साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै ३४ वर्षसम्म यसरी नै लेखिरहने शक्ति कायम रहोस् !

अधिकांश निबन्धहरू राजनीतिक दल, नेता, तिनीहरूका काला कर्तुतहरू, भ्रष्टाचार र अकर्मण्यतामाथि नै खनिएका छन् । राजनीति बाहेक पनि विसंगतिले ढाकिएका अनेक दिशामा भष्मासुरका व्यङ्यका अगुल्टाहरू ठोकिएका छन् ।

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

अग्रज व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल, उपनाम ‘भष्मासुर’ मेरा पुराना परिचित हुनुहुन्छ । हामी एउटै पार्टीका सदस्य हौँ, ‘हास्यव्यङ्ग्य पार्टी’ । अचम्म, एउटै पार्टीमा बसेर पनि हामी एकअर्कालाई गाली गर्ने, आलोचना गर्ने, सराप्ने वा धारे हात लगाउने गर्दैनाैँ । एकले अर्कोलाई छिर्के हान्ने, लडाउने काम गर्दैनौँ । हामी मिलेर बसेका छौँ । मिलेर बसेका मात्र होइन हामी एकअर्कालाई सम्मान गर्छाैँ, एकअर्काका रचना पढ्छौँ र समीक्षा पनि गर्छाैँ।

आधा दर्जन कृतिका स्रष्टा दाहालका यसअघि मैले दुईवटा व्यङ्ग्य कृतिहरू पढ्ने अवसर पाएको थिएँ । भष्मासुरका खित्का निबन्ध सङ्ग्रह र डिबडिबे कविता सङ्ग्रह । व्यङ्ग्य निबन्धको अर्को कृति प्रकाशन हुने अन्तिम तयारी भएपछि यसको पाण्डुलिपि मेरो कम्प्युटरे भाँडोमा खुत्रुक्क आइपुग्यो । पाण्डुलिपिका पछिपछि आयो टेलिफोन कल । ‘लु गाम्नागेजी, यो हेरिदिनुपर्‍यो र केही वाक्यहरू पनि लेखिदिनुपर्‍यो ।’ यो आग्रह थियो बद्री सरको । उहाँ उमेरले मभन्दा ठ्याक्कै १० वर्ष र २ दिनले दाजु हुनुहुन्छ । दाजुका सिर्जना मैले हेर्नु त ठिकै हो, तर लेख्नु त के लेख्नु । अलि पाका, पुराना, व्यङ्ग्यकारहरू वा समीक्षक, समालोचकहरूलाई यो आग्रह गर्नुभएको भए हुन्थ्यो भन्ने मलाई लागेको हो । मेरो यसप्रकारको आशयमा उहाँको जवाफ थियो, ‘मैले तपाईंलाई नै मानेँ नि त, भएन ?

अनि त मैले पनि दाजुले भनेको खुरुक्क मानेँ र निबन्धहरू पढ्न थालेँ । पढिसकेपछि लेख्नु पनि पर्ने आज्ञा छ । बद्रीप्रसाद दाहाल हास्यव्यङ्ग्य लेख्दा लेख्दै कपाल पकाइसक्नुभएका स्रष्टा हुनुहुन्छ । उहाँका रचना यस्ता उस्ता भन्ने क्षमता म राख्दिनँ, त्यो काम मेरो हुँदा पनि होइन । आफू पनि लामै समयदेखि यही क्षेत्रमा लागेको नाताले हास्यव्यङ्ग्य साहित्य पढ्दा र आफैले लेख्दा प्राप्त गरेको अनुभव, अनुभूतिका आधारमा यस्सो केही पाठकीय विचार मात्रै प्रस्तुत गर्छु र दाहाल सरलाई टार्छु ।

हास्यव्यङ्ग्यका सफल र उत्कृष्ट मानिएका अग्रजहरूका किताब पढ्दा मैले हास्यव्यङ्ग्य लेखनमा केही विशेषताहरू पाएको छु ।

पहिलो र महत्वपूर्ण विशेषता व्यङ्ग्य रचना हुनलाई कुनै पनि विषय, प्रसङ्गलाई उल्ट्याएर लेख्नु पर्ने रहेछ । व्यङ्ग्यमा सेतोलाई कालो, दिनलाई रात, दुःख र पीडालाई आनन्द, भ्रष्टलाई सज्जन र इमान्दारलाई बेइमान भनेर प्रस्तुत गर्न सकियो भने त्यस्तो व्यङ्ग्य साँचो अर्थमा व्यङ्ग्य हुने रहेछ । त्यसरी लेख्न सके व्यङ्ग्य उत्कृष्ट, पठनीय र स्तरीय हुने रहेछ । हास्यव्यङ्ग्यमा भ्रष्टको आरती उतार्ने र सज्जनको छाला काड्ने शैली अपनाउनु पर्ने रहेछ । अरूलाई गाली गर्नुभन्दा आफैलाई पात्र बनाएर आफैलाई गाली गर्नु पर्ने रहेछ । आफू सोझो र इमान्दार भएकामा थक्क थक्क मान्नुपर्ने रहेछ । अथवा आफैलाई फटाहा र बदमास पात्रको रूपमा प्रस्तुत गर्दा पनि आफूले गरेका बेइमानी, भ्रष्टाचार र दुराचारलाई पाठकले थाहा पाउने गरी नै ढाकछोप गरेर मैले कति राम्रो गरेको छु भनेर प्रस्ततु गर्न सक्दा व्यङ्ग्य रचनाले भित्रैसम्म तरङ्ग ल्याउने रहेछ, आनन्द दिने रहेछ । यस किताबभित्रको एउटा निबन्ध ‘जय शिक्षक, धन्य शिक्षक’ मा व्यङ्ग्यकारले कसरी आफैमाथि उल्टी झटारो हानेका छन् हेरौँः

संवैधानिक अङ्ग लोकसेवा आयोगदेखि चोक वा डबली सेवा आयोगसम्म, मदिरा पिलाइसेवादेखि कोक-फेन्टा तन्काउनेसम्म अनि भुटन, करी, तास र थरीथरीका रमसम्म बेच्ने काममा असफल भएपछि ‘अल्छी तिघ्रो स्वादे जिब्रो’ म मोरो गोबर गणेश शिक्षण सेवामा पो प्रवेश गर्न पुगेँ । सरकारी शिक्षक भएर स्कूल पसेपछि आन्दोलनको हुण्डरीमा लाग्दा लाग्दै स्वतः स्थायीको भाग्यशाली चिट्ठा पारियो । कुनै आयोग सायोगको झन्झटमा नपरी वाक्परीक्षामै कागजस्तो ठहरिएँ । घरपायकको जागिर खाएर शिक्षक नायक भई संघ संगठनको मूल गायक नै बनियो । सत्ताधारी राजनीतिक दलको शुभेच्छुक झर्रो भाषामा भन्नु पर्दा झोले बनेर कयौ स्थानीय चुनावहरू हाँक्ने, जनमत आक्ने, विरोधी विचारका योग्यै भए पनि फ्याँक्ने र न्याक्ने काममा लाग्दा लाग्दै विद्यालयमा पूणर् समय दिन सकिनँ । रातारात चुनाव प्रचार गर्न, मिटिङ धान्न, बाँदरे र हल्लुँडे नायक भनाउँदाको भाषण लेख्न तथा यथायोग्य पम्प्लेट पर्चा बनाउनेदेखि छर्ने कामसम्म व्यस्त हुँदा स्कूलमा त अतिथि शिक्षकजस्तै बन्न पर्‍यो कैयौँ वर्ष ।

शैक्षिक सामग्रीको प्रयोग कुन चराको नाम हो अहिलेसम्म प्रयोगको झन्झटमा फसेको छैन । भएभरका आफ्ना बकुन्द्रालाई बोर्डिङ स्कूलमा धैकलेर सरकारी स्कूलको खबरदारी गर्न कम्मर कसेको झन्नै तीन दसक भएछ गाँठे । आफूले पढाएको स्कूलमा कैयौँ प्रतिभाशाली प्रथम, द्वितीय हुनेलाई आफू शेयर होल्डर भई खोलेको जोनीवाकरएकेडेमी, ससुराले खोलेको एडिसन मेडिकल रिसर्च सेन्टर, सालोले भर्खरै स्थापना गरेको क्युरी मेमोरियल पार्कतिर कानेखुसी गर्दै काजमा पढाइदिन्छु ।

ल हेर्नोस्, कस्तो शक्तिशाली व्यङ्ग्य । राजनीतिक गालीगलौज भन्दा सामाजिक विषयका, अरुलाई गाली गरेका भन्दा आफैलाई व्यङ्ग्य गरेका निबन्धहरू पढ्न साँच्चै आनन्द आउँदो रहेछ । भैरव अर्याल, केशवराज पिँडाली, नरेन्द्र राज पौडेलहरूका धेरै निबन्धमा यो विशेषता पाइन्छ । आफैलाई पात्र बनाएर अरूतिर तीर ठोक्नुको मजै बेग्लै । त्यसप्रकारका थोरै अरू पनि निबन्धहरू छन् यस सङ्ग्रहमा । तिनीहरू निकै पठनीय छन् ।

