साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालको खेती

सधैँ नाङ्गिएका हामी एकछिन नाङ्गो उभिएर डलर आउँछ भने के नोक्सान छ ? नाच हेर्नुहोस्, वस्त्र नहेर्नुहोस् । वस्त्र हेर्नु भलादमीपन पनि होइन । शरीरमा कम वस्त्र हुनु आजको सभ्यता हो । गैँडाले पनि कहिल्यै कट्टु वा धोती लगाउन्न ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

नेपालका वीरका नाति, बहादुरका छोरा र कुर्सी नै सबै थोक हो भन्ने आधुनिक नागरिकहरूले यसलाई कुर्सी-प्रधान भन्न गौरव मान्ने भए तापनि नेपाल परापूर्वकालदेखि कृषि-प्रधान देश हो । यही भएकै कारणले रेडियो नेपालले प्रत्येक बिहानीमा कालीमाटीका सागपातका भाउलाई त्यति महत्त्व दिन्छ । नत्र त्यस सूचनालाई कसले महत्त्व दिन्छ र किन रेडियोबाट प्रसारित हुनाको औचित्य राख्छ अनि कुनै चौका-छक्का वा जाउँला-खाउँला जस्ता लोकगीत वा मूसा-बिरालो कार्यक्रमका साटो प्रसारित हुन्छ, रेडियो नेपाललाई थाहा होला । तर जे भए पनि देश प्रधान भइरहनुपर्छ । म सधैँ प्रधानहरूकै पक्षमा छु । खडेरी भए खडेरी-प्रधान । पानी परे पानी-प्रधान । समारोह मात्र धेरै हुँदा समारोह-प्रधान । यसरी नै समुद्घाटन-प्रधान । शिलान्यास क्षेत्रका शिला भोलि कसले बोकेर आफ्ना घरतिर हिँडाउँछ र कोदो-मकै पिन्ने जाँतो वा गोलभेँडा-लसुन पिन्ने सिलौटो बनाउँछ थाहा नपाई शिलान्यास मात्र गरिँदा शिलान्यास-प्रधान । फोहोर-प्रधान । आफूले माछा खान पाएका दिन माछा-प्रधान । नत्र भ्यागुता-प्रधान। जसरी उहिलेका कृषिका आधारले नेपाल कृषि-प्रधान छ ।

देश केही न केही प्रधान नभए प्रधानमन्त्रीको यति गरिमा रहँदैनथ्यो । र प्रधानमन्त्री देउवाजीसित निधिजी, पौडेलजी, शैलजाजी वा भागबन्डामा आफू ठगिएको ठान्ने मन्त्रीहरू वा सांसदहरू रिसाउने र मनमोहनजी, माधव नेपालजी, वामदेवजी वा बाबुरामजीजस्ता ‘जी’ हरू मुर्मुराउने हुँदैनथ्यो । न राप्रपाजस्तो पार्टीमा यस्तो काटमारको प्रजातान्त्रिक परिपाटी देख्न पाइन्थ्यो । न त चोलेश्वरले सारा कामकाज र नव-विवाहिता पत्नीसमेत एकातिर फालेर देउवाजीका देउ-रूपको दर्शन गर्न दिनभर हात माड्दै र दौरा तन्काउँदै सिंहदरवार र बालुवाटार धाउँथ्यो । वाह ! देउवा (ह) जी । देश प्रधान त हुनैपर्छ । चाहे त्यो गरिब देशहरूको प्रधान नै किन नहोस् । र देशमा एक थान प्रधानमन्त्री हुनैपर्छ । आवश्यकता परिआए मुख्य प्रधानमन्त्री र जगेडा प्रधानमन्त्री पनि बनाउन सकिन्छ । राष्ट्रिय प्रतिनिधिमण्डल र जागिर खोज्नेहरूसँग भेटघाट, उद्घाटन, शिलान्यास र भाषण जगेडा प्रधानमन्त्रीका जिम्मा । अरु मुख्य प्रधानमन्त्रीको । यसो भए मुख्य प्रधानमन्त्रीले देशका समस्यामा ध्यान दिन समय पाउनेछन् । जस्तो नेपाल छ, देश कृषि-प्रधान हुनैपर्छ, पर्दो रहेछ । खेती चाहे जस्तो होस्, जे होस्, गरिनैपर्छ । यही नै नेपालको मूलमन्त्र हो । आउनुहोस् कृषि-प्रधान देश नेपालको कृषिका नमूना हेरौँ ।

