साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोटामा अतिक्रमण

टिभीमा देखा पर्ने नेताका छोराहरूको तस्विरमा यो प्रस्टै हुन्थ्यो, दोस्रो पुस्ताका नेता तिनै हुन्, ती मुलुकको ढुकुटी खान सिकिरहेका छन्, मोटाघाटा पनि छन् । उनीहरू के आआफ्ना दलका नेता हुने हुन् नेतापिताको अवसानपछि ।

Nepal Telecom ad

भाउपन्थी :

विषय गहन छैन । आफू नै गहन नभएपछि विषय कसरी गहन हुने ? यसरी दुई पङ्क्ति भूमिकास्वरूप लेखेपछि अगाडि के लेख्ने भन्ने अड्कोले पङ्क्तिकार अलमलियो । अरुलाईभन्दा आफैँलाई पेटभरि गाली गर्नु ठीक हुन्छ । आकाशतिर थुकेर अनुहार थापेजस्तो । यस कारण विषय छानिएको थियो— आफ्नै फोटो अथवा तस्विर । पछि लेख्दालेख्दै फोटोको फाटो पनि हुन सक्थ्यो । कतिपय ठाउँमा त्यस्तो भएको पनि छ । राजनीतिको प्रभाव धेरै संवैदनशील भएर ग्रहण गर्ने पङ्क्तिकार भएकाले आजको राजनीतिमा आएको गठबन्धन र फाटोको प्रभाव नपर्ने कुरो थिएन ।

हिजोसम्म टाउकाको मूल्य तोक्ने र तोकिइनेहरूको गठबन्धन थियो । ती आज दूध फाटेजस्तो गरी फाटे । टाउकाको मूल्य हुनेहरू छ इन्च छोट्याउनेहरूसँग मिले । टाउकाको मूल्य तोक्नेहरूसँग तिमीहरू नै हौ हाम्रो टाउको ल्याउनेलाई पुरस्कृत गर्छु भन्नेहरू, हामी तिमीहरूसित गधा भए मिलने भनेर बाझाबाझ गरिरहेका छन् । यसैमा छिमेक छान्नमा फाटो आइरहेको थियो—  को कतातिरको भनेर । कोही उत्तरतिर जाने भन्थ्यो त कोही दक्षिणतिर । फोटोको प्रसङ्गले उप्काएको फाटोको यति कुरा नभनि रहन सकिएन ।

आफ्नै फोटोलाई हेरेर आफैँलाई बेस्मारी गाली गरेमा पनि कसैलाई आक्षेप लाग्दैनथ्यो । यो फाइदा थियो । फोटो हरेर मलाई लागिरहन्थ्यो म नेता हुन सक्ने मानिस कता अलमलिएर पङ्क्ति कोर्ने हुन पुगेछु । यसो गम्भीर चिन्तनपूवर्क फोटो हेर्दा फोटोमा टाउको थियो र टाउकोमा म थिएँ अनुहारसहित । हनुहार हेरेर आफैँलाई नचिन्ने कुरै थिएन । आफैँलाई चिन्नु के थियो मलाई लाग्यो यो मानिसलाई म चिन्दछु । अलिअलि स्वार्थी छ र केही गर्न अल्छी पनि मान्छ । तर धेरै गहिरिएर विश्लेषण गरिनँ । आफ्नै व्यक्तित्वमा छिद्र खोजेर दुनियाँ हँसाउनु थिएन । मान्छे खाउर मोटोघाटो लायकको भए पनि नेता हुने सौभाग्य नपाएकोमा आफैँलाई मैले दुत्कारेँ । कारण यो थियो, राजनीतिमा धरै सुविधा थियो । घोटाला थियो र सुनकाण्ड थियो । कमिसनतन्त्र थियो र बिचौलियाहरूको ब्रिफकेस खान पाइन्थ्यो । यसरी रातदिन पङ्क्ति कोरेर तीन न तेरको हुनु पर्दैनथ्यो ।

फोटोमा अनुहारसहितको जुन टाउको थियो त्यसको मूल्याङ्कन गरिरहेको थिएन । मेरो टाउकोभित्र अत्यन्त गहकिलो गिदी छ भन्ने लाग्ने गर्छ मलाई तर कसैले पनि त्यसको रत्तिभर महत्व दिन चाहिरहेका छैनन् । खोजी गर्दा यो पाइयो कि सबैले आआफ्नो टाउकोलाई महत्व दिँदा रहेछन् । मितको टाउको बेलैसरि फुटे फुटोस् भन्दा रहेछन् । यो स्थापनाले मलाई डराउन दियो । मित म कसैको थिइनँ तर शत्रुता धेरैसँग थियो । कसैले भन्थे, ‘यसले नमस्कारै गर्दैन ।’ कसैले भन्थे, ‘यो स्वार्थी छ । काम पर्‍यो भने खुट्टा मल्छ, पछि तिनै खुट्टा तान्छ । मानिस भरपर्दो छैन । अवसरवादी छ ।’ भन्नेको मुख कसले थुन्ने । म सबैलाई स्वीकृति दिन्थेँ र भन्थेँ मित्र हो आफ्नो आङको भैँसी पनि हेर्ने गर । अरूका आङका् जुम्रा हेरेर सन्तुष्ट हुने नगर ।

मैले आफ्नै फोटोलाई हेर्दै भनेँ— ‘गधा ! तँ कहिल्यै उँभो लाग्ने भइनस् ।’ फोटोमा मुस्काइरहेको थिएँ । मुस्कानसहित म बेवकुफ देखिन्थेँ । अकारण हाँसिरहेको । हाँसेरै उँभो त लागेको थिइनँ । यो त प्रत्यक्ष नै छ । एउटा राम्रो डेरासम्म लिएर बस्न सकिएको छैन । पत्नीको कचकच अलग छ । मैले यी सबै एक कानले सुनेर अर्कोले उडाइदिने गरेको छु । पत्नीले यो थाहा पाएर एकातिरको कानमा कपास कोचिदिने गरेकी छ । किनभने एक कानले सुनेको अर्को कानबाट नउडोस् । एउटा कानबाट सुनेका अर्को कानबाट.कुरा उडेर जान नपाएपछि मेरो टाउको कुकुरझैँ भएको छ जसको बाफको निकास बन्द भउको छ । हुँदाहुँदा मेरो मथिङ्गल धेरै नै कमजोर भएको छ ।

आफैँलाई जति हिलो छ्यापे पनि भो । फोटोमाथि तथानाम गरे पनि पभो । जति तथानाम गरे पनि हिलो छ्यापे पनि आफ्नै फोटोमाथि पर्ने थियो । तर सोच्नु पर्ने खण्ड यो थियो, स्वनिन्दाभन्दा परनिन्दामा मजा छ । आफ्नै निन्दा के निन्दा । टोलैभरिकाले मेरै कुरा काटेर बसेका छन् जस्तो लाग्छ । टोल भन्नाले संगीसाथीहरू र वरपरका परिचितहरू । तिनी सबैको घरघर गएर निम्तोमा मासुभात वा अन्य स्वादिना परिकार डम्फ्याएर आइएको छ । मात्र आफूले निम्त्याएर खुवाउन सकिएको छैन । यो पनि एक किसिमले कुरा काट्ने विषय बन्थ्यो । ढाडमा टेकेर टाउकामा हानेजस्तो भइरहेछ भन्थे टोलछिमेकहरू । भन्थे ‘नेताहरूले खर्लप्पै मुलुकको ढुकुटी निलेर बसेका छन्, यो मोरोलाई मतलब छैन । आफूले पनि कुम्ल्याउन पाइएको छ भनेझैँ मुस्काएर हिँडेको छ मानौँ उसका नजरमा हामी सबै सुखी छौँ ।’

‘महाचाकरी बाज छ यो मान्छे, दिन नबिराई नेताहरूको चाकरीमा जान्छ र केही न केही घरभित्र हुल्छ’ भन्ने तिनको ठम्याइ थियो । मैले यो बुझ्न सकिनँ किन तिनले त्यसो भनेका हुन् । मैले त खाएको छैन । म मात्र मुस्काएर हिँड्ने गर्छु । तिनलाई लाग्दो हो नेताहरूले खाएकोमा मेरो पनि भाग लाग्छ त्यसैले सधैँ अघाएझैँ मुस्काएर हिँड्छ । कुरो यो पनि हुन सक्थ्यो तिनीहरूको मनमा तुस होस्, यसले हामीलाई खुवाएन । म आफैँ त आधापेट खान धौधौ पाइरहेको छु भने कसरी अरूलाई खुवाउँला ? घरमै खानपिनको सामग्रीको कमी छ । बाहिरकालाई बोलाएर खुवाउने स्रोत नै थिएन । नेताहरूले खाएको खायै छन् । मसँग रिसाएर के गर्ने ?

त, मैले आफ्नो असमर्थता वा असफलतालाई आफ्नै फोटो अगाडि उभिएर फलाक्न थालेँ । खानु खाइस् अब छेर् । तर खाएको के थिएँ र ? बासी खाएर कहिलेकाहीँ पखालो चल्थ्यो । त्यतिलाई विषय बनाएर मैले खाएको यै हो भनेर समाजमा बोल्न सकिँदैनथ्यो । गर्नु के नै सकिन्थ्यो र ? फोटोमा मै थिएँ । मलाई कताकता बिझायो । यो ठीक भएन । फोटो बोल्न सक्दैनथ्यो, अचाक्ली गर्नु भएन । फोटाको व्यक्तिसित क्षमा माग्दै भनेँ, ‘म यस्तो थिइनँ तर परिस्थितिले यस्तो बनायो ।’

नेताहरूले आफ्नै फोटा राखे कार्यालयमा । भनिएको थियो कार्यालपिच्छे एउटा किसानको फोटो राख, जसले फाटेको घेरो भएको टोपी लाएको हुन्छ, जो मैलो कछाडमा बेरिएको हुन्छ त्यस्तो गरिब किसानको फोटो राख । के हुन्थ्यो, नेताहरूले आफ्नै रङ्गीन फोटो राखे । मोटोघाटो, रातापिरा गाला भएको र पदले कुतकुत्याएर हाँसेको फाेटो । गरिब किसान त गाउँमै भोकप्यासै छ ।

नेताहरूको ठाउँमा किसानको फोटो भए ? म नेता हुन सकिनँ मलाई गाली नगर्नोस् भनेर आफैँसँग क्षमा माग्दै दुई थापा आँसु खसाल्नै लागेको थिएँ, मेरो फोटो एउटा नेताको तस्विरमा साटियो र सजीव भएर आयो । म चकित थिएँ तर तस्विरभित्रको नेताले हाँस्दै भन्यो, ‘खाइएकै छ । मेरो पालो थियो खाएँ । अहिले मलाई सरापेर के गर्ने ? बाँडेर खाने चलन हुँदैन कतिपय नेताको । नेतानेताहरूबीच कुरा मिले बाँडेर खान्छन् । खर्चिलो चुनावको उदाहरण अगाडि राखिएको हुन्छ । तीन दल वा चार दल वा पाँच दल मिलेर खानु पर्ने खण्ड भएमा त्यसै गरिन्छ ।’

म चकित त थिएँ, मभित्र यति ठूलो दूरदर्शी विद्वान् नेताको बास रहेछ । ‘हैन, मैले प्रण गरेको छु अरुमाथि हिलो नछ्याप्ने भनेर । दलहरूका नेताहरूलाई सम्मिलित गराएर कुरा गर्दा उनीहरूमाथि हिलो छ्यापेको ठहर्ला त । हैन मुलुकको राजनीति नै हिलोमय छ । बिना हिलो नछ्यापी कसैले कुरै गर्दैन । सबै गनाउने् हिलो खेल्नमै रमाइरहेका छन् ।’

तस्विरभित्रका नेताका कुरा ठीकै लागे । खानेडकार्ने परिपाटी कसरी बसाल्ने भन्ने चिन्ताको बीउ नेताले नै रोपिदिएको छ । नेताका छोरोछोरीले सुनकाण्डमा बठ्याइँ गरेर सम्पत्ति अपार कमाए । नेताहरू सबैका छोराछोरी त्यसमा मुछिएका छन् । एउटाको सन्तानलाई कारवाही गर्दा अर्काको मुछिन्छ । भएन भनेर सबै नेता चुप छन् । भनेका छन्— भविष्यमा मुलुक हाँक्ने यिनै हुन् । जनताले चित्त नदुखाऊन् । दोस्रो पुस्तालाई सुनजस्तो अमुल्य पदार्थ हस्तान्तरण होस् भन्ने सोचेका छौँ । पुस्तान्तरण गर्नु पनि छ । हाम्रा अवगुणहरू तिनमा पनि छन् ।’

टिभीमा देखिने उनीहरूका सन्तानका तस्विर सुटेडबुटेड छन् । मैले आफ्नो फोटोको मानिसलार्ई हेरँ । गरिबीले पीडित देखियो । तस्विरमा हाँसिरहे पनि उसको अनुहारमा नेताका छोरामा हुने रौनक थिएन । ख्याउटे देखियो । टिभीमा देखा पर्ने नेताका छोराहरूको तस्विरमा यो प्रस्टै हुन्थ्यो, दोस्रो पुस्ताका नेता तिनै हुन्, ती मुलुकको ढुकुटी खान सिकिरहेका छन्, मोटाघाटा पनि छन् । उनीहरू के आआफ्ना दलका नेता हुने हुन् नेतापिताको अवसानपछि । फोटोमा म थिएँ तर तस्विर बरोबर कामिरहन्थ्यो, किनभने सट्टामा अर्को अनुहार बरोबर आएर अतिक्रमण गरिरहेको थियो । त्यो अनुहार खन्चुवा माफिया वा बिचौलियाहरूको हुन्थ्यो । पङ्क्तिकारले सोच्यो— फोटोमा पनि सुखले बस्न दिने भएनन् । सरकारी जग्गा खाएझैँ ठाउँ मिच्न यहाँ पनि आइपुगे ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x