साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा ससानो कुरो

अनि त्यो सफाइवालाजस्तो मान्छेले गेट खोल्दै थियो । साहेबका साथमा एउटा लामालामा रौँ भएको कुकुर पनि बसेको थियो । मैले दुवैका अनुहार हेरेँ । साहेबको अनुहारभन्दा त्यो कुकुरको अनुहार बढी बफादार लाग्यो ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

कुरो सानो थियो । मैले बिजुलीको बिल जम्मा गर्न जानुपर्ने थियो । भोलि त्यसको अन्तिम दिन थियो र त्यति वेलासम्म बिल जम्मा नभएमा बिजुली काटिने डर थियो ।

बिजुली काटिने कुराले मलाई निकै डर लाग्छ । जसरी कवि जयदेवकी नायिकालाई अन्धकार प्रिय थियो ठिक त्यसै गरी मलाई प्रकाशसित प्रेम रह्यो । मैले त ‘गीत गोविन्द’मा जुन नाना प्रकारका लीलाहरूको वर्णन छ त्यसलाई पनि उज्यालामा पढ्न सक्छु । तर बिजुली जानासाथ म त्यसै गरी छट्पटाउन थाल्छु जसरी कोही आफ्नी पत्नी भाग्दा छट्पटाउँछ । यो उपमा भने मैले अनुमानका आधारमा मात्र दिएको हुँ है, किनभने मेरी निजी पत्नी अहिलेसम्म कुनै पराई पुरुषसित भागेकी छैनन् । भविष्यको कुरो त भगवान् नै जानून् ।

जे होस्, बिजुली जानासाथ सबै माहोलले एकाएक अचम्मको अनुहार बनाउँछ । कहिले तपाईं पुरानो वार्डरोबमा ठोकिनुहुन्छ भने कहिले नयाँ नोकर्नीसित ठोकिनुहुन्छ । लालटिन खोज्दा त्यसको चिम फुटेको हुन्छ भने नयाँ चिम झिक्दासम्म तपाईंका परम निष्काम प्रयत्नहरूका कारण भित्तेघडी भुइँमा खस्छ । उता पत्नी पञ्चम स्वरमा ‘घडीमा खुट्टा पर्ला । सबै टाढा टाढा जाओ ।’ भनेर कराउँछिन् । यस भरतवाक्यपछि उनको चरणकमलको पहिलो पाइलो जुन पदार्थमाथि पर्छ त्यो घडी नै हुन्छ । यता तपाईं स्टुलबाट लड्नुहुन्छ उता बिजुलीको पनि विधिपूर्वक फिर्ती सवारी हुन्छ । यसपछि तपाईंले आफ्नो घरको अवस्था त्यस्तै गरी हेर्नुहुन्छ जसरी युद्धपछि अवधको नवाबले बक्सरको मैदानलाई हेरेको हुँदो हो !

मैले फुर्तीसाथ लुगा लगाएँ अनि बिजुलीबिलको भुक्तानीका लागि सम्बन्धित कार्यालयमा पुगेँ । कार्यालय खुलै थियो । सफाइ कर्मचारीजस्तो लाग्ने एकथान मानिसले फर्निचरजस्ता लाग्ने केही थान वस्तुहरू पुछ्दै थियो अनि मालीजस्तो लाग्ने जुन मानिस थियो उसले निकै वैरागी मुद्रामा एउटा बोटबाट फलजस्तै लाग्ने कुनै वस्तु टिप्दै थियो । यी दुवै प्राणीहरूलाई छाडेर कार्यालयमा अरूको कोही थिएन ।

मैले त्यही सफाइ कर्मचारीजस्तो देखिने व्यक्तिसित ‘बिजुलीको बिल भुक्तान गर्नु छ । कर्मचारीहरू कहिले आउँछन् ?’ भनेर सोधेँ ।

उसले पान चबाउँदै मलाई गहिरिएर हेर्‍यो अनि फेरि पान चबाउन थाल्यो । धेरै बेरपछि जब ऊ बोल्ने अवस्थामा पुग्यो अनि भन्यो, ‘यो काम त भोला सरले गरिहाल्नुहुन्छ अनि साढे एघार बजेसम्म आइ पनि हाल्नुहुन्छ । उहाँ नहुँदा सबै काम तिवारीजीले सम्हाल्नुहुन्छ ।’

म खुसी भएँ । मैले सोधेँ, ‘हे आर्य ! तिवारीजी कहिले आउनुहुन्छ नि ?’
‘भोला सर आएर गएपछि ।’
‘तर कार्यालय त दश बजे खुल्छ नि !’

