साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्चीशास्त्र

आहा ! कुर्चीसितको जिन्दगी पो जिन्दगी, छ्या सधैँभरि सुक्कुल गुन्द्री र पिर्कासित जिउनुपर्ने जिन्दगी नि के जिन्दगी ? यस्तै भावना पनि जागृत हुँदो हो, सोच्दासोच्दै दिमाग नै विकृत बन्न पुग्दो हो ।

Nepal Telecom ad

शिव सस्मित :

सामान्य अर्थमा कुर्चीहरूको बखान गरिएको शास्त्र नै कुर्चीशास्त्र हुनसक्छ तर पनि कुर्ची के हो ? भन्ने सम्बन्धमा सबैको एक मत भने छैन । कोही बुज्रुक भन्छन्, ढाड सेकाउने चिजसित आसन जोडेर र चारोटा खुट्टा हालेर बनाइएको काठ, फलाम वा प्लास्टिकको चौखुट्टी साधन नै कुर्ची हो । कोही उपबुज्रुक कहन्छन् फलामको डन्डीको आसनमा पाङ्ग्रा हालेर केही माथि करङरूपी फलाममा मासुरूपी गद्दा आसन जोडेर र ढाड सेकुवा डर्लपको पातो मोडेर बनाइएको फनफनी घुमाउन मिल्ने भाँडो नै कुर्ची हो, जसमा हात तेर्साउने दुइटा डन्डीसमेत जोडिएको हुन्छ ।

कोही खोक्छन्, ढाड उल्टोमुखो कुप्रचाएर उत्तानिएको आरामदायी चिज नै कुर्ची हो । देख्नेहरू कुर्चीलाई आरामदायी भाँडो सम्झन्छन् । भोग्नेहरू घाँडो निम्त्याउने समस्यामूलक ठाँडो सम्झन्छन् । सबैले आआफ्नै देखाइ, भोगाइ र रोजाइअनुसार कुर्चीको बखान गर्दछन् । कुर्चीका जति उखान हाले पनि जसले जे भने पनि कुर्ची एक त्यस्तो भाँडो हो जसमा मान्छे कहलिएको जन्तु मन लागे अधरखुट्टी वा उपरखुट्टी लगाएर बस्न सक्छ ।

कुर्ची बनाउने तरिका भिन्न भिन्न भए पनि यसको खास काम भने एउटै हो जसले चारखुट्टा टेकेर भए पनि मनुवाको सेवा गर्छ । यसले यति किलो, उति वजन भन्दै भन्दैन, मान्छेको उमेर गन्दैन । खुसीसाथ आफ्नो मालिकको पश्चभागलाई मिल्ने गरी ठाउँ तयार गरिदिनु नै यसले आफ्नो धर्म र कर्म ठान्दछ । सिकुटेदेखि लिएर थसुल्लो ज्यानलाई समेत यसले धान्न सक्दछ । कट्टु सज्दै हिँड्ने छट्टुदेखि घाँस काट्ने घाँसीबा र चौरासीबासम्मकाले कुनै पुर्जी लिएर कुर्चीको स्वाद लिएका हुन्छन् । खोज्नुहोस् त आजसम्म कुर्चीले कसैले भनेको नमानेको र कसैको भौतिक शरीरलाई नधानेको कतै रेकर्ड छ ? आफै नधानिने कुरा बेग्लै हो । त्यसै त सिकुटेदेखि रिकुटेसम्म, बोसेदेखि चोसेसम्म, चोसेदेखि घोसेसम्म, छोटे, मोटेहरू किन कुर्चीका लागि तँछाड र मछाड गर्थे ? तर कुर्ची आफैले कसैको मर्म भने बुझ्दैन, यदि बुझ्थ्यो भने त जस्तातस्ता मनुवाहरू थेचारिएर बस्न किन दिन्थ्यो यसले ?

कुर्ची बनाउनेदेखि लिएर, देख्ने, भोग्ने, जोख्ने सबै मान्छेहरू यो समाजमा छन् । त्यतिमात्र होइन, कुर्ची हल्लाउनेहरूदेखि लिएर डल्याउनेहरूसमेत देख्न यिनै आँखाले सास्ती भोग्नुपरेको छ । त्यसो त नाइँनास्ती’ चल्दा र कहीँकतै कुरो नमिल्दा कुर्चीकै जुरो समातेर कुर्चीधारीसितै मिल्क्याउनेहरू पनि छन् यहाँ । यस्तो हुनुमा पनि धेरै कारणहरू हुनसक्छन्- एउटा कारण हुनसक्छ, कुर्चीमा बस्नेले कुर्चीमा नबस्नेलाई नगन्ने प्रवृत्ति हावी हुनु । अर्को कारण, जुन कामको पुर्जी समातेर कुर्चीमा बसेको हो, त्यो कामको सिन्को नभाँच्नु ।

अनि अर्को कारण हुनसक्छ, कुर्चीमा बस्नेले काम र दामको राम्रै जोहो गरी पुस्तौँलाई माम थुपार्ने मेलो थाल्नु । कुर्चीमा बसिसकेपछि उसको शान-मान भिन्दै हुने, नाकले घिरौंला र लौकाको रूप धारण गर्ने, मान्छे जस्तो आलु होस् कुर्चीमा बस्ने पुर्जी पाएपछि ठालु पल्टेर तालुमा जेल लर्काएर अर्कालाई फेल बनाउने हँैसियत राख्ने भएकाले पनि कुर्चीधारीले आफूलाई इन्द्रलोकको परमाधिपति सम्झनु पनि एउटा कारण हुन सक्छ । कुर्चीमा आसन जमाएर उपरखुट्टी लगाउँदै यसरी शासन गरेको कुर्ची इतरकालाई देखी नसहनु हुने नै भो । यस्तो अवस्थामा कुर्चीको ढाडसितै कुर्चीधारीको करङसमेत फुस्किने सम्भावना प्रबल रहन्छ ।

उता फेरि टेबलविनाको कुर्चीले यो समाजमा कुनै हैसियत राख्नै सक्दैन भन्ने मत पनि उत्तिकै बलियो छ । उक्त मत दिनेहरू भन्छन्- “टेबलबिनाको कुर्चीको कुनै अस्तित्व छैन । टेबलविनाको कुर्ची भनेको बूढोबिनाकी बुढी, सिरानीबिनाको ओछ्यान, पियनबिनाको हाकिम जस्तै हो । कुर्चीमात्रमा त जो जसले पनि रजाइँ गर्न पाउँछ तर टेबलसितको कुर्चीमा बसेर राज गर्ने सौभाग्य भने सबैलाई हुँदैन ।” वास्तवमा भन्ने हो भने चौखुट्टीमाथि सिलिक्कको आसन हालेर बनाइएको अर्को निर्जीव भौतिक साधन नै टेबल हो जसलाई कुर्चीकै अगाडि लम्पसार पारेर राखिएको हुन्छ । कुर्चीधारीले नैतिकता सम्झिएन भने टेबलको आसनमाथि रासनसमेत राख्न पाउँछ । आफ्ना दुई खुट्टीहरूलाई त्यही टेबलमाथि उपरखुट्टी टेकाएर मस्त कुर्चीमै सपना देख्न पनि पाउँछ, नानाथरी जपना गर्न पनि पाउँछ ।

उता आफ्नो अगाडि टेबलको राज भएपछि मात्र कुर्चीको पनि अस्तित्व नै फेरिने हुँदा कुर्चीको शान पनि भिन्दै हुन्छ । यसरी हेर्दा पनि कुर्चीधारीलाई लोभ्याउने तत्त्व भनेको नै टेबल हो । किनभने टेबलमुनिबाट नै कुर्चीधारीले कालानीला धन्दा गर्ने अवसर प्राप्त गर्दछ । एउटा हात टेबलमाथि र अर्को मुनि राखेर कुन्नि के के गर्न पाउँछ । त्यतिमात्र होइन कहिलेकाहीँ कुर्चीयुद्ध हुँदाखेरिमा आफूमुनि लुकाएर टेबलले मान्छेको टाउको जोगाइदिन सक्छ र जीवनभरिलाई गुन पनि लगाइदिन सक्छ । यस्तो खालको कुर्चीमा सामान्य मनुवाले त बस्न नयाँ जुग फेरेर आउनुपर्ने हुन्छ किनभने कुर्चीकै लागि जनयुद्ध, धनयुद्ध, गनयुद्ध, जुंगेयुद्ध, मनयुद्धलगायतका युद्धहरू भएको र भइरहेको जोकोहीले पनि देखेभोगेकै कुरा हो । युद्धको मात्र कुरा नगरौं आफूलाई बुद्धको अनुयायी मान्नेहरू तर कुर्चीलाई नै महान् ठान्नेहरूको पनि कुनै कमी देखिँदैन यहाँ ।

कुनै पनि देशको चलनअनुसार कुर्चीहरूको राजा मानिने राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको कुर्चीमा बस्नका लागि समेत केही कसैको पुर्जी चाहिने कुरा विभिन्न प्रमाण र तथ्यहरूले बताउँछन् । यो कुरोको चुरो खोज्न अन्त जानुपर्दैन, हाम्रै देशमा त्यस्तो राजकुचर्चीकै लागि कैयौँ लडाइँहरू लडिएका छन् र अझैँ पनि लडिँदैछन् भने अरु भारेभुरे कुर्चीहरूका लागि किन मारामार नहोस् ? विभिन्न सानाठूला पदहरूमा आसीन हुनका लागि शक्तिहरूको भक्ति गर्ने र गणेशप्रवृत्तिलाई अनुसरण गर्ने संस्कृति मौलाएपछि मान्छे कुर्ची नपाएको चिन्ताले किन नबौलाओस् ? लौ तपाईंं आफैँ भन्नुस् त, कसैले तपाईंंको अगाडि प्रधानमन्त्रीकै कुर्ची ल्याएर लौ बस् भन्यो वा तपाईंलाई नै उक्त कुर्ची भएको ठाउँमा लगेर बसाल्न खोज्यो भने बस्नुहुन्छ कि बस्नुहुन्न ? पहिला नै आफ्नो क्षमताको नाडी र मुटुकलेजो त छाम्नुहुन्न होला ।

कुर्चीका लागि कति सङ्घर्ष गरेर त नपाएर कति मान्छे डल्लिएका बेला, कुर्ची खोज्दै हल्लिएका बेला कुर्ची नै सेवकको चार पाउ टेकेर आफ्नो अगाडि आउँदा कुन माइका लालले बस्दिन भन्छ ? जतिसुकै बुद्धिमा बिर्को लागेको होस् या सुद्धीमा खोइरो लागेको होस् ? मतिमा पहिरो लागेको होस् ? कुर्चीका लागि घरकी स्वास्नीलाई डिभोर्स दिएर भए पनि ऊ फोर्स बटुल्न शक्तिकेन्द्र धाउँछ । जब कुर्ची पाउँछ अनि त जुङ्गामा ताउ लाउँछ, अरूको मनमा निको नहुने घाउ लगाएर भए पनि । कुर्चीको बखान जति गरे पनि कमी नै हुन्छ ।

किनकि कुर्चीको शक्ति देखेर मान्छेहरू सोच्दा हुन्, स्वार्थका घोचाले आफ्नै गिदीगोठमा घोच्दा हुन् – टेबुलपछाडिको कुर्चीमा बस्न पाए कति आनन्द पाइँदो हो, भाषण छाँटेर, अरूलाई शासन लाइँदो हो, अझ कसैले खुस्स भनेका ठाउँमा पुगेर उहीसितै मीठोमसिनो खाइँदो हो अनि कुर्ची मिलाइदिने प्रभुको भजन पनि गाइँदो हो । टेबलसित साँठगाँठ गरेर धन कमाउने आँट गरिँदो हो, हैकमवाद र सामन्तवादको ठाँट गरिँदो हो । सात पुस्तालाई बुबुमाम पुग्ने दाम थुपारिँदो हो । रछ्यान र रोडको मान्छेसँग करोड हुँदो हो ।

महलमा आफू विराजमान भएको कुर्चीको वरिपरि काम र दाम माग्ने मान्छेहरू झुम्दा हुन्, वरिपरि झिङ्गाको तालमा नोकर चाकरहरू घुम्दा हुन् । पद, प्रतिष्ठा र दामको अपार शक्ति पाएपछि सर्वसाधारणले आफ्नै भक्ति गर्दा हुन् । आहा ! कुर्चीसितको जिन्दगी पो जिन्दगी, छ्या सधैँभरि सुक्कुल गुन्द्री र पिर्कासित जिउनुपर्ने जिन्दगी नि के जिन्दगी ? यस्तै भावना पनि जागृत हुँदो हो, सोच्दासोच्दै दिमाग नै विकृत बन्न पुग्दो हो ।

शुभकामना छ यहाँहरूलाई पनि, एउटा टेबलसितको कुर्ची आजै पाइहाल्नुहोस् पाएपछि नफुत्किने गरी समाइहाल्नुहोस् अनि जिन्दगीभरिका बेखुसी बिर्सिएर रमाइहाल्नुहोस् । यसका लागि जे गर्नुपर्छ गर्नुहोस् तर के गर्नु ? यतिमात्र भनेर म आफ्नो शुभकामनाको अपमान गर्न चाहन्नँ केही कुरा बोनसमा भन्छु, लौ सुन्नुहोस् सुन्न नचाहनेले कान थुन्नुहोस् चाहनेले सुनेर मनमा गुन्नुहोस्, लौ सुन्नुहोस्-

“कुर्ची पाइहालियो भने पनि घुनपुत्लो र माखा नलागोस्, अख्तियारको आँखा नलागोस् किनकि अख्तियार नै लाग्यो भने, अझ अख्तियारको अख्तियारीवाला जाग्यो भने, उसले कुर्चीको माया गरेन भने, कसैको इसारामा दायाँबायाँ सरेन भने त जाबो एउटै कुर्चीले जिन्दगीभरि कहिल्यै माथि उठ्न नसक्ने गरी थाङ्नामा पनि सुताइदिन सक्छ है । जय कुर्ची !

०००
म्याग्दी
कुरैकुराको खेती (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव सस्मित
नेता पो म त

नेता पो म त

शिव सस्मित
आफ्नै डम्फू

आफ्नै डम्फू

शिव सस्मित
मै पाजी

मै पाजी

शिव सस्मित
व्यथैव्यथा

व्यथैव्यथा

शिव सस्मित
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x