नेपालको प्रमुख खेती राजनीति हो । यो खेती नेपालमा प्राचीनकालदेखि गरिँदै आएको छ । यसको खेती पहिले मर्दहरू, दुईचार पूँजीपतिहरू, जमिनदारहरू, मन्त्रीहरू र भाइभारदारहरूले मात्र गर्थे । अहिलेजस्तो अरू सबै क्षेत्रमा असफल र निराश हुनेहरूले गर्दैनथे । अरु धेरै मानिसहरूले आफ्ना कृषियोग्य भूमिमा धान, मकै, गहुँ, कोदो, आलु, पिँडालु, जौ, उवा नै उब्जाउँथे । गाईभैँसी, भेडाबाख्रा, चौरी, घोडा, खच्चड पाल्थे । मासु खान्थे । तर आजभोलिजस्तो सबै पशु खाँदैनथे । केही जगेडा पनि राख्थे । कृषिकर्म, यातायात-परिवहन र दूधका लागि। कुकुरहरू सुरक्षाका लागि । घोडा-खच्चड चढ्थे । लहडीहरू, सोखीहरू मन परे गधा पनि चढ्थे । गधा पाल्नु र चढ्नुको अर्को फाइदा थियो । ट्रान्जिष्टर, रेडियो, भ्वाइलेन, गितार वा मादल वा तबला वा हार्मोनियम वा सङ्गीतको कुनै यन्त्र बोक्नुपर्दैनथ्यो । घरमा सङ्ग्रह पनि गर्नुपर्दैनथ्यो । गधा चढेर हिँड्दा हिँड्दै सङ्गीतकार, गीतकार वा गायक भइन्थ्यो । एकपटक आफ्नो रुचि गधाका कानमा सुटुक्क भन्नुपर्थ्यो । उहिलेदखि यो सुविधा नभए आज नेपालको जनसङ्ख्याभन्दा बढी गायक, गीतकार, सङ्गीतकार कसरी हुन्थे ?

पछि भैरव अर्यालले मात्र आलु खेती गरे । र पिँडालुमा एकोहोरिएर खेती गर्ने कृषक देखिए केशवराज । जसलाई उनकै उत्पादनका ट्रेड नामले पिँडाली भनिन्छ । नेपालमा पिँडालुको खेती अरुले राम्रो गर्न सकेनन् । उनकै उत्पादन ‘पिँडालु’ को भाउ प्रत्येक बिहान बताउँछ रेडियो नेपालले । यसबाट नेपालका अर्थतन्त्रमा पिँडालुको योगदान स्पष्ट हुन्छ । अर्का कृषक हुन् घटोत्कच शर्मा जसले पशु पाल्छन्, दूध, मासु खान्छन् र मरेका पशुका छालाबाट जुत्ता र वाद्ययन्त्र बनाउँछन् । कताकति लेखपढ र पत्रकारितामा रुचि राख्ने उनले लेखपढ गर्दा अर्कै नाम राख्छन् भन्छन् । त्यसै पनि राम्रो काम गर्दा एउटा नाम र नराम्रो काम गर्दा अर्को नाम गर्ने चलन नेपालमा सामान्य छ । लेखपढ नराम्रो मानिने नेपालमा यस्ता नराम्रा काम गर्दा नाम लुकाउनैपर्‍यो । लाचारी हो, के गर्नुहुन्छ ? उनका उत्पादन जुत्ता खुट्टामा लगाउनुभन्दा अर्काका शरीरमा निःसङ्कोच प्रयोग गर्न सकिने खालका हुन्छन् । उनी दमाहा बनाउन र बजाउनामा निपुण छन् । उनका दमाहाको ध्वनि काठमाडौं उपत्यकाका तीनै शहरमा सुनिन्छ । हनुमान्ढोकाअगाडि राखिएका दमाहा पनि उनैले बनाएका हुन् भन्ने सुनिन्छ । शर्मा पाण्डे थर भएका व्यक्ति भए पनि छाला जुत्ता र दमाहा-नगरा बनाउने चर्म-उद्योगमा प्रवृत्त हुनु उनको प्रगतिशील, क्रान्तिकारी व्यक्तित्वको सूचक हो । दुईचार क्रान्तिकारी व्यक्ति नभए देश कहाँ बन्छ ?

पछि पछि नेपालमा परम्परागत धान, मकै खेती कम हुँदै गयो । खाद्यान्न कम हुन थालेपछि नेपालीले धेरै जातका पशु पेटमा पाल्न थाले । वर्तमान नेपालको खेतीयोग्य भूमिको शत प्रतिशत भागमा राजनीतिको खेती हुन्छ । यही नै नेपालको प्रमुख आहार हो । पोषक । यसलाई पिसेर, कुटेर, भुटेर, उमालेर वा काँचै खान सकिन्छ । यसको उपभोग चुरोट सुर्तीसँग, चिया-कफीसँग, रक्सी-पुलाउसँग, मकै भटमाससँग, चिउरा-भुजासँग, गुड-सत्तुसँग जसरी पनि गर्न सकिन्छ । यसको खेती बिहान-बेलुकी, दिउँसो-राति जति बेला पनि हुन्छ । यसको उत्पादन कम हुने कठोर, पत्थरिलो क्षेत्रमा जमिनको पूर्वतयारीस्वरूप हल्का कुटपिट, मारपिट पनि गर्ने चलन छ । यो बेलाबेलामा भइरहन्छ । कृषि प्रधान देश हो । नेपालका गाउँ-शहरमा, बेसी-बगरमा, खोला-नहरमा, लास-बिहानमा, साहित्य-कलामा, पानी-कुलामा जताततै यसको खेती हुन्छ । भएकै छ । यो मौलाएको छ ।

टाठा र परम्परागत रूपमा राजनीति उब्जाएर, बेचेर खाने उन्नत कृषकहरूले एकडेढ मीटरका कपडामा पनि यसको प्रचुर उत्पादन गर्छन् । जनसङ्ख्या बढदै जाँदा जमिन कम हुँदै जाने कुरो उनीहरूले पहिले नै बुझेका छन् । यसैबाट परिवार भरणपोषण गर्छन् र भविष्यलाई संरक्षण पनि । यस्ता उर्वर भूमिलाई झन्डा भनिन्छ । यसैमा खेतीका औजार अटाउँछन्- हँसिया, मार्तोल, हलो, कोदालो । र कतिपय चतुर कृषकहरूले आफ्ना खेतबारीका उत्पादन पनि संरक्षण गर्छन् -मकै घोँगा, धानका बाला । यसको उत्पादन आकाशमा पनि हुन्छ । ताराले त्यही सङ्केत गर्छन् । यसरी एकडेढ मीटरका झन्डा भनिने जमिनमा खेती गरी खाने बाहुबली कृषकलाई नेता/नेतृ भनिन्छ । नेपालमा यस्ता खेतीवालहरूमा प्राथमिक कक्षाका विद्यार्थीदेखि विश्वविद्यालयका उपकुलपतिसम्म छन् । र निजामतीतर्फ पियनदेखि सचिवसम्म । सरकारी नोकर भए पनि सडकमै सुतेर राजनीतिको स्वाद लिनुपर्छ भन्ने धारणा आम नेपालीमा देखिनु नेपाली राजनीतिको विकासको मूल आधार हो । मन्त्रीहरू त हुँदै भए । दिनदिनका चुनाउ, हड्ताल, बन्द, धर्ना, विरोध-सभा यसका कीटनाशक, उर्वरक मलहरू हुन् । पोषक तत्त्व । नेपालमा जति तल्लो तहमा गयो उति यसका खेतीमा नागरिकहरू दत्तचित्त भएर लागेका भेटिन्छन् । यो नेपालजस्तो कृषि प्रधान देशका लागि सन्तोषको विषय हो ।

