साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुक्लिएको दाँत

ओइरो सानो भए पनि पहिरो ठूलो हुन्छ । अहिले देशमा ओइरो लगाउनहरूको धुइरो चलेको छ । यो अवस्थामा जाँतोला दाँतहरू बलिया अर्जापिएका र पाइन चढाइएका हुनु जरुरी छ । त्यसो हुन गयो भने प्रतिफल धेरै प्राप्त गर्न सकिन्छ ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

टिलिक्क टल्किएका सेता दाँत, अनुहारको शोभा । दाँतका लहर अनारका दाना जस्ता । मुसुक्क मुस्कुराउँदा देखिने ठम्म मिलेका दौत मान्छेको व्यक्तित्व । सुन्दर दाँत हुनु पनि वरदान नै हो ।

यो रुन्चेको हतियार हो । खन्चुवाको मतियार हो । जसले जेसुकै भने पनि टोकेर ,धुल्याउने, मसिन्याउने, सानो पार्न र चूर्ण चूर्ण बनाउने काम भनेको दाँतको हो । दाँतलाई सुन्दरताको प्रतीक पनि मानिन्छ । तर त्यहीदांत मिलेको छैन भने शरीरको शोभा बढाउने नभएर घटाउने गर्दछ ।

एक थरी मानिसहरू, दाँत गयो कि आँत गयो भन्ने गर्दछन् । तर म भन्छु दाँत गए पनि आँत चाहिँ रहिरहन्छ ।
आँत रहेपछि आँट आउँछ । भनाइ नै छ “आंटी छोरालाई बाघले पनि खाँदैन । हो आँटी छोराले ढाँटीढाँटी आफ्‌नो काम पटाउँछ । हो कहिले काँहीं आँटीको आँट गलत ठाउँमा प्रयोग हुन गयो भने पछिबाट पछुताउँ हुन्छ । पछुताउ भएपछि वनको बाघले नखााए पनि मनको बाघले खान्छ । मनको बाघले नखाए पनि कानुनको नागले डस्छ । कानुनको नागले डसेपछि मान्छे खोर भित्र पस्छ र बस्छ ।

यो खोरभित्र पस्ने र बस्नेहरूका कहानी धेरै छन् । यो सुन्दर विहानीमा आंँटी छोराका ढाँटी कुरा र गाँठी कुरा गर्न उपयुक्त हुँदैन । उहिलेको जस्तो त्रिशुलीमा हाम फाल्ने, धरहराको टुप्पोबाट फालहाल्ने र कुवाँमा फुङ्गाल्ने जमाना होइन यो । यो जमाना त देखाउने एउटा र गर्ने अर्कोको हो । जस्तो देखाउने दाँत एउटा खाने दाँत अर्को । हो सर्वसाधारण मानिसले आफ्नो दाँत मुखमा धारण गरेको हुन्छ । हो विशिष्ट मानिसको दाँत भने आँतमा हुन्छ । आँंत भनेको भित्रि भाग हो, पेट हो, आन्द्रा हो । पेट ठुलो हुन्छ । आन्द्रोको तान्द्रो लामो हुन्छ ।

आँतमा दाँत भएपछि जेसुकै खाओस्, जस्तोसुकै पायोस खाइदिन्छ र पचाइदिन्छ । यो उसको खुवी हो । सामान्यतया भुइँमान्छेले फुइँ लगाउँदैन । तर भुइँबाट अलिकति माथि गयो भने उसको भुइँमा खुट्टा हुँदैन । भुइँमा खुट्टाले नटेकेपछि भुइँका कुरा थाहा हुने पनि भएन । त्यसैले माथिबाट आउँने खान्की माथिमाथिबाटै खान्छ भुइँमा झर्न दिँदैन । एक्लैले खाइस् र पचाइस् भनेर कसैले विरोध गर्यो भने दत्तबझान सुरु हुन्छ । अहिले सबैले गर्ने गरेको दन्तबझान खानकै लागि हो भनेर दुनियाँले बुझिसकेका छन् ।

यदि कुनै दलले, कुनै नेताले मिलिजुली बसौँ बाँडिचुडी खाउँ भनेर स्वच्छ मनले भन्छ भने पनि यहाँ कसैले पत्याउँदैनन् । राम्रो कुराको खोजीमा हिंड्न भन्दा गोजीमा कालोधन कसरी आउला भन्ने ध्यानमा निमन हुनु मान्छेको गुण हुन गएको छ ।

कुनै कुनै मान्छेको, समुहको, दलको खानेबेलामा रिस उठ्छ अनि उनीहरू फुट्छन् । अर्कोथरी खानेबेलामा जुट्छन हिस्सा नमिले बल्ल फुट्छन् । मिल्ने बेलामा घोषणा गर्दछन् “हाम्रो देशमा हामी जत्तिको शक्तिशाली कोही दलका, माइकालालका लाल छैनन् । देशसेवी, विकास प्रेमी, राष्ट्र भक्तिमा हाम्रो विशेष अभिव्यक्ति हुनेछ । अन्तराष्ट्रिय प्रभुहरूले समेत हाम्रो एकतालाई समर्थन गरेका छन् । उनीहरूको आशीर्वाद हामीलाई प्राप्त छ ।

उनीहरूलाई रिझाउन, बेला मौकामा कोसेली पात लिएर जानेछौं । ठुलाबडा कहाँ जाँदा रित्तै जानु हुँदैन भन्ने हाम्रो पुरानो मान्यता हो । मिल्ने बेलामा उही मान्छे, उही समुह र उही दल सबै भन्दा असल बन्दछन् । नमिले सबैभन्दा, खराब, भ्रष्ट, स्वार्थी, दम्भी र शब्दकोशमा भए जति तुच्छ विशेषणको पत्ररी पहिराउँछन् । त्यो बेला पस्किएको परिकारको वासना हरर्र चलेको हुन्छ । मुखै रसाउने गरी तर खाँदा पहिलो गासमै दाँतमा ढुङ्गा लाग्दछ । अनि त दाँत, सिरिङ्ग हुने, हल्लिने, दुख्ने हुन्छ, अनि घरैमा अथवा अस्पतालमा लगेर फुकालिन्छ ।

मुक्केबाजले मुक्यायो भने पनि दाँत झर्न सक्छ । बुढो हुन, थोत्रिननै पर्दैन । दाँत भने धेरै मिठाइ, खाएर, पिटाइ खाए पनि यो झर्छ । किराले खाएर फुक्लिएको दाँत पनि दागी हुन्छ । दागी भए राम्रो कुरामा सहभागी हुन पाउँदैन । सहभागी हुन नपाएकामा आफूलाई अभागी सम्झिन पुग्दछ ।

यो युग विज्ञानको हो । ज्ञानको हो । दाँत झरे, फुक्लिए, किराले खाए, हल्लिन लाए भनेर पिर मान्नु पर्दैन । हाम्रामा गलत काम गर्नेलाई अवसर दिन सुन पानी छर्केर, भातबाख्री गरेर चोखो बनाइन्छ । अलिकति धन खर्च गर्नु मात्र पर्छ उपल्लो दर्जा समेत दिलाइन्छ । खानेकुरा कोपर्न र बिग्रेको दाँत सपार्न उपचार गरिन्छ । टेका लगाइन्छ । तारबार गरिन्छ । खोल हालिन्छ । त्यो पनि एक नमारी सुन ठोकेका हुन्छन् धनीमानीले । उनीहरूलाई सुनदाँते उपनाम दिइन्छ ।

दाँत बलिया हुन्जेल, आफू शक्तिमा छउन्जेल एकदिन दाँत झर्ला र शक्ति क्षिण होला भनेर कसैले साेंच्दैन । शक्तिको सदुपयोग गरेर एकले अर्काको दाँत झार्ने खेल चलिरहे छ । अनुशासित तरिकाले । यीे दाँतले के के खाए, केके चवाए के के पचाए भनेर, गनेर साध्य़े नै छैन ।तपाँई हामीले रिस डाहा गरेर भएन ।

मान्छेको स्वभाव बहुरूपी भए झैं मुखमा अटाउने बत्तीस वटा दाँत पनि पनि बहुरुपी छन् । कुनै देखाउनका, कुनै टोक्नका, कुनै चपाउनका, कुनै दाँत छिपाउनका । त्यसोत कुनै मुसाका जस्ता धारिला, कुनै कुकुरका जस्ता तिखा कुनै पाडाका जस्ता चेप्टा । यी जतिसुकै भए पनि यिनको काम हो च्यात्ने, चिर्ने, पिर्ने, चपाउने र भुडीमा लुकाउने नै हो ।

