साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्रीको आत्मकथ्य

भाषण सुन्न आएकाहरूको भीडका बीचमा आफ्ना कार्यकर्ता घुसारेर राख्यो जसले आफूले गरेको भाषणको एकदुई घतलाग्दा वाक्यमा सिटी बजाउने र थप्पडी पिट्ने होहल्ला गर्ने काम गरून् । तिनले त्यो गर्छन्, गरिरहेकै छन् ।

Nepal Telecom ad

भाउपन्थी :

मन्त्री भइयो । सरकारी रकमले किनेको फूलमाला र गुच्छाले गरिएको स्वागत पनि खाइयो । पहिलो पटक मन्त्री हुँदा त खुबै रमाइलो लागेको थियो । हर्षले जिउ नै सिरिङ्ग भएर थरथरी कामेको थिएँ— सरकारी गाडी, सरकारी पेट्रोल, मन्त्री क्वार्टर, भान्से, रासन आदि सोचेर । मन्त्रालयमा पद बहाली गरेपछि तुरुन्त नेताजीको घर गइयो, चारपाँच किलो महँगो मिठाइ बोकेर । सचिवले भन्यो पछि बिल मिलाउँला अहिले खर्च गर्दा हुन्छ । सरकारी पैसा जति खर्च गरे पनि मिलाइदिने छँदै थिए । तर मिठाइ पो कस्तो थियो ? मरेको साङ्ले कीरो भेटियो भने नेताजीले तुरुन्तै मन्त्रीपदबाट राजीनामा दिइहाल भन्ने पो हुन् कि ? मिठाइ देखेर नेताजीले भनेका थिए, सुगर छ, कृष्णजी । बेकारमा कष्ट गर्नुभो । योभन्दा त अर्को ल्याएको भए हुने । दोस्रो पटक मन्त्री भइएको छ, दुईचार विदेशी बोतल लैजानु पर्ला ।
नेताजीलाई सुगर थियो त थियो नेतापत्नीलाई त केही थिएन । उहाँ त उसै पनि मोटी हुनुहुन्थ्यो । मोटाहरू मिठाइका सोखिन हुन्छन् भन्ने थाहा थियो । मैले भनेँ, ‘भाउजुलाई भनेर ल्याइदिएको हुँ । हाम्रो सेलिब्रेसन त छँदै छ नि ।’ कारण यो पनि थियो, नेताभन्दा बढी भाउजुकै खटनपटन चल्थ्यो घरमा पनि र सरकारमा पनि । नेताजीले चित्त बुझाए । यो अगिल्लो पटकको कुरो थियो । मन्त्री क्वार्टरमा सर्दा पशुबलि दिने चलन रहेछ— सरकारी खर्चमा । बाहिर सस्तोसस्तो एउटा बोको बलि चढाइयो, भित्र जक्खु खसी ढालियो । गठबन्धनको सरकार थियो । कति पो चल्ने हो भन्ने आशङ्का पनि थियो । त्यसैले पाएको बेला मोज गरिहाल् केटा भनेर मनमनै भनेँ ।

अहिले पनि मन्त्री भइयो । खुसी त हुनु नै थियो । मन्त्री हुनु भनेको अफसोसको कुरो हुन सक्दैनथ्यो । मन्त्री भएपछि केके न भइयो भनिन्थ्यो । एक पटक मन्त्री भएपछि सरकारभित्रको आन्द्राभुँडी सबै धोइधाई पारिने रहेछ । फेरिफेरि पनि मन्त्रीको अफर आइहाल्दो रहेछ । यस पल्ट पनि पद बहाली गर्न मन्त्रालय जाँदा उस्तै गरी सरकारी खर्चको फूलमाला र फूलका गुच्छा टर्क्याइयो । कर्मचारी-सचिवहरू उस्तै पुरानै जस्ता, उस्तै अनुहारका । उही पाराले हात जोडेर स्वागतमा निहुरिएर उभिएका । मन्त्री भएपछि लाखौँ जोडा हात जोडिएको अनुभव पाइएको छ । हुनुवर्नु केही छैन नमस्कारमा जोडिएका हातहरूको अभिवादन खाएरै मोटाइन्छ । मन्त्रालयभित्र मन्त्रीको कक्षमा पसेर घुम्ने मेचमाथि बसेपछि अगाडि पहिलेको जस्तै फाइल ल्याइयो । उस्तै नेपाली कागजमा लेखिएको टिप्पणी । दस्तखत गर्नुअगि यसो पढेझैँ गरियो । बुझिने भए पो । सचिवले भन्यो, औपचारिकता हो मन्त्रीज्यू । एक जना पिउनतलाई रामर्री काम गर्ने नसिहत दिनू भन्ने मन्त्रीस्तरीय निणर्यको टिप्पणी सदर हो हजुर ।

