साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाैराेकाे जात थर

त्यसैले कला-साहित्यका धर्मीहरू सांस्कृतिक तौराहरूलाई सचिवालयदेखि मन्त्रालय त के भट्टीआलयसम्म लिएर हिंड्न पनि एक नहिच्किचाउने गरेको देखिन्छ ।

Nepal Telecom ad

विश्व शाक्य :

बूढा बूढी वा कुनै अशक्त व्यक्तिले लौरो टेकेर हिंड्नु कुनै नौलो कुरो होइन र खासै आश्चर्यको कुरा पनि होइन । आफूले यो उमेरसम्म कसैले लौरो लिएर वा टेकेर हिंडेको नदेखेको पनि होइन। आज एउटी बूढी आमैले ‘ट्वाक ट्वाक’ लौरो टेकेर हिडिरहेको दृश्यले मनमा अचम्मको दिव्यचेतना जगाएको छ । मन एक तमासको भएर आएको छ ।

हुन पनि हो, यो लौरो भन्ने कुरो पनि सारै अचम्मको छ। साधारण आँखाले हेर्दा लौरो केही होइन, अशक्त अवस्थामा टेक्ने एउटा सहारा मात्र हो । तर आजकल केही हप्ता यता मनमा के दिव्यशक्ति उत्पन्न भयो कुन्नि, सारा ब्रम्हाण्ड नै लौरोमय देख्न थालेको छु । भगवान श्रीकृष्णले सारा ब्रम्हाण्डभित्र म समाहित छु, मभित्र सारा ब्रम्हाण्ड समाहित छ भनेर गीतामा कता हो भन्नु भएको थियो । सायद त्यसैको गहिरो छाप मेरो मनस्तिष्कमा परेर हो कि क्या हो, आजकल मैले जनताततै लौरे लौरा देख्न थालेको छु ।

श्रृष्टि अपरम्पार छ र बुझिनसक्नु छ । जतिथरी मान्छे, उतिथरी प्रवृत्ति । जतिधरी प्रवृत्ति, उति थरि लौराहरू । कुनै लौराहरू लिखुरे, लिखुरे, कुनै लौराहरू मोटा चाक्ला । कुनै लौरा बांगा, आँख्ले । कुनै लौरा सिधा चिल्ला । त्यसै गरी सामाजिक व्यवस्थाअनुसार हेर्ने हो भने हाम्रा समाजमा मूलतः चार प्रकारका लौराहरूले विशेष भूमिका निर्वाह गरेको पाइन्छ । तिनमा राजनैतिक लौरो, आर्थिक लौरो, साम्प्रदायिक लौरो र सांस्कृतिक लौरो प्रमुख हुन् । यी लौराहरूका जाति-प्रजातिहरूको वर्णन गरेर साध्य छैन । यो स्वयम्‌मा एउटा अन्वेषणको विषय बन्न गएको छ । आशा राख्न सक्छौं, निकट भविष्यमै यसको सोध र अन्वेषण हुने छ ।

हाम्रोजस्तो देशमा मात्र होइन सारा भूतलमै राजनीतिक जातका लौराहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पारेको पाइन्छ । राजनैतिक लौरोवेगर समाज र सृष्टि अपाङ्ग भएको आभाष हुन्छ। के गाउँ के शहर, के विकसित राष्ट्र, के अविकसित राष्ट्र जताततै यिनै लौराहरू सलबलाई रहेको पाइन्छ । नेताको ईशारा मात्र चाहिन्छ आउ हेर्छन् न ताउ हेर्छन् । यी लौराहरू यस्तरी बज्रछन् कि जीउज्यानको पर्वाहसम्म गर्दैनन् । देशलाई अपाङ्ग बनाउनु र सपाङ्ग बनाउनु यिनै लौराहरूको भूमिकामा निर्वाह हुने गर्छ। लौराहरूमा सबैभन्दा सक्रिय यिनै राजनीतिक लौराहरू हुन् । राजनीतिक लौराहरूका पनि थुप्रै जाति-प्रजातिहरू हुन्छन् । अधिकांश यिनीहरूको झैझगडा आफ्‌नै जाति-प्रजातिबीच भएको पाइन्छ । प्रायशः नेताहरू अधिकारको लागि, कुर्सीको लागि र सत्ताको लागि यिनै लौराहरूको सहारा लिने गर्दछन् । यस्तै लौराहरू मौका वेमौकामा चलाएर राजनैतिक मसलधारीहरू नेता कहलिन सक्षम भएको उदाहरण पनि विश्वमा थुप्रै छन् ।

हाम्रोजस्तो विकासोन्मुख देशमा अर्थलाई टेवा पुऱ्याउने कार्यमा अर्चे लौराहरूको पनि निर्दिष्ट भूमिका रहेको पाइन्छ । यस्ता लौराहरू राजनेतादेखि कार्यकर्तासम्म र कर्मचारीदेखि मजदूरसम्मकाले आफ्‌नो औकात र दक्षताअनुसार प्रयोग गर्ने गरेको पाइन्छ । अर्थे (आर्थिक) लौरोको प्रमुख दायित्व लिने र दिने दुवै पक्षलाई सुरक्षित तुल्याउनु रहेको छ । यिनै लौराको सहाराले कर्मचारी दिनानुदिन पदोन्नतितर्फ लागिरहेका हुन्छन् । यो जातको लौरोमा एउटा विशेषता हुन्छ, यो खालको लौरो राजनीतिक लौरो झै खुलेआम प्रयोगमा ल्याइन्न । सिमलको बोटमा लागेको धमिरो झै भित्रभित्रै अर्थ लौराहरूको प्रयोग भइरहेको पाइन्छ । त्यसैले यस्तो लौरो प्रयोग गर्ने मात्र होइन, लौरो स्वयम् पनि चिल्लो र चिप्लो भएको भेटिन्छ ।

यो विश्व ब्रम्हाण्डमा एकथरी अर्को जातको लौरो हुन्छ, गोमन साँप जस्तो। यो जातको लौरोले कतिखेर गोमन साँपले झै फणा फिंजाएर कहाँ कसलाई मात्र होइन, कहाँ कतिखेर समाजको सम्पूर्ण संरचनालाई नै डसेर ध्वस्त पारिदिने हो विश्वमा थुप्रै जाति-प्रजातिहरू छन् । जातजाति, भाषाभाषी, धर्म सम्प्रदाय आदिको थाहा नै हुँदैन । त्यस्तोखाले लौरोलाई साम्प्रदायिक लौरो भनिन्छ । यो लौराका पनि नामबाट प्रयोग गर्ने यी लौराहरू सर्वाधिक खतरा मानिन्छन् । एक फिलिङ्गो आगोले जसरी सम्पर्ण वनखण्डलाई निमेषभरमै खरानी पारिदिन सक्छ त्यसरी नै यी साम्प्रदायिक लौराहरूले पनि मानिसको मनमा जातजाति, भाषाभाषी, धर्म-सम्प्रदायको विषय घोलेर निमेषमै मानिसभित्रको मानवीय चेतनालाई तहसनहस पार्न नसक्छ । त्यसैले लौराहरूमा सर्वाधिक खतरापूर्ण लौरो साम्प्रदायिक लौरोलाई मान्न सकिन्छ । विश्वका अधिकांश भू-भागमा शान्ति र धर्मको नाममा यिनै लौराहरूले अशान्ति मच्चाइरहेको छ ।

लौरोको कुरा गर्दा कला, साहित्य र सङ्गीतमयी साँस्कृतिक लौराहरूको भूमिकालाई पनि नकार्न सकिन्न । कला, साहित्य र सङ्गीतमा आवद्ध सबै व्यक्ति । कलाकार साहित्यकार र सङ्गीतज्ञ नै हुनुपर्छ भन्ने छैन । यी विविध क्षेत्रमा चासो राख्नेहरू पनि आजित हुनसक्ने हुन्छन् । वास्तवमा यस्तै व्यक्तिहरूले साँस्कृतिक लौरो हुनुको भूमिकालाई निर्वाह गरिरहेका पाइन्छन् । अरौटे, परौटे र भरौटे यस्ता सांस्कृतिक लौराहरू सिर्जनशीलताको अभावको कारण सिर्जनशील प्रतिभालाई न उचाल्ने, थचार्ने, उस्काउने, खुस्काउने, खुट्टा तान्ने, लछार्ने, तछार्ने पछार्ने र बजार्ने काममा सक्रिय रूपमा अग्रसर हुने गरेको भेटिन्छ । कला र साहित्यको फाँटमा जति कार धेरै यस्ता लौराहरू बटुल्न सकिन्छ उति महत्त्वाकाङ्क्षी सिर्जनधर्मीको लागिमात्र सुगम र प्रशसित हुने हुन्छ । त्यसैले कला-साहित्यका धर्मीहरू सांस्कृतिक तौराहरूलाई सचिवालयदेखि मन्त्रालय त के भट्टीआलयसम्म लिएर हिंड्न पनि एक नहिच्किचाउने गरेको देखिन्छ ।

यस प्रकार लौरोले हाम्रो समाजमामात्र होइन, सारा विश्वमै प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । हामी स्वावलम्वी हुनुको जत्ति डम्फू बजाए पनि कहींकतै लौरोविहीन हुन सकेका छैनौं । हाम्रा बाउबाजेको पालामा जसको घरमा ठूल-ठूलो टौवा, गोठ हुने गर्थ्यो, उनै सम्पन्न मानिन्थे । आजभोलि जसको ईशारामा बढीभन्दा बढी लौरो नाच्दछ, उनै शक्तिशाली र सम्पन्न मानिन्छन् । त्यही भएर आजभोलि जताततै लौराहरूको बिगबिगी बढ्दो छ ।

०००
श्री पशुमहापुराण (२०५७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
अनिकालका कुरा

अनिकालका कुरा

विश्व शाक्य
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x