सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नैतिकता र सिस्नु

सुनकाण्डमा बाउको भूमिकाभन्दा छाेरोको क्रियाशीलता बढी बलियो देखिएपछि पाठ्यपुस्तकमा नैतिकता बोध गराउने नीतिसम्बन्धी विषय राखिराख्नु उचित नै बन्दैन । सुरुमै यो भनेको भए हुने थियो । अन्त्यमा भनियो तर भन्न त भनियो ।

Nepal Telecom ad

भाउपन्थी :

नैतिकताको विषयमा एक पृष्ठ पूरा खाँदेर लेख्न सकिन्न होला । नेतिकताको प्रश्न नै जटिल र कठोर हुन्छ । नैतिकताको आधारमा मन्त्रीले राजीनामा गर्नु पर्ने थियो तर नैतिकतालाई घाँस चर्न पठाएर आफूखुसी अनैतिक बन्दै बाली चरेर हिँडिरहनेलाई के भन्ने भनेर बडो गम्भीर प्रश्न दुःखका साथ उठाउने गरिएको पाइन्छ । दु:ख मान्नु पर्ने के नै छ र जब नैतिकता नै छैन भने । नैतिकताले नै हो दुख दिने । दु:ख नदिए पनि दुखको बोध गराउने । नैतिकताकै कारण बुद्धमा दुखबोध जागृत भयो । दुनियाँ संसार गरिबी र मृत्युमा डुबिरहेछन् भने आफू मात्र कसरी राजसी सुखभोग गर्ने ?

नैतिकताको आधारमा मन्त्रीले राजीनामा नगरेपछि राजनीतिक विश्लेषकहरूमा एक प्रकारको गहिरो दुःखबोध हुन्छ । मन्त्रीहरू उता मोजमजा गरिरहेका हुनछन् यता विश्लेषकहरू दुख मनाइरहेका हुन्छन् । त्यही हो नैतिकताले दिने दुःख । यस्तो दुख दिने कठोर विषयलाई निर्वाह गर्नु फलामको चिउरा चपाउनु सरह अुन्छ । फलामका चिउरा बजारमा पाइन्न र यसमा पनि नैतिकताको प्रश्न गाँसिएको कसरी छ भने जुन कुरो पाउँदै पाइन्न त्यही चपाउन कठिन हुन्छ भनेर भन्ने ? फलामका चिउरा चपाउने दाँत अझैँसम्म बनेकै छैन होला ।

त्यस्तै फलामे स्वभावको नैतिकताबारे कसरी चिन्तन गर्ने ? नैतिकता स्वाट्टै हराएको यो समय नैतिकतालाई प्रश्न बनाएर कसरी केही सार्थक कुरा गर्ने ? पहिलो सवाल यही बन्छ, किन गर्ने नैतिकताको विषयमा चिन्तन ? नैतिकता नै छैन भनेपछि के चिन्तन के प्रश्न ? गधाको सिङ हुँदैन भन्ने जानेपछि गधा खोज्दै हिँड्ने र गधा लखेटेर सिङ छ छैन भनेर उसको टाउको छाम्ने क्रियाकलाप गर्नु मूर्खता हो । उसै पनि गधाका सिङका विषयमा र नैतिकता हरायो भन्ने कुरा गर्न खोज्नु एकदमै फोस्रो कुराको उठान गरेर समय खेर फाल्नु हुन आउँछ ।

गधाको टाउकामा सिङ नै उम्रन सक्दैन भन्ने अज्ञात कुरो होइन । त्यसो भएपछि फेरि त्यसैलाई अगाडि राखेर विद्वत्ता छाँट्दै नैतिकतासँग दाँज्नु उपयुक्त लाग्न सक्तैन । नैतिकता पनि छैन, गधामा सिङ पनि छैन, कुरा सकियो । मुलुकबाट नैतिकता स्वाट्टै हराएको छ तर गधाको टाउकोमा प्राचीन कालदेखि सिङ हराएको होइन । बिनासिङ जन्मने जात हो गधा । यो जानिराख्दा हुन्छ । मन्त्रीको जात पनि त्यही हो, बिना नैतिकता जन्मेको ।

