साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजेन्द्र कार्कीकाे हास्यव्यङ्ग्य कृति ‘खाइराइड’ माथि परिचर्चा

स्रस्टा साँझ अमेरिकाको तर्फबाट जुमप्रविधि मार्फत आयाेजित परिचर्चा कार्यक्रम कृति प्रकाशन संस्था फित्काैली अनलाइनका सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडाैं, ०८१ जेठ ६ (अर्थात् मे १९, २०२४) । स्रस्टा साँझ अमेरिकाको आयोजनामा राजेन्द्र कार्की लिखित ‘खाइराइड’ हास्यव्यङ्ग्य निबन्ध कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न भयो।

स्रस्टा साँझ अमेरिकाको तर्फबाट जुमप्रविधि मार्फत आयाेजित परिचर्चा कार्यक्रम कृति प्रकाशन संस्था फित्काैली अनलाइनका सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा आधा दर्जन स्रष्टाहरूले ‘खाइराइड’ ले समेटेका विविध विषयमा आफ्ना धारणा राखेका थिए ।

साहित्यकार विश्वराज अधिकारीले सहजीकरण गर्नु भएको कार्यक्रमकाे आरम्भमा स्वागत मन्तव्य राख्दै हास्यव्यङ्ग्यकार गायत्री लम्सालले राजेन्द्र कार्कीको ‘खाइराइड’ भनेर चिन्ने अवसर नपाइ ‘खाइराइड’ का राजेन्द्र कार्की भनेर चिनेकाे बताइन्। यस्तो अवसर कमै लेखकले पाउँछन्, खाइराइड भित्रको मिठो खुराकले नै यस्तो भएको हो भन्दै कार्कीले हास्यव्यङ्ग्यमा निरन्तर कलम चलाउनु पर्छ र हामी लेखक र पाठकलाई खाइराइड जस्तै अब्बल दर्जाका कृति दिनु पर्ने बताइन्।

परिचर्चा कार्यक्रममा साहित्यकार अनिता कोइरालाले ‘खाइराइड’ भित्रका सबै निबन्ध मन परेको बताउँदै सङ्ग्रह भित्रकाे ‘कुकुरको भाग्य’ निबन्धमा केन्द्रित भएर भनिन्- मान्छेले कुकुरबाट सिक्नु पर्ने धेरै कुरा रहेछ । कुकुरको पनि इज्जत भएको कुरा निवन्धले बताएको, पार्कमा घुम्दै गर्दा कुकुरको फोटो खिच्न नपाएको प्रसङ्गले मन चसक्क छाेएकाे उल्लेख गरिन् । य स निबन्ध भित्र “उत्तर अमेरिकाका कुकुरदेखेका मान्छेले “कुकुर” भनेर कसैलाई गाली गर्न सक्दैनन् र गर्दैन । बरु कुकुरको सट्टा “मान्छे” भनेर गाली गर्न बेर लाउँदैनन्” जस्ता बेजोड अभिव्यक्तिले कृतिलाइ गहन बनाएकाे छ ।

लेखक कार्की बस्ने शहरकी साहित्यकार मीनु राजभण्डारीले लेखकसँग खासै आउजाउ र गहिरो परिचय नभएकाे तर खाइराइड पढेपछि मित्रता भएकाे बताइन् । उनले अहिलेसम्म खाइराइड जस्तो बेजोड र मन परेको पुस्तक पढेको छैनभन्दै सङ्ग्रहमा परेका ‘खाइराइड’, ‘कामी’, ‘कहाँ छ स्वतन्त्रता ?’, ‘त्यो नेपाली होइन’, ‘देश डुब्यो’, ‘लाहुरे’, ‘मृत्यु विज्ञापन’ जस्ता निबन्ध खुबै मन परेको बताइन्।

क्यालिफोर्निया निवासी हास्यव्यङ्ग्य साहित्यकार प्रमोद आमात्यले हास्यव्यङ्ग्यको इतिहास काेट्याउँदै चौतारीमा बसेर छेडखान गर्ने, हाँस्ने हँसाउने चलन परापूर्वकालदेखि चलिआएको, कार्तिक नाच, गाइजात्रा आदिको माध्यमबाट शासक लाई व्यङ्ग्य गर्ने गरिँदै आएकाे उल्लेख गरे । उनले भने- खाइराइड मलाइ बेजोड लाग्यो। कतै अस्लील गाली गलौज छैन। मलाई मन पर्ने हास्य व्यङ्ग्यकार भैरव अर्याल, राम कुमार पाण्डे र लक्ष्मण गाम्नागे थिए, अब राजेन्द्र कार्की पनि थपिए।

साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का वरिस्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले हास्यव्यङ्ग्य कृतिले समाजको इतिहास देखाउँछ भन्दै जनावरलाई गालीमा प्रयोग भएको विम्ब बेजोड रहेको बताए। युवा विदेश पलायनका कुरादेखि भेडोलाई गाली गर्ने मान्छेको भेडो प्रवृतिमाथि बडाे मिठो तरिकाले लेखिएको उल्लेख गर्दै र ३१ वटा निबन्धमा समाज र व्यक्तिका प्रवृतिसँग सम्बन्धित धेरै विषय रहेकाे चर्चा गरे । राजनीति र अदालतका विषयमा समेत कतै कसैलाई गाली नगरी व्यङ्ग्य गर्न सक्नु कार्कीको सफलता हो भने।

साहित्यकार तथा हिउँको रापका लेखक डा. कुसुमाकर शर्माले खाइराइडमा पुरानो पुस्तादेखि जेड जेनेरशनसम्मका विषयवस्तु समेटिएकाे बताए । भोजपुरको एउटा गाउँलेबाट विषय एकै पटक एलोन मस्कमा पुग्छन् । त्यही भएर त्यही निबन्ध अमेरिकामा बस्नेलाई स्वाद लाग्छ भने नेपालको कुनै गाउँमा बस्ने पाठकलाई स्वाद नलाग्न सक्छ, जस्तै कुकुरको भाग्य । यो नै लेखकको सबै भन्दा राम्रो र अद्वतीय पक्ष लागेको बताउँदै समाजमा जेलिएका भत्काउनु पर्ने पुराना संरचनालाई खाइराइडले भत्काएको छ भने । एउटै थिममा दुइवटा निबन्ध लेखिएका छन्, तर ती फरक ढंगले फुलबुट्टा भरिएका छन्। त्यो लेखक को विशेष क्षमता भएको बताए।

सिस्नुपानी नेपालका अध्यक्ष तथा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले खाइराइडको विचार शैली गजव रहेकाे, ठेट पूर्वेली गाउँले र सरल भाषामा लेखिएकोले बोधगम्य रहेकाे बताउँदै भने- खाइराइडमा काल्पनिकता छैन, कल्पनाशीलता छ। त्यसैले पुस्तकको नाम नै ‘खाइराइड’ हुन पुगेको हो । पहिलो पुस्तकको रुपमा यति धेरै चर्चा बटुल्नु आफैमा सफलता हो। निबन्ध निकै राम्रा र गम्भीर छन् । सङ्ग्रहभित्रका रचनामा ज्ञान, विज्ञान, धर्मशास्त्र, इतिहास, राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिका अनेक प्रसङ्ग छन् । फेरि निबन्ध भित्र आख्यान, नियात्रा, संस्मरण आदिका स्वाद भेटिन्छन् । साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८० को पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका पाँच लेखकको सूची समावेश यो पुस्तकले पुरस्कार पावस् भन्ने कामना पनि गर्दछु।

कार्यक्रममा अर्का वक्ता साहित्यकार तथा समालोचक खेमराज पोखरेलले धेरै हास्यव्यङ्ग्य पढेकोले कक्षामा पढ्दा गुरुले पढाउँदा जसरी सुनिन्थ्यो, त्यसरी नै सुनेको भान भयो भन्दै उनले हास्यव्यग्यमा शव्द सञ्चालन क्षमता चाहिन्छ, त्यो राजेन्द्रजीमा देखियो। निबन्धमा एउटा विषयलाई आधार बनाउनु पर्छ। विषय छिरोलिनु हुँदैन। अपवादमा बाहेक खाइराइडका निबन्धमा विषय छिरोलिएको छैन, त्यो सबै भन्दा राम्रो पक्ष देखियो भने। हास्यव्यङ्ग्य लेख्न सजिलो हुँदैन, चुनौती हुन्छ। त्यसमा हास्य हुनु पर्छ र व्यङ्ग्य पनि हुनु पर्छ । साथै तथ्य परक पनि हुन पर्छ। निबन्ध अलि छोटा भए पनि धेरै अनुसन्धान गरेर लेखिएको छ भन्दै उनले भने- “सारमा भन्दा खाइराइड धेरै राम्रो छ, बेजोड छ, धेरै वर्षपछि हास्य व्यङ्ग्य पढ्न पाइयाे।”

क्यानाडाबाटै सहभागी  खाइराइडका स्रष्टा राजेन्द्र कार्कीले याे कृति कसरी जन्मियाे भन्ने प्रष्ट पार्दै आफ्नाे पहिलाे कृतिलाइ नै चर्चायाेग्य ठानिदिएर परिचर्चा कार्यक्रमकाे आयाेजना गरेर थप चर्चाकाे सुगयाेग जुटाउने स्रषटा साँझ परिवार, सहभागी चर्चाकारहरू सबैप्रति मुरिमुरी धन्यवाद ज्ञापन गरेका थिए ।

खाइराइड प्रकाशनका तर्फबाट फित्काैलीका सम्पादक नरनाथ लुइँटेलले खाइराइडले बदलिँदाे नेपाली समाजकाे मनाेविज्ञानलाइ आत्मसात गरेकाे बताउँदै देखा परेका नवीन विसङ्गतिहरूमाथि व्यङ्ग्य प्रक्षेपण गरिएकाे बताए । राजनीतिकेन्द्री हास्यव्यङ्ग्य लेखिँदै आएकाेमा खाइराइडले समाजपरक धार समातेकाे उनले बताए । याे कायर्क्रमकाे आयाेजनाका लागि स्रष्टा साँझ अमेरिका, र सहभागी भएर कार्कीकाे कृतिमाथि समीक्षात्मक विचार प्रवाह गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x