शिव सस्मितकुरैकुराको खेती
खुराफाती कुरा किसानहरूले कुरैकुराले स्थानीय, प्रदेश र केन्द्रीय सरकार चलाइरहेका छन् । जनता’ नामका प्राणीहरू कुरैकुरामा रनभुल्ल परेर आफ्नो कष्टकर जीवनलाई पनि हाडेकाफल ठानिरहेका छन् ।

शिव सस्मित :
धानखेती, मकैखेती, कोदोखेती, गहुँखेतीलगायतका भन्न हुने र गन्न हुने अन्न खेतीका कुरा गरौँ भने जमरा नउम्रिएका धान, गर्भमै गाँठिएका गहुँ, चुत्ती नपलाएका मकै हेर्दै, फुत्ती फुत्ती पर्दै थकाइ लागेर थन्किनुभएका किसान दाजुभाइहरू सन्कन सक्नुहुन्छ, उस्तै परे सडकतिर रन्कन सक्नुहुन्छ । कृषिमन्त्रीले मल दिन नसकेको बेला हुन सक्ने खलबलको बलबारे म अनभिज्ञ छैन । त्यसैले त्यतातिर लागेर आफ्नै टाउकामा फुरौला उठाउने र आफ्नै ढाडको हड्डी टुटाउने रहर छैन मलाई । कत्राकत्रा, महालङ्गुर हिमाल जत्रा आन्दोलनमा दुनियाँ थिचिएको, साँढेका जुधाइमा बाच्छा मिचिएको पनि राम्रैसित थाहा छ । आजको जमानामा कसैको चित्त दुखाउन खोजेर र पित्त सुकाउन खोजेर अर्कै लोकमा रमाना हुनुभन्दा आफ्नै टाउको जोगाउँदा बाउको पनि इज्जत थामिने कुरामा म दृढ छु । त्यसैले किसान दाजुभाइहरू नआत्तिए हुन्छ । मैले यसपालि गर्न लागेको कुरा तपाईको बालीनालीको पटक्कै होइन । मैले त अचेल गाउँसहर र बजारमा निकै नै फस्टाएको खेतीको कुरा गर्न गइरहेको हूँ। यति र उति पनि भन्न नमिल्ने त्यस्तो खेतीको कुराले सायद यहाँलगायत त्यस्ता खेतीकिसानहरूले पनि एकैछिन राहतको महसुस गर्नुहुने छ भन्ने लागेको छ त्यसैले मनमा रहेको आहत पनि एकातिर भागेको छ ।
अरु कुरा अस्ताए पनि गाउँ-बजारमा अचेल कुरैकुराको खेती निकै नै फस्टाएको छ । मनमा बिझ्ने कुरो, नबिझ्ने कुरो । मुटुमै कोप्ने कुरो, गिदीमै उन्ने कुरो । पैसामा पल्किने कुरो, बैँससितै ढल्किने कुरो । बजारमा बिक्ने कुरो, हजारमा नबिक्ने कुरो । हच्काउन हच्किने कुरो, बिच्काउन बिच्किने कुरो, घुस छर्ने घुस्याहा कुरो, तुस छर्ने तुस्याहा कुरो, भाँजो छर्ने भौँज्याहा कुरो, आच्छु आच्छु पार्ने औडाहा कुरो, दौडन पर्ने दौडाहा कुरो, रौसिन पर्ने रौस्याहा कुरो, ठाउँमा नअड्याउने कुभिन्डे कुरो, लामो न लामो चिचिन्डे कुरो, खलबल्याउन उधिन्ने कुरो, जाल बुन्ने जाली कुरो, खाल बिगार्ने खाली कुरो, हाल उधार्ने हालीमुहाली कुरो । यस्तै यस्तै कुराका खेती गर्न मान्छेहरू तँछाडमछाड गरिरहेका छन् । कुराको खेती गर्न यति सजिलो छ कि कथिसाध्यै छैन । कुराको बीउ रोपेर यसको खेती गर्नका लागि कुनै मौसम चाहिँदैन, घामपानी मिल्नुपर्दैन, दामपानी मिले पनि पुग्छ । जस्तै असिना पानी परे पनि, हावाहुरी चले पनि, बाढीपहिरो ढले पनि, कुरैकुराको खेतीको राँसमेत कसैले उखेल्न सक्दैन ।