‘किन रिसाउनुहुन्छ हजुर, कार्यालय त खुलेकै त छ नि ! ढोका खुलेका छन् अनि झ्यालहरू खुलेका छन् । सबै कुरो खुलेकै त छ ! यदि गल्तीले कुनै कुरो बन्द छ भने त्यो देखाइदिनुस्, म त्यो पनि खोलिदिन्छु ।’

मलाई हाँसो पनि उठ्यो र रिस पनि उठ्यो । मैले ‘हाकिम साहेब कहाँ छन् ?’ भनेर सोधेँ ।
‘हजुर उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरो त उहाँकी श्रीमतीलाई पनि थाहा हुँदैन भने हामीले के खाएर भन्न सक्नु ! त्यसो त कहीँ न कहीँ त हुनुहुन्छ नै ! अचेलभरि त हजुर त्यो नयाँ टाइपिस्ट आएकी छे नि ! हो, त्यसैलाई टाइप सिकाउन जङ्गलतिर लिएर जानुहुन्छ । निकै च्वाँक केटी छे हजुर ! आउनासाथ हाकिम साहेबलाई खल्तीमा राखिहाली ।

यसपछि उसले आँखा झिम्क्यायो अनि तिनै फर्निचरजस्ता लाग्ने सामानको सफाइ गर्न थाल्यो । म चुप लागेँ अनि चुरोट सल्काएर त्यस कार्यालयजस्तो लाग्ने भवनको निरीक्षण गर्न थालेँ । भवन निकै पुरानो बाह्रौँ शताब्दीतिर बनेको जस्तो लाग्थ्यो । प्लास्टर उहिल्यै निस्किसकेको थियो भने गारामा पनि चिरा परेको र भुइँ ओसिलो थियो । वर्षौँदेखि रङ्गरोगन गरिएको थिएन अनि बाहिरको भित्तामा नाना प्रकारका यस्ता सूक्तिहरू लेखिएका थिए जसले स्त्री र पुरुषको पारस्परिक सम्बन्धमाथि प्रकाश पार्थे । छतमा जालो लागेको थियो । कुर्सीहरू औंलामा गनिने मात्र थिए जसमा एउटा दुइटालाई छाडेर कुनैको खुट्टा भाँचिएको थियो भने कुनैको कम्मर भाँचिएको थियो । भाँचिएका खुट्टामुनि निकै कौशलपूर्वक केही ढुङ्गाहरू राखेर कुर्सीलाई सन्तुलनमा राखिएको थियो ।

भित्तामा एउटा घडी थियो जुन सम्भवतः सत्रौँ शताब्दीमा नै चल्न छोडेको थियो । एउटा फलामको तिजोरी थियो अनि काउन्टरभन्दा केही पर एउटा बेन्च पनि राखिएको थियो जसमा मजस्ता बिल बुझाउनुेहरू बस्न सक्थे । यस बेन्चका हाताहरू भाँचिएका थिए भने तलको बुनाइ पनि चुँडिएको थियो । यसमा बस्दा एउटा विशेष किसिमको विश्राम प्राप्त हुन्थ्यो । बेन्चको ठिक अघिल्तिर एउटा तस्वीर गान्धीजीको अनि अर्को परिवार नियोजनको विज्ञापन सँगै टाँसेर झुन्ड्याइएको थियो । म बसेँ अनि बसि नै रहेँ । त्यो बेन्च कति प्रेमिल थियो भने त्यसमा एक पटक बसेपछि फेरि उठ्नु निकै कठिन साधना लाग्यो ।

एघार बज्यो तर कोही आएन ।

साढे एघार बजे एउटा मान्छे प्रकट भयो । म भोला सर आए कि भनेर उफ्रेँ । तर ती भोला सर थिएनन् र एकजना रामदयाल थिए जसलाई मैलेझैँ बिजुलीको बिल भुक्तानी गर्नु थियो । एकअर्कालाई भेटेर दुवैलाई निकै निराशा भयो । यसपछि हामी दुवै त्यस बेन्चमा बस्यौँ ।

भगवान् रामले वनगमनका वेला सीताजीलाई भनेका थिए, ‘समय बित्न समय लाग्दैन ।’ मैले त्यही चौपाई स्मरण गर्दै चुरोट तान्दै गरेँ । जे होस्, बिस्तारै बिस्तारै त्यो सुखद अवस्था पनि आयो जब कार्यालयमा कर्मचारीहरू आए । केही चहलपहल भयो अनि मानिसहरू आआफ्नो बिल भुक्तानी गर्नका लागि लाइनमा लागेर उभिए । हामी झन्डै चालिसजना थियौँ जसमा सबैभन्दा अगाडि म थिएँ अनि सोच्दै थिएँ, ‘जीवनमा कहीँ त अगाडि हुन पाएँ !’

कर्मचारीहरूलाई भने किन हो कुन्नि हामीसित खासै मतलब थिएन । तीमध्यै एउटा सज्जनले चस्मा लगाएर अखबार पढ्न थाले । दुईचार जना उनको वरिपरि झुम्मिए अनि शीर्षक हेर्न थाले । कुनै विशेष समाचार हुँदा उनीहरूले कराएर सबैलाई सुनाउँथे । कसैको रुचि क्रिकेटमा थियो भने कसैको बलात्कारमा थियो । एकजना सज्जन थिए संसारमा कतिसम्म विरक्त भइसकेका थिए भने उनले कतै पनि दृष्टिपात गरेनन् । उनले छाता झुन्ड्याए, सुर्ती मुखमा हाले अनि विधिवत् निद्रालाभ गर्न थाले । क्यासियरले भोला सरसित गफ गरिरह्यो । कुरा भने केही गोपनीय प्रकृतिको लाग्थ्यो किनभने दुवैले कानमा मुख लगेर कुरा गरेका थिए अनि बिचबिचमा चस्मा झिकेर निकै अर्थपूर्ण तरिकाले हाँस्थे । साढे बाह्र बजेतिर चिया आयो अनि कर्मचारीहरू चिया पिउन व्यस्त भए । लन्चका लागि अझै एक घण्टा समय थियो । लन्च झन्डै तीन बजेसम्म चल्थ्यो ।

हामी भने अधीर भएर उभिएका थियौँ । केही लाइनमा उभिएका तन्नेरीहरू भने ‘हामी पैसा लिएर लाइनमा उभिएका छौँ । तपाईंहरू किन लिनुहुन्न ?’ भनेर कराउँदै थिए । तर भोला सर भने सरकार जनताको पैसा लिन त्यति उत्सुक छैन भन्ने प्रमाणित गर्न चाहन्थे । चाहे जनताले आफ्नो धन दिन खोजोस् तर शासन आज त्यो लिन चाहँदैन । जे होस्, बिस्तारै उनी आफ्नो हनुमानछाप गतिले हिँडेर आफ्नो गद्दीमा बसे । त्यति वेला पनि उनले आफ्नो सात्विक गम्भीरताको परिचय दिए । पहिले आफ्नो भाँचिएको चस्मा पुछे, त्यो लगाए अनि त्यसलाई झिकेर दोस्रो पटक पुछे, कलममा मसी भरे, रबरका छापहरू जम्मा गरे, दुईचारवटा लामाछोटा हाई काढे अनि जर्दाको बुजो हाले । यसपछि काम सुरु भयो ।

काममा उनी सिपालु थिए त्यसैले सामान्य बिलमा पनि कम्तीमा आधा घण्टा त लगाउँथे लगाउँथे । मैले अलिक छिटो गर्न के भनेको थिएँ बिँडी सल्काए र शान्तिपूर्वक भने, ‘बाबु साहेब, दुई रुपियाँ तलब पाइन्छ, न तलको आय हुन्छ न माथिको आमदानी हुन्छ । घरमा तीनजना केटाकेटी छन् । बसबाट आवतजावत गर्नुपर्छ । दमको रोगी छु र क्षयरोग हुने छाँट छ । एक पैसाको तलमाथि भयो कि अडिटले छोड्दैन । काम यति छ अनि मान्छे म एक्लो छु । माथिकालाई भ्रष्टाचारबाटै फुर्सद छैन । बचेका तीन वर्ष इज्जतसित बिताउन पाइयोस् । पुग्यो । बाबु, म त सधैँ यस मुलुकको कुन हविगत हुने होला भनेर सोचिरहन्छु ।

मैले रसिद हातमा लिएँ अनि बाहिर निस्केँ । झन्डै दुई बज्दै थियो । हाकिम साहेबको सेकेन्ड ह्यान्ड कार कार्यालयभित्र छिर्दै थियो । त्यो मालीजस्तो लाग्ने व्यक्तिले सलाम ठोक्दै थियो अनि त्यो सफाइवालाजस्तो मान्छेले गेट खोल्दै थियो । साहेबका साथमा एउटा लामालामा रौँ भएको कुकुर पनि बसेको थियो । मैले दुवैका अनुहार हेरेँ । साहेबको अनुहारभन्दा त्यो कुकुरको अनुहार बढी बफादार लाग्यो ।

०००
(रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘एक छोटी–सी बात’ बाट अनुवाद गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
आफ्नो छोराका नाममा एउटा खुला पत्र

आफ्नो छोराका नाममा एउटा...

रवीन्द्रनाथ त्यागी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x