सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुरुलाई चिठ्ठी

व्यवहारमा गुरुको पथ बिर्सिएर कमाएर रमाउने पथमा पाइला बढाइ सकेपछि पनि गुरु भनेको भगवान हुन् भन्दै फेसबुकमा बनावटी पोष्ट गर्न सकिन गुरु ! यो त पोइल गएपछि पनि पुरानै लोग्नेको आदेश माने जस्तै भएन र ?

Nepal Telecom ad

चिरञ्जीवी दाहाल :

आदरणीय गुरु, शाष्टङ्ग दण्डवत् ।
यहाँको सानिध्यमा रहेर केही वर्ष अध्ययन गर्ने मौका पाएकोमा सर्वप्रथम यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु । अध्ययनका अवसरमा यहाँसँग सिकेका कुराहरूले जीवन सफल बनाउँला, असल नागरिक बनौँला, संसारको नमुना शिष्य बनौँला भन्ने जुन मेरो चाहना थियो, त्यसलाई बिचमै रोकेर बाटो परिवर्तन गर्नु परेकोले यो पत्र लेख्दैछु । गुरु मलाई माफ गर्नुहोला, किनकि मैले यहाँले देखाएको बाटो परिवर्तन गरेँ । यहाँले प्रयास गरे जस्तै म एउटा आदर्श शिष्य बन्न सकिनँ त्यसका लागि पुनः क्षमा चाहन्छु ।

यहाँले त्यसबेला कति जोड दिँदै, अनियमितता गर्न, लुट्न, ठग्न हुन्न भनेर सिकाउनु भयो । तर लागेको बानी कसै गरे पनि त्याग्न सकिएन । यसो नगर्ने कोशिस गरेँ तर अधिकांश मान्छेले गरिरहेको देखेपछि त्यसबाट म अलग हुन कसरी सक्छु गुरु, म हारेँ । बाध्य भएर अनियमितता गर्ने, लुट्ने, ठग्ने र छलकपट गर्ने पेशालाई रोज्नु पर्‍यो । जीवनको सबै खुशी र सन्तुष्टि यसैमा रहेछ ।

यहाँले भ्रष्टाचार महापाप हो भन्नुहुन्थ्यो, यो लोभी नजरले भ्रष्टाचारलाई पाप होइन फलिफाप मात्र देख्यो । भ्रष्टाचार नगरे एक्लो वृहस्पति हुने भइयो । समाजमा एक्लै बाँच्ने कुरा कल्पना पनि गर्न नसकिने रहेछ गुरु ! मैले समाजको साथ र सङ्गत चटक्क छोड्न सकिनँ ! यहाँको विचारलाई त्यागेर म अहिले समाज र केही नाम चलेका अगुवाहरूको पथमा लम्किरहेको छु ।

गुरु, हजुरले ठूलाबडालाई आदर सत्कार र सम्मान गर्नुपर्छ, कहिले पनि घमण्ड नगर्न भन्नु भयो तर यसरी कसैलाई आदर सत्कार गर्दा र घमण्ड त्याग्दा किन किन मलाई आफ्नो स्वाभिमान झुकेजस्तै लाग्यो । म हजुरको शिष्य भएर पनि कसैको सामु झुक्ने कुरा आएन नि गुरु ! अचेल मलाई आफू बाहेक सबै अज्ञानी हुन जस्तो लाग्छ । सायद म भन्दा ठूलो र ज्ञानी मान्छे संसारमा कोही छैन ।

त्यसबेला यहाँले नैतिकता र इमान्दारिताका पाठ पढाइ रहँदा मैले अक्षरस पालना गर्छु भन्ने सोचेको थिएँ । धरोधर्म गुरु, केही समयसम्म मैले यस्तो सोचेकै हो । केही समय परिक्षण गरेर पनि हेरेँ । तर आफ्नो व्यक्तित्वमा खासै निखार आएन । व्यक्तित्वमा निखार नआएपछि इमान्दारी बनेर रहिरहन अत्यन्त कठिन भयो गुरु ! त्यसैले म पनि वर्तमानमा विकसित संस्कार अनुसार बेइमान बनेको छु । पटक्कै चित्त नदुखाउनु होला । कलियुगको चरम प्रभावले हुनुपर्छ, आजभोलि इमान्दार भन्दा बेइमानहरूले इज्जत बढी पाउँछन् । जताततै यिनकै चर्चा हुन्छ । मान सम्मान यिनकै बढी हुन्छ । इज्जत र मान सम्मानको भोक नलाग्ने कोही होला र गुरु ? त्यही भोकमा कारण म पनि बेइमान बनेँ ! फेरि इमान्दार बन्नु भन्दा बेइमान बन्न हजार गुना सजिलो पनि त छ नि !