कानमा ‘हजुरहजुर’, ‘आइबक्स्योस’, ‘गइबक्स्योस्’ र ‘खाइबक्स्योस्’ भन्ने सामन्ती अझ भनौँ राजसी सम्बोधनहरूले पेट नै ढाडिन्छ, दिमाग सातौँ आकाशमा पुग्छ । भखुट्टाले भुइँ छाड्छन्, कताकता आकाशचारी भएको अनुभव गराउँछ । मन्त्री हुनुअगि बाहिर ‘सामन्ती सम्बोधनहरू खारेज गर’ भन्ने क्रान्तिकारिता देखाए पनि मन्त्री भएपछि ती सम्बोधनहरू त शासकीय आवश्यकताका शब्दलावली रहेछन् भन्ने अनुभव हुन्छ । ‘मन्त्री आउनुस्’ भन्नुमा र ‘मन्त्रीज्यू हजुर, आइस्यो, राज होस्’ भन्नुमा कति फरक छ ? शासनमा बसेको बोध हुन्छ ‘मन्त्रीज्यूको सवारी भो’ भन्दा । ‘मन्त्री आउनुस्’ भन्दा कुनै नाटकमा मन्त्री खेलेको पात्रलाई स्टेजमा बोलाएको जस्तो हीनता अनुभव हुन्छ । शासन भनेको जनताबाट टाढै रहेर गरिनै पर्ने कार्य हो । जनतामा भिजेर तिनकै भाषामा शासन गर्न थालियो भने शासनको मर्यादा रहँदैन । त्यसैले मन्त्रालयभित्र पसेपछि बाहिरको क्रान्तिकारितालाई पहिरोले बगाएको गरिबको घरझैँ बिर्सिनुपर्छ— मन्त्री हुनुको पहिलो विशिष्ट बोध थियो यो मेरो ।

मन्त्री भएको छैन खाने सहस्र बाटा खुलेर आउँछन् । मुखमुख ब्रिफकेस ल्याएर खुवाउने तत्परता देखाइन्छ । कसको कति खानु ? बिना वर्गीकरण खान पनि हुँदैन । भित्रको गोपनीयता बाहिर फिटिक्क चुहिन दिनु हुँदेन । निजी सचिवहरूले लाइन मिलाउँछन् । उनीहरू आफू पनि खान्छन् र हामीलाई पनि दिन्छन् । मन्त्रालयभित्र एउटा विशिष्ट कक्ष हुन्छ गोप्य गर्ने । मन्त्रीको लागि बाहिरबाट आउने कमिसन वा घूसका लागि त्यो कक्ष बनाइएको हुँदो रहेछ । त्यहाँ पसेपछि मलाई यसतो लागिरहन्थ्यो, कूनै ग्राहक अब आयो तब आयो । नभए आएको ग्राहकलाई केरकार गरेर लाखको छ भने करोडको, करोडको छ भने दस वा बीस करोडको कनाउने कक्ष त्यो रहेछ । सरुवा बढुवा गरिमाग्नेहरू पनि त्यो कक्षभित्र पसेर मन्त्रीसँग साउती गर्न लालायित रहने गर्छन् । मन्त्रीले एक पटक अङ्गालोमा हालेर त्यो गोप्य कक्षभित्र लगेपछि सरुवा वा बढुवा हुने बाटो खुल्यो भन्दा हुन्छ मात्र लेनदेनको बार्गेनिङ मिल्नु पर्‍यो ।

बाहिरफेर यो हल्ला चल्यो, म मन्त्री भएपछि, यो त उही ठेकेदार हो जो अगिल्लो पटक पनि मन्त्री भएको थियो । मनत्री त जति पटक पनि हुन सकिन्छ । मलाई त उयो आश्चर्य लासिगरहेछ, एक पटक मन्त्री भइसकोलाई नेताजी उपप्रधानमन्त्री बनाऊ भनेर किन सिफारिस गरेनन् । नेताजीको जाने के थियो र ? उनको चुनावमा पैसा र जनबल लगाएर जिताउने मै हुँ । यसो भनेर नेताजीको अगाडि धाक दिन सकिन्न। किनभने मन्त्री पद अहिले पड्काइएको छ भने भनोलि त्यसरी हाँक्दै हिँडेमा आफ्नो् पतन हुन सक्थ्यो । नेताजीको भनाइ थियो, मा फलेषु कदाचन । फल म दिइहाल्छु तिमीलाई । मेरो राजनीति जोगाऊ, मेरो आज्ञा शिरोपर गर । तिमी मन्त्री भइराख्छौ । कुनै दिन उनको मुखारविन्दबाट तिमी उपप्रधानमन्त्री भयौ भन्ने आशीर्वचन निस्कला भन्ने आसमा म बसेको छु ।

अहिलेलाई यही उपलब्धि भयो राजनीतिमा लागेको । मन्त्री मैले पक्कापक्की खाइरहन सक्छु । गठबन्धनको यही फाइदा छ । नेताजीले प्रधानमन्त्री पद नपाएसम्म अरु पदतिर आँखा लगाउने होइनन् । उनका विश्वासपात्रहरूकै सत्र पल्टने हो । विश्वासपात्रमा म एक जना टप लिस्टमा छु, मन्त्रीका लागि योग्य भनेर । गठबन्धन भएर मन्त्रिपरिषद् गठन गरिएको दिन हाम्रो पार्टीबाट दुई जना र तिनको पार्टीबाट दुई जना गरेर प्रधानमन्त्री सहित पाँच जनाको मन्त्रिपरिषद् बनेको थियो । म त एक जना पर्नु थियो, परेँ । कसले छेक्ने ? नेताजीले भने, ‘जाऊ मन्त्री खाएर बस । मिलेर बसे । भर्खर गठबन्धन गरिएको छ । बेसी नबोले । अहिले विना विभागीय रहनेछौ । काम गर्नुपरेन, मोज गर ।’

बिनाविभागीय भनेपछि सरकारी गाडीमा जता हल्लिए पनि भो । प्रधानमन्त्रीको चाकरीमा हाजिर भइराखियो । पछि मालदार मन्त्रालयको पाइने पक्कै थियो । बाहिर मलाई भ्रष्ट छ, पाँच वटा पुलको ठेक्का लिएर पच्चिस वर्षसम्म नबनाई रकम डकार्ने यही हो ठेकेदार भने पनि अरु थोक भनेर जति हल्ला गरे पनि मन्त्री हुने मै हुँ । मन्त्रीको घुम्ने मेचमाथि बसेपछि अन्धो मात्र भइने होइन बहिरोसमेत भइने रहेछ । आलोचना निन्दा कर्कलाको पातमा परेको पानीझैँ नछोई बगिरहन्छन् । बाहिर हल्ला भइरहोस्, मुलुकमा बाढी पसोस् वा डढेलो लागोस् मन्त्रीलाई सरोकार यति मात्र हुन्थ्यो वक्तव्य पिट्नु । दिमाग खियाउनु परेन, वक्तव्य तयार गरेर ल्याइन्थ्यो र त्यसमा हस्ताक्षर गरेर बसिन्थ्यो । नभए भाषण गर्दा नानाथरीका फूलबुट्टा भरेर जनातका अगाडि प्रस्तुत भइदियो, भयो ।

एउटा ढुक्कको कुरो यो थियो, भोलिको अर्को मन्त्रीले पनि यही गर्नेहो । मन्त्री यो गठबन्धन भत्केर प्रतिपक्षसँग गरिएको गठबन्धनको दलको सरकारको नै किन नहोस्, उसले गर्ने पनि यही हो । सजिलो छ । जता पनि हेलिकप्टर चढेर जाऊ र हेलिकप्टर चढेर फर्क । रात बास परेछ भने सबै सेवा पाइहालिन्छ । सेवाको फेहरिस्त खोलुवा गर्नु ठीक हुँदैन । त्यसले अनेक झ्याउलो उत्पन्न गर्न सक्छ । मुख्य रूपमा भाषणमा प्रतिपक्ष पार्टीलाई भिलेन बनाउने तरिकाले भरमार गाली गर्‍यो अनि हात हल्लाएर अभिवादन गर्‍यो फर्क्याे ।

भाषण सुन्न आएकाहरूको भीडका बीचमा आफ्ना कार्यकर्ता घुसारेर राख्यो जसले आफूले गरेको भाषणको एकदुई घतलाग्दा वाक्यमा सिटी बजाउने र थप्पडी पिट्ने होहल्ला गर्ने काम गरून् । तिनले त्यो गर्छन्, गरिरहेकै छन् । तिनलाई आफूले धेरै गर्नु पर्दैन, दारु र मासुभात अनि केही नगद रकम गोजीमा सिउरिदिएपछि भनेजस्तो गरी सब तयार हुन्थ्यो । जिल्ला कमिटीलाई पनि तर्साइराख्यो— हेर पार्टीको इज्जतको सवाल छ भनेपछि ती पनि दिनरात नभनी खटिन्थे । प्रहरी त जो सत्तामा आयो उसैलाई हस् साप् भन्ने बाध्यतामा हुन्छ नै ।

मुख्य हो दारु र पैसा । यो दारु र पैसा भन्ने चीजका आविष्कार निकै उपयोगी देखिन्छ मानव सभ्यताको विकासमा र हाम्रो राजनीतिको दिशा निर्धारणमा ।
म मन्त्रीको आत्मकथ्य लामै छ । दुई घण्टासम्म माइकबाट हावादारी भाषण फुकेपछि मेरा दुई शब्द यहीँ टुङ्ग्याउँछु भनेर हिँडेझैँ अहिलेलाई आतमचिन्तन यत्ति ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x