हास्यव्यङ्ग्य निबन्ध लेख्ने हाम्रा अग्रजहरू र हामीले पनि धेरै प्रयोग गर्ने गरेको शैली अनुप्रासयुक्त शब्दहरूको प्रयोग एक महत्वपूर्ण विशेषता रही आएको छ । यस मामिलामा बद्री दाहालले रामकुमार पाँडेलाई पनि पछि पारौला झैँ गर्नु भएको छ । अनुप्रासयुक्त शब्दहरूको व्यापक प्रयोगबाट निबन्धहरू रमाइला र पठनीय भएका छन् । एउटा पनि निबन्ध नहोलान्, जसमा दर्जनौँको सङ्ख्यामा त्यस्ता शब्दहरूको समुचित प्रयोग नगरिएको होस् । समुचित यस मानेका, कतिले हास्यव्यङ्ग्य लेख्दा अनुप्रास मिलाए पुग्छ भन्ने जस्तो गरेर अप्रासंगिक रूपमा पनि अनुप्रासको थुप्रो लगाएको भेटिन्छ । कतिले त अर्थ नलाग्ने त्यस्ता शब्द पनि थोपरेको भेटिन्छ । तर बद्री दाहालले अनुप्रासको उचित प्रयोग गर्नुभएको छ । पढ्दा कतै बिझाउँदैन । वाक्यहरूमा सर्लक्क मिलेका शब्दहरूको चयन छ । म केही उदाहरण प्रस्तुत गर्छुः

-पुरस्कार, गुहार, पुकार, चित्कार ।
-प्रभाव, दबाब, सद्भाव, अभाव, बकवास ।
-दामवासना, कामवासना, हामवासना ।
– राँको बोकेर डाँको छोड्दै ।
-धूर्त शासकहरूले तक्मा, विभूषण, पुरस्कारलाई क्रमशः तोक्मा, विदूषण र फुत्कारमा रूपान्तर गरेका छन् ।
-राज्य चालकहरूले दुई नम्बरी काला बनियाँलाई सालाकै दोस्रो अवतार ठानेर गाला मुसार्ने रोगले जनता र आम उपभोक्ता हालाबाला बनेका छन् ।
-यहाँ पाउँ भण्डारले खाने कुरामा आउँ पारेका छन्, मासु पसलले आँसुका फसल जन्माएका छन् । कतिपय मिष्ठान्न भण्डार विष्ठान्न पस्कने हुँडार भएको छ ।
-धर्म, कर्म, मर्म, शर्म, चर्म सबै फेर्न र जस्तोसुकै फेटा कस्न तयार छन् पदमा आसक्त माखाहरू ।
-गाला ठोक्न पर्नेलाई माला भिराएर फूलहरूकै अपमान भयो ।
-विभूषणमा विशेष दूषण पस्यो, सम्मानमा अपमान जब्बर भयो, अभिनन्दनमा अभिमन्थन भेटिँदैन, तक्मामा तोक्माको आड देखिँदैन ।
-तमाम पालिकामा जाली झेलीका तीखा फाली लाली घसेर ताली बजाउँदै अनाथगणका छातीमा बाली लगाउन आइपुग्छन् ।
यस्ता शब्द र वाक्यहरूको प्रयोग त कति हो कति । हरेक निबन्धमा, हरेक अनुच्छेदमा मात्र होइन हरेक वाक्यमा अनुप्रासको चमत्कारिक प्रयोग गरिएको छ ।
हास्यव्यङ्ग्य लेखनमा लोकसाहित्यलाई निकै महत्व दिइन्छ । ग्रामीण भाषा, तुक्का, उखानहरूको प्रयोग गरेर रचनाहरूलाई आनन्ददायी, मनोरञ्जक र सरल बनाइन्छ । उखानहरूको प्रयोगका हिसावले बद्री दाहाललाई त उखान पण्डित भन्दा हुन्छ । यति धेरै उखानको प्रयोग भएको छ निबन्धहरूमा, ती उखानहरू जम्मा गरेर एउटा सानो पुस्तक नै तयार गर्न सकिन्छ । पुराना उखान, नयाँ उखान, व्यङ्ग्यात्मक उखान र कतिपय आफैले सिर्जना गरेका उखान समेतको प्रयोगद्वारा निबन्धकारले आफ्ना व्यङ्ग्यहरूलाई प्रभावकारी र सुन्दर बनाएका छन् ।

यस सङ्ग्रहमा प्रयोग भएका केही उखानहरू यस्ता छन्ः
-धाकभन्दा धक्कू ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो
-भाङ्ग्रा टोपीलाई गुँहेलीको फूल
-भातको टपरा आफ्ना साथमा छ भने हजार कौवा नाच्न आउँछन्
-पापीलाई बैकुण्ठ यात्रा
-जसको छैन गोठ, उसकै चिल्लो ओठ
-बोलीचाली धेरै मीठो, चलन व्यवहार साहै छोटो
-बोलेर साध्य र नुहाएर उपाध्य हुने हैन
-एनिहाउ पैसा कमाउ
-चिप्ले मुखको धमिलो पेट
-मिठौरे मुख, तितौरे काम
-मिश्रीको गुलियो र कागतीको अमिलोले बिगार गर्दैन
-रक्सी खानेको खुट्टा लुलो, गाँजा खानेको आँखा ठूलो
-रक्सीको मातले एक रात, बैसको मातले जिन्दगी बरबाद
-कलिका बाहुन, वेद पुराण बेच्न जाऊन्
-दिनभरि बाहुन रातभरि डाउन
-कलि युगमा मानिसभन्दा बुद्धि छोटो, बुद्धिभन्दा लुगा छोटो
-जोगीको जात अँधेरी रात
-जोगी हुन सजिलो जोगिन गाह्रो
-सरादेको सालो, तिहारको ज्वाइँ, पुसको लौरो बूढीको म्वाइँ
-डढेको मुखलाई खुदो हालेको सातु

यी त मलाई विशेष मन परेर मात्रै यहाँ उल्लेख गरेको हुँ । तपाईंलाई मन पर्ने उखान, टुक्काहरू पुस्तकभित्र सयौँको सङ्ख्यामा छन् ।

दाजुले किताबका कमीकमजोरी पनि खुट्याइदिनु है भनेर विशेष आग्रह पनि गर्नुभएको छ । यो जिम्मा चाहिँ समालोचकहरूलाई दिनुहोला । किताब पढ्दै जाँदा कतैकतै लागेका एकदुई कुरा चाहिँ खुसुक्क भन्छु- दाजुका कुनै कुनै रचनाहरू चाहिँ गैर-व्यङ्ग्यात्मक विशेषता भएका पनि रहेछन् भन्ने मलाई लाग्यो । शायद उहाँले त्यस्ता निबन्धहरूलाई पनि एउटै कृतिमा अटाउन खोजेको हुनुपर्छ । उदाहरणका लागि भागबण्डावाद, विशाद र अभिशाप भन्ने यो निबन्धको अंशमा चै व्यङ्ग्य गायव भएको छः

‘त्यतिखेर सत्तागठबन्धनको राजनीतिक दबाबले दसौँपटकसम्म बैठक बसेर गरेको न्यायपरिषद्को परामर्श र छलफललाई बेवास्ता गर्दै तीन जनाको बहुमतको नाममा उच्च अदालतको न्यायाधीश छनोट गरेर स्वतन्त्र न्यायपालिकाको चीरहरण गरेकोमा सर्वत्र असन्तुष्टि र विरोधका स्वर गुञ्जन हुन पुगेका थिए । नेपाल वार एसोसिएसन जुन नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासको अनन्य लडाकू पात्र हो । जसले विगतमा नैतिकताबाट खुइलिएका दलका शीर्ष तहका नेताहरूबाट हुन नसकेको आन्दोलनलाई नागरिक समाजमार्फत आफ्नो अगुवाइमा परिवर्तनलाई सहज बनायो, त्यस्तो प्रभावशाली दवाव समूहलाई छाँयामा पारेर प्राविधिक निणर्य गरी अतीतलाई भुल्दै नैतिकता, विवेक, मूल्य र सदाचरणमाथि हमला हुनु लोकतान्त्रिक न्यायप्रणालीमा गहिरो धक्का हान्नु हो । न्यायपरिषद्का वरिष्ठतम न्यायाधीश र सिङ्गो वारलाई उपेक्षा गरेर भागबण्डावादले न्यायमूर्ति छनोट गर्नु समग्र लोकतान्त्रिक मूल्यमान्यतामाथि धावा बोल्नु हो ।’

त्यस्तै विभिन्न सरकारी तथ्याङ्कसहितको जिन्दावाद दशैँ निबन्धको यो अंश पनि सोझो निबन्धको रूपमा रहेको छ ः

‘नेपालमा सरकारी कर्मचारीले मात्र दशैँ खर्चका नाममा झन्नै २६ अर्ब रूपैयाँ पाउँछन् । सबै निकायका गरी झन्नै पौने पाँच लाख कर्मचारी रहेछन् यतिखेर नेपालमा । केन्द्रीय तथ्याङ्क विभागको आकडामा मुलुकभर नौ लाख बाईस हजार उद्योगधन्दामा काम गर्नेहरू चौतीस लाख रहेछन्। जसको लागि दसैखर्च पचास अर्ब लाग्छ । केन्द्रीय सरकारदेखि स्थानीय सरकारसम्मका कार्यकारी र व्यवस्थापिकालगायतका अन्य राजनीतिक नियुक्तिका पदहरूको दसै खर्च त अझ यहाँ उल्लेखै छैन । हाम्रो संस्कृति परंपरालाई उत्पीडक रूपमा उभ्याउने वर्ग प्रायः ठूला बडा नै हुन् । किनकि ठूलाबडा नै रोलमोडल भएको हुँदा साना मानिसहरूले अनुकरण गर्न परिगो…’… ।

यस्ता अरु पनि केही निबन्ध छन् जसमा व्यङ्ग्य कम फेला पर्दछ ।

नेपाली साहित्यमा हामी धेरै जसो व्यङ्ग्यकारहरू राजनीतिक व्यङ्ग्यतिरै सोझिएका छौँ । बद्री दाहाल भष्मासुरले पनि राजनीतिलाई नै केन्द्रमा राख्नुभएको छ । उहाँका अधिकांश निबन्धहरू राजनीतिक दल, नेता, तिनीहरूका काला कर्तुतहरू, भ्रष्टाचार र अकर्मण्यतामाथि नै खनिएका छन् । राजनीति बाहेक पनि विसंगतिले ढाकिएका अनेक दिशामा भष्मासुरका व्यङ्यका अगुल्टाहरू ठोकिएका छन् । सामाजिक, साँस्कृतिक, शैक्षिक लगायत विविध क्षेत्रका बिब्ल्याँटा कुराहरूलाई सुल्ट्याउने आग्रहका साथ निबन्धहरू कुँदिएका छन् । राजनीतिक दल र नेताहरूका चुनावी भाषण र वास्तविकता, आफ्ना स्वार्थ पूरा गराउनका लागि बारम्बार हुने बन्द हड्ताल, तक्मा र पुरस्कारहरूका हरिबिजोग, बजारको मनपरीतन्त्र, कालोबजारी, मिसावटको समस्या, सरकारले गर्ने असारे विकासमा हुने भ्रष्टाचार, चाडपर्वका नाममा भित्रिएका विकृति, नेपाली भाषामाथिको अतिक्रमण, पुरानो र नयाँ पुस्ताबीचको द्वन्द्व, धार्मिक आडम्बर, जोगी र बाबाहरूले देखाएका चर्तिकला, सामाजिक सञ्जालमार्फत छिरेको विकृति, यातायात क्षेत्रका विसंगति, वार्ताका नाममा भइरहेका नौटङ्की, नेपालीपन गायब भएको फेसन, चिकित्सा क्षेत्रका विकृति आदि अनेक क्षेत्रलाई यी सिर्जनाहरूले चोर औलो ठड्याएका छन्, खबरदारी गरेका छन्, सुध्रिनका लागि आग्रह गरेका छन् । समग्रमा भन्दा बद्री दाहालका यी निबन्धहरूले नसमेटेको क्षेत्र कुनै छैनभन्दा पनि हुन्छ ।

अन्तमा, आफ्ना वरिपरिका हास्यास्पद घटना, विकृति, विसङ्गति, बेथिति र अन्यायहरूलाई देखिनसहने गम्भीर रोग पालेर बसेका अग्रज व्यङ्ग्यकार आदरणीय दाजु बद्री दाहालज्यूलाई यस नयाँ कृतिका लागि हार्दिक बधाई दिन्छु र अझै ३४ वर्षसम्म यसरी नै समाजका शत्रुहरूलाई भस्म पार्ने व्यङ्ग्यबमहरू बनाइरहने शक्ति रहिरहोस् भन्ने कामना गर्दछु ।

भुलचुक लिनेदिने ।

०००
-सिस्नुपानी नेपाल, सिनामंगल काठमाडौं ।
‘माला चिन्तन’ (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x