कुराको बीउ जसले जहाँ जतिबेला पनि छर्न सक्छ, रोप्न सक्छ, उमार्न सक्छ, फलाउन सक्छ, फुलाउन सक्छ । न त यस्तो खेती गर्नका लागि खेतका गह्रा नै चाहिन्छ न त बारीका टारी नै आवश्यक पर्छ । यस्तो खेती गर्नका लागि दुनोजस्तो कुनो भए पनि पुग्यो । के निजी के सार्वजनिक, झाङदेखि झाडीसम्म, मोटरदेखि गाडीसम्म, बाटोघाटो, पुलपुलेसा, कुलकुलेसा, वारिपारि, चौतारी, कोठा, चोटा, बरन्डा, चोक, कौसी हरेक ठाउँमा रौसिई रौसिई कुराको खेती गरे हुन्छ । खुला ठाउँमा गरिने कुराखेतीभन्दा बन्द ठाउँमा गरिने कुराखेती भने चरेसकै खेतीजस्तो खतरनाक हुन्छ भन्ने कुरा एक जना कुराविज्ञ बताउनुहुन्छ । यो सबैलाई थाहा भएकै कुरा पनि हो ।
अँधेरामा र झिसमिसेको पँधेरामा गरिने कुराखेतीको फल भने अलि कडै हुन्छ क्यारे । यस्तो कुराखेतीले गाउँ-समाजमा भाँड मच्चाउन बेर गर्दैन । यस्तो कुराखेतीले घरका सासू-बुहारीमा जुहारी चलाउन सक्छ । आमा छोराको सम्बन्ध गलाउन सक्छ । बाउ-छोरामा लफडा मच्चाउन सक्छ । लुरे भाइलाई पनि तगडा तुल्याएर कडा दाजुसँग झगडा पार्न सक्छ ।
कुराखेती गर्न समय यतिउति भन्ने हुँदैन । मिनेटभरमै बीउ छरेल एकातिर लाग्न सकिन्छ । घण्टौँसम्म बीउ छरेको छर्यै गरेर उतिबेलै कस्तो खालको फल हो उमारेर भाग्न पनि सकिन्छ कुराखेती गर्नका लागि कम्तीमा पनि दुई पक्ष भने आवश्यक पर्छ । हुन त आफ्नै घैटामा घैँटो रित्त्याएर हिँड्ने धङधङहरूलाई साथमा अर्को मनुवा हुन परेन, उनीहरू बिग्रेको रेडियाको तालमा कुराको खेती गर्छन्, एकोहोरो रूपमा । तिनलाई जोताहा, खनाहा, रोपाहा, छराहा केहीको पनि आवश्यकता पर्दैन तर त्यस्तो खेतीले गतिलो फल भने देलाजस्तो लाग्दैन । कुराको बीउ रोप्नलाई एकआपसमा भेटघाट हुनैपर्छ भन्ने पनि छैन । आजको जमाना नबुझ्नेका लागि “के विधि’ र बुझ्नेका लागि प्रविधिको जमाना हो । यस्ता विधिमार्फत पनि कुराको बीउ रोपे हुन्छ । उदाहरणका लागि मसीधारी छापा भाँडा, विद्युतधारी चलायमान भाँडा र अनुहारपुस्तिका भाँडा आदिलाई लिन सकिन्छ ।
