देव भट्टराई (२)म के गरूँ ?
रोजूँ म के पथ्थर या त आत्मा ? संज्ञान देऊ असली महात्मा ॥ समुद्रलाई नदिऊँ म पानी । हिमाललाई हिउँको सलामी ॥ समृद्धलाई उपहार दामी । पाखण्ड बेचेर भइन्न दानी ॥

देव भट्टराई :
म सत्य बोलूँ कि असत्य बोलूँ ?
पर्दा लगाऊँ कि खुलस्त खोलूँ ?
कि चूप लागूँ ? अरगज्जमा छु ।
के ठीक, बेठीक ? बता’ न राजु ॥०१
रुँनेछ सत्ते म असत्य बन्दा ।
बढ्नेछ स्वार्थीपन नीच धन्दा ॥
हुँनेछु एक्लो यदि सत्य बोले ।
ताली बटुल्नेछु असत्य बोले ॥०२
सुने-सुनाए बकबास मैले ।
बन्नेछु प्यारो मनमीत जैले ॥
रिसाउने छन् प्रतिकार गर्दा ।
खुशाउने छन् मतियार बन्दा ॥०३
जे हो दुरुस्तै भनिदिन्छु आज ।
जाँचूँ परेवा, चिल हो कि बाज ॥
छुटिन्छ पाकेपछि धान सामा ।
डुब्दैछु यस्तो परिकल्पनामा ॥०४
छ देउता मन्दिरभित्र कस्तो ?
हेर्दा भिखारी निज हो कि जस्तो ॥
रोजूँ म के पथ्थर या त आत्मा ?
संज्ञान देऊ असली महात्मा ॥०५
समुद्रलाई नदिऊँ म पानी ।
हिमाललाई हिउँको सलामी ॥
समृद्धलाई उपहार दामी ।
पाखण्ड बेचेर भइन्न दानी ॥०६
०००
भोजपुर, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