मुलुकको राजनीतिमा पनि त्यही भइरहेछ । गधामा सिङ हुँदैन भनेर सबै राजनीतिकहरूलाई त्यही गधा श्रेणााीमा राख्नु अत्यन्त आपत्तिजनक हुन जान्छ । तिनमा नैतिकता छैन भनेर गधामा पनि सिङ हुँदेन भन्नु एउटा व्यङग्योक्ति हो । गधामा सिङ छैन र नैतिकता हरायो भनेर कुर्लनु पनि राजा नाङ्गै छ भनेर निर्वस्त्र पब्लिकमा फेसन सो गरेर हिँडिरहेको लोककथाको राजालाई गिज्याउनु जस्तै हुन्छ ।

समीक्षकहरू नैतिकता हराएकोमा दुखी हुन्छन् । उनीहरूलाई एउटा निहुँ चाहियो दिनहुँजसो दुखी हुनलाई । डम्म खाएर मोटाघाटा भएका हुन्छन् ती दुखी विश्लेषकहरू । उनीहरू भन्छन्— नैतिकता नहुनुले राजनीतिलाई लज्जाहीन बनाएको छ् । विश्लेषकहरूले राजनीतिले लज्जा परित्याग गरिसक्यो भन्ने गरेको मान्यता सिद्ध छ । लज्जाहीनहरूलाई कुरीकुरी भनेर गिज्याउनुमा खासै केही उपलब्धि हुँदैन तर केही नभएका बुङ्गाहरूलाई मजा मान्दै गिज्याइरहिएको हुन्छ ।

लोकको अनौठो चलन हो यो । त्यसै पनि भनिदिन्छन्, रामलाई पनि छोडेनन् नैतिकताको झटारो हान्न । रामले सीतालाई त्याग्न कुनै ठूलो झटारो चाहिएको थिएन । समय बदलियो । समयको चरित्र नैतिकताविहीन हुँदै आयो । अग्निपरीक्षामा पास भए पनि नैतिकताले पोल्थ्यो । दिन यस्ता आए यता लोकं गिज्याइरहन्छ उता लज्जाहीनहरू लाज नमानी सरासर हिँडिरहेका हुन्छन् झन्डा फहराएर सरकारी चिल्ला गाडीमा ।

सरकारी चिल्ला गाडीमा झन्डा लगाएपछि त्यो मन्त्रीस्तरीय वा त्योभन्दा माथिको सरकारी वाहन हुन जान्छ । त्यसमा बसेर हिँड्नेहरू देश बिगार्ने अत्यन्त उच्च दिमाग भएका मान्छन् आफूलाई । तिनलाई दीनदुनियााको खासै सरोकार हुँदैन ।

प्रत्यक्ष उदाहरणमा अहिले बाहिर वायु प्रदूषण वा मुलुकभरि डढेलो र गाउँका गाउँ आगलागीले स्वाहा पारिरहेको समाचार आइरहे पनि ती झन्डावालहरू यो त हुनु नै थियो, यसमा अस्वाभाविक के छ भनेजस्तो गरी हाँस्दैखेल्दै उद्घाटनमा हिँड्दै गरेकोे पाइन्छ । भन्नेले यो पनि भने, भन्नेहरूलाई के छ र, खाने मुखलाई जुङाले छेक्दैन भनेको छँदै छ, उसमाथि अचेलकाले जुङा राख्ने चलन हटाइसके, पहलिेपहिले जुङा नराख्ने मानिस राजकीय पदका लागि अयोग्य ठहरिन्थ्यो रे, हो वा होइन त्यो खोजी गर्न सकिन्छ तर यत्ति हो खाने मुखलाई जुङाले छेक्दैन भन्ने ठाउँमा जङाले छेक्छ भनेजस्तो गरी अचेलकाले जुङा बिहानै उठेर अरू काम गर्नुको साटो ख्वारख्वार खौरेर फाल्ने गर्छन् ।

जुङा भनेको नैतिकता हो कि ? त्यसो पनि भन्नु भएन । जुङा नहुँदैमा खान सजिलो हुन्छ भन्ने पनि होइन, खानेले जुङा पन्छाएरै खाएका छन् । जुङा पालेर खान असहज भयो भन्दै जुङा खौरने अभियान चलाउने दिमागले खानमा कत्ति पनि नैतिकताको प्रश्न बीचमा खडा गरेको पाइन्न । सिद्ध छ, जुङा मानेदेखि नैतिकता हो नत्र केही होइन ।

