साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी त सधैं गजेटेड छ

‘मुस्ताङमा ट्याक्सी चल्दैन’ थाहा पाएर राजधानी हाँस्छ । ठूलो पदप्रतिष्ठाको मान्छे हाँस्नु स्वाभाविक छ । ‘मान्छे कसरी शहरमा कामधन्दाले यताउता गर्दा हुन् ?’ राजधानी उदेकाउँछ । राजधानीका लागि जीवन सिंहदरबार र नयाँसडक हो । बातैपिच्छे हङकङ, बैंकक वा न्यूयोर्क, लन्डन हो ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

राजधानी सधैं मयलपोस सुरुवालमा ठाँटिन्छ । तैपनि हङकङले अझैसम्म मयलपोस सुरुवाल एक्स्पोट् गर्ने रूचि नदेखाएर उसलाई नेपालमै सिलाएको लगाउनुपर्दा पचास प्रतिशत व्यक्तित्त्व घटेको चिन्ताले सुकाएको छ । मान्छे रातदिन पर्सनालिटीपछि दगुरेको छ, उसलाई भगवान्ले कृपा गरी दिएको हुँदोखाँदो पर्सनालिटी राष्ट्रिय पोशाक र राष्ट्रिय कारिगर दुवैको संयुक्त प्रयासले पचास प्रतिशत माइनस हुँदा गोली लागेको छ । राष्ट्रिय पोशाक नलगाऊ ठाडै अराष्ट्रियको सस्तो उपाधिले विभूषित भइने, लगाऊ पर्सनालिटीको सत्यानाशको कुरो । पर्सनालिटोभन्दा राष्ट्रिय पोशाक लगाएर राष्ट्रिय चरित्र पाल्ने जुगजमानाअनुसारको नेपालीत्व नै उसलाई प्यारो लाग्छ । र कताकति ‘छड्के आउने रे’ थाहा पाउँदा (सक्कली नेपाली चरित्रको अड्डा छड्के ४–५ दिनअघि सोझै थाहा पाइन्छ) दश बजे शहीद ढोकाको बस बिसाउनीबाट सिंहदरबार पुग्न चार पाइला मात्र भए पनि बसमै पीङ खेल्ने अनिवार्य रहरले हतारिदा कहिले मयलपोसको तुना त कहिले सुरुवालको इजारले समेत भुइँमा टेकेर अचम्मको छ खुट्टे जन्तु नभएको होइन राजधानी ! भएपनि किन ऊ पैदल हिँडोस् ? कुर्कुच्चा खियाई खियाई ! सम्मान, पद, प्रतिष्ठा र मर्यादा विपरीत ? आखिर ऊ त गजेटेड न हो ? चौहत्तरै जिल्लाको प्रमुख ?

राजधानी जुन रूपले विकासपथमा पर्या ठोकेर बढ्दो छ, त्यसको आधा वा चोथाइ मात्र पनि उसका सँगीसाथी जिल्लाले साथ दिन सके नेपाल कहाँ पुगिसक्थ्यो ! राजधानीबाहिरकाको बुझ्ने शक्ति नै छैन । दक्ष जनशक्तिको अभावको पीडाले यहीनेर राजधानीको च्याँठै मर्छ ।

राजधानीमा जता हेर्नोस्, अन्तर्राष्ट्रिय रहनसहन छ, बोलीचाली, मिजास छ, वातावरण नै अमेरिकामय, समय, जापानमय, बेलाइतमय हङकङमय वा भारतमय छ । नेपालमय बरू कहिल्यै हुन सकेन । जता हेर्नोस्, राजधानी अन्तर्राष्ट्रिय समस्याको पीडाले पसीना काढ्दो छ । भियतनाम, कम्पुचिया, इजरायल–फिलिस्तिन, अफगानिस्तान, निकारागुआ, एल साल्भाडोरको समस्या मिलाउन दत्तचित्त छ, भाषण गर्छ । हुन पनि देशको आँटोपीठोको समस्या सुल्झाउनुभन्दा सजिलो वर्तमानमा यिनै विश्वव्यापी समस्यामा भाषण दिनु छ । जता हेर्नोस्, दौडधूप, हा हा सभा— समारोह, छलफल, कार्यशाला गोष्ठी । देश जति विकसित हुन्छ, उति सभा–समारोह, कार्यशाला गोष्ठी, छलफल । प्रमाण–पत्र वितरण, प्रमाण–पत्र वितरण नै नभए विकासको के माने ? प्रगतिको के अर्थ ? सामान्य हाकिम त हाकिम नै भए माननीय मन्त्री महोदय जस्ता उच्च उत्तरदायित्त्वपूर्ण ओहदामा बसेका महानुभावहरूलाई पनि भोजन र आमोद–प्रमोदका समयमा प्रमाण–पत्र वितरण गर्न दौड्नुपर्छ, र गरीब नेपालीको हालत त्यस बेला थाहा हुन्छ । यसरी शिशिरका रुखले जीर्ण पत्र थोक रूपमा प्रमाण–पत्र छर्दा पनि राजधानीका पाँच प्रतिशतभन्दा बढी नागरिकले अर्को कुनै प्रकारको प्रमाण–पत्र पाउन सकेका छैनन् । यस समस्याको समाधानको लागि हेलिकोप्टरबाट प्रमाण–पत्र वितरित गर्ने योजना कत्तिको लाभदायी होला ? पञ्चेश्वर, देवीघाट या मस्र्याङदी वा यस्तै कुनै आयोजनाका लागि प्राप्त हुने सहयोगको सानो अंश छुट्टयाइदिए यसलाई फालाफाल । सम्बन्धित पक्षले यो मेरो अमूल्य सुझाउ लेओस्, आजभोलि सुझाउ संकलन गर्ने लहर चलेको पनि छ ।

त जहाँ गोष्ठी र सभा–समारोह भएनन्, जहाँ राता रिवन काटिएनन्, जहाँ कलात्मक नेपाली पानसमा बत्ती बालेर उद्घाटनका औपचारिकता पूरा भएनन्, जहाँ छलफलका लागि छलफल भएनन्, जहाँ प्रमाण–पत्र वितरित भएनन्– संझनुस् त्यहाँ विकास भएन । यो कुरा जुम्ला हुम्लाले सुनून् । रोल्पा– डोल्पाले सुनून् । पाँचथर–ताप्लेजुङ्गले सुनून् । राजधानी बाहेक चौहत्तरै जिल्लाले अवश्य सुनून् ।

राजधानीमा मयलपोस छ, शुभ्र बाह्य आवरण छ, जिल्ला समाचार छ, यो ग¥यौं र ऊ ग¥यौंको आत्मप्रवञ्चना छ, ट्याक्सी छ, टेलिफोन छ । काम गरुँ गरुँ भन्दा दिउँसै टेबुलमा टाउको बिसाएर निदाउँ निदाउँ जस्तो अफिस छ, ढोका बाहिर ‘व्यस्त’ को प्लेट तारो बनाएर दोपहर वा अपराह्नदेखि नै भरेभरेको पप्लु योजना छ । भरेतिर राजधानी भन्छ– हङकङ छ ।

खुट्टा हल्लाएर दिनभर कार्यालयहरूमा झर्कन्छ राजधानी । देब्रे हातमा दुई औंलाले दुई कन्चट थिचेर एस्प्रो खान्छ राजधानी । राजधानीको टाउको दुखेको छ । फन्कछ पूरा नेपाललाई सानो टाउकामा बोक्नुपरेकाले झर्कन्छ राजधानी । गजेटेड सरकारी साहेब दिक्दार हुनु, झर्कनु स्वाभाविक र पदसिद्ध अधिकारको कुरो हो । राजधानी यौटाले पूरा नेपाललाई टाउकामा बोक्नु ख्याल होइन । आखिर जसले पनि किन देखाउँछ नेपाललाई राजधानीमा ? यसले बाहिरका रुन्चे जिल्ला पनि नेपाल भनाइएर राजधानीको इमेज खराब भएको कुराले राजधानी रिसाउँछ । एस्प्रोले नछुने भैसकेको छ ।

राजधानीलाई हेडेक नहुने कुरै भएन । उसको आफ्नो त हुँदै भयो चोहत्तरै जिल्लाका टोपी राजधानीकै टाउकामा जोखिन्छन् । नेपालका काम योजना– आयोजना तर्जुमा र काँट छाँट गर्दा राजधानीकै शरीरमा नापिन्छन्, काटिन्छन्, छाँटिन्छन् । अन्य जिल्लाले पनि लगाउँछन् । यही परम्परा हाम्रो आफ्नो परम्परा र हाम्रो संस्कृति हो । सही रूपमा भन्दा यसलाई जडाउरी परम्परा र जडाउरी संस्कृति भन्नुपर्ला । दरिद्रतम देशको लहरमा सगौरव उभिएको नेपाल विश्वमा अन्य सहयोगीका जडाउरी मोटर, सरसामान, लुगाफाटा, खाद्यन्न, विचार–दर्शन, प्रविधि, शिक्षा, ज्ञान–विज्ञानले विभूषित भई कृत छ । यसरी नै राजधानी– राजधानी भएका नाताले अरू जिल्लालाई योजना, काम, कार्यान्वयन– सबै कुरामा जडाउरी भिराउँछ । काँटछाँट योजना तर्जुमा राजधानीका कदकाठीमा । पछि बाहिरका जिल्लालाई बकस । अस्पतालको बिरामी ड्रेसजस्तो । जो आओस्– जसले लगावोस्, उसैलाई ठिक्का ।

त्यसैको परिणाम हेर्नुहोस्, अट्ठाईस सालको ग्रीष्मकालमा राजधानीमा अमेरिका रिटण्ड टेलर्सले छाँटेको नयाँ शिक्षाको सफारी–सूट ७–८ वर्षमै कनसुत्लालाई सर्पको काँचुली जस्तो भयो । ह्वार्ल्याङ ह्वार्ल्याङ । काँचुलीभित्र कनसुत्लालाई ठम्याउन गाह्रो भएजस्तो नयाँ शिक्षाको सफारीमा राजधानी वा नेपालकै शरीर (अनुहार) बेपत्ता भयो । यस्तै अनेकौं कार्यक्रम, योजना कार्यान्वयनमा भएको होओइन कसरी भन्नु ? यस्तो दुब्लाउँदै गएको राजधानीले सिने नेपाल बोक्नु ठट्टा हो र ?

‘मुस्ताङमा ट्याक्सी चल्दैन’ थाहा पाएर राजधानी हाँस्छ । ठूलो पदप्रतिष्ठाको मान्छे हाँस्नु स्वाभाविक छ ।

‘मान्छे कसरी शहरमा कामधन्दाले यताउता गर्दा हुन् ?’ राजधानी उदेकाउँछ । राजधानीका लागि जीवन सिंहदरबार र नयाँसडक हो । बातैपिच्छे हङकङ, बैंकक वा न्यूयोर्क, लन्डन हो । कसले कति ब्याङ्क ब्यालेन्स र घर–घडेरी– जग्गा जोड्यो ?– हो । कसको फरिया कति हात लामो छ ?– हो ।

राजधानीमा जीवन भनेको ठूलो घर–बङगला हो । बङ्गला वरिपरि फूलबारी हो । फूलबारीमा कुर्सी हो । कुर्सीमा उपरखुट्टी हो र समाचार पत्र, पत्रिका हो । मीठो झ्याङझ्याङ संगीत हो । बाहिर ढोकामा ‘कुकुरदेखि सावधान’ को सूचनापट हो । मुख– पुच्छर छुट्याउन नसकिने कुकुरहरूजस्तै स्त्री–पुरुष छुटयाउन नसकिने मालिकहरू हो ।

‘ताप्लेजुङमा सिनेमा छैन’ । राजधानी झस्कन्छ ।
‘डोल्पामा नयाँ सडकको त के कुरा पुरानो सडक पनि छैन ।’ आँखा झिम्म पनि नगरी हेरिरहन्छ राजधानी ।

‘कार्यालय जान बस नपाउँदा, ढीलो हुँदा मान्छे कसरी दौडन्छन् त ?’ राजधानी उत्सुक आँखाले सोच्छ । ‘सिंहदरबार कसरी टायममा पुग्छन् त ?’ अर्काको कदकाठी समाएर जीवनका उकाला चढ्नु नै खास संस्कार र सभ्यता भइसकेको राजधानी रनभुल्ल पर्छ ।

‘सिहदरबार रे ? हामीकहाँ त स्यालदरबार पनि छैनन् । सबै ठाउँमा हिँडेरै पुग्छौं हामी । पुग्नैपर्छ । कतै–कतै त बाबियाका लट्ठामा चमेरा झैं झुण्डिएर पनि नदीनाला तर्नु पर्छ ।’

‘आ म्मम्मम… हिँड्ने रे ! म त एक पाइला पनि हिंड्न सक्तिनँ । एक दिन होइन, एक छिन पनि बस्न सक्तिनँ त्यस्तो ठाउँमा ।’ राजधानी भन्छ ।

राजधानी बाहिर बाँच्न नसक्नु, मान्छेलायक जीवन नदेख्नु नै त खास नेपाली संस्कृति हो । बाहिर बस्नेलाई न्यूनतम आवश्यकतामा बाँच्ने उपदेशहरू भिराउनु र आफू चाहिँ सारी चोलो वा मयलपोस सुरुवाल बाहेक पूर्णतः विदेशीपनाको पोइलजोइल जानु नेपाली संस्कृति हो । राजधानी हिंड्न किन सकोस् ? आखिर ऊ त हाम्रो राजधानी । त्यति ठूलो पोस्टमा पुगेर पनि, हिंड्नु परे हिंड्न सके पनि, हिँडे पनि हाम्रो अपमान न हो !

‘टेलिफोन त होला ?’ राजधानीको विस्मय हटेको छैन ।
‘कहाँ टेलिफोन हुनु !’
‘त्यसो भए लाइफ त बोरै रहेछ ।’ मुखे तीतो गराउँछ उसले । ‘बाहिर जिल्लामा कसरी बस्छन् त त्यत्तिका मान्छे ?’ वैराग लाग्छ उसलाई । ट्याक्सी न टेलिफोन । डिस्को न भिडियो । नयाँ सडक न सिंहदवार । हङ्कङ न बैंकक । मोटर न भटभटे । गोष्ठी कार्यशाला । न लाखे मुकुण्डाको किनबेच । जीवन भन्नुपर्ने रहेछ नै के र राजधानीबाहिर ! पाँच पाँच पञ्चवर्षीय योजना ओडेर–ओछ्याएर पनि चाउकी नभएको टोपी लाउनुपर्ने जीवनलाई कसरी जीवन भन्नु र ? राजधानीलाई अचम्म लाग्नु स्वाभाविक हो । ऊ त राजधानीमा नियम कानून काइदाका दश हाते बाघ टेलिफोनका एकै फायरले ठहरै ढल्छन् । बाहिरका जिल्लामा यस प्रकारको अद्भुत कार्य गर्नबाट अधिकांश नेपाली वञ्चित छन् । राजधानीलाई यति विशेष सुविधा त हुनै पनि प¥यो ।

राजधानीलाई विदेशी एड छ । वर्तमानमा उच्च पदासीन व्यक्तिलाई भूतपूर्व हुनेबित्तिकै बस्न रोजेको घडेरी छ । हातमा गरुडको न्यानो नमस्ते छ । ओठमा कुटिल मुस्कान छ । आधुनिक सुखसुविधा ऐश्वर्य वाँच्ने जीवन छ । भित्र के छ ? न्यूजिल्याण्डको एङकोरिया दूध छ । अमेरिकी गहूँ छ । टल्कने जापानी चामल छ– आयातित । स्वदेशी खाद्यान्नमा निर्भर नेपालीले अन्तर्राष्ट्रिय स्तरमा प्रगति गर्न सकेको थिएन, छैन । बेलाइतको खै कति छ र खेती ? आयातित अन्न खाएर हेर्नाेस् त ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृति, राजनीति, दर्शन, उद्योग, व्यवस्था हरएक क्षेत्रमा उन्नति बेलाइतको । खालि नेपालका डाँडाकाँडा र स्यालभुकुवा टारी टिक्कर तथा तराईका प्रगतिको प्रकाश नपुगेका अँध्यारा इलाकामा उब्जिएको खाद्यान्नले पोषित नेपाली बुद्धिले नोबल पुरस्कार कसरी जितिन्छ ? राजधानीबाहिर सिस्नोढिंडो दुर्लभ हुने दिन जेठको घामझैं प्रचण्ड हुँदै देखापरे तापनि राजधानीमा दिनहुँ भोजभतेर कक्टेल्स छ । बाहिरकाले विस्तार–विस्तार चल मात्र होइन घर–खेतजस्ता अचल पनि तीस रुपैयाँ पाथीको मनसुली बनाएर उदर चलान गर्दै धोती न टोपी हुँदै गए पनि राजधानी हतास छैन । निराश छैन । विचलित छैन । निन्याउरो छैन ।

राजधानीमा सधे अनुकूल मौसम छ । जुम्लाको सान्ने वा तिलागाडको झोलुङ्गे पुलले राजधानी सडकमा अलकत्रा ठोक्छ । संखुवासभा वा ताप्लेजुङ वा प्यूठान वा पाल्पाको पञ्चायत घरको छानाले सक्कली ढाकाटोपी ढल्काउँछ । तब पो राजधानी !

हेर्नोस् है, राजधानी सुपारी चपाउँदै याक सल्काएर हतारिएको टल्कने जुत्ता छ, आकर्षक राष्ट्रिय पोशाक मयलपोस छ, माछा–पुच्छ्रे शैलीको ढाकाटोपी छ । उसको मनमा यत्ति बेला पनि नेपालको विकासको दीर्घकालीन योजनाको तर्जुमा र कार्यान्वयन छ– अभिवादनको प्रत्युत्तरमा टाउकोसम्म हल्लाउन पनि उसलाई फुर्सद छैन । उसले नेपाल बनाएरै छोड्ने अठोट गरिसकेको छ । उसलाई घोरिन दिनोस, ऊ व्यस्त छ । व्यस्त भई भई ऊ बूढो भइसकेको छ । ऊ गंभीर छ । उसको समस्या पनि गजेटेड छ । ऊ आफू त्यसै पनि गजेटेड छ । राजधानी त सधैं गजेटेड छ ।

०००
‘गरिमा’ वर्ष १, अङ्क ११, कार्तिक २०४०
‘म त अप्रिल फूल भएँछु’ (२०४२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x