रवीन्द्रनाथ त्यागीएउटा ससानो कुरो
अनि त्यो सफाइवालाजस्तो मान्छेले गेट खोल्दै थियो । साहेबका साथमा एउटा लामालामा रौँ भएको कुकुर पनि बसेको थियो । मैले दुवैका अनुहार हेरेँ । साहेबको अनुहारभन्दा त्यो कुकुरको अनुहार बढी बफादार लाग्यो ।

रवीन्द्रनाथ त्यागी :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
कुरो सानो थियो । मैले बिजुलीको बिल जम्मा गर्न जानुपर्ने थियो । भोलि त्यसको अन्तिम दिन थियो र त्यति वेलासम्म बिल जम्मा नभएमा बिजुली काटिने डर थियो ।
बिजुली काटिने कुराले मलाई निकै डर लाग्छ । जसरी कवि जयदेवकी नायिकालाई अन्धकार प्रिय थियो ठिक त्यसै गरी मलाई प्रकाशसित प्रेम रह्यो । मैले त ‘गीत गोविन्द’मा जुन नाना प्रकारका लीलाहरूको वर्णन छ त्यसलाई पनि उज्यालामा पढ्न सक्छु । तर बिजुली जानासाथ म त्यसै गरी छट्पटाउन थाल्छु जसरी कोही आफ्नी पत्नी भाग्दा छट्पटाउँछ । यो उपमा भने मैले अनुमानका आधारमा मात्र दिएको हुँ है, किनभने मेरी निजी पत्नी अहिलेसम्म कुनै पराई पुरुषसित भागेकी छैनन् । भविष्यको कुरो त भगवान् नै जानून् ।
जे होस्, बिजुली जानासाथ सबै माहोलले एकाएक अचम्मको अनुहार बनाउँछ । कहिले तपाईं पुरानो वार्डरोबमा ठोकिनुहुन्छ भने कहिले नयाँ नोकर्नीसित ठोकिनुहुन्छ । लालटिन खोज्दा त्यसको चिम फुटेको हुन्छ भने नयाँ चिम झिक्दासम्म तपाईंका परम निष्काम प्रयत्नहरूका कारण भित्तेघडी भुइँमा खस्छ । उता पत्नी पञ्चम स्वरमा ‘घडीमा खुट्टा पर्ला । सबै टाढा टाढा जाओ ।’ भनेर कराउँछिन् । यस भरतवाक्यपछि उनको चरणकमलको पहिलो पाइलो जुन पदार्थमाथि पर्छ त्यो घडी नै हुन्छ । यता तपाईं स्टुलबाट लड्नुहुन्छ उता बिजुलीको पनि विधिपूर्वक फिर्ती सवारी हुन्छ । यसपछि तपाईंले आफ्नो घरको अवस्था त्यस्तै गरी हेर्नुहुन्छ जसरी युद्धपछि अवधको नवाबले बक्सरको मैदानलाई हेरेको हुँदो हो !
मैले फुर्तीसाथ लुगा लगाएँ अनि बिजुलीबिलको भुक्तानीका लागि सम्बन्धित कार्यालयमा पुगेँ । कार्यालय खुलै थियो । सफाइ कर्मचारीजस्तो लाग्ने एकथान मानिसले फर्निचरजस्ता लाग्ने केही थान वस्तुहरू पुछ्दै थियो अनि मालीजस्तो लाग्ने जुन मानिस थियो उसले निकै वैरागी मुद्रामा एउटा बोटबाट फलजस्तै लाग्ने कुनै वस्तु टिप्दै थियो । यी दुवै प्राणीहरूलाई छाडेर कार्यालयमा अरूको कोही थिएन ।
मैले त्यही सफाइ कर्मचारीजस्तो देखिने व्यक्तिसित ‘बिजुलीको बिल भुक्तान गर्नु छ । कर्मचारीहरू कहिले आउँछन् ?’ भनेर सोधेँ ।
उसले पान चबाउँदै मलाई गहिरिएर हेर्यो अनि फेरि पान चबाउन थाल्यो । धेरै बेरपछि जब ऊ बोल्ने अवस्थामा पुग्यो अनि भन्यो, ‘यो काम त भोला सरले गरिहाल्नुहुन्छ अनि साढे एघार बजेसम्म आइ पनि हाल्नुहुन्छ । उहाँ नहुँदा सबै काम तिवारीजीले सम्हाल्नुहुन्छ ।’
म खुसी भएँ । मैले सोधेँ, ‘हे आर्य ! तिवारीजी कहिले आउनुहुन्छ नि ?’
‘भोला सर आएर गएपछि ।’
‘तर कार्यालय त दश बजे खुल्छ नि !’
