चिरञ्जीवी दाहालआँखाले नदेखे पो मुटुले सहन्छ !
छानीछानी सबै जनताको आँखा र कान बन्द गरिदेऊ प्रभु ! देख्न पनि पर्दैन सुन्न पनि पर्दैन, न मुटुलाई नै सुनाउनु पर्ने थियो ! सृष्टिको विधान बमोजिम आँखाले देखेपछि र कानले सुनेपछि मुटुलाई सुनाउनै पर्यो ।

चिरञ्जीवी दाहाल :
आँखाले नदेखेको कुरा पो मुटुले सहन सक्छ तर आँखाले देखिसकेपछि त मुटुले सहने कुरै भएन ! जब मुटुले सहन सक्दैन, प्रतिक्रिया फेरि आँखाले नै दिनुपर्छ । चाहे आँसु बगाएर होस् चाहे आँखाको रङ्ग परिवर्तन गरेर होस् । सृष्टिकर्ताले मान्छेको शरीरमा भएका भित्री र बाहिरी अङ्गहरूको बनावट यसरी मिलाएको छ कि हरेक अङ्गहरू एक अर्कासँग सम्बन्ध राखेर मात्र आ-आफ्नो कार्यसञ्चालन गर्ने गर्छन् । जब आँखाले विकृित र विसङ्गति देख्छ तुरुन्त मुटुलाई खबर गर्छ । मुटुले पुनः तिनै आँखालाई प्रतिक्रिया दिएर विरोध प्रदर्शन गर्न भन्छ, आँखाले प्रतिक्रिया दिन सुरु गरिहाल्छ । केहीबेर अघिसम्म तेजिला र सामान्य अवस्थामा रहेका आँखाहरू एकाएक पाकेको गोलभेडा जस्तै र कहिलेकाँही हान्ने गोरुका जस्तै राता राता हुन थाल्छन् । केही बेरमा आँखामा आँसुको बाढी बग्न थाल्छ । मुटुले आँखालाई मात्र होइन मुखलाई पनि आदेश दिने गरेको छ ।
कुरा आँखाको मात्र होइन, कानको पनि उस्तै हो । कानले सुनेको कुरा पनि मुटुलाई सुनाउने गर्छ, मुटुले पुनः आँखा र मुखलाई कडा प्रतिक्रिया दिन निर्देशन जारी गर्छ । यो क्रम सत्ययुग देखि आजसम्म पनि परिवर्तन हुन सकेको छैन् । सायद विधाताको कानुन मान्छेको जस्तो आफूलाई नछुने दुस्मनलाई छुने गरि परिवर्तन गरिएको हुँदैन । सबैलाई एकनासको हुन्छ र सधैँ एकनासको हुन्छ । त्यसैले शरीरका आन्तरिक र बाह्य अङ्गहरूको कार्य विभाजनमा फेरबदल हुने गरेको छैन् । यदि फेरबदल हुने थियो भने कहिलेकाहीँ आँखाले सुन्ने र कानले देख्ने जिम्मा पाउन सक्थे । नाकबाट बग्ने सिँगान मुखबाट झर्न सक्थ्यो । अझै खाने र फाल्ने ठाउँ परिवर्तन हुने भए के चाल हुँदो हो ?
केही वर्ष भयो ज्ञान गुनका कुरा, पुराणका कथा, अर्ति उपदेश सुन्ने र प्रकृतिको सुन्दर दृश्यावलोकन गर्ने आँखाहरूले अचेल गतिलो कुरा सुन्न र हेर्न नपाएको धेरै भयो । केवल हत्या, हिँसा, अनैतिकता, भ्रष्टाचार, तस्करी र विकृतिका नियमित सिलसिला मात्र सुन्ने र देख्ने गरेका छन् । आँखा थाकिसके कान टट्टाए प्रभु यिनको बिजोक भयो !