यहाँले ज्ञान दिने बेला भन्नु भए जस्तै धर्म संस्कार र परम्परामा टेकेर हिँडिरहन पनि सकिएन । त्यो धर्म भन्ने कुराले पाइला पाइला दुःख दियो गुरु ! ढुक्कले भ्रष्टाचार गर्न पनि नपाइने, अत्याचार गर्न पनि नपाइने । फेरि यसो साँझपख राम रमाइलो गरौँ भन्यो, त्यो धर्म सामुन्ने देखेपछि मन झसङ्ग हुने रहेछ । याद गर्नुस् त, जब धर्म थियो, हामी यति विघ्न छाडा हुन पाइएको थियो र ! अँह कता कता धर्मको डर लाग्थ्यो । त्यसैले हामी केही अगुवाहरू मिलेर त्यो धर्म नाम गरेको वस्तुलाई बोरामा हालेर बागमतीमा सेलायौँ गुरु ! दुःख नमान्नु होला !

त्यति विघ्न फोहर भएको बागमतीमा पसेर कसैले त्यो बोरा फेरि निकाल्छन् कि भन्ने चिन्ता पटक्कै लाग्दैन । त्यस्तो ठाउँमा को पस्न सक्छ ? बेलाबखत एक दुई जनाले बागमतीमा पसेर त्यसलाई निकाल्ने कुरा गर्छन् । हामीले बुझेका छौँ, त्यो तिनको कुरा मात्र हो । हामीलाई हाँसो लाग्छ । तिनले धर्म त के कुरा, धर्मको रौँ पनि फेला पार्न सक्दैनन्, हामी ढुक्क छौँ । तिनले फेला पारे पो निकाल्नु !

जब हामीले धर्मलाई विसर्जन गर्याैँ, अचेल आनन्द भएको छ । त्यसैले त अचेल हामी सबै कर्म निकै ढुक्कले सम्पन्न गर्छाैँ ! धर्म वरिपरि नदेखेपछि पापको डर फिटिक्कै नलाग्ने रहेछ । धर्म भए पो पापले दुख दिने रहेछ त ! धर्मै नभएपछि के को पाप ? अचेल जे गरे पनि छुट पाउने गरेका छौँ।

त्यसैले अचेल बाटो सफा भएको छ गुरु ! हामीलाई अवरोध गर्ने कुनै तत्व अब बाँकी छैनन् । धर्म सेलाइ हालियो । अलिअलि बोल्न खोज्नेलाई विदेश जाने वातावरण मिलाइ दिएका छौँ । कति गइसके कति जाने तरखरमा छन् । थोर बहुत पढेलेखेकाहरू विदेश गएर पिज्जा व्यापारमा मस्त छन् । बाँकी औँला उठाउन खोज्नेहरू स्थानीय निकाय, प्रदेशतिर पठाइदिएका छौँ । तिनीहरू त्यतै कनिका केलाउनमै व्यस्त छन्, तिनले कनिका फेला पारेपछि औँला उठाउने कुरा पनि भएन । अनि गाँउ शहरमा खासै मान्छेहरू बाँकी छैनन् । त्यसैले अचेल निर्धक्कसँग कमाइएको छ भन्नुपर्छ । भो गुरु, तपाईंले भनिरहने वरत्र र परत्रको कुरा नगर्नुस् । परत्र कसले देखेको छ र जेसुकै होस् । वरत्र राम्रोसँग सुधारेका छौँ । यस भन्दा पहिला मेलामा पनि नपत्याउनेहरूले अचेल हामीलाई बेला रहेसम्म पत्याउँछन् । यसैमा खुशी छौँ गुरु ।

केही पढेलेखेका युवा र देश खाइ शेष भएका केही भलादमीहरूले उन्नति गर्ने भए पुरातनवादि सोच त्याग्नु पर्छ भने , कुरो यथार्थ रहेछ । नभन्दै हिजोका हातीछापवालाहरू आधुनिक बन्दा छोटो अवधिमै मालामाल बनेको देखियो । त्यो देखेपछि मेरो पनि मन फेरियो गुरु ! उन्नति भन्ने कुरा मेरो चाहिँ शत्रु हो र ? त्यसैले म पनि आधुनिक बन्ने सोचाइमा पुगेको हुँ । मलाई पनि अब पाखे र असभ्य बन्न मन छैन गुरु ! यसै क्रममा मैले पनि श्रीमतीसँग डिभोर्स गरेँ । अचेल डिभोर्स गर्नेहरूलाई आधुनिक र उच्च घरानियाँ मानिन्छ । यो त वास्तविक फेसन बनेको छ । समयसँग सँगै चल्नै पर्‍यो ।

