भाउपन्थीमन्त्रीको आत्मकथ्य
भाषण सुन्न आएकाहरूको भीडका बीचमा आफ्ना कार्यकर्ता घुसारेर राख्यो जसले आफूले गरेको भाषणको एकदुई घतलाग्दा वाक्यमा सिटी बजाउने र थप्पडी पिट्ने होहल्ला गर्ने काम गरून् । तिनले त्यो गर्छन्, गरिरहेकै छन् ।

भाउपन्थी :
मन्त्री भइयो । सरकारी रकमले किनेको फूलमाला र गुच्छाले गरिएको स्वागत पनि खाइयो । पहिलो पटक मन्त्री हुँदा त खुबै रमाइलो लागेको थियो । हर्षले जिउ नै सिरिङ्ग भएर थरथरी कामेको थिएँ— सरकारी गाडी, सरकारी पेट्रोल, मन्त्री क्वार्टर, भान्से, रासन आदि सोचेर । मन्त्रालयमा पद बहाली गरेपछि तुरुन्त नेताजीको घर गइयो, चारपाँच किलो महँगो मिठाइ बोकेर । सचिवले भन्यो पछि बिल मिलाउँला अहिले खर्च गर्दा हुन्छ । सरकारी पैसा जति खर्च गरे पनि मिलाइदिने छँदै थिए । तर मिठाइ पो कस्तो थियो ? मरेको साङ्ले कीरो भेटियो भने नेताजीले तुरुन्तै मन्त्रीपदबाट राजीनामा दिइहाल भन्ने पो हुन् कि ? मिठाइ देखेर नेताजीले भनेका थिए, सुगर छ, कृष्णजी । बेकारमा कष्ट गर्नुभो । योभन्दा त अर्को ल्याएको भए हुने । दोस्रो पटक मन्त्री भइएको छ, दुईचार विदेशी बोतल लैजानु पर्ला ।
नेताजीलाई सुगर थियो त थियो नेतापत्नीलाई त केही थिएन । उहाँ त उसै पनि मोटी हुनुहुन्थ्यो । मोटाहरू मिठाइका सोखिन हुन्छन् भन्ने थाहा थियो । मैले भनेँ, ‘भाउजुलाई भनेर ल्याइदिएको हुँ । हाम्रो सेलिब्रेसन त छँदै छ नि ।’ कारण यो पनि थियो, नेताभन्दा बढी भाउजुकै खटनपटन चल्थ्यो घरमा पनि र सरकारमा पनि । नेताजीले चित्त बुझाए । यो अगिल्लो पटकको कुरो थियो । मन्त्री क्वार्टरमा सर्दा पशुबलि दिने चलन रहेछ— सरकारी खर्चमा । बाहिर सस्तोसस्तो एउटा बोको बलि चढाइयो, भित्र जक्खु खसी ढालियो । गठबन्धनको सरकार थियो । कति पो चल्ने हो भन्ने आशङ्का पनि थियो । त्यसैले पाएको बेला मोज गरिहाल् केटा भनेर मनमनै भनेँ ।
अहिले पनि मन्त्री भइयो । खुसी त हुनु नै थियो । मन्त्री हुनु भनेको अफसोसको कुरो हुन सक्दैनथ्यो । मन्त्री भएपछि केके न भइयो भनिन्थ्यो । एक पटक मन्त्री भएपछि सरकारभित्रको आन्द्राभुँडी सबै धोइधाई पारिने रहेछ । फेरिफेरि पनि मन्त्रीको अफर आइहाल्दो रहेछ । यस पल्ट पनि पद बहाली गर्न मन्त्रालय जाँदा उस्तै गरी सरकारी खर्चको फूलमाला र फूलका गुच्छा टर्क्याइयो । कर्मचारी-सचिवहरू उस्तै पुरानै जस्ता, उस्तै अनुहारका । उही पाराले हात जोडेर स्वागतमा निहुरिएर उभिएका । मन्त्री भएपछि लाखौँ जोडा हात जोडिएको अनुभव पाइएको छ । हुनुवर्नु केही छैन नमस्कारमा जोडिएका हातहरूको अभिवादन खाएरै मोटाइन्छ । मन्त्रालयभित्र मन्त्रीको कक्षमा पसेर घुम्ने मेचमाथि बसेपछि अगाडि पहिलेको जस्तै फाइल ल्याइयो । उस्तै नेपाली कागजमा लेखिएको टिप्पणी । दस्तखत गर्नुअगि यसो पढेझैँ गरियो । बुझिने भए पो । सचिवले भन्यो, औपचारिकता हो मन्त्रीज्यू । एक जना पिउनतलाई रामर्री काम गर्ने नसिहत दिनू भन्ने मन्त्रीस्तरीय निणर्यको टिप्पणी सदर हो हजुर ।