‘किन रिसाउनुहुन्छ हजुर, कार्यालय त खुलेकै त छ नि ! ढोका खुलेका छन् अनि झ्यालहरू खुलेका छन् । सबै कुरो खुलेकै त छ ! यदि गल्तीले कुनै कुरो बन्द छ भने त्यो देखाइदिनुस्, म त्यो पनि खोलिदिन्छु ।’
मलाई हाँसो पनि उठ्यो र रिस पनि उठ्यो । मैले ‘हाकिम साहेब कहाँ छन् ?’ भनेर सोधेँ ।
‘हजुर उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरो त उहाँकी श्रीमतीलाई पनि थाहा हुँदैन भने हामीले के खाएर भन्न सक्नु ! त्यसो त कहीँ न कहीँ त हुनुहुन्छ नै ! अचेलभरि त हजुर त्यो नयाँ टाइपिस्ट आएकी छे नि ! हो, त्यसैलाई टाइप सिकाउन जङ्गलतिर लिएर जानुहुन्छ । निकै च्वाँक केटी छे हजुर ! आउनासाथ हाकिम साहेबलाई खल्तीमा राखिहाली ।
यसपछि उसले आँखा झिम्क्यायो अनि तिनै फर्निचरजस्ता लाग्ने सामानको सफाइ गर्न थाल्यो । म चुप लागेँ अनि चुरोट सल्काएर त्यस कार्यालयजस्तो लाग्ने भवनको निरीक्षण गर्न थालेँ । भवन निकै पुरानो बाह्रौँ शताब्दीतिर बनेको जस्तो लाग्थ्यो । प्लास्टर उहिल्यै निस्किसकेको थियो भने गारामा पनि चिरा परेको र भुइँ ओसिलो थियो । वर्षौँदेखि रङ्गरोगन गरिएको थिएन अनि बाहिरको भित्तामा नाना प्रकारका यस्ता सूक्तिहरू लेखिएका थिए जसले स्त्री र पुरुषको पारस्परिक सम्बन्धमाथि प्रकाश पार्थे । छतमा जालो लागेको थियो । कुर्सीहरू औंलामा गनिने मात्र थिए जसमा एउटा दुइटालाई छाडेर कुनैको खुट्टा भाँचिएको थियो भने कुनैको कम्मर भाँचिएको थियो । भाँचिएका खुट्टामुनि निकै कौशलपूर्वक केही ढुङ्गाहरू राखेर कुर्सीलाई सन्तुलनमा राखिएको थियो ।
भित्तामा एउटा घडी थियो जुन सम्भवतः सत्रौँ शताब्दीमा नै चल्न छोडेको थियो । एउटा फलामको तिजोरी थियो अनि काउन्टरभन्दा केही पर एउटा बेन्च पनि राखिएको थियो जसमा मजस्ता बिल बुझाउनुेहरू बस्न सक्थे । यस बेन्चका हाताहरू भाँचिएका थिए भने तलको बुनाइ पनि चुँडिएको थियो । यसमा बस्दा एउटा विशेष किसिमको विश्राम प्राप्त हुन्थ्यो । बेन्चको ठिक अघिल्तिर एउटा तस्वीर गान्धीजीको अनि अर्को परिवार नियोजनको विज्ञापन सँगै टाँसेर झुन्ड्याइएको थियो । म बसेँ अनि बसि नै रहेँ । त्यो बेन्च कति प्रेमिल थियो भने त्यसमा एक पटक बसेपछि फेरि उठ्नु निकै कठिन साधना लाग्यो ।
एघार बज्यो तर कोही आएन ।
साढे एघार बजे एउटा मान्छे प्रकट भयो । म भोला सर आए कि भनेर उफ्रेँ । तर ती भोला सर थिएनन् र एकजना रामदयाल थिए जसलाई मैलेझैँ बिजुलीको बिल भुक्तानी गर्नु थियो । एकअर्कालाई भेटेर दुवैलाई निकै निराशा भयो । यसपछि हामी दुवै त्यस बेन्चमा बस्यौँ ।
भगवान् रामले वनगमनका वेला सीताजीलाई भनेका थिए, ‘समय बित्न समय लाग्दैन ।’ मैले त्यही चौपाई स्मरण गर्दै चुरोट तान्दै गरेँ । जे होस्, बिस्तारै बिस्तारै त्यो सुखद अवस्था पनि आयो जब कार्यालयमा कर्मचारीहरू आए । केही चहलपहल भयो अनि मानिसहरू आआफ्नो बिल भुक्तानी गर्नका लागि लाइनमा लागेर उभिए । हामी झन्डै चालिसजना थियौँ जसमा सबैभन्दा अगाडि म थिएँ अनि सोच्दै थिएँ, ‘जीवनमा कहीँ त अगाडि हुन पाएँ !’
