रामप्रसाद अर्याल ‘अविराम’भाँजी मार्नु
आ–आफ्नो ढोक्सामा धेरै माछा पार्ने कसम सबैले खाइरहेका छन् । कसैले भन्दैछन् “मेरो ढोक्सामा नपरे स्वर्ग जान पाउँदैनौ ।

रामप्रसाद अर्याल :
हाम्रो समाजमा भाँती भाँतीका छोरानाति, पताति, जनाति र खनाति छन् । हामै आफ्ना गाउँका पनि कम्तीका छैनन् । त्यसो त अहिलेको जमानाको विशेषता भनेकै कम्ती हुनु होइन बढन्तीको हुनु हो । बढन्तीको खन्ती बोकेर जन्ती जाँदा ढुङ्गामुडाले पर्सेको, बलिको बोको भुत्ते खुकुरीले तर्सेको, कहानी तपाई हामीसँग छ । खन्तीको काम प्वाल पार्नु, खाल्डो खन्नु, छिद्र बनाउनु हो । प्वाल परेपछि दुवाल भत्किन्छ । खाल्डोमा परिन्छ अनि छिटो मरिन्छ । छिद्रभित्र जे पनि जो पनि जान सक्छन् । खेल्न र खान सक्छन् । छिद्र भेटेपछि सवै भित्र छिरी हाल्दछ । भाँडो चुहिन्छ । बस्तु कुहिन्छ । कुरोको चुरो छिचोलिँदैन, गिजोलिन्छ । बनेको बिग्रिन्छ, भत्किन्छ, भत्काइन्छ । हो यही भत्काउने बिगार्ने कामलाई भनिन्छ भांँजी मार्नु ।
ओखरको घाँजी खान जत्तिकै सजिलो छ, भांँजी मार्नु । हाम्रो समाज वा भनूँ देशमा कुराले बाघ मारिन्छ तर कामले माखो पनि मारिँदैन । गर्लान् कि भनेजस्ता भने बेलैमा माछा मार्न जान्छन् नदीमा, नफर्किने र स्वर्गमा भेट हुने गरी ।
एक पटकको कुरा हो कुन्नि कहाँका खाननीयले आफ्ना मतदाता छोकरीहरू, भेला पारेर भने– हेर नानी हो ! हेर ज्ञानी हो ! तिमीहरूलाई भनेर मैले विदेशबाट आउँदा एकथैलो सुन लिएर आएको थिएँ तर भन्सारका कर्मचारी नामका डाँकाहरूले सुड्के लाएर, भाँजी मारेर लुटे । मैलाई पनि कुराले कुटे । यस्तो रून्चे बिलौना कहेपछि कुटाइ सहेपछि छोकरा छोकरीको भोट टोकरी भरि पाइने भैहाल्यो ।
मेहनतीले सफलताको बाजी मार्छन् । अल्छीले अर्काको रिस डाहाड गरेर विफलता दिलाउन भांँजी मार्छन् । नपत्याए यो कथा सन्ुनुस् त ।
एक दिन म चौतारीमा बसेर शीतल हावा खाँदै थिएँ । यहाँ निशुल्क पाउने भनेको हावा न हो । उठेर हिँड्ने मन गर्दै थिएँ । ठिक त्यही बेला गाउँका मुखिया बाजे टुप्लुक आएर मनेर थुचुक्कै बसे । मैले पाउलागी गरेर कुराको दैलो उघार्दै भनें– हैन बाजे आज हजुरलाई के आपद् आइलाग्यो, थकित तन, मलिनु मन देख्छु त । फेरि घुच्चुकमा हात राखेर कुचुक्क परेर बस्नु भयो । तँ जैरेले मेरो दःुखको लख काटिहालिस्, अव सुन् तर अरुलाई नभनेस् नि ! बुढाले कुराको कुटुरो खोले र रुन्चे मुख लाएर बोले– हेर मेरो लठेप्रे तन्नेरी छोरो बुढो हुन लाग्यो । जोवान जान लाग्यो । जुंँगा फुल्ल थाल्यो । कपाल तिलचामले भैसक्यो । एउटी जगल्टी भित्र्याइ दिन पाए नातिको मुख हेर्न पाउने थिएँ भनेर पल्लो गाउँको आसामी काइँलाकी कलिली काजु केटी कुरा मिलाएर आएको थिएँ । दुई विस ऋण मिनाह गर्ने गरी । कुन दुष्टको मन भाँच्चिएछ कुनि बिहे भाँडियो । अहिले मेरी बत्तीसै लक्षणले युक्त छोरी दिन्न तिम्रो पैसा लैजाऊ पो भन्यो । भाँजी मार्ने मोरालाई मैले जान्या छु । त्यस दुष्टलाई चिन्न मात्रै पाम् न । बिहे गर्दा नढाँट्ने र नढाँटिने को छ भन् त । काटिकुटी निया ढाँटिढँुटी बिहा ्त्यसै भनिएको हैन । बुढा मुरमुरिँदै बसे ।
