विश्व शाक्यलाहुरेकाे हुर्मत
सरकारको आर्थिक नीति अनुकुल नै सबैतिर खुल्लारूपमा आर्थिक लेनदेन चल्छ भने कसलाई पो के हानिनोक्सानी होला र ? यतिविघ्न का जान्दाजान्दै पनि लाहुरे बन्ने मेसो आफूले मिलाउन नसकिएकोमा अहिले पछुतो भइरहेको छ ।

विश्व शाक्य :
नेपालीका छोराहरूलाई लाहुरे बनाउने कारखानामा काम गरेको पनि दसवाह वर्ष भएछ। मैले पनि छातिमा विकासे पशुहरूलाई लगाउने गरेको जस्तो नबर टाँसेर त्यो कारखानामा नोकरी गरेको भए नोकरी पचाएर पनि पेन्सन पकाइसक्थे होला । विगत १०/१२ वर्षदेखि त्यो कारखानामा आउने जाने गारेहेको भए पनि पेन्सन नै पकाउने गरी काम गर्ने मनचाहिँ भएन । अहिले कताकता पछुतो लागेजस्तो भएको छ। त्यो कारखानामा काम पाउन अरु केही पनि त गर्न पर्ने रहेनछ । खुर्सानीभन्दा सस्तो भाउमा आफ्नो स्वाभिमान र तातो रगत बेच्ने मात्र त रहेछ। जब हामी आफ्नै देश र जन्मभूमिमा बसेर इमान, धर्म र नैतिकता केही कै नभानी बेचविखन गरिहेका छौ भने मरेर गएपछि त्यस्तै पनि पानी भएर जाने जाबो रगत विदेशीलाई बेचिन्थ्यो त के ठूलो विटुलो पर्ने हुन्थ्यो र ? तर पनि उबेला आफू जवान र स्वाभिमानी भइटोपलिएको हुँदा आफ्नो स्वाभिमानले रगत त के पसिनासम्म बेच्न पनि मानेन । त्यही भएर लाहुरे निर्माण गर्ने कारखानामा यत्तिका वर्ष काम गरेर पनि लाहुरे बन्न सकिएन, पेन्सन पकाउन सकिएन ।
लाहुरे बनाउने कारखानामा काम गर्दागर्दै पनि आफूले लाहुरे बन्ने मेसो नगरेकोमा अहिले ‘न्याउरीमारी पछुतो’ भएको छ। किनेर ल्याएको होस् वा चोरेरै पास गरेको किन नहोस् जागिर खानको लागि शैक्षिक प्रमाणपत्रको महत्त्व भएझै आजभोलि सामाजिक प्राणि भएर बाँच्न ‘लाहुरे’ हुन नितान्त आवश्यक रहेछ। खै र त्यो बेला बुद्धि पलाएको ? उबेला स्वाभिमानले अभिमान जगाएर बुद्धिमा बट्टा लगाई दिइहाल्यो। अब लाहुरे हुन जान्छु भनेर घूसै नखाएर पनि घ्याम्पोजस्तो जस्तो फुलेको यो पेट कता लगेर तह लगाउनु ? सय मिटर पनि दौड्न सकिन्न, अनि केको लाहुरे हुनु ? लाहुरे हुन कस्तो दौडधूप गर्नुपर्छ । लाहुरे हुनलाई दौडधूप गरेर मात्र सुख पाइने हो र ?
“आमा आए बाँध्छु, बाउ आए काट्छु” भन्नुपर्छ रे ! बाफ रे ! मजस्तो सनातनी परम्परामा हुर्केको, बढेको, पढेको मान्छेले त्यस्तो पापी कसम कसरी खान सकिएला र। आमाबाबुको पेटमा सारङ्गी नै बजाउनु परे पनि त्यस्तो कसम त किमार्थ खाइन्न वा ! त्यही भएर त लाहुरे बनाउने कारखानामा काम गर्दागर्दै पनि आफू लाहुरे बन्न सकिएनछ । तथापि आजभोलि लाहुरे बन्न विदेश जानै नपर्ने रहेछ । मुखिया खरदारको जागिर खाएर पनि विदेशमा गएका लाहुरेहरूले मैं मजामजाका घर ठ्ड्याउँदा रहेछन् । बैंक ठग्नेहरूको त झन् कुरै पो के गर्नु ? फरक यत्तिमात्र हुँदोरहेछ, देश छोडेर गएपछि विदेशमा दरवान र माली नै भए पनि लाहुरे हुँदोरहेछ र मजा आउँदो रहेछ ।
आजभोलि त लाहुरे पनि कति हो कति। कोही जापानी लाहुरे, कोही कोरियाली लाहुरे। त्यस्तै सिंगापुरे लाहुरे, जर्मनी लाहुरे, साउदीअरबी लाहुरे, अस्ट्रेलियन लाहुरे, अमेरिकी लाहुरे, बेलायती लाहुरे आदि आदि। पहिला पहिला त मलायाको लाहुरे भन्ने मात्र सुनिन्थ्यो। आजभोलि त लाहुरेको जात थर नै रहेन । घरखेत झ्वाम पारेर हङ्कङ थुनामा परेका पनि लाहुरे। घरगाउँको ठर्रा खाएर नपुगी सिंगापुरमा कोर्रा खाएर आउने पनि लाहुरे। यत्ति विघ्न लाहुरे बढेपछि अनि समाजमा लाहुरेको प्रभाव किन नपरोस् ?
पञ्चायतको पालामा पहुँचवाला भनेपछि जस्तोसुकै काम पनि फत्ते हुन्थ्यो । प्रजातन्त्र आएपछि पहुँचवालाको भाउ घटेको छ। अहिले देशमा खुल्ला बजार र खुल्ला अर्थतन्त्रको व्यवस्था आइसकेको छ । त्यसैले आजभोलि पहुँचवालाको बजारखुल्ला अर्थनीतिले लिएको छ। पहुँचवालाले गर्न नसकेको काम अर्थनीतिले गर्नसक्ने भएको छ। यो प्रजातन्त्रको विशेषता हुन गएको छ ।
‘लाहुरे’ नेपाली अर्थनीतिको एउटा भरपर्दो आधार हो । त्यसैले लाहुरेको पर्यायवाची अर्थ र आर्थिक उपलब्धी हुन गएको छ । यही उपलब्धीको कारण लाहुरे शब्दले अमेरिकी ‘डलर’को रूप लिनपुगेको छ। यो हातहातै बिक्न पुगेको छ।
हुन पनि हाम्रो समाजमै लाहुरेले एउटा विशिष्ट ठाउँ ओगट्न सफल भएको छ। चाहे पोखरा क्षेत्रको हिंगरोड होस् वा राजधानीको रिंगरोड जग्गाको भाउ बढाउनमा लाहुरेको अहं भूमिका रहेको छ। लाहुरे ग्राहक भेट्टाइन्जेल जग्गाधनीले अरुलाई मान्छे गन्न नै छोडिसकेको छ । लाहुरेको यो प्रतिष्ठा जग्गा किनवेचमा मात्र नभएर सरकारी र गैरसरकारी कार्यालयहरूमा पनि त्यतिकै प्रभावकारी रहेको पाइन्छ ।
तपाईं हामी नागरिकता बनाउन जाउँ, पहिलो प्राथमिकता लाहुरे हुनुले प्राप्त गर्दछ । विदेश जाने पासपोर्ट बनाउने कार्यालयको त कुरै नगरौं। यो क्षेत्र त झन् लाहुरेबाट प्रत्यक्ष प्रभावित क्षेत्र नै भयो। अब माल कार्यालय जाउँ त्यहाँ पनि प्राथमिकता लाहुरेजनहरूकै। खानेपानी लाइन जडान गर्नु पर्यो, टेलिफोनको लाइन जडान गर्नु पर्यो लाहुरेको काम नभ्याइन्जेल अरुले मौका पाउँला भन्ने त सोच्नै परेन, कि त लाहुरकै बराबरी जान पर्यो ।
यहाँ जे जति कुरा उठे, उप्के र चर्चा भए ती मात्र नमूना हुन्, उदाहरण हुन् । खुल्ला बजार र आर्थिकनीतितर्फ लम्केको हाम्रो समाज र अर्थको पर्यायवाचीकै रूपमा रहेको लाहुरे बीचको आपसी लगनगाँठो कस्सिनु खासै नराम्रो कुरा हो भन्न सायद मिल्दैन, तर पनि लगनगाँठो कस्दाकस्दा हामी सर्वसाधारण नागरिक मनाउँदाको पालो नै मिचिंदामिचिदै घाँटीमा सुर्केगाँठो कस्नुपर्ने बाध्यता पो आइलाग्ने हो कि भन्ने पीर। अन्यथा सरकारको आर्थिक नीति अनुकुल नै सबैतिर खुल्लारूपमा आर्थिक लेनदेन चल्छ भने कसलाई पो के हानिनोक्सानी होला र ? यतिविघ्न का जान्दाजान्दै पनि लाहुरे बन्ने मेसो आफूले मिलाउन नसकिएकोमा अहिले पछुतो भइरहेको छ । उबेला आफू पनि किन लाहुरे हुन गइएन छ ?
०००
पाेखरा
श्री पशुमहापुराण/२०५७
Subscribe
Login
0 Comments
Oldest







































