उसले जुन भनी मैले त्यही किनेँ । मजबुरी थियो ; त्यो कल्स्यौँदी युवति नै त्यहाँ भएका सबै चित्रहरूभन्दा राम्री थिई । सृष्टिसाधैव साधुः ।
घर आएपछि मैले पत्नीको सहायता लिएर त्यो चित्र भित्तामा झुन्ड्याएँ । जेरोमका जेरोमलाई जस्तो अप्ठ्यारो मलाई यस सन्दर्भमा परेन । चित्र झुन्ड्याएर तल ओर्लेपछि हामीले सौन्दर्यपारखी दृष्टिले त्यस कलाकृतिलाई नियाल्न थाल्यौँ । पत्नी त्यसलाई एउटा ल्यान्डस्क्याप चित्र भन्थिन् भने मचाहिँ कुनै मजदुरको पोटर्े्रट चित्र भन्थेँ । तर पत्नीले हार मानिनन् । जुन कुरालाई मैले मजदुरको फेटा भनिरहेको थिएँ त्यसलाई तिनी अस्ताइरहेको चन्द्रमा भन्दै थिइन् । अनि जुन रेखाहरूलाई म परिश्रमी श्रमिकका हड्डी भन्थेँ तिनलाई उनी नदीका कछाड भन्थिन् । हामी दुवैजना केही पछि सर्यौँ । पछि के सरेका थियौँ चित्रले त अर्कै आकार पो लियो ! अब भने त्यो न त चन्द्रमासहितको सन्ध्या लाग्थ्यो न हड्डी देखिएको श्रमिक लाग्थ्यो । अब फ्रेममा जुन तस्वीर सामुन्ने निस्केर आयो त्यसमा एउटा काँजीहाउस थियो र त्यसमा एक थान भैँसी पनि भएको सम्भावना पर्याप्त देखियो । अनि भैँसी पनि कुनै साधारण कुलको नभएर खाँटी हरियाणी छाप । हामी चित्रको अवलोकन गर्दै थियौँ, त्यसै समयमा एकजना कलाप्रेमी प्रकट भए । उनले पनि धेरै वेरसम्म हेरेपछि कुनै विशेषज्ञले जस्तै आफ्नो मत प्रकट गरे । उनले जुन विचार प्रकट गरे त्यसअनुसार कि त यो कुनै हलुवाई हुनुपर्छ र उसले जेरी बनाइरहेको हुनुपर्छ , नभए कुनै चर्मकार हुनुपर्छ र उसले जुत्ता गाँसिरहेको हुनुपर्छ । उनको यो वाणी सुन्नासाथ हामी हठात् मौन भयौँ र त्यसपछि मौन नै रह्यौँ ।
त्यस दिनदेखि त्यो चित्र त्यहीँ झुन्डिएको छ र हेर्ने व्यक्तिलाई व्यक्तिपिच्छे छुट्टै आनन्द दिइरहेको छ । पेन्टिङ एक्लो छ र एक्लै कुनै ग्यालरीको दायित्व बोकेर झुन्डिएको छ । कुनै सज्जन आउँछन् र उनले यसमा लङ्कादहनको छवि फेला पार्छन् । अर्का आउँछन् र उनले यसमा आदिवासीहरूको नृत्यको छटा देख्दछन् । कुनै बाला आइन् भने यसमा मर्लिन मनरोको झलक पाउँछिन् भने कुनै वयस्का आइन् भने सबैभन्दा पहिले उनले यस चित्रलाई ढोग्छिन् अनि मात्र अन्य काम गर्छिन् । यी दोस्रो प्रकृतिकी महिलालाई त्यसमा महावीर हनुमान देखिन्छन् जो एउटा हातमा पहाड उठाएर र अर्को हातले पुच्छर मिलाउँदै चिरञ्जीव लक्ष्मणको प्राथमिक उपचारका लागि सञ्जीवनी बुटी लिएर एम्बुलेन्सको गतिमा उडिरहेका छन् । यी महिलाको दैनिक ढोगबाट दिक्क भएर एक दिन मैले त्यो चित्र उल्टा झुन्ड्याइदिएँ । अनि यिनी भक्तिकालीन महिलाले मसित हनुमानका विषयमा जिज्ञासा राखिन् अनि मैले भनेँ, ‘जुन गतिमा उनी उडिरहेका थिए त्यस हिसाबले के अहिलेसम्म पनि उनी उड्दै होलान् त ? उनलाई हतार थियो, त्यसैले गए ।’
यो तैलचित्र ल्याएको एक वर्षभन्दा बढी भयो । मैले यसलाई ओल्टाई पल्टाई गरेर झुन्ड्याउँछु । आफ्नो यस क्रियाले र कलाप्रेमीहरूको प्रतिक्रियाले मलाई ठुलो सुख दिन्छ । धर्मवीर भारतीले ‘सात गीत वर्ष’ मनाएझैँ मैले पनि ‘सात चित्र वर्ष’ मनाऊँ कि भनेर पनि सोच्दै छु । त्यस शुभ अवसरमा यदि यस महान् कलाकृतिको कलाकार कतै राति कुनै सुनसान बाटामा एक्लै र रित्तोहात भेटियो भने उसलाई पनि समाएर ल्याउने छु अनि यसै चित्रको छेउमा किला ठोकेर त्यसलाई पनि झुन्ड्याउने छु ।
०००
त्यागीको ‘प्रतिनिधि व्यंग्य’को ‘तैलचित्र’ निबन्धबाट अनुवाद गरिएको हो ।
Subscribe
Login
0 Comments
Oldest







