अहिले साना गाउँका घरमा र ठुला शहरका दरवारमा समेत कोटी कुम्ल्याएर केटाकेटी सुम्ल्याउने कुटुना कुटुनीहरूको चल्ती धेरै छ । उनीहरूको गुण र धर्म उपकारी र गुणी देखिनु हो । तर वास्तविकता त्यसको ठिक उल्टो हुन्छ । देख्दा एउटा सुन्दर रूप देखिनु, । इमानदार मन र सज्जन जनलाई झुक्याउनु वाक्कलाको खुबी हो । माकुरीको सुनौलो जालमा पसेर फँसेपछि उम्किने जुक्ति जो कोहीमा हुँदैन । मोहनी बोलीमा महको मिठास घोलिएपछि हो लाई होइन र होइनलाई हो सजिलै बन्दछ । ‘विष कुम्भम् पयो मुखम्’ त्यसै भनिएको होइन ।
अहिले तपाईं हाम्रा टोल टटोल्न आउने प्यादाहरूका ज्यादा मिठा कुरा सुलमा आएकै छन् । कतै तपाईंं हाम्रा राम्रा मूल्य र मान्यता, विकास र विश्वासलाई पनि जालमा फँसाएर दुनिया हँसाउने त होइनन् ?
भाँजी मार्ने चोरर्को चर्केो सोरले धरमराएको विश्वास, अलमलाएको आस्थामा पानी फेरिने त होइन । मलाई शंका लाग्छ । सत्य तथ्यमा भन्दा होहल्लाको पछि लाग्ने भिडको कमी छैन हामीकहाँ । नत्र मदारीको जीवनवृत्ति कसरी चल्छ र । सय रोगको औषधी एउटै ।
आफ्नो निहित स्वार्थका लागि मिलेका भाइ फुटाउन र विजातिवर्गलाई जुटाउन भाँजीमार्नेहरूकै हात हुन्छ । कतै चर्को स्वरले अर्काको बद्ख्वाइँ गर्न र कतै मन्द स्वरले कान भर्न महारथ प्राप्त गरेका हुन्छन् । यिनले एक पटक कान भरिदिनु पर्दछ तब जोसुकैको जस्तोसुकै काम पनि तमाम भैहाल्दछ ।
कडा घरमा बुहारीहरू टिकेनन् । अचेल सद्धे माल बिक्दै बिकेनन् । के सक्कली कुन नक्कली ? छुट्याउन र खुट्याउन गाह्रो छ । चर्को स्वरले घरको छानो उडेको छ । नभएका बिङ्गा र सद्धे बस्तुमा झिङ्गा भन्किएका छन् । सामाजिक सञ्जालभरि झुठा अफवाहको ओइरो आइरहेको छ । गाली र गलौजको पहिरोले बगाउने हो कि भन्ने त्रासदी व्यापक बनाइँदो छ । खोर फोर्न र स्वर फेर्न सजिलै सक्ने हुनाले यिनको ताल न बेतालको माल विकाउमा छ । तर कत्तिको टिकाउ हुन्छ भन्न सकिँदैन । किनभने यिनका आनीबानी जानेका सद्दे बस्तु छानेका चनाखा आँखाहरू पनि त चनाखा छन् समाजमा ।
लापलिपे बानी परेकाहरू ललिते मुखले फकाउन आउँछन् र भन्दछन हेर्नुस् आमा ! हेर्नुस् बाबा ! तपाईंहरू तपाईहरूकै घर बस्नुस् हाम्लाई मात्र एउटा कागजको खोस्रामा छाप लगाएर दिनुस् । त्यसपछि त तपाइँहरूलाई सुखको स्वर्गै लैजामला ।
साँञ्चै आफ्नै सन्तानहरूले समेत झुक्याएर, डाँटेर, ठगेर बृद्ध बा, आमाको बेहाल बनाएका कहानी हाम्रा प्वाल परेका कानले सुनेका र मोतीबिन्दु नभएका आँखाले देखेका छन् ।
यस्तो विषम परिस्थितिमा आफन्त पराइ र पराईलाई आफन्त बनाउन र बन्न सक्ने क्षमता यदि कसैमा छ भने त्यो खुवी ‘भाँजीमार्ने’हरूमा भरपुर छ । अनेक बहानाबाजी गरेर, झुक्काउनु, धुत्नु, ठग्नु धनमाल हड्पेर मैले गल्ती गरेको छैन भनेर सार्वजनिक सभामा घाँटी सुकाइसुकाइ कुुकाउनु उनीहरूको सर्वसुलभ गुण हो । इमान र जमान हो । उनीहरूसँग इमान बाहेक आफ्नो भन्नु यो दुनियाँमा केही पनि छैन रे, हुँदैन रे !
हो उनीहरूकोको बासस्थान अनेक, श्रीमती अनेक, पद अनेक र पार्टी पनि अनेक, सायद देश पनि अनेक हुँदो हो र त यहाँको भन्दा अन्तैको जसोमा भुक्न र हुक्न सक्छन् । उतैको इसारामा नाच्न सक्छन् । देश जलाएर हाँस्न सक्तछन् ।, आफै बोक्सी र आफै धामी पनि बन्न सक्छन । उनीहरू सर्वगुण सम्पन छन् । रूप र वर्ण एक तर सारमा अनेक । यस्ता महामना व्यक्तिहरू जन्माएर नेपाल आमा धन्य धन्य भएकी छन् । खुसीले गद्गद छन् ।
नारीको अस्मिता सामान्य झापड जस्तो हो । गो मांस मटन जस्तो । राष्ट्रिय झण्डा । कपडाको टुक्रो । जलेका जनाइएका राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूका लिखित दस्तावेजहरू फगत कगजका खोस्टा जस्ता । दुई दिनमा सारा देश जलाएर ध्वस्त बनाउने वीर बानर हनुमानका सन्तान जस्ता । व्यति ठूलो योजना थाहा नपाउने शासकहरू निरीह पेण्डुलम जस्ता । टुलुटुलु हरेर बस्ने हामी नागरिकहरू कस्ता कस्ता ।
अहिले बेमौसमको बाजा बजिरहेको छ । आरोप–प्रत्यारोपको वर्षा भैरहेको छ । आफूमात्र शिष्ट, शालीन, चोखो गाईको दुधले नुहाएको अरुजति सबै अशिष्ट, अभद्र खराब भ्रष्ट भन्ने भाष्य भाषणमा सुन्न पाइन्छ । भाषणको वर्षामा पानी धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउमा धेरै दलहरू छन् । आ–आफ्नो ढोक्सामा धेरै माछा पार्ने कसम सबैले खाइरहेका छन् । कसैले भन्दैछन् “मेरो ढोक्सामा नपरे स्वर्ग जान पाउँदैनौ । तर म भन्छु माछा ढोक्सामा पर्नु भनेकै स्वर्ग जान हो ।
अहिले कुटना कुटुनीहरूले सरल मतदाताहरूमा अफवाह फैलाएर नायकलाई खलनायक र खलनायकलाई नायक बनाइरहेका छन् । जनता जनार्दन हुन् । यही आउँदो फाल्गुण २१ गते भाँजी मार्नेहरूको भाउँतोमा परेर, विश्वास गरेर ढोक्सामा मत दिएर जिउँदै स्वर्ग जाने हुन् या विवेकपूर्ण निर्णयले यही देशलाई स्वर्ग बनाएर बस्ने हुन्, समयले अवश्य बताउला !
०००
पाल्पा
Subscribe
Login
0 Comments
Oldest







