कुराको खेती यस्तो खेती हो, जसले एकै खालको फल दिँदैन । हुन त घिउअनुसारको जीउ र बीउअनुसारको फल भन्ने उखान त बाबुबाजेले हालेकै हुन् । यो उखानलाई शिरोधार्य गर्दा समेत कुराको खेतीले पनि बीउ अनुसार फल दिने कुरामा दुईमत नहोला । कुराका बीउ पनि अनेकथरि हुन्छन् चिप्ला बीउ, चाप्ला बीउ, खसा बीउ, नरम बीउ, गरम बीउ, चिसा बीउ, ताता बीउ, लाटा बीउ, बाठा बीउ, खुस्स बीउ, छुस्स बीउ, फुस्स बीउ, च्वास्स बीउ, चुस्स बीउ, ड्वाँस्स बीउ, ठुस्स बीउ, ह्वाङ्ग बीउ, ढ्वाङ्ग बीउ, खुला बीउ, बन्द बीउ, कूटनीतिक बीउ, फुटनीतिक बीउ, राजनीतिक बीउ, लाजनीतिक बीउ । बाबै नि ! यस्ता बीउका नाम सुन्दासुन्दै जीउ नै सिरिङ्ग भएर आउँछ । यी बीउहरूका आआफ्नै विशेषता भने अवश्य छन् । कुनैले त विषवृक्ष उमार्छन्, अर्कालाई छहारी दिने नाउँमा भतभती पोल्छन् । कुनैले कल्पवृक्ष उमार्छन् र मान्छेलाई सपना, कल्पना र जपनाको संसारमा भुलाइदिन्छन् । कुनै बीउले फलाम तताएझै मान्छेको दिमाग तताउने फल उमार्छन् त कुनै बीउले तातेको दिमागमा चिसो पानीले पाइन हाल्ने फल उमार्छन् । कुनै बीउले मान्छेको बुद्धिसुद्धी सबै भुटिदिन्छन् । कुनै बीउ यस्ता हुन्छन् जसले छल, बल, घरमा लोग्नेस्वास्नीको कलह, छिमेकमा बाझाबाझ, पेट माझामाझ, कुटपिट, मारपिटजस्ता फलहरूको उत्पादन गर्दछन् । यस्ता फलहरूले समाजलाई दूषित तुल्याउने बाहेक अरू काम गर्लान् भने मरिजाऊँ । मैले त्यसै किरिया हालेको कहाँ हो र ? हाम्रै मुलुकको राजनीतिरूपी मैदानमा नेता, कार्यकर्ताहरूले छरेका कुराका बीउ र ती बीउले उमारेका फलहरूले हाम्रो देशलाई कतातिर लगिरहेका छन् त्यो त यहाँहरूजस्ता विद्वानलाई सुनाउनुपर्ने कुरै होइन ।
कुराको कस्तो बीउ छर्ने भन्ने कुरा पनि बीउ छर्ने मान्छेमा भर पर्ने कुरो हो । कुराका बीउ छर्ने मान्छे समाजमा हरेकथरी हुन्छन् । राजनीतिक मान्छेले राजनीतिक कुराको बीउ छर्छ र स्वार्थको फल फलाउँछ अनि राम्रैसित आफ्नो घरबार त के दरबारसमेत चलाउँछ । नेपालका नेताहरूले जनतालाई आहारा बनाएर कुराको खेती गरेजस्तो । तिनले त आफ्नो कुराखेतीबाट आश्वासनदेखि लिएर जुट-फुट, बुट, भुट, दृट, लुट उमार्छन् र जनतालाई लेबन गराउँछन् । त्यसैमा रमाइलो मान्दछन् । सामाजिक मान्छेले सामाजिक कुराको बीउ छर्छ, आफ्नै दुनो सोझ्याउँछ । शैक्षिक मान्छेले पनि त्यस्तै खेती गर्छ, शिक्षाको नाउँमा आफ्नै इच्छा पुरा गर्दछ । व्यापारीले व्यापारिक कुराको बीउ छरेर कमसल सामान बेच्छ, नाफाको खेती गर्छ । एकथरी मनुवाहरू भँडुवा कुराको बीउ छरेर मान्छेमान्छेबीच वैमनस्यताको फल फलाउँछन् र यस्तैमा उनीहरू आनन्द मान्छन् ।
