सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्वयंलाई शून्यमा आरोलेर

आदरसत्कारका साथ उसले थप भन्यो, ‘त्यो त हो तर मेरा रचना कता गए ? यस्तो त हुने गरेको थिएन । प्रोत्साहनमा पहिलो रचना छापिदिनुभो पछि जतिसुकै लेखेर पठाए पनि छाप्न छाड्नुभो । मबाट केही गम्भीर त्रुटि भयो कि ?’

Nepal Telecom ad

भाउपन्थी :

उसले जोरजाम गरेर जथाभावी व्यङ्ग्क्ष्य लेख्ने गर्छ भन्ने सरेँ सम्पादकहरूको धारणा थियो । तर उसका रचना सम्पादकहरू छाप्दै छाप्दैनौँ भन्न सक्तैनथे र लाज पचाएर भनिदिन्थे — ‘खै मेलबाट त्यो रचना त पाइएन । तैपनि म हेरुँला ।’ उसले मोबाइलमा फोन गरेपछि सम्बन्धित सम्पादकहरू यसो भन्थे, हेलो सरकारले जनतालाई जवाफ दिएझैँ । हेर्ने कुरो के नै थियो र जब उसका रचना छाप्नु नै थिएन । सम्पादकहरू दिक्क पर्थे कि यो मान्छेको रचनाबाट कसरी तर्किने । रचनामा के हुन्थ्यो र ? ऊ सोच्थ्यो कस्ताकस्ता फतौरे रचना त छापिन्छन् भने मेरा रचना मात्रै किन अफालिन्छन् ?

ऊ मेलबाट पठाएको पठायै गर्थ्याे, लेखिएभरिका रचना । उसका रचना नपढेरै लसम्पादकहरू दिक्दार पर्थे । यसो भेटघाट हुँदा थकाइ मेट्न् बियरको निम्तो पनि दिन सक्तैनथ्यो ऊ । पाए आफैँ धोक्तो हो सम्पादकको खल्ती रित्याएर । मान्छे कस्तो छ त्यो पनि सबै सम्पादकले अनुहारबाट चिन्न पाएका छैनन् । सुराकी गर्न बसेको मानिसलाई चिन्न सकिन्न— त्यस्तै छ यो । सुराकी पनि के गर्ने आजको समाचार भोलि बिहान पेपरमा आइहाल्ने गरेको छ । ऊ लेखेर पठाइरहन्छ र पनि अनुहार देखाउँदैन । कठै ! डराएर पनि होला । सम्पादकहरूको झपार खाइन्छ भनेर । अनुहार न दनुवारको पो छ र हो कि ? या ऊ महिला लेखक हो जो पुरुष नाम धारण गरेर व्यङ्ग्य दन्काइरहेछ । महिलाहरूलाई खुलेर व्यङ्ग्य लेख्न लैङ्गिक विभेदले दिँदैन भन्ने उसको बुझाइ थियो ।

सम्पादकले सोचे, उसको आततायी रचना प्रेषणले ससानो साइबर केस बन्छ । प्रहरीमा जाहेरी दिन सकिन्छ । साइबर केस भनेर ठ्याक्कै त नलेला तर अनावश्यक कन्था जोडेर लेख्ने गर्छ र हामीलाई दिक्दार पार्छ, मानसिक अशान्ति दिन्छ भन्न त सकिन्छ । तर त्यो पनि राम्रो मानिने छैन । मानिलिऊँ, प्रहरीले त्यो मानिसको पत्तो लगाएर पक्राउ गरिहालेछ भने लेखक वर्ग एक भएर सम्पादकका विरुद्ध खनिन के बेर ? रचना पठाएको पठायै गर्‍यो है भनेर केस हाल्ने ? कस्तो पत्रिका कस्तो सम्पादक ? तर यो मुलुकमा लेखकहरूबीच एकता छैन । यो एउटा आश्वस्त पार्ने कुरो थियो ।

उसमाथि सत्ता पनि चूर छ मिडियाबाट । भए नभएका आक्षेप र लाञ्छना लाग्ने झुट्टा समाचार लेख्न लगाउँछ र छाप्छ भनेर । सहकारीको रकम हिनामिनामा सिंहदरबारको हात छैन भनेर कत्ति सफाइ दिँदा पनि मिडिया मानिरहेको छैन । हैन, खाएकै हौ भनेर कुर्लिरहेछ । त्यस्तो बेला लेखक समूह नै सम्पादकका विरुद्ध उठ्यो भने सत्ताले यही मौका छोपेर सम्पादकलाई लैजान सक्छ, अज्ञात स्थलतिर । अज्ञात स्थल भनेको अज्ञात स्थल नै नि । मुलुकको नक्सामा नाउँ नखुलेका अनेकौँ अनकन्टार ठाउँ छन् । कस्तो कहाँको भन्ने प्रश्न नै उठ्दैन । त्यहाँ लगेर सम्पादकलाई हजार वा लाख चोटि अब म यसो गर्दिनँ भनेर एक डङ्गुर कापी दिएर मसीवाला कलमले लेख्न लगायो भने ? गएन सम्पादकीय ?

त्यसैले लेखकलाई जिस्क्याउन भएन । हाल त्यो लेखक जुन छ जसले दैनिक एउटा भनेजसो रचना पठाइरहन्छ उसका रचना आउँदै गर्छन् । यता मेलमा आएपछि खासै दिक्दारी पनि छैन । राम्रा रचना जसले लेखे पनि छाप्नु नछाप्नु सम्पादकको हातमा छ । सहायकहरूलाई भनिराख्यो फलानो ठिटो आफ्नो ग्रुपको हो त्यसैलाई लेखाउँदा हुन्छ विषय दिएर, सत्ताको विरोधमा वा समर्थनमा । सर्कलभन्दा बाहिरको मान्छेलाई पत्रिकामा छाप्नु ठीक हुँदैन । कस्ता मानिस पत्रिकाको भेउ लिन भित्र पस्छन् के ठेगान ? पत्रिका चल्नु नचल्नु पछिको कुरा पहिले त सम्पादकको चाकरी बलियोसँग गराउनु पर्‍यो । लेख्नेहरू यति धेरै भइसके सम्पादकलाई सामग्री चयन भ्याइ नभ्याइ छ । यस्तोमा आफ्नो ग्रुप आफ्नो सर्कल भन्ने महत्वपूर्ण हुन्छ । तर यो जुन छ जसले पठाइरहन्छ दिनैजसो एउटा रचना त्यसलाई बाहिरै राख्नु ठीक हुन्छ । यस्तो भनेर ऊप्रति जसले दैनिकजसो रचना पठाउने अथक काम गथ्र्‍यो, हो उसैका लागि सम्पादकले एउटा ट्याग बनायो— रचना पाइएन ।

ऊ यता दिक्दार थियो । मेरै रचना मात्र नपाइनुमा कुनै न कुनै षड्यन्त्र छ । केको डर भएछ सम्पादक र सम्पादकका धुपौरेहरूलाई । ऊ जङ्गल पस्ने कुरो त गरिरहेको छैन । एक पटक उसले देखेको थियो सम्पादक भनेर अलि ठाडो शिर लगाएर हिँड्नेलाई । सत्ताको मातले होस गुमाएकाहरूका अगाडि पनि गल्ती नभएर ठाडो शिर लगाएर हिँड्नु गज्जबकै स्टेमिना भएको मान्नुपर्छ । नयाँ गठबन्धनको सरकार धेरै दिन चल्दैन, एकै महिनामा गर्ल्यामगुर्लुम्म ढल्छ भनेर लेखिदिएछन् आफ्नो टिप्प्णीमा ती सम्पादकले । नयाँ सत्ता झन् रुष्ट भयो । उथलपुथलको धम्की दियो । त्यसमाथि असफलताको रिसले आगो भइरहेको समय थियो । प्रतिपक्षको एक नेताले पनि त्यही भाषा बोलेको थियो । सत्ताधारीले भन्ने भइहाले— फलानोबाट निर्देशित छ । उसरी सत्ताधारीहरू काम गर्नका अल्छीले निर्देशन जारी गर्दै हिँडिरहेका थिए जसलार्य टेरपुच्छर लाउने कोही भएनन् ।

सम्पादकलाई उसले सिधै गएर नमस्कार भनिटोपलेको थियो । सम्पादकले देखे र नमस्कारमा टाउको मात्र हल्लाए । सम्पादक हिरो जस्तै थिए, सत्तासँग टक्कर लिने गुदी भएको भनेर । हाँसेनन् । हाँस्नुले स्तर खस्काउँथ्यो । सम्पादक भनेकै गम्भीरजीवी हुन् । उसले त्यता ध्यान दियो । जस्तै भनिन्छ बाघको मुख खाए पनि नखाए पनि रातै भनेझैँ । सम्पादकहरू गम्भीर प्रकृतिका हुँदारेछन् बाघका जस्ता रातमुखे नभए पनि । उसले मक्ख पर्दै भन्यो, ‘सर मेरा रचना पाइएनन् ? संसारले पठाएका रचना पाइनु र मेरा रचना नपाइनुमा तात्विक भेद के छ सर ? पत्रिकाको स्तर सुहाउँदो भएन कि ?’ सम्पादक महोदय सतर्क भए । सोचे, ‘अहो ! यो उही जीव रहेछ जसले रचनाको खात नै पठाउँछ । रातदिन नसुती लेखनमै व्यस्तमस्त रहन्छ कि क्या हो ? के गरेर जीविका चलाउँदो हो ? घरमा स्वास्नी—केटाकेटी छन् छैनन् ? कतै जागिसागिर पनि छ कि छैन ? यस्तो जीवट मानिस अहिले कहाँ भेटिन्छन् र ? तर मान्छे हेर्दा त फ्याङ्लोफ्याङ्लो देखिन्छ ।’

सम्पादक महोदयसतर्क त भएभए साथै सचेत पनि भए— ‘रचनाबारे जिज्ञासा गरिरहेछ । उही साबिकको उत्तर रचना पाइएन भन्ने हो भने पहिल नै भूमिका बाँधेर भनिरहेछ— मेरै रचना मात्र किन पाइएन ?’ उनी सम्पादकीय सोच्ने मुद्रामा गए । जबाफ यस्तो हुनु पर्‍यो जसले यो जीवटको मनमा सन्देह पैदा नहोस् । उनले बडो गम्भीर भएर भने— ‘ए हो त ? तपाईंका रचना किन हाम्रा अफिसमा पाइँदैनन् ? मेलमा निश्चय पनि गडबडी त छैन होला । घर गएर चेक गर्नोस् न कतै नेटमा गडबडी त छैन । तैपनि साहित्यको डेस्क हेर्नेलाई सोधुँला तपाईंका रचना किन नछापेको भनेर ।’ सम्पादक गम्भीर हुनबाट अलिअलि हास्यमिश्रित मुद्रामा आउन खोज्दै थिए र सोधिहाले— ‘उसरी तपाईंका रचना कुन विषयका हुन्छन् ?’

उसले फ्याट्टै उत्तर दिइहालेन । सम्पादकको सोधाइ र स्पष्टीकरणमा उसले चित्त नबुझाए पनि प्रकटमा चित्त बुझाएको मुखमुद्रा देखायो । भन्यो— ‘म त व्यङ्ग्य लेखनमै सचेष्ट छु ।’ सम्पादकले हर्षोत्पादक अवसर पाएझैँ खुसी व्यक्त गर्दै भने— ‘यो त अति राम्रो कुरो । आजभोलि नेपाली साहित्यमा व्यङ्ग्यको स्तरोन्नति हुनै सकेको छैन । तपाईंजस्ता युवाहरूले यस क्षेत्रमा कलम चलाउनु अहोभाग्य नै ठहर्छ । रचना राम्रा नराम्रा हुँदै गर्छन् । लेख्नोस्, लेख्नोस् व्यङ्ग्य । जे लेखे पनि चल्छ । नेताहरूलाई हेर्नोस्, उनीहरूले राजनीतिमा जे गरे पनि चलेकै छ । भ्रष्टाचार पनि चलेकै छ, कमिसन पनि चलेकै छ, अकूत कमाउनेहरू पनि चलेकै छन्, माफियाहरू डनहरू चलेकै छन् । राजनीतिमा हेर्नोस्, सत्ताका प्रतिनिधिहरूलाई हेर्नोस् एक न एक प्रकरण काण्ड र घोटाला भइरहेका छन्, गरिरहेका छन् । अहिले सहकारी थपिएको छ । गरिब मरिरहेछन् । यसले मुलुकलाई यत्ति मात्र फाइदा भइरहेछ, व्यङ्ग्यलाई मलजल भइरहेछ । चाहियो त लेख्ने मान्छे । तपाईंहरू जस्तो युवाका लागि यो स्वर्णिम अवसर हो ।’ ऊ युवा थिएन तर सम्पादकले फुक्र्याउन उसलाई युवा भनेर तोकिदिए । अचेल नेताहरू पनि यसै गर्छन् । भ्रष्टाचारमा मुछिएको आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिन भ्रष्टाचार गरेकै छैन भनेर क्लिन चिट दिन्छन् । त्यस्तै सम्पादकले पनि ऊ बुढ्यौलीतिर लम्केकोलाई युवा भनेर तोकिदिए ।

उसले विनम्रताको खोल ओढेर भन्यो, ‘धन्यवाद ।’ किनभने सम्पादकसँग विनम्र हुनु नै उपयुक्त मानिन्थ्यो, सम्पादकहरू विरलाकोटी जातका हुन्छन् । सबै सम्पादक सडकहुँदो भेटिँदैनन् । आज यिनी भेटिए । आदरसत्कारका साथ उसले थप भन्यो, ‘त्यो त हो तर मेरा रचना कता गए ? यस्तो त हुने गरेको थिएन । प्रोत्साहनमा पहिलो रचना छापिदिनुभो पछि जतिसुकै लेखेर पठाए पनि छाप्न छाड्नुभो । मबाट केही गम्भीर त्रुटि भयो कि ?’

सम्पादक उसको विनम्रताबाट खुस भए । हर्षले गद्गद हुँदै भने— लेख्न नछाड्नोस् । व्यङ्ग्यमा मौका छ । रचना पठाउनोस् बाँकी म हेरुँला ।’ सम्पादकले कुनै एक जरुरी मिटिङमा जानु छ भनेर साँघुरो गल्लीभित्र मोडिए । उसले पनि सोच्यो, अब सम्पादकले रचना पठाउनै भनेका छन् भने लेख्न त छाड्नु भएन ।’ तर उसका रचना छापिन छाडेका छन् र उसले निराश भएर कहिलेकाहीँ आफैँसित भन्ने गर्छ— ‘तँ त झरिस् शून्यमा !’

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’