कानमा ‘हजुरहजुर’, ‘आइबक्स्योस’, ‘गइबक्स्योस्’ र ‘खाइबक्स्योस्’ भन्ने सामन्ती अझ भनौँ राजसी सम्बोधनहरूले पेट नै ढाडिन्छ, दिमाग सातौँ आकाशमा पुग्छ । भखुट्टाले भुइँ छाड्छन्, कताकता आकाशचारी भएको अनुभव गराउँछ । मन्त्री हुनुअगि बाहिर ‘सामन्ती सम्बोधनहरू खारेज गर’ भन्ने क्रान्तिकारिता देखाए पनि मन्त्री भएपछि ती सम्बोधनहरू त शासकीय आवश्यकताका शब्दलावली रहेछन् भन्ने अनुभव हुन्छ । ‘मन्त्री आउनुस्’ भन्नुमा र ‘मन्त्रीज्यू हजुर, आइस्यो, राज होस्’ भन्नुमा कति फरक छ ? शासनमा बसेको बोध हुन्छ ‘मन्त्रीज्यूको सवारी भो’ भन्दा । ‘मन्त्री आउनुस्’ भन्दा कुनै नाटकमा मन्त्री खेलेको पात्रलाई स्टेजमा बोलाएको जस्तो हीनता अनुभव हुन्छ । शासन भनेको जनताबाट टाढै रहेर गरिनै पर्ने कार्य हो । जनतामा भिजेर तिनकै भाषामा शासन गर्न थालियो भने शासनको मर्यादा रहँदैन । त्यसैले मन्त्रालयभित्र पसेपछि बाहिरको क्रान्तिकारितालाई पहिरोले बगाएको गरिबको घरझैँ बिर्सिनुपर्छ— मन्त्री हुनुको पहिलो विशिष्ट बोध थियो यो मेरो ।
मन्त्री भएको छैन खाने सहस्र बाटा खुलेर आउँछन् । मुखमुख ब्रिफकेस ल्याएर खुवाउने तत्परता देखाइन्छ । कसको कति खानु ? बिना वर्गीकरण खान पनि हुँदैन । भित्रको गोपनीयता बाहिर फिटिक्क चुहिन दिनु हुँदेन । निजी सचिवहरूले लाइन मिलाउँछन् । उनीहरू आफू पनि खान्छन् र हामीलाई पनि दिन्छन् । मन्त्रालयभित्र एउटा विशिष्ट कक्ष हुन्छ गोप्य गर्ने । मन्त्रीको लागि बाहिरबाट आउने कमिसन वा घूसका लागि त्यो कक्ष बनाइएको हुँदो रहेछ । त्यहाँ पसेपछि मलाई यसतो लागिरहन्थ्यो, कूनै ग्राहक अब आयो तब आयो । नभए आएको ग्राहकलाई केरकार गरेर लाखको छ भने करोडको, करोडको छ भने दस वा बीस करोडको कनाउने कक्ष त्यो रहेछ । सरुवा बढुवा गरिमाग्नेहरू पनि त्यो कक्षभित्र पसेर मन्त्रीसँग साउती गर्न लालायित रहने गर्छन् । मन्त्रीले एक पटक अङ्गालोमा हालेर त्यो गोप्य कक्षभित्र लगेपछि सरुवा वा बढुवा हुने बाटो खुल्यो भन्दा हुन्छ मात्र लेनदेनको बार्गेनिङ मिल्नु पर्यो ।
बाहिरफेर यो हल्ला चल्यो, म मन्त्री भएपछि, यो त उही ठेकेदार हो जो अगिल्लो पटक पनि मन्त्री भएको थियो । मनत्री त जति पटक पनि हुन सकिन्छ । मलाई त उयो आश्चर्य लासिगरहेछ, एक पटक मन्त्री भइसकोलाई नेताजी उपप्रधानमन्त्री बनाऊ भनेर किन सिफारिस गरेनन् । नेताजीको जाने के थियो र ? उनको चुनावमा पैसा र जनबल लगाएर जिताउने मै हुँ । यसो भनेर नेताजीको अगाडि धाक दिन सकिन्न। किनभने मन्त्री पद अहिले पड्काइएको छ भने भनोलि त्यसरी हाँक्दै हिँडेमा आफ्नो् पतन हुन सक्थ्यो । नेताजीको भनाइ थियो, मा फलेषु कदाचन । फल म दिइहाल्छु तिमीलाई । मेरो राजनीति जोगाऊ, मेरो आज्ञा शिरोपर गर । तिमी मन्त्री भइराख्छौ । कुनै दिन उनको मुखारविन्दबाट तिमी उपप्रधानमन्त्री भयौ भन्ने आशीर्वचन निस्कला भन्ने आसमा म बसेको छु ।
अहिलेलाई यही उपलब्धि भयो राजनीतिमा लागेको । मन्त्री मैले पक्कापक्की खाइरहन सक्छु । गठबन्धनको यही फाइदा छ । नेताजीले प्रधानमन्त्री पद नपाएसम्म अरु पदतिर आँखा लगाउने होइनन् । उनका विश्वासपात्रहरूकै सत्र पल्टने हो । विश्वासपात्रमा म एक जना टप लिस्टमा छु, मन्त्रीका लागि योग्य भनेर । गठबन्धन भएर मन्त्रिपरिषद् गठन गरिएको दिन हाम्रो पार्टीबाट दुई जना र तिनको पार्टीबाट दुई जना गरेर प्रधानमन्त्री सहित पाँच जनाको मन्त्रिपरिषद् बनेको थियो । म त एक जना पर्नु थियो, परेँ । कसले छेक्ने ? नेताजीले भने, ‘जाऊ मन्त्री खाएर बस । मिलेर बसे । भर्खर गठबन्धन गरिएको छ । बेसी नबोले । अहिले विना विभागीय रहनेछौ । काम गर्नुपरेन, मोज गर ।’
बिनाविभागीय भनेपछि सरकारी गाडीमा जता हल्लिए पनि भो । प्रधानमन्त्रीको चाकरीमा हाजिर भइराखियो । पछि मालदार मन्त्रालयको पाइने पक्कै थियो । बाहिर मलाई भ्रष्ट छ, पाँच वटा पुलको ठेक्का लिएर पच्चिस वर्षसम्म नबनाई रकम डकार्ने यही हो ठेकेदार भने पनि अरु थोक भनेर जति हल्ला गरे पनि मन्त्री हुने मै हुँ । मन्त्रीको घुम्ने मेचमाथि बसेपछि अन्धो मात्र भइने होइन बहिरोसमेत भइने रहेछ । आलोचना निन्दा कर्कलाको पातमा परेको पानीझैँ नछोई बगिरहन्छन् । बाहिर हल्ला भइरहोस्, मुलुकमा बाढी पसोस् वा डढेलो लागोस् मन्त्रीलाई सरोकार यति मात्र हुन्थ्यो वक्तव्य पिट्नु । दिमाग खियाउनु परेन, वक्तव्य तयार गरेर ल्याइन्थ्यो र त्यसमा हस्ताक्षर गरेर बसिन्थ्यो । नभए भाषण गर्दा नानाथरीका फूलबुट्टा भरेर जनातका अगाडि प्रस्तुत भइदियो, भयो ।
एउटा ढुक्कको कुरो यो थियो, भोलिको अर्को मन्त्रीले पनि यही गर्नेहो । मन्त्री यो गठबन्धन भत्केर प्रतिपक्षसँग गरिएको गठबन्धनको दलको सरकारको नै किन नहोस्, उसले गर्ने पनि यही हो । सजिलो छ । जता पनि हेलिकप्टर चढेर जाऊ र हेलिकप्टर चढेर फर्क । रात बास परेछ भने सबै सेवा पाइहालिन्छ । सेवाको फेहरिस्त खोलुवा गर्नु ठीक हुँदैन । त्यसले अनेक झ्याउलो उत्पन्न गर्न सक्छ । मुख्य रूपमा भाषणमा प्रतिपक्ष पार्टीलाई भिलेन बनाउने तरिकाले भरमार गाली गर्यो अनि हात हल्लाएर अभिवादन गर्यो फर्क्याे ।
भाषण सुन्न आएकाहरूको भीडका बीचमा आफ्ना कार्यकर्ता घुसारेर राख्यो जसले आफूले गरेको भाषणको एकदुई घतलाग्दा वाक्यमा सिटी बजाउने र थप्पडी पिट्ने होहल्ला गर्ने काम गरून् । तिनले त्यो गर्छन्, गरिरहेकै छन् । तिनलाई आफूले धेरै गर्नु पर्दैन, दारु र मासुभात अनि केही नगद रकम गोजीमा सिउरिदिएपछि भनेजस्तो गरी सब तयार हुन्थ्यो । जिल्ला कमिटीलाई पनि तर्साइराख्यो— हेर पार्टीको इज्जतको सवाल छ भनेपछि ती पनि दिनरात नभनी खटिन्थे । प्रहरी त जो सत्तामा आयो उसैलाई हस् साप् भन्ने बाध्यतामा हुन्छ नै ।
मुख्य हो दारु र पैसा । यो दारु र पैसा भन्ने चीजका आविष्कार निकै उपयोगी देखिन्छ मानव सभ्यताको विकासमा र हाम्रो राजनीतिको दिशा निर्धारणमा ।
म मन्त्रीको आत्मकथ्य लामै छ । दुई घण्टासम्म माइकबाट हावादारी भाषण फुकेपछि मेरा दुई शब्द यहीँ टुङ्ग्याउँछु भनेर हिँडेझैँ अहिलेलाई आतमचिन्तन यत्ति ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