यसरी समाजमा रहेका पण्डितदेखि-ज्योतिषीसम्म, धामीदेखि- झाँक्रीसम्म, विद्यार्थीदिखि मास्टरसम्म, उद्योगपतिदेखि लिएर स्वास्नीपतिसम्म, कर्मचारीदेखि ब्रह्मचारीसम्म, सासूदेखि बुहारीसम्म र आफूलाई टाठाबाठाका नाउँमा उभ्याउन खोज्नेहरू सबै कुरैको खेती गर्नमा मस्त देखिन्छन् । कुरा मात्र गर्नु, कुरैमा भर पर्नु र अर्काको घाँसबारीमा चर्नु यिनको दिनचर्या नै बनेको हुन्छ । त्यसैले यसरी कुराको खेती गर्दै हिँड्नेहरूलाई खुराफाती कुराकिसान भनेर नाम राखेको छु मैले ।
अचेल खुराफाती कुरा किसानहरू यत्रतत्र सर्वत्र देखिन्छन् । कुराखेती गर्न नजान्नेहरू सबभन्दा पहिले तिनका आहारा हुन्छन् । तिनले त सोझासाझालाई बाटातिर देख्नै हुन्न, च्याप्प पाखुरामा समातेर कुनातिर लैजान्छन् र कुराको बीउ छर्न थाल्छन् । मुखमा थुकका छिटा निकाल्दै, कतिखेर थपडी मार्दै उसको खोपडी कुरैकुराले भरिदिन्छन् । कतिखेर औंलाका चुट्की बजाउँछन्, दुवै हत्केलाका डककडाल्ना फर्काउँछन्, आँखा मर्काउँछन् । दोस्रो निरीह प्राणीले हजुर हजुर भन्ने मौकाबाहेक अरू केही पाउँदैन । घण्टौँसम्म कुरैकुराले कसैलाई उचालेर, कसैलाई पछारेर, कसैलाई उडाएर, कसैलाई गुडाएर, कसैलाई पोलेर, कसैलाई डढाएर दोस्रो प्राणीको मनसमेत भाँड्न खोज्छन् । यदि उसबाट कुनै काम लिनु छ भने त बाबै नि, भनिसाध्यै छैन चिप्लोचाप्लो घसेर, अचेलका प्रेमीप्रेमीका भन्दा पनि कसिलो नाता जोड्न खोज्छन् । कैलाशपति भोलेनाथ दम्पतीका अगाडि गजटाउके गणेशले कसरी नाता जोडेर परिश्रमी कुमारलाई पाखा लगाइदिएका थिए ? नपत्याए भागवतका पाना पल्टाएर हेरे हुन्छ ।
खुराफाती कुरा किसानहरूलाई मान्छेको जमात त झन् देख्नै हुन्न । त्यहाँ पुग्दासाथ तिनीहरू कुरा नार्न थालिहाल्छन् । आफूलाई माथि पार्न थालिहाल्छन् । स्वबखानको रटान गर्छन् । खास बन्न खोज्छन् । अरूलाई तुच्छ देख्छन् । अरूको क्षमता र भावनामाथि गुच्चा खेल्छन् । अरू मान्छेलाई आलु सम्झिएर ठालु पल्टन्छन् । यसैगरी तिनले जीवन गुजार्छन् । अझ समान विशेषता बोकेका कुराखेती गर्नेहरूको मिलन हुनुपर्छ, के चाहियो र ? एउटा कुनातिर जान्छन्, मुखमुख जोडेर बस्छन् । कुराखेती गर्न थाल्दछन् । आफ्ना विपक्षीको दोहोलो काढ्छन्, तिनलाई मान्छेको कित्तामा समेत राख्दैनन् । कुरैकुराले भित्तामा पुऱ्याउँछन् । तुसले सताएको पेटले पार्ने ठुस्स ठुस्स शैलीमा कानमा खुस्स खुस्स गर्छन्, खितखितिन्छन् । एउटाले अर्कालाई बढाएर इन्द्रलोकको आसनमा पुऱ्याउँछन् । आत्मप्रशंसामा रमाउँछन् ।
