देव भट्टराई (२)आगो र पानी
चरित्र हो मानक एक मन्त्र । चाहिन्न अर्को बहुमूल्य यन्त्र ॥ सर्लक्क छन् बाहिरबाट चित्र । हुन्छन् कुहेका फल भित्रभित्र ॥ अवश्य खुल्नेछ कुकर्म पर्दा । यो हैन झैँ लाग्छ स्वयं नपर्दा ॥

देव भट्टराई :
आगो र पानी तरुनी र मूर्ख ।
यी चार देखेर नमान हर्क ॥
फसिन्छ सानो गलती भएमा ।
मिल्दैन कोही बिनती न छेमा ॥०१
सतर्क होऊ नजिकै सरेमा ।
होला झमेला दिन बिग्रिएमा ॥
उल्काइमा लाग्नु हुँदैन साथी ।
उन्मादले जान दिँदैन माथि ॥०२
भनाइ यो नीति र शास्त्रको हो ।
विचार आफैँ गर तथ्य के हो ?
साँचो र प्रामाणिकता छ छैन ?
खोज्नू कसैको हठले हुँदैन ॥०३
झर्दैगरेका कति छन् चढेका ।
चढ्दैगरेका कति छन् झरेका ॥
चरित्र हो मानक एक मन्त्र ।
चाहिन्न अर्को बहुमूल्य यन्त्र ॥०४
सर्लक्क छन् बाहिरबाट चित्र ।
हुन्छन् कुहेका फल भित्रभित्र ॥
अवश्य खुल्नेछ कुकर्म पर्दा ।
यो हैन झैँ लाग्छ स्वयं नपर्दा ॥०५
डढिन्छ आगोसँग जिस्किँदामा ।
बगिन्छ पानीसँग मिस्सिँदामा ॥
पर्याय हुन् ती तरुनी र आगो ।
बन्दैन कस्तै गर मूर्ख प्यारो ॥०६
०००
भोजपुर, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