यी दाँत मेहनती कामदार हुन् । यिनले कुटने, पिस्ने, मसिनो पार्ने काम गरिरहन्छन् । यिनले मुख मिठ्याएर चौरासी व्यञ्जनलाई धुलोपिठो पारेर चपाए पनि स्वाद लिने चाहिं जिभ्रोले हो । र भरिने भुँडी नै हो । विचरा दाँतले त्याहाँ राख्ने भनेको लुकेर, अडकिएर रहेको छेस्‌का छेस्की मात्र हो । किरा लगाउन ,गिजा दुखाउन मात्र । कामदार ज्यामी माहुरीहरूले डाइनालाई पोषने मात्र हो । बत्तीसजना हतियारधारीलाई अङ्गरक्षक बनाएर आफू सुरक्षित रहेको छ जिभ्रो ।

यो जिभ्रो हाम्रा नेताहरू जस्तो पो हो त । जता पनि लपक्क हुन सक्ने । अरुलाई कज्याइ कज्याइ आफूले रजाईं गर्ने । जुनसुकै र जस्तो सुकै परिकारको स्वाद चारख्न र भित्रको भकारीमा रारख्न सक्ने । तलबिलत पर्यो भने ओकल्न र मुख खोकल्न सक्ने । अझै पत्रकारले कालो करतुत देखे र लेखे भने त्यो लुकाएको, खाएको बस्तु, कृत्रिम हो, झुठो हो एआइले बनाएको भनेर बयान दिन सक्ने । तर कहिलेकाँही गोपनीयता भङ्ग हुन जाँदा “हिस्स बुढी किच्च दाँत“ भने झै हुनु पर्दछ र पो मार्यो त !

दाँत भनेको जाँतो जस्तो हो । यसमा ओइरो लगाएपछि तलबाट पहिरो चल्दछ । ओइरो सानो भए पनि पहिरो ठूलो हुन्छ । अहिले देशमा ओइरो लगाउनहरूको धुइरो चलेको छ । यो अवस्थामा जाँतोला दाँतहरू बलिया अर्जापिएका र पाइन चढाइएका हुनु जरुरी छ । त्यसो हुन गयो भने प्रतिफल धेरै प्राप्त गर्न सकिन्छ । त्यसो हुन जाँतो भित्र रहने मानी बलियो हुनु पर्दछ । त्यस्तै आँतो घुमाउन हातो बलियो हुनु पर्दछ । अहिले मानी हल्लिएको, हाती घोल्लिएको र मेहीको लिङ्गो लप्किएको छ । मेहीका ओरिपरि घुम्ने पाटीका हलगोरुहरू यत्रतत्र छरपष्टिएका छन् ।

हामीकहाँ ढिकी, जाँतोका आवाज जर्का र घरका सदस्यहरूका आवाज चर्का भएर भाडा बजे भने छिमेकीहरूका कान ठाडाठाडा हुन्छन् । जाँतोका अंश दाँतका बंशमा ठोक्किएर दाँत सिरिङ्ग पार्ने र झार्ने पनि हुन्छ ।

अहिले को नवयुवाको वयोवृद्ध युवा भनेर छुट्याउन गाह्रो छ । किन भने दाँत झरेका थोते र दाँत नउम्रिएका तोते पनि नक्कली आभुषण नक्कली पहिरन र नक्कली कहिरनले गर्दा चिन्न मुस्किल भएको छ । नक्कली बोली नक्कली झोली र नक्कली गोलीले नकक्लीलाई हित गर्दछ । त्यसैले आफू पनि नक्कली बनौ । नक्कलीको भाउ महंगो छ । महंगो चिज धेरै टिक्छ र बिक्छ । अहिले दाँत झर्यो भनेर चिन्ता नमानौ । पुराना सक्कली गए नयाँ नक्कली आउन सक्छन् । पुरानो, झरेको, किराले खाएको दाँतको सट्टा नयाँ दाँतको बट्टा किनौ । दाँत फुक्लियो भन्दै महिनौ । यसैमा हामी सबैको भलाई छ ।

०००
पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तैँले गर्दा

तैँले गर्दा

रामप्रसाद अर्याल ‘अविराम’
तब पो हुरी !

तब पो हुरी !

रामप्रसाद अर्याल ‘अविराम’
भोकाएका मुसाहरु

भोकाएका मुसाहरु

रामप्रसाद अर्याल ‘अविराम’
महादेउ पानी देउ

महादेउ पानी देउ

रामप्रसाद अर्याल ‘अविराम’
शुद्ध खसीको मःमः

शुद्ध खसीको मःमः

रामप्रसाद अर्याल ‘अविराम’
झोले मास्टर

झोले मास्टर

रामप्रसाद अर्याल ‘अविराम’
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
धन्नै गएनन् माझघर बा

धन्नै गएनन् माझघर बा

सुरेशकुमार भट्ट
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
भैरव अर्याल र उनको ‘जयभुँडी’

भैरव अर्याल र उनको...

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x