साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखाउने कुरा

कोही पढ्ने गर्दछन्, देखाउनको निम्ति र कोही लड्ने गर्दछन् देखाउनकै निम्ति । तीर्थ-व्रत, धर्म-कर्म, देखाउनकै निम्ति । मानौँ यो दुनिया बाहिरी बोक्रे रबाफ देखाउनकै निम्ति जन्मिएको हो ।

Nepal Telecom ad

रामप्रसाद अर्याल ‘अविराम’:

यो दुनियाँमा देखाउने वस्तुहरू धेरै छन् । ती वस्तुहरू केके हुन सक्छन् भन्नुभन्दा पनि केके हुन सक्तैनन् भन्ने हो भने जाती होला । स्थानीय स्तरमा रहेको इमारत देखाउनलायक हुन सक्छ । राष्ट्रिय स्तरमा स्मारक देखाउनलायक हुन्छ वा देखाउनलायक बनाइन्छ । चिडियाखाना देखाउनकै निम्ति, छापाखाना देखाउनकै निम्ति, कारखाना देखाउनकै निम्ति । कहिले देखाउनकै निम्ति फोटो प्रदर्शनी गरिन्छ कहिले खोटो, छोटो प्रदर्शनी गरिन्छ त कहिले लामो प्रदर्शनी गरिन्छ ।

कसैले आफ्नो बारी देखाउँछ, कसैले आफ्नो हातको नारी देखाउँछ । कसैले आफ्नो सान देखाउँछ भने कसैले आफ्नो राता आँखा देखाउला । कसैले मुख देखाउँछन् भने कसैले मुक्का । नभएको कुरा कसरी र कहाँबाट देखाउनु ? सहर बजारतिर घुम्न जाने हो भने ग्रहदशा देखाउने र चिना लेखाउनेहरूको भिड नै लागेको हुन्छ । सानाको अगाडि सान देखाइन्छ भने ठुलाबडाको अगाडि मान देखाइन्छ । कतिले लाटो देखाउँछन्, कतिले माटो देखाउँछन् भने कतिले बाटो देखाउँछन्। यो देखाउनेहरूको आआफ्नो स्वभाव र प्रवृत्ति नै हुन्छ ।

कुरा कहाँबाट सुरु गरौं भने शक्ति र भक्तिका कुरा गरौँ । कृष्णले आफ्नो मुखभित्र सारा चराचर जगत्, विश्व, ब्रह्माण्ड नै देखाएर स्वर्ग, मर्त्य र पाताल देखाएर आफ्नो शक्ति देखाएका थिए । त्यस्तैगरी हनुमानले आफ्नो छाती च्यातेर राम लक्ष्मण र सीता देखाएर भक्ति देखाए । हात्तीसँडे र ठुलो भुडे गणेशले आफ्नो जुक्ति देखाएरै प्रथम पूजा पाउनलायक बने ।

यहाँनेर प्रश्न उठ्न सक्छ यो देउताको कुरा किन ? कुरा ठिकै हो । हामी न त देउता बन्न सक्छौँ। न त देउताको कुरा गर्न नै सुहाउँछ । हामी गणेश बन्न सकेनौँ । हामी गोबरगणेश बन्यौँ । गोबरगणेश देखियौँ । तपाईं गोबरगणेशको विशेषणको पगरी किन भिराइस् ? भन्नुहोला । मैले किन यसो गरेको हुँ भने हामीमा इज्यत र बेइज्यतको स्वाद छैन, इमान र नैतिकता बोलीमा मात्र सीमित छ । व्यवहारमा छैन । मुखले भन्छौँ एउटा, कुरा गछौँ अर्कै कुरा । खानको निम्ति हाम्रो गणेशको जत्रो भुँडी पनि छ र देखाउनको निम्ति गणेशको टाउको अर्थात् देखाउने दाँत हात्तीको । राख्ने र फार्ने दाँत हुन्छ हात्तीको ।

अब देखाउने विधि र व्यवहारको कुरा गरौं। हामीले खाने कुरा खान्छौ देखाउनको निम्ति । लाउने कुरा लगाउँछौं, देखाउनको निम्ति । काम गर्छौँ देखाउनकै निम्ति । यसो भन्दा मैले के कुरा बिर्सेको छैन भने हामीले नगर्ने काम पनि गरेका छौं । नलगाउने वस्तु पनि लगाएका छौँ र नगर्ने वा गर्न नहुने काम पनि गरेका छौं, देखाउनकै निम्ति । कुनै ठाउँमा बस्छौँ देखाउनको निम्ति । चिल्लो पाउडर घस्छौँ, देखाउनकै निम्ति । फकाई फकाई लगेर चिमोटी चिमोटी मार्ने प्रवृत्ति छ हाम्रो । तपाईँकहाँ छ यस्तो चलन ? लौलौ बता तेरो खुबी हेरौं भन्नुहोला ? म बताउन सक्छु ।

