नेता पो म त
आफ्नै भुँडी फुकाइएकै छ खोलानाला सुकाइएकै छ इमान, नैतिकता लुकाइएकै छ वनजङ्गल मासिएकै छ चुरे पहाड नासिएकै छ जिउँदै यतै आएपछि स्वर्गै यतै पाएपछि गाउँघरलाई त चिन्दिनँ म ।
शिव सस्मित :
चुनावरूपी नारनपुजामा
झुट्टा आश्वासनको प्रसाद बाँड्दै
दुराचारको खोपडीमा
कुविचारको भिख माग्दै
शोक, भोक र रोगले सताइएका
‘जनता’ सबैले बताइएका
निरीह प्राणीहरूलाई
एकमुठी सपना ‘राहत’ दिन
विरोधीलाई ‘आहत’ दिन
सत्तातिर ढल्किएको
भत्तातिर पल्किएको
जनताहरूलाई ‘हलो’ गर्ने
आफ्नै पेटको भलो गर्ने
राष्ट्रहितको ‘व्यथा’ पो म त
जनता मेरा ‘दुहुना गाई’
‘जनता’को नेता पो म त ।
कसैले नपत्याएर के भो ?
चुनावबाट आइएकै छ ।
जिते पनि हारे पनि
समानुपातिक खाइएकै छ
सभामा नबसेर पो त के भो ?
दानदक्षिणा पाइएकै छ
मेट्दै नमेटिने
असहमतिको बन्द कोठाभित्र
भेट्दै नभेटिने
सहमति खोज्दै खोज्दै
स्वार्थसिद्धिका बाटाहरू,
भ्रष्टाचारका पाटाहरू
भित्री मनले रोज्दै रोज्दै
राजनीतिमा रमाइएकै छ
राष्ट्रलाई बाउको विर्ता ठान्दै
नफुत्कने गरी
सिङ् र जुरो समाइएकै छ
पुस्ताँंलाई पुग्ने कमाइएकै छ
बुढ्यौली लाग्यो कसले भन्ने ?
उधौँली लाग्यो कसले भन्ने ?
नखाए बगलीमा हल्लिन सक्ने खाए
नालीमा झल्लिन सक्ने
उमेर खाएको केटा पो म त
जनता मेरा ‘दुहुना गाई’
‘जनता’ को नेता पो म त ।
गुटबन्दीको बीउ छरेर
एकताको नारा घन्काउँदै
बुद्ध जगाउने निहुँ गरेर
युद्ध निम्त्याउने पारा रन्काउँदै
कैयौँका ढाड भाँचिएकै छ
घरबार छोडी दरबारतिर
यसै गरी बाँचिएकै छ
आफ्नै भुँडी फुकाइएकै छ
खोलानाला सुकाइएकै छ
इमान, नैतिकता लुकाइएकै छ
वनजङ्गल मासिएकै छ
चुरे पहाड नासिएकै छ
जिउँदै यतै आएपछि
स्वर्गै यतै पाएपछि
गाउँघरलाई त चिन्दिनँ म
राजधानी छोडी हिँड्दिनँ म
भन्नलाई पो जनताका लागि
त्यता होइन, यता पो म त
जनता मेरा दुहुना गाई
‘जनता’ को नेता पो म त
०००
म्याग्दी