हेर्नुस् न ! हामी नेपालीका लागि आजको एक्काइसौँ शताब्दी कसरी कुरैकुराको खेती गर्ने शताब्दी बनेको छ । यहाँ जसले कुरैकुराको खेती गर्न जान्दछ, भगवान्ले पनि उसलाई मान्दछ । किनभने यो खेती गर्नेका लागि भगवान् पनि दाहिना बन्छन् । भगवान्समेत ठगवान् बनेपछि कसको के लाग्दो रहेछ र है ? कतै काम पट्याउन, कतै दाम पट्याउन कुरैकुराको खेती गर्नु आजको आवश्यकता भो । मान्छेको मन चोनदेखि लिएर धन फोर्नसमेत कुरैकुराको खेती लगाउनुपर्ने भो । कुराभन्दा जसले कर्मलाई ठूलो ठान्दछ ऊ मामबाट समेत वञ्चित हुन बेर लाग्दैन, नाम र दामका त के कुरा ? अल्छीले जान्ने कुरा जैसीले जान्दैन’ भन्ने उखानलाई चरितार्थ गर्न नखोज्नु मूर्खताबाहेक अरू केही होइन । किनकि कामभन्दा कुराखेती गर्नेहरूलाई जस्तै भूतप्रेत र पिशाचले पनि छुदैन । नरपिशाचका त के कुरा ? प्रधानमन्त्रीदेखि धानमन्त्रीसम्म सबैलाई खुराफाती कुराकिसान बन्न नै ठिक्क छ, शीर्षनेता, पादनेता, कार्यकर्ताका त कुरै छोडौँ । कसैलाई तिनकै कुराखेतीको फल खानैमा ठिक्क छ । कुरैकुराको जालामा हरेक मान्छे माकुरी बनेको छ र कुरैकुराको माकुरीजालमा ऊ फसेको छ । यसरी सबै कुराखेतीमा नै मस्त भएपछि नयाँ नेपाल बनाउने सपना पूरा नहुने हो कि भन्ने शङ्का धेरैलाई लागिरहेको छ ।
अन्तमा हाम्रै देशका कुरा, कुरैकुरामा संविधानसभाको निर्वाचन भो, दुनियाँ दङ्ग हुने गरी कुरैकुरामा संविधानसभा भङ्ग भो । कुरैकुराको अन्तरिम संविधानले नै केही समय देश हाँक्यो । आखिर फेरि कुरैकुराको संविधानसभाको दोस्रो चुनाव भइटोपल्यो । कुरैकुराले संविधानका पाना पनि भरिए । कुरैकुराले कुनै कुनै नेता र पार्टी पनि जोडिए, कुनै कता तोडिए । कुरैकुराको खेतीले दुईतिहाइ सरकारको फल पनि फलायो, देश पनि चलायो । कुरैकुराले दुईतिहाइवाला सरकार पनि टिकेन । कुरैकुराको खेतीले पार्टी जुटायो, केही समयमै फुटायो । कुरैकुराले गठबन्धन फलायो । गठबन्धनको कुरैकुराले देश चलायो । कुरैकुराले गठबन्धन पनि कुनै जुटायो, कुनै फुटायो । खुराफाती कुरा किसानहरूले कुरैकुराले स्थानीय, प्रदेश र केन्द्रीय सरकार चलाइरहेका छन् । जनता’ नामका प्राणीहरू कुरैकुरामा रनभुल्ल परेर आफ्नो कष्टकर जीवनलाई पनि हाडेकाफल ठानिरहेका छन् । हेर्दै जानु छ, कुरैकुराको खेतीले यो देशलाई कहाँ पुऱ्याउने हो । अरू त के कुरा भन्नु खोइ ह्याँभन्दा ? कुरैकुराको खेती गर्न मन छ भने गरिहाल्नुहोस् यहाँले पनि ।
०००
म्याग्दी
कुरैकुराको खेती (२०८०)
Subscribe
Login
0 Comments
Oldest








