जस्तो भनौँ न दलालहरूले युवतीहरूसँग सुरुमा भेट हुँदा कति मिठो बोली बोल्दछन् र उनीहरू फँस्छन् । जब युवतीहरू बम्बै अथवा यस्तै कुनै सहरको कोठीहरूमा पुग्छन् र दलालहरूको साथ छुट्छ, तब उनीहरूले दलालहरूको असली नियत थाहा पाउँछन् । बल्ल असली रूप देख्दछन् ।

प्रसङ्ग बदलौँ, अचेल लगनको साइत जुरेको छ । कन्या पक्षका वरार्थीहरू कुमार पक्षको घरतर्फ धाएका हुन्छन् । कुमार पक्षकाले माथि डाँडामा बसेर उ त्यो डाँडोदेखि उ त्यो डाँडोसम्म अथवा वल्लो खोलोदेखि पल्लो खोलोको बिचको हरियो मैदानी खेत सबै मेरो भनेर देखाउँछन् । त्यो सम्म वा गहिरी खेत देखाउनकै लागि हो । आफ्नो होइन ।

केटा पक्षकाले त अन्याय नै गरे । केटीलाई भुङ्ग्रोमा पार्ने भए नि भन्नुहोला । होइन केटी पक्षका पो कुन गोत्रका हुन् र ? कम बनून् । दिदी देखाएर बहिनी वा बहिनी देखाएर दिदी दिन्छन् । अथवा पढ्न डेरामा बसेकी पाउडर घसेकी देखाएर घरमा बसेकी भाँडा धसेकी भिराइदिन्छन् । तामदानमा, डोलीमा अन्माएर पठाइदिन्छन् । यस्तो सुनिएको छ, देखिएको छ र परिएको बेहोरिएको छ । यहाँभन्दा ज्यादा ठट्टा नगरौँ । किनभने ज्यादा ठट्टा गर्दा लट्टा पर्न जान्छ र लट्टा फुकाउन धौधौ पर्छ वा तेल, बेसार, चिप्लो घस्नुपर्छ । चिप्लो वा चिल्लो धस्न मलाई आउँदैन ।

ढाँटीघूँटी बिहा काटीकुटी निया भने चलन छ नि त भन्ने कुरा उठ्ला । पर्नेलाई मर्का र परिहाल्यो नि हैन र ?

केटी पक्ष इष्टमित्र नालनातालाई देखाउनकै निम्ति भए पनि कपडा र गहना पूरापूर चाहिन्छ भन्दछन् । केटा पक्ष म त दाइजो प्रथाको कट्टर विरोधी हुँ तर के गर्ने जन्तीमा आएका आफन्त र जोरीपारीलाई देखाउनकै निम्ति भए पनि दाइजोको व्यवस्था राम्ररी मिलाउनुहोला । कोही पढ्ने गर्दछन्, देखाउनको निम्ति र कोही लड्ने गर्दछन् देखाउनकै निम्ति । तीर्थ-व्रत, धर्म-कर्म, देखाउनकै निम्ति । मानौँ यो दुनिया बाहिरी बोक्रे रबाफ देखाउनकै निम्ति जन्मिएको हो ।

हामी जुन वस्तु लुकाउनुपर्ने हो त्यो देखाइरहेछौँ। जुन वस्तु देखाउनुपर्ने हो त्यो देखाउन सकिरहेका छैनौँ । इमान्दारिता, कर्तव्यनिष्ठता, राष्ट्रप्रेम देखाउन सकिरहेका छैनौँ । बेइमानी, अन्तर्कलह, दुष्टता, धृष्टता र भ्रष्टता देखाइरहेछौँ । हाम्रो विधि र व्यवहार देखाउनको निम्ति नभएर व्यवहारमा यथार्थ उतार्नको निम्ति हुनुपर्ने हो, होइन र ?

०००
पाल्पामा यसै हप्ता लाेकार्पित हास्यव्यङ्ग्य सङ्ग्रह ‘घुस्सा’ (२०८१) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
हस् हजुर ! हुन्छ हजुर !!

हस् हजुर ! हुन्छ...

रामप्रसाद अर्याल ‘अविराम’
भाँजी मार्नु

भाँजी मार्नु

रामप्रसाद अर्याल ‘अविराम’
जङ्क पोलिटिक्स

जङ्क पोलिटिक्स

रामप्रसाद अर्याल ‘अविराम’
फुक्लिएको दाँत

फुक्लिएको दाँत

रामप्रसाद अर्याल ‘अविराम’
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x