रामप्रसाद अर्याल ‘अविराम’देखाउने कुरा
कोही पढ्ने गर्दछन्, देखाउनको निम्ति र कोही लड्ने गर्दछन् देखाउनकै निम्ति । तीर्थ-व्रत, धर्म-कर्म, देखाउनकै निम्ति । मानौँ यो दुनिया बाहिरी बोक्रे रबाफ देखाउनकै निम्ति जन्मिएको हो ।

रामप्रसाद अर्याल ‘अविराम’:
यो दुनियाँमा देखाउने वस्तुहरू धेरै छन् । ती वस्तुहरू केके हुन सक्छन् भन्नुभन्दा पनि केके हुन सक्तैनन् भन्ने हो भने जाती होला । स्थानीय स्तरमा रहेको इमारत देखाउनलायक हुन सक्छ । राष्ट्रिय स्तरमा स्मारक देखाउनलायक हुन्छ वा देखाउनलायक बनाइन्छ । चिडियाखाना देखाउनकै निम्ति, छापाखाना देखाउनकै निम्ति, कारखाना देखाउनकै निम्ति । कहिले देखाउनकै निम्ति फोटो प्रदर्शनी गरिन्छ कहिले खोटो, छोटो प्रदर्शनी गरिन्छ त कहिले लामो प्रदर्शनी गरिन्छ ।
कसैले आफ्नो बारी देखाउँछ, कसैले आफ्नो हातको नारी देखाउँछ । कसैले आफ्नो सान देखाउँछ भने कसैले आफ्नो राता आँखा देखाउला । कसैले मुख देखाउँछन् भने कसैले मुक्का । नभएको कुरा कसरी र कहाँबाट देखाउनु ? सहर बजारतिर घुम्न जाने हो भने ग्रहदशा देखाउने र चिना लेखाउनेहरूको भिड नै लागेको हुन्छ । सानाको अगाडि सान देखाइन्छ भने ठुलाबडाको अगाडि मान देखाइन्छ । कतिले लाटो देखाउँछन्, कतिले माटो देखाउँछन् भने कतिले बाटो देखाउँछन्। यो देखाउनेहरूको आआफ्नो स्वभाव र प्रवृत्ति नै हुन्छ ।
कुरा कहाँबाट सुरु गरौं भने शक्ति र भक्तिका कुरा गरौँ । कृष्णले आफ्नो मुखभित्र सारा चराचर जगत्, विश्व, ब्रह्माण्ड नै देखाएर स्वर्ग, मर्त्य र पाताल देखाएर आफ्नो शक्ति देखाएका थिए । त्यस्तैगरी हनुमानले आफ्नो छाती च्यातेर राम लक्ष्मण र सीता देखाएर भक्ति देखाए । हात्तीसँडे र ठुलो भुडे गणेशले आफ्नो जुक्ति देखाएरै प्रथम पूजा पाउनलायक बने ।
यहाँनेर प्रश्न उठ्न सक्छ यो देउताको कुरा किन ? कुरा ठिकै हो । हामी न त देउता बन्न सक्छौँ। न त देउताको कुरा गर्न नै सुहाउँछ । हामी गणेश बन्न सकेनौँ । हामी गोबरगणेश बन्यौँ । गोबरगणेश देखियौँ । तपाईं गोबरगणेशको विशेषणको पगरी किन भिराइस् ? भन्नुहोला । मैले किन यसो गरेको हुँ भने हामीमा इज्यत र बेइज्यतको स्वाद छैन, इमान र नैतिकता बोलीमा मात्र सीमित छ । व्यवहारमा छैन । मुखले भन्छौँ एउटा, कुरा गछौँ अर्कै कुरा । खानको निम्ति हाम्रो गणेशको जत्रो भुँडी पनि छ र देखाउनको निम्ति गणेशको टाउको अर्थात् देखाउने दाँत हात्तीको । राख्ने र फार्ने दाँत हुन्छ हात्तीको ।
अब देखाउने विधि र व्यवहारको कुरा गरौं। हामीले खाने कुरा खान्छौ देखाउनको निम्ति । लाउने कुरा लगाउँछौं, देखाउनको निम्ति । काम गर्छौँ देखाउनकै निम्ति । यसो भन्दा मैले के कुरा बिर्सेको छैन भने हामीले नगर्ने काम पनि गरेका छौं । नलगाउने वस्तु पनि लगाएका छौँ र नगर्ने वा गर्न नहुने काम पनि गरेका छौं, देखाउनकै निम्ति । कुनै ठाउँमा बस्छौँ देखाउनको निम्ति । चिल्लो पाउडर घस्छौँ, देखाउनकै निम्ति । फकाई फकाई लगेर चिमोटी चिमोटी मार्ने प्रवृत्ति छ हाम्रो । तपाईँकहाँ छ यस्तो चलन ? लौलौ बता तेरो खुबी हेरौं भन्नुहोला ? म बताउन सक्छु ।
जस्तो भनौँ न दलालहरूले युवतीहरूसँग सुरुमा भेट हुँदा कति मिठो बोली बोल्दछन् र उनीहरू फँस्छन् । जब युवतीहरू बम्बै अथवा यस्तै कुनै सहरको कोठीहरूमा पुग्छन् र दलालहरूको साथ छुट्छ, तब उनीहरूले दलालहरूको असली नियत थाहा पाउँछन् । बल्ल असली रूप देख्दछन् ।
प्रसङ्ग बदलौँ, अचेल लगनको साइत जुरेको छ । कन्या पक्षका वरार्थीहरू कुमार पक्षको घरतर्फ धाएका हुन्छन् । कुमार पक्षकाले माथि डाँडामा बसेर उ त्यो डाँडोदेखि उ त्यो डाँडोसम्म अथवा वल्लो खोलोदेखि पल्लो खोलोको बिचको हरियो मैदानी खेत सबै मेरो भनेर देखाउँछन् । त्यो सम्म वा गहिरी खेत देखाउनकै लागि हो । आफ्नो होइन ।
केटा पक्षकाले त अन्याय नै गरे । केटीलाई भुङ्ग्रोमा पार्ने भए नि भन्नुहोला । होइन केटी पक्षका पो कुन गोत्रका हुन् र ? कम बनून् । दिदी देखाएर बहिनी वा बहिनी देखाएर दिदी दिन्छन् । अथवा पढ्न डेरामा बसेकी पाउडर घसेकी देखाएर घरमा बसेकी भाँडा धसेकी भिराइदिन्छन् । तामदानमा, डोलीमा अन्माएर पठाइदिन्छन् । यस्तो सुनिएको छ, देखिएको छ र परिएको बेहोरिएको छ । यहाँभन्दा ज्यादा ठट्टा नगरौँ । किनभने ज्यादा ठट्टा गर्दा लट्टा पर्न जान्छ र लट्टा फुकाउन धौधौ पर्छ वा तेल, बेसार, चिप्लो घस्नुपर्छ । चिप्लो वा चिल्लो धस्न मलाई आउँदैन ।
ढाँटीघूँटी बिहा काटीकुटी निया भने चलन छ नि त भन्ने कुरा उठ्ला । पर्नेलाई मर्का र परिहाल्यो नि हैन र ?
केटी पक्ष इष्टमित्र नालनातालाई देखाउनकै निम्ति भए पनि कपडा र गहना पूरापूर चाहिन्छ भन्दछन् । केटा पक्ष म त दाइजो प्रथाको कट्टर विरोधी हुँ तर के गर्ने जन्तीमा आएका आफन्त र जोरीपारीलाई देखाउनकै निम्ति भए पनि दाइजोको व्यवस्था राम्ररी मिलाउनुहोला । कोही पढ्ने गर्दछन्, देखाउनको निम्ति र कोही लड्ने गर्दछन् देखाउनकै निम्ति । तीर्थ-व्रत, धर्म-कर्म, देखाउनकै निम्ति । मानौँ यो दुनिया बाहिरी बोक्रे रबाफ देखाउनकै निम्ति जन्मिएको हो ।
हामी जुन वस्तु लुकाउनुपर्ने हो त्यो देखाइरहेछौँ। जुन वस्तु देखाउनुपर्ने हो त्यो देखाउन सकिरहेका छैनौँ । इमान्दारिता, कर्तव्यनिष्ठता, राष्ट्रप्रेम देखाउन सकिरहेका छैनौँ । बेइमानी, अन्तर्कलह, दुष्टता, धृष्टता र भ्रष्टता देखाइरहेछौँ । हाम्रो विधि र व्यवहार देखाउनको निम्ति नभएर व्यवहारमा यथार्थ उतार्नको निम्ति हुनुपर्ने हो, होइन र ?
०००
पाल्पामा यसै हप्ता लाेकार्पित हास्यव्यङ्ग्य सङ्ग्रह ‘घुस्सा’ (२०८१) बाट
Subscribe
Login
0 Comments
Oldest







































