रमेश विकलश्रीमती नबोल भन्छिन्
त्यसैले शीतकालमा कोइली मौनव्रती भए जस्तै- अहिलेको संकटकालमा तपाईं पनि चुपो लागेर बस्नोस् । हाम्रा भण्डारमा नून, तेल, मट्टितेल, चामल चिनीका बोरा खचाखच छँदैछन् ।

रमेश विकल :
धेरै बोल्नेलाई बकबके भन्छन् । त्यसैले मैले बोल्न छोडेको निकै भयो । तर के गर्नु, कहिलेकाहीँ त नबोलौँ भने पनि धरै दिँदैन मान्छेले ।
– देशमा यत्रो संकट छ, तर तँ आफूलाई निकै बुद्धिजीवी मन्ने, उहाँ भने केही बोल्दैनस् । के हो तेरो चाल ? – बाटामा हिँड्न हुँदैन यस्ता प्रश्नहरू हलुवामा बालुवा झै लागिहाल्छन् ।
– के बोल्ने मैले ? – म झगडामा हारेको लुते कुकुर झै लुपुक्क पन्छने दाउ गर्छु- बोल्ने त अरू कति छन् कति । मैले केबारे बोल्ने ?
-किन ?… तँ बारे नै देख्तैनस बोल्न ? प्रश्न चिढिएर आउँछ । यत्रा यत्रा वारेहरू छन्, नाकाबन्दी छन्, सीमा मिचाइ छन्, महँगी छन्, अवमूल्यन छन्- यस्ता यस्ता राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय छन् । तेरा लागि बोल्ने बारे नै छैन ? ते केको नेपाली, मुख थुनेर बस्ने ?
– मेले के बोल्ने ? – म अझ लाचार स्वर बोल्छु ।
– बोल न, केही त बोल्नै पर्छ । कसैले यो हाम्रै अर्घेलो भन्छन् । कोही होइन, यो ठुल्दाइको थिचोमिचो भन्छन् । तँ के भन्छस् ?
– म के भनूँ भाइ ? म रुझेको बिरालाको अनुहार लाउँदै एकातिर मुन्टो घुमाएर भन्छु- मैले त श्रीमतीसँग सल्लाह नगरी बोल्ने बोल्ने नै गरेको छैन ।
– ठीक छ, सल्लाह नै गरेर भए पनि त केही भन्, तर भन्- साथी सल्लाह दिन्छ । यस्तो राष्ट्रिय संकटको बेलामा पनि केही बोलिनस् भने त तँ अराष्ट्रिय होस् ।
– साथीले ठीकै भन्यो । आफ्नो कुनै विचार नभए पनि स्यालले जस्तो हुइयाँमा हुइयाँ त मिलाउनै पर्यो । नत्र… तर श्रीमतीसँग सल्लाह नगरी के भन्नु ? कतै तलमाथि पर्यो भने बिताएन ? आखिर मलाई प्रखर बुद्धिजीवी बनाएर यत्रो सामाजिक स्थान दिलाएको पनि त श्रीमतीले नै हो । त्यसैले श्रीमतीसँग सहलाह नगरी त मैले केही बोल्नै हुन्न ।
– तिमी के भन्छ्यौ ?- डराई डराई भए पनि श्रोमतीसँग सोध्छु ।
– के भन्नु ? के बारेमा के भन्नु ? – उनको झर्केको स्वरले एक पल्ट त सातो पनि जान्छ । तर उनीसँग सल्लाह लिन पर्यो, डराएर पनि त भएन । डराई डराई भए पनि मुख खोल्छु- यही नून, तेल, मट्टितेल, खानेपानी, खाने अन्नको संकटको कुरा । महँगी, कालाबजारी, भ्रष्टाचारका बारेका कुरा । सबै मलाई बोल भन्छन् । तर तिम्रो विचार नबुझी मैले के बोल्ने ?
– हेर्नोस् तपाईं विनिसित्ती बकबक गरेर नहिँड्नोस् । – श्रीमतीले खाउँला झैं आँखाले हेर्दै भनिन् – कसको विरोधमा बोल्नुहुन्छ तपाईं ? सान्दाजुका विरोधमा बोल्नुभयो भने अहिले देशको सम्पूर्ण डाडु पन्यौँ सान्दाजुकै हातमा छ । ठूल्दाजुका विरोधमा बोल्ने पनि साइत छैन । किनभने ठूल्दाजु रिसाए फेरि पहिले जस्तै तपाइँकाे पसल बजार गर्ने दैलो गौँडा थुनिदेलान् । त्यसमाथि अस्ति मात्रै ठूल्दाजुका दूतकी श्रीमतीले हाम्रा ठूलेलाई उनकै देशमा पढ्न जाने सिधा हुण्डी मिलाइदिन्छु भनेकी छन् । – उनो रिसाइन् भने ठूले पढ्न जान पाउँदैन । सान्दाजु रिसाए तपाईं कुनै आर्थिक आयोगमा सदस्य हुन पाउनुहुन्न । त्यसैले चुपो लागेर रामनाम अपेर बस्नोस् । पलत्र सप्रिन्छ ।
– तर देशको यो दूर्दशामा सबैले बोलेका छन् । आफूले मात्र नबोल्दा छोराछोरीले के भन्लान् ? अरूले के भन्लान् ? – मैले शंका प्रकट गरेँ ।
– देशमा यसरी अन्न-पानी, तेल, नूनको हाहाकार छ । लौ भन त, भोलि एक्कासि पेट्रोल नै बन्द भयो भने हाम्रो गाडी के गरी चल्ला ?
– त्यसैले त भनेकी – श्रोमतीले खुलस्त गरिन् – ठूल्दाजुलाई चिढ्याउनु भयो भने मुख्य कुरो पेट्रोल संकट पर्छ ।… नून-तेल, अन पानी भनेको त भुईंफुट्टाहरूको समस्या हो । हाम्रो समस्या त केडिलाई पेट्रोल र आर्थिक समितिको सदस्यता हो । यी दुवै कुरालाई सुरक्षित राख्नु हो । त्यसैले शीतकालमा कोइली मौनव्रती भए जस्तै- अहिलेको संकटकालमा तपाईं पनि चुपो लागेर बस्नोस् । हाम्रा भण्डारमा नून, तेल, मट्टितेल, चामल चिनीका बोरा खचाखच छँदैछन् । खाँचो भएछ भने कौडीमल-पकौडीमलको पछाडिको ढोका हजुरका लागि खुला छँदैछ । अझ हामी आफै जान पनि पर्दैन- ‘नोकर पठाइदिए हुन्छ’ भनेको छँदैछ । अब केको पीर ? मुख्य कुरो महामहीमसँग मेरो दोस्तीको कुरो हो । त्यो कायम रहेसम्म…। त्यो कायम रहन अहिले मौन व्रत लिनु नै सर्वोत्तम उपाय हो ।
– हेर भाइ, म अहिले बोल्ने स्थितिमै छैन- अर्को पल्ट साथीलाई भेट्ता म साथीलाई प्रस्ट जबाफ दिन्छु ।… यो मेरो पारिवारिक मामीला हो । मैले बोलेको श्रीमतीलाई मन पर्दैन । त्यो उनको अनुकूल हुँदैन । त्यसैले म यो तीन कौडीका जन्तुहरूको हँमा हँ मिलाएर स्याले हुइयाँ गर्दिनँ ।
०००
‘अब अगाडि बढ्नु छ….’ (२०५०)
Subscribe
Login
0 Comments
Oldest






