कर्मचारीहरूलाई भने किन हो कुन्नि हामीसित खासै मतलब थिएन । तीमध्यै एउटा सज्जनले चस्मा लगाएर अखबार पढ्न थाले । दुईचार जना उनको वरिपरि झुम्मिए अनि शीर्षक हेर्न थाले । कुनै विशेष समाचार हुँदा उनीहरूले कराएर सबैलाई सुनाउँथे । कसैको रुचि क्रिकेटमा थियो भने कसैको बलात्कारमा थियो । एकजना सज्जन थिए संसारमा कतिसम्म विरक्त भइसकेका थिए भने उनले कतै पनि दृष्टिपात गरेनन् । उनले छाता झुन्ड्याए, सुर्ती मुखमा हाले अनि विधिवत् निद्रालाभ गर्न थाले । क्यासियरले भोला सरसित गफ गरिरह्यो । कुरा भने केही गोपनीय प्रकृतिको लाग्थ्यो किनभने दुवैले कानमा मुख लगेर कुरा गरेका थिए अनि बिचबिचमा चस्मा झिकेर निकै अर्थपूर्ण तरिकाले हाँस्थे । साढे बाह्र बजेतिर चिया आयो अनि कर्मचारीहरू चिया पिउन व्यस्त भए । लन्चका लागि अझै एक घण्टा समय थियो । लन्च झन्डै तीन बजेसम्म चल्थ्यो ।
हामी भने अधीर भएर उभिएका थियौँ । केही लाइनमा उभिएका तन्नेरीहरू भने ‘हामी पैसा लिएर लाइनमा उभिएका छौँ । तपाईंहरू किन लिनुहुन्न ?’ भनेर कराउँदै थिए । तर भोला सर भने सरकार जनताको पैसा लिन त्यति उत्सुक छैन भन्ने प्रमाणित गर्न चाहन्थे । चाहे जनताले आफ्नो धन दिन खोजोस् तर शासन आज त्यो लिन चाहँदैन । जे होस्, बिस्तारै उनी आफ्नो हनुमानछाप गतिले हिँडेर आफ्नो गद्दीमा बसे । त्यति वेला पनि उनले आफ्नो सात्विक गम्भीरताको परिचय दिए । पहिले आफ्नो भाँचिएको चस्मा पुछे, त्यो लगाए अनि त्यसलाई झिकेर दोस्रो पटक पुछे, कलममा मसी भरे, रबरका छापहरू जम्मा गरे, दुईचारवटा लामाछोटा हाई काढे अनि जर्दाको बुजो हाले । यसपछि काम सुरु भयो ।
काममा उनी सिपालु थिए त्यसैले सामान्य बिलमा पनि कम्तीमा आधा घण्टा त लगाउँथे लगाउँथे । मैले अलिक छिटो गर्न के भनेको थिएँ बिँडी सल्काए र शान्तिपूर्वक भने, ‘बाबु साहेब, दुई रुपियाँ तलब पाइन्छ, न तलको आय हुन्छ न माथिको आमदानी हुन्छ । घरमा तीनजना केटाकेटी छन् । बसबाट आवतजावत गर्नुपर्छ । दमको रोगी छु र क्षयरोग हुने छाँट छ । एक पैसाको तलमाथि भयो कि अडिटले छोड्दैन । काम यति छ अनि मान्छे म एक्लो छु । माथिकालाई भ्रष्टाचारबाटै फुर्सद छैन । बचेका तीन वर्ष इज्जतसित बिताउन पाइयोस् । पुग्यो । बाबु, म त सधैँ यस मुलुकको कुन हविगत हुने होला भनेर सोचिरहन्छु ।
मैले रसिद हातमा लिएँ अनि बाहिर निस्केँ । झन्डै दुई बज्दै थियो । हाकिम साहेबको सेकेन्ड ह्यान्ड कार कार्यालयभित्र छिर्दै थियो । त्यो मालीजस्तो लाग्ने व्यक्तिले सलाम ठोक्दै थियो अनि त्यो सफाइवालाजस्तो मान्छेले गेट खोल्दै थियो । साहेबका साथमा एउटा लामालामा रौँ भएको कुकुर पनि बसेको थियो । मैले दुवैका अनुहार हेरेँ । साहेबको अनुहारभन्दा त्यो कुकुरको अनुहार बढी बफादार लाग्यो ।
०००
(रवीन्द्र त्यागीको ‘प्रतिनिधि व्यङ्ग्य’भित्रको ‘एक छोटी–सी बात’ बाट अनुवाद गरिएको हो ।)
Subscribe
Login
0 Comments
Oldest







