यदि हामीजस्तै धेरै मान्छेले आँखाले नदेख्ने र कानले नसुन्ने हो भने भ्रष्टाचार गर्न पाउने र मिल्ने ठाउँमा पुगेकाहरूले ढुक्कसँग भ्रष्टाचार गर्ने थिए । जति मानव तस्करी गरे पनि हुन्थ्यो । जति सुन तस्करी गरे पनि हुन्थ्यो । हुन त अहिले पनि छेक्ने के नै छ र ? छेक्ने नभए पनि देख्ने आँखाहरू बाक्लै छन् । करिब पाँच छ करोड आँखाले देखिसकेपछि त कताकता असजिलो लागेको हो कि भनेझैँ गरि टोपल्छन् । फेरि यो नयाँ नयाँ प्रविधिको विकास भएसँगै एकथान क्यामराको आँखाले देखे पनि पुग्ने रहेछ । एउटा क्यामराको आँखाले देख्छ, भएभरका आँखालाई तत्काल देखाइदिन्छ । जब आँखाले देख्छ, मान्छेहरू मुखले प्रतिक्रिया दिन शुरु गर्छन् । जो जहाँ छ यथास्थानमा बसेर प्रतिक्रिया दिन थाल्छन् । प्रतिक्रिया दिन न सिंहदरबार धाउनुपर्छ न बालुवाटार, न बानेश्वर ! जस्तो प्रतिक्रिया दिन पनि बसेकै स्थानबाट दिन सकिन्छ प्रचलन यस्तै छ ।
प्रतिक्रिया यसरी दिइन्छ कि राष्ट्रविरुद्ध अपराध गर्नेहरू तत्काल ठहरै हुन्छन् कि भनेझैँ प्रतिक्रियाको बर्षात् हुन्छ । तर जतिसुकै कडा प्रतिक्रिया दिउन् सृष्टिकर्ताले यिनका मुटु यति बलियो बनाइदिएका छन् कि प्रतिक्रिया सुनेर आजसम्म भ्रष्टाचारमा समातिएको, अभियोग लागेको र मानव तस्कर, सुन तस्कर, जग्गा तस्कर गर्नेहरू एकजना पनि हर्टएट्याक भएर बिदा भएको थाहा पाइएको छैन । यिनले त्यति धेरै प्रतिक्रिया पनि सुने नसुनेझैँ गरि उँडाइदिन्छन् । यी करोडौँ प्रतिक्रियाले यिनको रौँ पनि झर्दैन । उल्टै जनताको प्रतिक्रियाले मलजलको काम गरिरहेको जस्तो देखिन्छन् ह्रृष्टपुष्ट र खाइलाग्दो ।
सकेसम्म यस प्रकारका अपराधिहरू समातिदैनन्, यदि समातिए पनि न हिरासतमा बस्नुपर्छ न जेलमा ! यिनीहरू दुईचार दिन अस्पतालको बेडमा बसेर पाप पखालेको प्रमाण पत्र लिन्छन अनि निस्कन्छन् । अपराध गरेको सजाय भोग्नु नपरेपछि यिनीहरू झनै सुरिन्छन् । एक माथि अर्को अपराध का खात थप्दै जान्छन् । संसारमा सबैभन्दा बढि अपराध गरे बापत गिनिजबुकले नाम लेखाउने हो भने सबै विधाको अवार्ड हाम्रोमा आउने पक्का थियो । छ करोड आँखा र तीन करोड मुखले एकैपटक प्रतिक्रिया दिँदा पनि टसमस नभइ दिएपछि प्रतिक्रियाको कुनै अर्थ छ र ? त्यसैले अबदेखि कुनै प्रतिक्रिया नै दिन्न भन्यो मुटुले आदेश दिएको दिएझैँ गर्छ । मुटुको आदेश नमानौँ मुटुले काम गर्न छोडिदेला भन्ने डर ! आदेश मानेर प्रतिक्रिया दिन थालौँ केही अर्थ छैन ।
बरू यसै छैन उसै छैन, छानीछानी सबै जनताको आँखा र कान बन्द गरिदेऊ प्रभु ! देख्न पनि पर्दैन सुन्न पनि पर्दैन, न मुटुलाई नै सुनाउनु पर्ने थियो ! सृष्टिको विधान बमोजिम आँखाले देखेपछि र कानले सुनेपछि मुटुलाई सुनाउनै पर्यो । मुटुले प्रतिक्रिया दिन आदेश दिनै पर्यो । आदेश पछि दिने गरेको प्रतिक्रियाले काम गर्न छोड्यो प्रभु ! यो त सृष्टिका विरुद्धमा भएन र ? होइन भने अबदेखि मान्छे सृष्टि गर्दा कि त आँखा र कान नबनाई दिनु प्रभु ! अपराध गर्नेलाई पनि हाइसन्चो देख्नु पर्नेलाई पनि हाइसन्चो । आँखाले नदेखे पो मुटुले सहन्छ, अब त अति भयो प्रभु मुटुले सहन छोड्यो !
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