तर जुण नपालेरै खान नसकेमा नैतिकताको प्रश्न खडा हुन सक्छ । नैतिकताको प्रश्न यो पनि हो, तपाईं खानुहुन्न तर तपाईंका सहकर्मी र समकालीनहरू धमाधम खाइरहेछन् । तपाईं भने लाटाले हेरेझैँ उनीहरूले ब्रिफकेसका ब्रिफकेस कपाकप खाइरहेको हेरिरहनुभएको छ । यो विषय कार्टुनिस्टहरूले झ्याप्प समातेर कार्टुन चित्र कोर्न थालिहाल्छन् । परिणाममा तपाईं एक घतलाग्दो हाँसउठ्दो कार्टुनमा परिणत भएको पाइन्छ । नैतिकता अत्यन्त कठोर विषय हो । खान नजान्नु झन् कार्टुनको विषय हो त्यसैले यो पनि कठोर व्यङ्ग्यको विषय हो । यो माथि पनि भनिएको छ नैतिकता कठोर विषय हो ।

बीचमा जुङा पनि आयो र गधा पनि आयो । गधामा सिङ हुँदैन भनेपछि उसका जुङा पनि हुँदैनन् । जुङा नभएका जति गधा जातका हुन् भनेर भन्ने हो भने भन्नेको ज्यानमालको खतरा हुन सक्छ । त्यसैले सिङमै रोकिनु ठीक हुन्छ । तर मरेका बाघको जुङा उखेल्न सक्नेहरू चिल्ला कारको झन्डा हेरेर मक्ख परिरहेको बेला चुच्चे नक्सा पनि सम्झँदा हुन् । मरेका बाघको जुङा उखेल्न उद्यतहरू मरेको बाघै पनि फेला पार्न सकिरहेका हुँदैनन् । जिउँदो बाघको अगाडि त घुँडा टेकिरहेकै छन् । अगाडि परेका बेला लम्पसार र पिठिउँपछाडि खास्टोभित्रबाट औँलो ठड्याएर देखाउने नैतिक साहसहीनताको काम पनि हुने गरेको छ ।

मुलुकको चुच्चे नक्सामा घतलाग्दा टिप्पणी गर्नेहरू मरेका बाघको मात्र जुङा उखेल्न सक्नेहरू हुन पुग्ने गर्छन् भने पहिलो नैतिकता त यही आइलाग्छ— बाघको जुङा उखेल्न पहिले त बाघै मार्न सक्नु पर्‍यो । बाघ मार्नु अपराध हो । टिन ठटाएर वा हल्ला गरेर वा सङ्गठित भएर आफ्नो भूमिबाट बाघ धपाउनु त कता हो कता बाघै कस्तो हुन्छ भन्ने बिर्सेर बाघ कस्तो हुन्छ भन्ने अध्ययन गर्न उच्च संसदीय समिति गठन गरेर प्रतिवेदन आएपछि बाघ धपाउने काम गरुँला भनेर मस्तले घुम्ने मेचमा निदाउने झन्डाधारीहरूलाई नैतिकताको पाठ पढाउने काम बुढो सुगालाई पढाउने कसरतमा लाग्नु हो भन्नु पर्छ ।

तर अन्त्यमा यो पनि नभनी भएको छैन, नैतिकताबारे एक पृष्ठ खाँदेर लेख्न गारो छ । अचेलका दिन नीतिकथा पनि गायब छन् पाठ्यपुस्तकबाट । सुनकाण्डमा बाउको भूमिकाभन्दा छाेरोको क्रियाशीलता बढी बलियो देखिएपछि पाठ्यपुस्तकमा नैतिकता बोध गराउने नीतिसम्बन्धी विषय राखिराख्नु उचित नै बन्दैन । सुरुमै यो भनेको भए हुने थियो । अन्त्यमा भनियो तर भन्न त भनियो । भनिहालियो भनेपछि यसको निर्वाह गर्ने बेहोरा एक पृष्ठमा खाँदेर लेख्ने काम गर्न नसक्नु नैतिकताप्रति चेतनाको अति कमी रहेछ भन्ने देखाउँछ । नीतिसम्बन्धी एक पृष्ठ पूरा एकाग्र सामग्री दिन नसक्नेले के व्यङ्ग्य लेख्नु ? तर व्यङ्ग्य लेख्दैमा नैतिकता पुनर्स्थापित हुन आउला त भन्ने प्रश्नले सिस्नुले झैँ पोलिरहेछ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी