सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लेडिज छाता

अहिले पनि लेडिज छाता लिएर हिंडेको जेन्टिलम्यान देख्नासाथ मलाई त्यो जेन्टिलम्यान, जेन्टिलम्यान कम र राइफलम्यान अधिक लाग्छ । मलाई त्यो आणविक क्षेप्यास्त्रवाहक विमान उडे जस्तो देखापर्छ, र लाग्छ बडे-बडे जेन्टिलम्यानले यो सुन्दर संसार र अन्तरिक्षको समेत विनाश गर्नै आँटे । दिन-रात त्राहिमाम् छु । ब्राहिमाम् ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

“हृदयचन्द्र सिंह प्रधानले छाता शीर्षक निबन्ध लेखेर छोडेथे पच्चीसौँ वर्षअघि र डा. तारानाथ शर्माले अहिले त्यही छाता र त्यस्तै आलु, झिंगो र मह, दाँत र साँढे जस्ता थोत्रा-मोत्रा बटुलेर ओढे नेपाली निबन्धका पच्चीस वर्ष-पच्चिस वर्षका नेपाली निबन्धको भित्री-बाहिरी पारेर गुते पगरी सम्पादकको ।”

“फेरि ’घामका पाइलाहरू’ले थोक रूपमा अति प्रतिष्ठा र पैसो पनि थन्क्याइसकेर आए ध.च. गोतामे, ‘गरिमा’को दोस्रो तलाको झ्यालबाट वर्सात हेर्ने भैटोपलेर, तर रङ्ग लिए छाता र बर्सादीकै ।”

“अहिले फेरि म देख्तैछु तँ पनि छाताकै विषयमा घिसपिट गर्दैछस् र भन्दैछस् स्तरीय साहित्य ! राम ! राम ! तिमी महापुरुषहरूलाई पनि छाता र बर्सादीसिवाय केही सुझेन हैन ? सुझ्दैन । यस विशाल ब्रह्माण्डमा छातासिवाय केही देखेन हैन तिम्रा सड्या मगजले ?” आफूलाई नेपाली साहित्यको उच्च रुचिको पाठक र एकमात्र समालोचक तथा नेपालका गनिएका र गन्हाएका सबैजसो साहित्यकारहरूलाई आपनै चेला ठान्ने बुज्रुगले मेरा अगाडि आएर गरेका यी टिप्पणी मेरा कानमा पोलेको सिसा झैँ पसे । यस्तासँग के बोल्नु ?

मैले चुपचाप सुनिरहेँ । यो छातासम्म पनि रचना तयार गर्दै थिएँ म । केही बोलिनँ । यस्तासँग बोलेर प्रतिवादले जित्न खोज्नु र नेपालले ओलम्पिकमा कुनै पदक- दुबै हास्यास्पद हुन् र मुर्खतापूणर् पनि ।

“छाता । फेरि छाता । त्यो पनि लेडिज छाता ? वकवास ! एकदम वकबास ! यो लेडिज छाता र साहित्यको के सम्बन्ध ।” बुज्रुगको टिप्पणी निद्वन्द्व घुम्यो वातावरणमा । घुमिरह्यो ।

वातावरण एक प्रकारले शून्य भयो । त्यस शून्यलाई सिसा झैँ झर्‍यामझुरुम पारे उनैले- “तिमी सवै साहित्यकारहरू अब सुझनबुझसँग साहित्यको क्षेत्रमा रहनुभन्दा साहित्यिक लक्षणा र व्यञ्जना, बिम्ब र प्रतीक मिलाएर आलुप्याज बेच र देशलाई बर्बाद हुनबाट जोगाओ । जनी गर । मिलाउने अवसरको क्षेत्र व्यापारमा व्यापक पनि छ ।”

मलाई साह्रै दिक्दारी लागेर आयो र जवाफ दिनैपर्ने ठानेर बडो खिन्नतापूर्वक जवाफ दिएँ, “हो, हेर्नुस् हजुर, यो छाता छातामात्र नभएर लेडिज छाता पनि हो र मैले यसबारे लेख्ने अठोट गरेको छु ।”

मैले यति भन्नुमात्र के थियो दन्किहाले महाशय सुकेको खरमा आगो जस्तो- “शृङ्गार कालमा पनि त कवि-लेखकहरू नारीका नख-शिख, वक्ष-नितम्ब जोखतौल गर्थे र साहित्यका नाममा कोकशास्त्र वा कामको वणर्न गर्थे । आजका तुलनामा उहिलेका युवतीका वक्ष-नितम्ब पक्कै लम्बे-चौडे हुँदा हुन् र रातभर पनि जोखतौल नसकिँदो हो अथवा वक्ष-नितम्बका जोख-तौल गर्ने भाग्यमानीहरू लम्बाई-चौडाइको हर-हिसाव बिचैमा छाडेर त्यसभन्दा जरूरी अर्को काममा लाग्दा पुरानो हिसाब-किताब बिर्सदा हुन् । जे होस्, तिनको जोखतौल र वणर्न रातभरमा पनि नसकिएर कुखुरो वास्दासम्म पनि जारी रहन्थ्यो, तैपनि जोख-लौल र वणर्न अपूरै रहँदा अप्रसन्न मनले ‘प्यारी ! उठौं कि अब ता ‘कुखुरा कराये’ भन्थे । अब आए तिनका छाता जुत्ता । साहित्य र समाजको रूचिको उन्नति यत्ति भएछ हैन ? अब छाताजुत्ताका माध्यमले पनि नारीशरीरै कोट्याउने त होला । कसो ?”

“खोइ ! मलाई नेपाली कविताको शृङ्गार-कालका प्रवृत्तिको उत्ति ज्ञान छैन ।” मैले भनें ।

त्यसपछि बुज्रुगको टिप्पणीतिर मैले ध्यान दिइनँ, तापनि मउपर स्वकर्मधन्य ती बुज्रुगको समालोचकीय व्यक्तित्वको प्रभाव नपरी रहेन । मेरो मस्तिष्कमा छाता घुमिरह्यो । छाताबारे नलेखूँ म ?

छाताबारे किन नलेखूँ म ? अनन्त आकाशका छत्रछायामा बाँच्ने होइनौं हामी ? धूप र वर्षाका याममा छाता ओढ्छन् सवै । वर्षाका याममा छाताबाहेक कोही वर्सादी ओढ्छन् । घुम, स्याखु र केराका पात पनि ओढ्छन् । सहरमा यस्ता ओढ्ने कुरा कहाँ पाउनु र ? सहरियापनको रक्षाका लागि भिज्दै वा नाङ्गै हिंड्न सकिन्छ । यसैले कोही आफ्ना कमिज-पेन्ट, दौरासुरुवाल ओढ्छन् त कोही आफ्ना टोपी र लगौंटी मात्र, तर तपाईंले कहिल्यै विचार गर्नु भएको छ ? छाता ओढ्नेहरूको बुझ्नुभएको छ दर्द ?

तपाईं भन्नुहोला- विचार के गर्नु छ, पानी परेका बेला छाता ओढ्नेहरूको ? छाता, वर्सादी ओढ्छन् ।

हो ! तर कतिपय जेन्टलम्यान लेडिज छाता ओढ्छन् बडो गर्वसँग । घाम न पानी । पुसका मधुुरा न्याना घाममा पनि छाता ओढेर यसरी हिंड्छन्- लाग्छ तिनले छाता ओढेका कम र देखाएका अधिक छन् । तिनका मुखमुद्राले लाग्छ मानो तिनले संसार विजय गरे, जीवनको रहस्यभेदन गरे अनि निराकार निरञ्जनको साक्षात्कार गरे । पुतलीका प्वाँख जस्ता रङ्गिन लेडिज छत्रछायामा प्रफुल्ल देखिन्छन् ती । रोम-रोम पुलकित ।

यस वर्गमा ती व्यक्तिहरू पर्छन् जो भर्खरै विवाहित छन् र समाजका एक-दुई अभिन्न मित्रबाहेक अरुले तिनका विवाहको जानकारी पाएका छैनन् । पाऊन् पनि कसरी ? विवाह जस्तो विवाह बेपत्ता छ । कसै-कसैले बाबुको बिहे देख्छन् र तै बितेछ, नत्र यसलाई शब्दकोषबाट झिकिदिए पनि भयो । आज त मन्दिर गयो एक-दुई …को फूलमाला … फिल्मी संवाद … अङ्ग्रेजीमै कहते हैं- ‘आइ लव यु’ – काम तमाम ! सम्वोधन दाजु-बहिनी हुँदाहुँदै विवाहको सूत्रमा बाँधिएर बसेका हुन्छन्— कल्पना गर्दै पनि कठिन पो पर्छ र स्वभावतः समाजले तिनलाई अविवाहित देख्छ, तर ती व्यक्तिहरूले आफूलाई विवाहित विज्ञापित गरेर आफू अविवाहित युवक-युवतिभन्दा एक सिँढीमाथि उक्ले झैंं ठान्छन् । सके अविवाहित हुँदाका आफ्नो आत्मसम्मानमा लागेको ठेसमा अहिले लेडिज छाता ओढेर आत्मगौरवको मलम लगाउँदैछन् । भो अब ?

मर्दाना छाता त अधिकांश पुरुषले ओढ्छन्, तर लेडिज (जनाना) छाता ओढेर हिंड्ने जेन्टलम्यानहरू पनि नामेट भएका छैनन् । यस संसारबाट यो दुर्लभ जाति सदाका लागि अतीतमा बिलाउला भन्ने डर लाग्छ, तर पनि जतिले लेडिज छाता ओढ्छन् तिनको संख्या त्यति नै रहनु श्रेयस्कर छ । बाबुबाजेका थात वास र वंश मूलोच्छेदनका लागि परिवारमा एकमात्र कुपुत्र पर्याप्त छ । कौरव हुनुपर्दैन । अँ, कुपुत्र चाहिँ अवश्य होस्, आवश्यक योग्यता यत्ति, तर पनि जतिले लेडिज छाता ओढ्छन् र जसरी तिनले ओढ्छन् त्यो देखेर हामीलाई तिनले पाठेघ।देखि ने लेडिज छाता ओढेर आएका हुन् भनेर ठोकुवा गर्न कति हम्मे पर्दैन । अझै लेडिज छाताले मात्र ती जेन्टिलम्यानलाई, तिनका व्यक्तित्वलाई पर्याप्त गरिमा प्राप्त हुने नदेखिएका खण्डमा आधा-आधी कुर्कच्चा बाहिर रहने गरी लेडिज चप्पल पनि धारण गरेर निस्कन्छन् बाहिरफेर । क्यै सम्झे झैं, क्यै बिर्से झैं । निदको गोलीको डवल मात्रा खाएका मानिस झैं लाग्छन् ती मलाई । विचाराहरू ! आत्मसम्मान त्यस्तो हँुदो रहेछ ! तर आत्मसम्मान सिन्कीसरह बेचेर- बेच्ने कुरा अरू केही थिएन नि त… लगातार बीस वर्षदेखि त्यसैको मोलले नै बाँच्नुपरेको र बाँच्ने रहर जोगाइरहेको म जस्तो हाइलम्फूलाई यसको महत्व कसरी थाहा होस् र ? त तिनको आत्मसम्मानको बोध आधा-आधी कुर्कुच्चा बाहिरै रहने गरी लेडिज चप्पलबाट चियाइरहेको हुन्छ । मिल्ने भए सिंदूरै पनि लगाउँदा हुन्, तुर अफसोस ! विवाहिता युवती-स्त्रीहरूले नै पनि सिँदूर-चुरा-पोते प्रयोग. गर्न छाडिसके भने युवकहरूले त्यो कुरै भएन ।

युवकहरू सबै कुरामा आफ्नो ज्ञान, सिप र शक्तिको प्रदर्शन गरी समाजमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छन्, तर जीवनको जब्बर छाता फोइसकेर पनि छाताका डण्डीलाइ लठ्ठी बनाई त्यसैको भरमा थामिने दन्तनास्ति हजुरबाहरू अझै सबै कुरामा आफ्नै आधिपत्य जमाउन जमजमाउँछन् । उनीहरू हार्नै जान्दैनन् । कालसँग पनि नहारेरै जिउँदै स्वर्ग जान्छन् जस्ता । बातैपिच्छे युवकहरूलाई- ओठ निचोरे दूध आउँछ । आइमाईका जस्ता ओठ लिएर हामीसँग कुरा गर्छस् ?- भन्छन् र अझै तेरा बाबुका बिहेको जन्तीबाख्राको दाँतमा अड्केको हाडको चूणर् हिजो अस्ति खस्यो- तँ हामीसँग छmफल गर्छस् ? भनेर आँखा तर्छन् । समाजमा युवकहरूलाई काँचा, दूधे, अबोध, अल्लारे र अज्ञानीजस्ता सहस्र सम्बोधन शब्दका निर्मम झटाराले हान्छन् र रेडियोमा- ‘हे युवा तिमी हौ देशको शक्ति !’ जस्तो गीत बज्दा-प्रसारण हुँदा बत्तिसै दन्त उडेका छाता गिजाले हाँस्छन् र भन्छन्- ‘साह्रै राम्रो लाग्छ यो गीत मलाई । सही कुरो बोल्छ रेडियाले पनि कहिलेकाहीँ ता ।’ यिनीसँग रिसाउनु कसरी ? खुसाउनु कसरी ? माया लाग्छ यिनको ज्ञान देखेर । रिस उठ्छ यिनको अज्ञान देखेर ।

नव विवाहितहरू विवाहपछि पनि कसैले आफूलाई एकदम युवक, अविवाहित ठानेर अपरिपक्व अल्लारे भन्ने काँस्यपदकद्वारा विभूषित गरिदेला र आहत हुनुपर्ला ठानेर बडो चिन्तित हुन्छन् । त्यसैको परिणाम हो यो लेडिज छाता । हाम्रो परम्परागत चलन-मान्यता नै यस विपत्तिका लागि उत्तरदायी छ । आफ्ना आङ कन्याएर आफैलाई छारो किन उडाउनु र ? तर नउडाई पनि काम भएन । जुँगा हेरेर भाग लगाउने व्यावहारिक न्याय-सिद्धान्त हाम्रो सामाजिक घरायसी अदालतको ठोकुवा फैसला हो । ठूला-ठूला विपत्ति यसबाट टरे पनि हुनन्, तर ठूला आपत्ति यसबाट परेका पनि छन् । यस निणर्य फैसला विरूद्ध पुनरावेदन- नालिस कहीं लाग्दैन, लागेको पनि छैन; किनभने न्यायपालिका बनेर न्याय पाल्ने वा न्यायका तराजु लिने बडे-बडे अदालतका माननीय न्यायाधीश महोदयहरूले पनि जुँगा हेरेर भाग लगाएका, न्याय दिएका कुराको नजिर हाम्रा वरिपरि छन् । भलै तिनले झगडियाका चर्मचक्षुले दृष्टिगोचर जुँगाभन्दा मर्मचक्षुले दृष्टिगोचर मनभित्रका जुँगा हेर्छन् । यसरी निर्णय दिँदा अलिखित संविधानका भाग, धारा, दफा, उपदफाको आधार मूल हुन्छ ।

यसरी जुँगाकै पक्षमा हाम्रा न्याय-कानून छन् जुँगा नहुनेलाई के त ? अपमान, तिरस्कार, फटकार । हाम्रो ऐन कानुनका अधिकांश महलहरू जुँगाबाट प्रभावित छन् । यसैले नेपाली जनजीवनमा, सामाजिक सन्दर्भमा जुगाको भाउबेसाहा चर्को । आजभोलि झुक्किएर उम्रिएका एक-दुई त्यान्द्रे जुँगाले पनि हाम्रो समाजमा जुन मान रवाफ पाउँछन्, तिनले लेखनाथको ‘योग्य स्थान विसे मान सानाले पनि पाउँछ’ सम्झाउँछन् । त्यसैले आधा हेक्टर गालामा जुँगाको भरसलाग्दो खेती गरेर जुँगाको मुठो कानसम्म पुर्‍याउनेसँग तपाईंले- फुलेको नै सही एउटो मात्र रौँ मांग्नोस्- दिन्छ ? उहुँ ! बरु उखेलिएका जुँगाका एक-दुई त्यान्द्रालाई पनि मैन वा त्यस्तै कुनै चिजका मदतले मुठैमा बाट्छ । यस्तो नभए हृदयचन्द्रले जुँगाका लागि त्यत्रो, उत्कट अभिलाष किन देखाउँथे ? देवकोटाले त्यत्रो जुँगा निबन्ध किन लेख्थे ? र हाम्रा पितापुर्खाका जुँगामा कोटेराले गुँड लगाउन किन पाउँथे ? भलै तिनलाई जीवनका पछिल्ला पहरमा आफ्ना पाँच बजेर पैंतिस मिनट जस्ता जुँगादेखि विरक्ति लाग्दो हो र तिनै जुँगाबाट तिनका जुँगालगायत सबै कुरा सिथिल भएछन् भन्ने अड्कल पाउँदा हुन् अरुले ।

हो, त म लेख्दै थिएँ लेडिज छाताबारे । लेडिज छाता बोकेर हिँड्ने वीर्यवान् जेन्टलम्यान हातमा लेडिज छाता होइन, नव-विवाहिता पत्नी वा युवतिलाई नै बोकेर हिँडे जस्तो ठान्छन् । कतिले काँधमा राख्छन् कतिले अँगालामा । मानो सीताका अनुपम सौन्दर्यबाट मोहित रावणले लक्ष्मणरेखा पार गरी चित्रकूटगिरिमा सीतालाई बोकेर दौडाइरहेको होस्- उडाइरहेको होस्- लङ्काको लक्ष्य गरी । सीताको सौन्दर्यले सम्मोहित छ रावण । प्रफुल्लित छ रावण । सशङ्कित छ रावण । उद्विग्न छ रावण । हर्ष र विस्मातका ज्वार-भाटाले उसको मनस्थिति डाँवाडोल पारिरहेछन् । परिणाम जे सुकै होस्- लङ्का-नाश वा आफ्नै विनाश- परवाह छैन । कत्ति छैन ।

सबै त नभनूँ, कतिपय युवक र प्रौढहरू पनि अझै लेडिज छाता ओढेर आफ्नो योग्यताको प्रदर्शन गर्ने उत्कट अभिलाषा राख्छन् । त्यस वेला तिनले आफूभित्र रावण जन्मिरहेको पत्तो पाउन्नन् । पछि पछुताएर के गर्नु ? लेडिज छाताको तीब्र चाहना मनबाट हटाउनै सक्तैनन् ।

माटालाई ढुङ्गाको भर, ढुङ्गालाई माटाको भर भन्छन् । युवकहरू युवतीहरूदेखि लोभिन्छन् र युवतीहरू पनि युवकहरूदेखि लोभिँदा हुन् नाइँ, तर यसबारे आफूलाई राम्रो ज्ञान छैन, किनभने जुन युवति- युवति भइनसक्दै- मप्रति लोभिई त्यो मेरी पत्नी बनेरै रही, रहेकी छ । छोडिन मरिगए र विवाहोपरान्त उसले ममा अरूलाई लोभिने अवसर पनि दिइन । अस्तु, फेरि अविवाहित किशोरी-युवतिहरू विवाहितहरूसँग लोभिँदा हुन्, र विवाहित चाहिँ किशोरीहरूसँग । सके जेन्टिलम्यानको लेडिज छाताप्रतिको आकर्षण पनि यस्तै हुँदो हो ।

वास्तवमा, विवाहित जेन्टिलम्यानको लेडिज छाताको प्रदर्शन तिनको आफ्नो वर्तमानप्रतिको असन्तुष्टिको मौन विरोध हो । अविवाहित हुँदा तिनलाई जुन प्रकार सामान्यतः काँचा ठहर्याइयो, त्यसैको विरोध लेडिज छाता हो । तिनका अन्तरात्माको विरोधको ज्वालामुखी भएर फुट्ने-निस्कने यो लेडिज छाता- लावा हो, अग्निमय, दाहक । यो छोइसक्नु हुने कुरै भएन, त्यसैले शान्ति चाहनुहुन्छ तपाईं भने लेडिज छाता बोकेर निस्कने महापुरूषका मारक क्षेत्रदेखि टाढै बस्नुहोस् ।

वास्तवमा, जेन्टिलम्यानले लेडिज छाता ओढेर हिँड्नाको वा हिँड्ने आकाङ्क्षाको परिणाम सर्वदा विध्वंसक, विनाशकारी वा स्वयंघाती नै भएको छ । रावणले सीताका लागि मरिमेटेर लेडिज छाता ओढ्ने प्रयास गर्दा सुनको लङ्का स्वाहा । सुनको लङ्का मात्र डढेर त के रावण जस्तो वीका लागि ! सिँढी बनाएरै पनि स्र्गैमा बस्दो हो, तर बिचरा त्यस्तो रामभक्त हनुमानले आफ्नो त्यति सुन्दर रोमनुच्छयुक्त पुच्छर डढाएर समुद्रमा उम्लन पुग्नुपर्‍यो । रावणलाई लङ्काकोभन्दा हनुमानलाई पुच्छरको पीर ठूलो हुन्यै भयो । जीवनभर रामसीताका सेवामा जुटेर पनि आफ्नो एउटै मात्र पुच्छरको रौँको जो भएको एउटो पाजी झुप्पोसम्म पनि जोगिन नसक्दा हनुमानमा राम विरूद्ध विद्रोहको भावना उठेथ्यो । बाल्मीकिले भने लेखेनन् । दवाए । विद्रोह सवैले बलपूर्वक दवाउनै खोज्छन् ।

कौरवहरूले द्रौपदीका सारीको सबै भाइले एकएक र मामा शकुनिलाई एकसमेत गरी एक सय एक लेडिज छाता बनाएर बाँड्ने दुस्साहसले बल के देखाएथे महाभारत महाभारत हुन पुग्यो । मामा रहेन न भान्जाहरू । प्यारिसले अनिद्य सुन्दरी हेलेनलाई भगाएर लेडिए छाता ओढ्दा ग्रिसेली सेनाले दश वर्षसम्म ट्रय घेरेर ट्रयको लडाइँ भयो । पश्चिमको महाभारत । अस्ट्रियाका आर्कड्युक फ्रान्सिस फर्निन्यन्ड र उनकी पत्नीको हत्या गर्नेले पनि लेडिज छाताको लोभले त्यसो गरे, तर परिणाम भयङ्कर । साराजेभोमा २९ मई १९१४ मा भएको त्यस मामुली घटनाले त्यस्तो उग्र रूप लेला- कसले भन्न सक्यो ?

सम्राट् एडवर्ड अष्टमले श्रीमती वालिस सिम्पसन बारफिल्डको छाता रूचाए र ‘आफूले मन पराइएको स्त्रीको प्रेम र साहचार्यबिना यत्रो बेलाइती साम्राज्य म कसरी धान्छु ?’ भने हाकाहाकी । हो नि, प्रेमविना संसार शून्य छ, तर त्यस प्रेमकथाबाट बेलाइतमा गम्भीर सम्वैधानिक सङ्कट उत्पन्न भयो । यसै सङ्कटविचमा उनले आफ्नो सूर्य नअस्ताउने साम्राज्य त्यागे । यी सम्राट् हुन् एडवर्ड अल्बर्ट क्रिस्चियन जर्ज एन्ड्रयु प्याट्रिक डेविड । नाम जति लामो राज्यभोग उति अरूप । जम्मा ३२५ दिनका राजा, तर नामअनुसार लेडिज छाताको चाहना उति तीव्र ।

त्यसैले म कुनै पनि कुरामा मर्न-मार्न तत्पर जेन्टलम्यानका हातको लेडिज छातादेखि झस्कन्छु । तुरून्तै अर्को राम-रावण युद्ध वा महाभारत वा ट्रयली युद्ध वा प्रथम वा द्वितीय विश्वयुद्ध जस्तै कुनै अर्को युद्ध होला जस्तो लाग्छ । अहिले पनि लेडिज छाता लिएर हिंडेको जेन्टिलम्यान देख्नासाथ मलाई त्यो जेन्टिलम्यान, जेन्टिलम्यान कम र राइफलम्यान अधिक लाग्छ । मलाई त्यो आणविक क्षेप्यास्त्रवाहक विमान उडे जस्तो देखापर्छ, र लाग्छ बडे-बडे जेन्टिलम्यानले यो सुन्दर संसार र अन्तरिक्षको समेत विनाश गर्नै आँटे । दिन-रात त्राहिमाम् छु । ब्राहिमाम् ।

०००
तानसेन, पाल्पा
‘जुही’ अङ्क- ११ (२०४२)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
तसमो मा ज्योतिर्गमय

तसमो मा ज्योतिर्गमय

चाेलेश्वर शर्मा
भ्यागुता महान्

भ्यागुता महान्

चाेलेश्वर शर्मा
राजधानी त सधैं गजेटेड छ

राजधानी त सधैं गजेटेड...

चाेलेश्वर शर्मा
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन