शिव सस्मितव्यथैव्यथा
कहिले कुन ग्रहसँग ठोक्किने हो, कहिले ब्ल्याकहोलले खाइदिने हो, के ठेगान छ र ? त्यति ठूलो व्यथा बोकेर अन्तरिक्षमा घुमिरहेको यो पृथ्वी डल्लोभित्रका मान्छे भुसुनाहरु केको सुखसित बाँच्दा हुन् ?
शिव सस्मित :
व्यथा भन्नाले झट्ट हामीलाई लाग्ला, सुत्केरी व्यथा । चट्ट मिलाएरै भन्ने हो भने पनि नौ-नौ महिनासम्म कालकोठरीमा जस्तै आमाको गर्भमा थुनिएको शिशु धौधौ गरेर यो ब्रह्माण्डमा अवतरण गर्दाखेरिको त्यो पीडालाई व्यथा नभेर के आनन्द भन्ने त ? भन्ने पनि प्रश्न उठ्ला । हो, म त यसलाई आनन्दकै व्यथा मान्छु । किनभने यो त क्षणिक व्यथा हो, सुखकै व्यथा हो, खुसीकै व्यथा हो । नत्र नारीहरु एकपटक भोगेको यो व्यथालाई चटक्क भुलेर, भनेको पनि पटक्क नमानेर अर्को, अर्को व्यथा बेसाउन किन तत्पर हुन्थे ?यसो भन्दा हाम्रा महिला दिदीबहिनीहरु रन्कनुहोला, उस्तै परे सन्कनुहोला, पाइन्छ क्यारे सडकतिर घन्कनुहोला तर मैले सुत्केरी व्यथालाई शतप्रतिशत व्यथै होइन भन्न कहाँ खोजेको हो र ? आखिर जे होस् यो कुरा म ठोकुवा गरेरै भन्न सक्छु कि, तोकुवा गरेरै भन्न सक्छु, त्यो त क्षणिक शारीरिक व्यथा मात्र हो, जुन कुरा तपाईंहरुले पनि मान्नैपर्छ । मेरो सोचाइमा शारीरिक व्यथा निको हुने व्यथा हो । एकपल्ट कडैसित सहेपछि भुल्न सकिने । त्यसभन्दा खतरनाक कहिल्यै निको नहुने व्यथा त मानसिक व्यथा नै हो । जसले ‘च्याप्प’ समातेपछि मान्छेलाई ‘ख्याप्प’ पारेरै छाड्छ । हो एकपछि अर्को झ्याप्प, झ्याप्प यो व्यथाले मान्छेलाई प्राणपखेरु नउड्ने बेलासम्म समातिरहन्छ ।
हुन त अरुको व्यथा मलाई के था ? तर म आफू भने व्यथैव्यथाको सागर हुँ, पीडैपीडाको सगर हुँ । कहिल्यै नरित्तिने, कहिल्यै नसिद्धिने । एउटाले छोड्छ, अर्काले समात्छ । कसैले जिन्दगीको परिभाषा सोध्छ भने म त भन्छु, जिन्दगी व्यथैव्यथाको घर हो । हुन पनि जीवनमा आनन्द कहिल्यै आएन, खुसी कहिल्यै छाएन । हैन, मलाई मात्र यस्तो हो कि अरुलाई पनि उस्तै हो ? मलाई अहिले यही व्यथाले खूब खाएको छ । म पल्ला गाउँका पण्डितबादेखि लिएर उपल्ला गाउँका श्रीकृष्ण साहू, जिल्लाका हाकिम, महाहाकिम, मन्त्रालयका सचिव, नेता, महानेता, मन्त्री र प्रधानमन्त्री समेतलाई सम्झन पुग्छु । तिनीहरु हाँसीखुसी, खाइखेली हिँडेको देख्छु, मलाई लाग्छ, साँच्चै व्यथालाई धनले पो किन्न सकिन्छ कि ? मेरो मन झन् आत्तिन थाल्छ । मैले आपूmलाई थाम्नै सक्दिनँ ।
मैले एकदिन एकजना पुरानो साथीलाई भेटें । खबटे अनुहार, ख्याप्प परेको भुँडी, भित्र पसेका आँखा लामालामा दाह्री, जगल्टे कपाल, कुन्नि अर्कै लोकबाट भर्खरै मात्र झरेको जस्तो । पहिले त मैले खुट्याउनै सकिनँ । केहीबेर नियालेर हेरेपछि बल्ल छुट्याइहालें । साह्रै टिठ लाग्यो मलाई । सोचें, यसलाई पनि समातेछ कि क्या हो व्यथारुपी भाइरसले । प्वाक्क सोधिहालें- “तँ त बिरामीजस्तो देखिन्छस् नि, क्या हो ?” उसले दायाँबायाँ मुन्टो हल्लाएर ‘होइन’ भन्ने सङ्केत गर्यो । “त्यसो भए तँ कुनै समस्यामा छस् ।” मैले थपें । उसले निन्याउरो मुख लगाएर भन्यो- “हेर न यार ! दुईवटा भुन्टाहरु छोडेर श्रीमती पोइल गई । तिनीहरुलाई हुर्काउन भनेर अर्की नखरनौली ल्याएँथें, ऊ पनि दुई बेत ब्याई । अहिले घरमा चचार भन्टाङ्भुन्टुङ छन् । श्रीमती कर्कसा छे, दयामाया भनेको हुदै नभएकी । आफ्ना छोराहरुलाई टन्न खुवाउँछे, पहिलेकीकालाई भोकभोकै राख्छे । घरमा सधैं रुवावास चल्छ । म त वाक्कदिक्क भएँ, यार ।” ऊ त धन्नै रुन पो आँटेको । “धत् मर्द भएर यस्तो कुरामा पनि सानो मन बनाउने हो ? मान्छेलाई कस्तो त पर्छ । आत्मविश्वास बढा । तेरो घरको मामला ठीक हुँदै जान्छ । निराशावादी बन्नुहुँदैन ।” उसलाई ढाडस त दिएँ तर मलाई मेरो आफ्नै व्यथाले झस्कायो ।
केही दिनपछि एकजना मास्टरसँग भेट भयो । सोचें, जे होस् मास्टरको जागिर खाएका छन्, जहान परिवार पालेकै छन्, दुईचारहजार गोजीमा हालेकै छन् । अझ ‘सर’ र ‘गुरू’ नाउँबाट सम्बोधित हुँदै नमस्ते पनि खाएकै छन्, मानमनितो पाएकै छन् । यस्ता मास्टरलाई के को चिन्ता होला र ? जम्काभेट भइसकेपछि कुराको पोको त फुकाउनैपर्यो- ‘सर ! आरामै ? हालखबर ठीकै छ क्यारे ?” “जिउमा त आरामै छ बाबू । हालखबर भने के भन्नु खै, चक घोटिएकै छ । त्यही त मास्टरको अपजसी जागिर त्यसमा पनि बाह्र वर्षसम्म अस्थायीको अस्थायी । आन्दोलनमा लाग्यालाग्यै छ, कति दिन भइसक्यो घर छोडेर भाग्याभाग्यै छ, नाराजुलुसमा जाग्याजाग्यै छ । केही सिन्को समेत भाँचिएको छैन । अब त हैरान भो, मास्टरी छोडौं भने जहान परिवार केले पाल्नु । उमेरमा अर्कैको भर्याङ भइयो । आपूmलाई टेकेर दुनिया माथि गइसके । आफ्नो भने त्यही स्थायी हुन पाए पनि त हुन्थ्यो । आशाको त्यान्द्रो त छँदैछ, तैपनि केही हुन्छ कि ? के गर्नु बूढो दिमाग, परीक्षामा कहिल्यै पास भइने होइन, आन्दोलनले जे गर्ला गर्ला ।” मास्टरले आफ्नो व्यथा राम्रैसित पोखे ।
“के गर्नु त सर ! अब पीर गरेर केही हुने होइन । फेरि परीक्षा समेत भएको त छैन । यो सब मास्टरहरुकै कारणले हो । आफ्नो एकता नगराएर विभिन्न दलका नेताहरुको पैताला पुछ्दै हिडेपछि यस्तै हुन्छ । जे होस् एकपटक स्थायी नबनाएर त के छोड्ला र ? ढुक्कै हुनुहोस् । अवश्य गराउला । नत्र त त्यत्रात्यत्रा अस्थायी शिक्षकहरुले के बसिखाइसक्न देलान् र ?” मास्टरतर्फ सान्त्वना त दिएँ तर मलाई भने फेरि मेरो व्यथाले झस्कायो ।
व्यथैव्यथाको चक्करमा म भौंतारिइरहें । आन्दोलनताका एकजना जिल्लास्तरीय नेतालाई भेटें । उनले पनि कुराकै सिलसिलामा भने- “देशमा कहिल्यै शान्ति भएन, शान्ति भए त चुनाव हुन्थ्यो, चुनावमा सांसदको टिकट पाइन्थ्यो, अनि जितेर सांसदसम्म हुन पाए त मन्त्री त्यसै भइने थियो । केन्द्रमा पावर छँदै थियो । के गर्नु, यस्तो भाग्य पुर्पुरामा छ कि छैन, कुन्नि ? शान्तिको आन्दोलन त गर्नैपर्यो ।” म त दङ्ग परें, नेताको कुरा सुनेर । कुर्चीका लागि शान्ति, शान्ति अलापिरहेछन् सडकतिर । “आउँछ आउँछ, यसरी जनता उचालेर बजारै ढाक्नुभएको छ क्यारे, शान्तिकै लागि देवीदेउता भाक्नुभएको छ क्यारे, लोकतन्त्र डाक्नुभएको छ क्यारे, शान्ति त आउला नि । शान्ति पनि आउला, तपाईंलाई टिकट पनि मिल्ला । धैर्य गरे मन्त्री पनि हुनुहोला ।” नेतालाई दह्रो ढाडस त दिएँ, मलाई भने फेरि मेरै व्यथाले चस्स पार्यो ।
तीन विषय अनुत्तीणर् तर भर्खर दस कक्षामा उकालिएको मेरो दाइको साथीको भाइको व्यथा अर्कै छ । केटाले मसँग यसरी व्यथा पोख्यो- “दाइ ! सँगै पढ्ने एउटीसित मायाजालमा फसिहालें । अहिले त मोरीले गर्भै बोकिछ । त्यसलाई फाल्दिउँ भन्दा मान्दिन, घरमा दाजुको बिहे भएकै छैन, लैजानु भनेको कालकै मुखमा पर्नु हो । अन्तै भगाएर लैजाउँ भने पनि आफ्नो फुट्टि कमाइ छैन । उता एसेल्सी पास पनि नगरिने भो । लौ न दाइ, केही उपाय छ भने गरिदिनुपर्यो ।” “उपायका ढोका त सबै बन्द गरिहालेछौ भाइ, तैपनि मेरो दाजुलाई, तिम्रो दाइलाई एकपटक सम्झाउन भने लगाइदिउँला । के गर्नु त जे हुनु भइहाल्यो क्यारे, धैर्य गरेर बस । प्रेम त्यस्तै हो, अन्धो हुन्छ । प्रेम बसिसकेपछि त्यसलाई फलाउनु फुलाउनुपर्छ । सङ्घर्ष गर्नुपर्छ भाइ ।” केटालाई आश्वासन र उपदेश त दिएँ तर आफ्नो व्यथा…।
मर्न आँटेका, वैतरणी तर्न आँटेका एकजना हजुरबा पनि व्यथाले ग्रसित रहेछन् । कुराकानीको क्रममा बूढाले भने- “हेर बाबु ! यो बुढेसकालमा कालै नआई मर्न पनि सकिएन, सुखसित बाँच्न पनि पाइएन । एउटै छोरो कति माया गरेर हुर्काइयो, बढाइयो, पढाइयो । अहिले आएर छोरालाई बुहारीले नचाउँछे, ऊ नाच्छ । बुहारी बढी टाँठी छ । वचनका चोट त कति खाइयो खाइयो, भनेर साध्यै छैन । म बूढाले बेलामा खान पनि पाउन्नँ, सुत्न पनि पाउन्नँ । कम हेला गरेका छन् र तिनीहरुले ? मेरो श्रीसम्पत्तिमाथि रजाइँ गरेर मलाई नै दुःख दिनु, यो कत्तिको न्याय हो बाबु ? बरु बाबुले वृद्धाश्रम खोजिदिनुपर्यो कतै, मैले यहाँभन्दा त्यहाँ सुख पाउँला । यो घरमा त एक बस्दिनँ, दुई बस्दिनँ ।” हजुरबालाई वृद्धाश्रम खोजिदिने विश्वास दिलाएँ ।
हरे ! मैले विनाव्यथाको मान्छे फेलै पार्न सकिनँ । बच्चादेखि माउसम्म, साहूदेखि बाउ हजुरबाउसम्म व्यथारुपी भाइरसले रोगी, जोगी, भोगी कसैलाई छोडेको छैन । अहिलेका राजा-रङ्कका त के कुरा ? महाभारत विराटपर्वका कङ्कसमेतलाई त कम खाएको थियो र व्यथाले ? पत्याउनुहुन्न भने आजै महाभारतका पाना पल्टाउनुहोस् । व्यथाले खाएका कलियुगका यी मान्छे भनाउँदाहरुलाई कहिल्यै सुखशान्ति भएन । हुन पनि यसले ठूलोसानो नभन्ने, धनीगरीब नगन्ने भो । शिक्षक, विद्यार्थी, डाक्टर, इन्जिनियर सबै ग्रसित छन् व्यथाले । मलाई त लाग्न थाल्यो व्यथा जन्मदेखि मृत्युपर्यन्त चलिरहने प्रक्रिया हो । यो पृथ्वीमा मान्छेको सृष्टि हुँदैखेरी ‘व्यथाको पनि सृष्टि भएछ क्यारे । त्यसले मेरो दृष्टिमा भन्नुपर्दा अहिले संसार नै व्यथैव्यथामय बनेको छ । अमेरिकाका बुसदेखि लिएर बेलायतका ब्लेयरसम्म, भारतका सिंहदेखि जापानका कोइजुमीहरु आतङ्कवादका व्यथाले ग्रसित छन् । अझ गुह्य कुरा त यहाँनेर छ कि यो पृथ्वी पनि कहाँ सुखमा छ र ? कहिले कुन ग्रहसँग ठोक्किने हो, कहिले ब्ल्याकहोलले खाइदिने हो, के ठेगान छ र ? त्यति ठूलो व्यथा बोकेर अन्तरिक्षमा घुमिरहेको यो पृथ्वी डल्लोभित्रका मान्छे भुसुनाहरु केको सुखसित बाँच्दा हुन् ?
जे होस्, अचेल त मलाई पनि निको हुन थालेको छ, व्यथाले छोड्दै छोड्दै गएको छ । आफ्नो व्यथा भुल्दै भुल्दै जान थालेको छु । सङ्घर्ष गरेरै भए पनि बाँच्न मन लागेको छ । किनकि अरुको व्यथा नै मेरो व्यथाको ओखती बनेको छ ।
०००
म्याग्दी
वैशाख, २०६३
Subscribe
Login
0 Comments
Oldest







