दोस्रो खेती प्रजातन्त्र हो । २०४६ सालपछि यही नै त्यस्तो खेती हो जसलाई प्रत्येक नेपालीले आफ्ना घर-आँगन, चोटा कोठा सबैतिर लगाएको छ । त्यसैलाई काटेर, माडेर, चुटेर, भुटेर खाइरहेछ । र प्रत्येक नेपालीले आफूलाई मात्र यसको एकलौटी किसान, प्रमुख उत्पादक ठान्छ । कतिपय नेपाली कृषक कोट, कमीज, प्यान्टका पाकेट वा चोलो-ब्लाउज वा ब्राभित्र प्रजातन्त्र राखेर आफ्ना स्वादअनुसार चबाउँदै हिँड्न थालेका देखिन्छन् । “मैले उब्जाएको प्रजातन्त्र भुटेर, पोलेर, जसरी खाऊँ ।” कति कृषकले आफूले उब्जाएको प्रजातन्त्र बेचेर घरजग्गा जोडे । अहिले सुती सुती खाइरहेछन् । यसका पनि धान मकैका झै अनेक जात छन् । २०४६ सालअघि देशको हावापानीसुहाउँदो पञ्चायती प्रजातन्त्र भनिने यसको एक जातको खूब खेती गरिएथ्यो । चाँडै मरे अब्राहम लिङ्कन, यस्तो प्रजातन्त्र देखेका भए प्रजातन्त्रबारे आफ्नो दृष्टिकोण फेर्दा हुन् । यस उत्पादनको भूस ज्यादा र गुदी साहै कम भएको कुरो २०४६ पछि मात्र थाहा भयो । भर्खर भर्खर जुन व्यक्तिले हलगोरु लिएर सम्पूणर् नेपालका खेतबारी, टिक्कर-टारी सबैतिर भीडतन्त्रको खेती गर्न तम्स्यो, जसका पालामा प्रजातन्त्रको बीउ नै भुटिएलाजस्तो भयो उसैले आफूलाई प्रजातन्त्रको प्रमुख उत्पादक ठान्छ । थोक व्यापारी । काशी, कश्मीर, अजब नेपाल । तर भीडतन्त्र पनि प्रजातन्त्र उब्जने खेतबारीमै उब्जन्छ, हेर्दा प्रजातन्त्र जस्तै जस्तै हुन्छ । तर प्रजातन्त्रजस्तो होइन, अखाद्य जङ्गली जात हो । भीडमा जन्मेर भीडले नेता बन्नेहरूले भीडतन्त्रलाई नै प्रजातन्त्र ठान्छन् ।

तेस्रो खेती भाषण हो । हिमाली क्षेत्रबाट बगेर आउने नदीहरूबाट सिञ्चित, गरिबी र अशिक्षाका प्रभावले मलिलो नेपाली माटो भाषणका खेतीका लागि उपयुक्त छ । यसको खेती नेपालका दुई वर्गका किसानले गर्छन् । माननीय मन्त्रीहरू र महामहिम नेताहरू । यस खेतीको सम्पूणर् बाली सामान्य जनताले स्याहार्छन् । यो बिसपच्चिस वर्ष यता प्रचुर उत्पादन हुने बाली हो । नून, तेल, दाउरा, चामल र शिक्षा संस्थानका महाप्रबन्धकहरूसमेत आफ्ना क्षेत्रका समस्या समाधानतर्फ भन्दा भाषणकै खेती गर्न अग्रसर छन् । कसैले वनवादी दाउरा वितरण गर्छन्, कसैले जनवादी शिक्षा । यसले पनि नेपाललाई कृषि-प्रधान बनाउन मदत पुगेको छ । यसको उत्पादन प्रायः “बताउनुभएको छ, भन्नुभएको छ र जोडदिनुभएको छ” का रूपमा तयार हुन्छ । यसलाई सामान्य नेपाली जनताले चाङ लगाएर राख्छन् । भकारी कसेर राख्छन् । यसबाट कतिपय नेपाली भवनहरू, आयोजना र कलकारखानाहरू पगोडा शैलीमा निर्मित छन् । कति नेपालीले सूती वा ऊनी वस्त्रझै बाह्रै महिना यिनैलाई ओढ्छन्, ओछ्याउँछन् । तिनलाई भाग्यमानी भन्नुपर्छ । भाषणको अनिकाल पर्दैन । जाडो, गर्मी, सुक्खा, बाढी एकनास फलिरहन्छ । कतै कतै इँटझै यसको प्रयोग गरेर राम्रा घरहरू बनाएको पनि भेटिन्छ । यस उत्पादनको स्वाद मिठो हुन्छ । सपनामा पाएको/खाएको मिठाई हो यो ।

अर्को खेती वातावरण, पर्यावरण र प्रदूषणका रूपमा छ । यो एउटै बाली हो तर छिटो र ढिलो पाक्ने किसिमको । यसलाई रेडियो नेपालले उच्चारण गरेको सुन्दा पूर्व काङ्ग्रेस सरकारका स्वास्थ्य राज्यमन्त्री डा. रामवरण यादव पनि यसैभित्र पर्नुहुन्छ । वाताबरन, परयावरण्न, रामबरन । वाताबर्न, पर्याबर्न, रामबर्न, दाजुभाइ । अनुप्रासका योजनामा रेडियो नेपाल दक्ष छ । रेडियो नेपाल हो, ऐरेगैरे रेडियो त होइन । एक मात्र अप्ठ्यारो यी तीनमा जेठोकान्छो छुट्याउँदा हुन्छ । परयावरन, वातावरन-गीत गाएर हावामा उत्पादन गर्न पनि सकिने हुन्छ । ‘राम्रो भए वातावरण राम्रो हुन्छ जीवन’ । उत्पादन त कस्तो हुन्छ तर जसजसका मधुर कण्ठका ध्वनिमा यो रेडियोमा धन्कन्छ, दुईचार वर्षमा तिनको वातावरण सुध्रन्छ । यसको उत्पादन हुने अब्बल क्षेत्र काठमाडौं हो । काठमाडौंको प्रदूषण हो । यो निर्यात-योग्य गुणस्तरीय छ । यसको समाचार निर्यात गरेर नेपालले डलर कमाउँछ । यसका प्रतापले दुईचार नेपालीले एक मानाको बन्दोबस्त गरे । तिनले प्रदूषणबाट नै घरसर बनाए र सूर्य चुरोट खाँदै छन् ।

यसै प्रदूषणका प्रभावले काठमाडौं महानगरपालिकाका महाप्रमुखले काठमाडौंलाई एक थान नारा महावाणी ‘स्वच्छ, सफा, हराभरा र स्वस्थ काठमाडौं’ फालिदिनुभएको छ । आफू तीनसय पैंसठ्ठी दिनमा तीनसय दिन बाहिर । उहाँ महानगरपालिकाका प्रमुख हुनुहुन्छ । कुनै सुब्बा-खरिदार होइन । महानगरभित्र बस्नु या देशबाहिर उहाँको मर्जी ।

यसको खेतीमा गोष्ठी, सेमिनार, वर्कशप आदि गर्नुपर्छ । जर्मनी, जापान, बेलाइत, अमेरिका आदि देशहरूको सहयोग माग्नुपर्छ । यसैअन्तर्गत सधैँ जङ्गलमा बसिरहन बाध्य नेपालका गैँडा-हात्तीलाई तीर्थ गर्न अमेरिका-बेलाइततिर पठाएर होटल खोलिन्छ र रक्सी खाएर निर्वस्त्र नाच्ने वातावरणको खेती गरिन्छ । पर्यावरण उब्जाइन्छ । विदेशीहरू गैँडा हेर्न चितवन आउँछन् । गैँडा पनि विदेशतिर भ्रमणमा जान्छन् । यसैलाई नेपाली वनसम्पदाको संरक्षण-संवर्द्धन तथा नेपाली लोकसंस्कृतिको विकासको कदम मान्नुपर्ने हुन्छ । आखिर निर्वस्त्र नाचे पनि डलरका लागि न हो ? सधैँ नाङ्गिएका हामी एकछिन नाङ्गो उभिएर डलर आउँछ भने के नोक्सान छ ? नाच हेर्नुहोस्, वस्त्र नहेर्नुहोस् । वस्त्र हेर्नु भलादमीपन पनि होइन । शरीरमा कम वस्त्र हुनु आजको सभ्यता हो । गैँडाले पनि कहिल्यै कट्टु वा धोती लगाउन्न । तापनि गैँडा गैँडा नै हो । डलर उत्पादन गर्छ । बाबुआमा बेचेर पनि नेपाललाई डलर चाहिएको छ । डलर ।

०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x