त्यसैले यहाँले देखाएको बाटोमा म पटक्कै हिँड्न सकिनँ । यहाँले हिँड्न सिकाएको बाटो कष्टकर रहेछ । हुन्छ भने मलाई माफ गरि दिनुहोला गुरु ! फेरि तपाईंले हिँड्नुपर्छ भनेको बाटोमा कमाइको कुनै श्रोत पनि त थिएन ! नकमाइ बस्न मनले मान्दै मान्दैन । अचेल उठ्न, बस्न, हिँड्न, सुत्न, चुनाव जित्न, ठूलो मान्छे बन्नलाई पनि पैसा चाहिन्छ ।

पैसा कमाउनलाई यहाँले सिकाए जस्तो इमान्दार बनेर सिधा र लामो बाटो हिँडेर सकिन्न । जेनतेन राजनीतिमा छिर्न सके मालामाल होइन्छ भन्ने कुरा मैले बेलैमा बुझेँ गुरु ! म पनि राजनीतिमा प्रवेश गरेँ । फेरि अचेल राजनीतिको दायरा पनि फराकिलो पारिएको छ । अचेल राजनीति गाउँको सिंहदरबार र शहरको सिंहदरबारमा मात्र होइन, विद्यालय, कलेज, विश्वविद्यालय, सरकारी अड्डा र सबै शिक्षा, स्वास्थ्य, साहित्य, समाजसेवा सर्वत्र व्याप्त छ । जुन क्षेत्र अँगाले पनि आखिर गर्ने राजनीति नै हो ।

मलाई माफ गर्नुहोला गुरु, इज्जत भन्ने कुरा त्यस्तै रहेछ । त्यो छुसी इज्जतले के दिन्छ ? जसो गर्न पनि पैसा अघि सार्नुपर्ने भए पछि न भ्रष्टाचार गर्न लाज लाग्दो रहेछ ! न तस्करी गर्न शरम लाग्ने रहेछ । मौकामा ठाउँमा पुगेको बेला नकमाए कहिले कमाउनु ! फेरि आफूलाई मात्र कमाएर पनि त पुगेन नि ! कमसेकम सात पुस्तालाई नभए पनि तीन पुस्तालाई पुग्ने त कमाउनै पर्‍यो !

पैसा कमाउँदा पद खुस्किएछ भने जाबो त्यै पद खुस्किएला । हुन त त्यो पद पनि कसरी खुस्किनु ? यहाँ बेइमानी गर्दा कस्को पद खुस्किएको थाहा पाइएको छ र ? एउटा पनि उदाहरण छैन । केहीले दोषी भन्दै औंला उठाए पनि अर्काथरीले दोषी होइन भनिदिइ हाल्छन् । हजुरको शिष्य हुँ, म पनि सारा मान्छे जस्तै सजिलै उम्कन सक्छु गुरु ! नैतिकताको कुरा त अर्कालाई सिकाउने विषय मात्र रहेछ । लाग्छ, अचेल नैतिकता भन्ने शब्द पनि हुन्छ र ? उहिले एकताका दशरथ रङ्गशालामा फुटबल खेल्दै गर्दा आएको हावा हुरीमा ७० जना मान्छे मर्दा नैतिकता देखाउँदै एकजनाले राजिनामा दिएका थिए त्यस पछि त्यो घटना सँगै नैतिकता नामको शब्द पनि सती गए छ नि गुरु ! अचेल जे गरे पनि जसो गरे पनि राजिनामा दिनु पर्दैन । नैतिकता त भए पो देखाउनु !

तपाईंलाई लागेको होला “दुनियाँले फेसबुकमा आफ्ना गुरुको फोटो टाँसेर गुरुभक्ति प्रस्तुत गर्दा तँ भतुवाले दुई लाइन कोर्न पनि सकिनस् ?” भन्नु होला । व्यवहारमा गुरुको पथ बिर्सिएर कमाएर रमाउने पथमा पाइला बढाइ सकेपछि पनि गुरु भनेको भगवान हुन् भन्दै फेसबुकमा बनावटी पोष्ट गर्न सकिन गुरु ! यो त पोइल गएपछि पनि पुरानै लोग्नेको आदेश माने जस्तै भएन र ? मसँग त मनभित्र जे छ बाहिर पनि त्यही हुन्छ । कुनैदिन साच्चिकै सुध्रिएछु भने कुनै गुरु पूर्णिमाको शुभकामना अवश्य पनि टक्रयाउने छु, अन्यथा यसै पत्रलाई अन्तिम पत्र सम्झनु होला । तपाईंले दिएको बाटो छोडेर अर्कै बाटो लागियो हस् ।

-उहीँ तपाईंको पूर्व शिष्य

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बाघेझाप्पु

बाघेझाप्पु

चिरञ्जीवी दाहाल
आँखाले नदेखे पो मुटुले सहन्छ !

आँखाले नदेखे पो मुटुले...

चिरञ्जीवी दाहाल
शुभकामना भनिदिएँ

शुभकामना भनिदिएँ

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी