चाेलेश्वर शर्माघण्टाकर्णकाे अर्थशास्त्र
घण्टाकर्णकाे महत्त्व हृदयङ्गम गरी घण्टाकर्ण ठड्याएर वा नठड्याएरै पनि जगात कर पैसा माग्नेहरूलाई नहप्काएर कम्तीमा एक रुपियाँ दिनुहोला । दिए बढी पनि स्वीकार्य छ घण्टाकर्णका सन्तानलाई त्यो रुपियाँ व्यर्थ गएको नठान्नु होला ।

चोलेश्वर शर्मा :
घण्टाकर्ण श्रावणकृष्ण चतुर्दशीको दिन पर्ने पर्व हो । कुनै रात्रिचर महापुरुष वा कल्पित राक्षसका सम्झनामा यो मनाइन्छ । यसलाई एक सांस्कृतिक चाडका रूपमा हेरिन्छ तर म चाहिँ घण्टाकणर्को आर्थिक प्रणालीबाट प्रभावित छु र यसलाई आर्थिक चाड भन्छु ।
आधुनिक अर्थशास्त्री र बित्त विशेषज्ञहरूले, अर्थशास्त्रका विद्यार्थीहरूले विश्वास गरोइनन्- घण्टाकर्ण नै त्यो प्रथम अर्थशास्त्री, कर तथा बित्त-विशेषज्ञ थियो जसले मानव समाजमा प्रत्यक्ष करारोपणको आधार बनायो । वास्तवमा कौटिल्यले घण्टाकर्णबाट नै अर्थशास्त्रको प्रारम्भिक दीक्षा लिएका हुन् र कौटिल्यको गुरु घण्टाकर्ण नै हो । घण्टाकणर्ले देखाएको आर्थिक बाटामा लाग्ने बुद्धि हामीमा उहिल्यै आएको भए र आर्थिक प्रणालीमा अनियमितता नभएको भए नेपाल आर्थिक दृष्टिले जापान बराबर हुन्थ्यो । आज हाम्रो देशमा प्रमुख वित्तीय संस्था ‘घण्टाकर्ण बैङ्क’कम्तीमा एक खर्ब रुपियाँको अधिकृत पूँजी भएको केन्द्रीय राष्ट्रिय बैङ्क हुन्थ्यो । यही नै देशको मुख्य बैङ्क हुन्थ्यो । राष्ट्र बैङ्कका कर्मचारी घरमै बसेर कुखुरा वा बङ्गुर पाल्थे । कोही तथ्याङ्क बिना बाँच्न नसक्नेले घरमै बसेर प्रतिमहिना देशका प्रमुखबजारको उपभोक्ता मूल्य-सूचकाङ्क तयार गरेर घरका भित्तामा टाँस्थे । नेपाल बैङ्क लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैङ्कका लाखौ, करोडौंको रकम कुनै विदेशी वा स्वदेशी गल्ला व्यापारी वा ठगले कुम्ल्याएर भाग्न पाउँदैनथ्यो किनभने ती खुल्ने नै थिएनन् । सबै काम घण्टाकर्ण बैङ्कबाट सुचारु रूपमा हुन्थ्यो । एउटै धितो तीन चारतिर राखेर रकम लिनै मिल्दैनथ्यो । त्यस स्थितिमा गोरखापत्रले नेपालका बैङ्क ठगिएका यस्ता विशेष महत्त्वपूर्ण र पुरुषार्थका समाचार मुखपृष्ठमा गौरवपूर्ण भावले छाप्नु सट्टा राष्ट्रिय पञ्चायत अधिवेशनका किञ्चित महत्त्वका वक्तव्य वा नेपालले आगामी १०० वर्षभिन्न देशका ५० प्रतिशत नागरिकलाई खानेपानी सुलभ गराउन दृढ निश्चय गरेको समाचार वा कुनै बाढी पहिराको वणर्न वा त्यस्तै कुनै हितकारी समाचार छाप्थ्यो र रेडियोले पनि नीलोकन, गुलाफ वा परिवार नियोजन चिच्याएर अझै बढी ‘महिलाहरूको विकास हुन्छ’ जस्तो एकदमै असम्भव र आश्चर्यजनक समाचार वा कुनै विशेष सङ्घ, संस्था ऐनकानुन वा राष्ट्रसङ्घीय कुनै दिवसको रजतजयन्तीका अवसरमा कुनै मन्त्रीका वक्तव्य प्रसारित गर्थ्यो।
भनिन्छ, यस्तो महान् र उच्च हैसियतको घण्टाकर्ण राक्षस थियो र नेपाल ध्वंश गर्न तम्सेको थियो । उसैको नाम गठेमङ्गल हो । उसको नाउँ मङ्गलप्रसाद वा मङ्गलध्वज वा मङ्गलदास वा मङ्गले नभएर किन गठेमङ्गल भयो – गम्भीर अध्ययन र अनुसन्धानको विषय भएको छ । उसलाई कुनै तान्त्रिकले मारेका हुन् र त्यसै दिनदेखि नेपालीको सरदर आयु बढेको हो । स्वास्थ्य सेवाका विकासको कारण होइन । अझै नेपालमा घण्टाकर्णका सन्तान प्रशस्त छन् र प्रत्येक वर्ष तिनलाई चौबाटामा ठड्याइन्छ र साँझ घिसारिन्छ । ती सबै गरी घिसारिँदै गरे चाँडै नेपालीको सरदर आयु १०८ वर्ष पुग्छ ।
यथार्थमा भनिन्छ, घण्टाकर्ण नास्तिक थियो । त्यो नास्तिकता उसका सन्तान नेपालीमा कति सरेको छ, थाहा छैन । घण्टाकर्ण भाग्यवाद मान्दैनथ्यो । कर्म मान्थ्यो । सुनभन्दा फलामलाई महत्त्व दिन्थ्यो तापनि आफ्ना कानमा प्रत्येकमा १६-१७ धार्नीको एकएक घण्ट झुण्ड्याउँथ्यो, तुच्छ सुनको । धनीलाई भन्दा गरिबलाई माया गर्थ्यो । प्रायः गरिबकै पक्ष लिन्थ्यो तर चन्दा कर असूल गर्दा सुका-मोहर दिने गरिबलाई हकायर्थ्यो । पक्का प्रगतिशील र समाजवादी विचारको थियो ऊ । ईश्वरको नाउँ सुन्नु नपरोस् भनेर कानका घण्ट हल्लाउँथ्यो तर वास्तवमा त्यो उसले आफ्नो सम्पत्ति प्रदर्शित गरेको हो र त्यो गुण उसका सन्तान नेपालीमा सरेको हो भनिन्छ । उसको महत्ता-कानमा त्यत्रा ठूला घण्ट झुण्ड्याएर पनि दोबाटा चौबाटामा जगात कर मागेर बस्थ्यो । मागेरै खान्थ्यो उसको विचारमा मागेर खानु नै महान् कर्म थियो । यस अर्थमा ऊ सभ्य थियो मागेर खान्थ्यो, चोरेर कहिल्यै खाँदैनथ्यो तर उसको दुर्भाग्य-मरेपछि लाश उठेन । उठ्न त्यति सजिलो पनि त थिएन । सुनै ३२-३३ धार्नी थियो । टोलवासीले दाहसंस्कार, काजकिरिया गरे । गर्ने नै भए । कान मात्र हेरेर पनि गर्ने पर्यो । काजकिरिया गर्नु अघि नाक, कान, हात, गला अवश्य हेरिन्छ । हाम्रो हिन्दू राष्ट्रको यो यौटा साहै राम्रो परम्परा छ । २-४ तोला सुन वा १००-५० रूपियाँ लिएर मर्न सके काजकिरिया तुरुन्तै हुन्छ । विशेष भाग्यमानीहरूको नमर्दै पनि काजकिरिया हुन्छ । यो सुविधा संसारका अन्य कुनै पनि राष्ट्रमा छैन । टोलवासीले साँझ, घण्टाकर्णकाे दाहसंस्कार गरी नुहाइधुवाइ गरेपछि तिनै घण्ट बेचेर यथारुचि रक्सी खाए भनिन्छ । त्यही परम्परा आजसम्म कायम छ ।
यसै परम्पराअनुसार श्रावणकृष्ण चतुर्दशीको दिनभर नर्कट, छ्वाली र सिस्नाका मुठाका हात, खुट्टा, नाङ्लाको मुखमण्डल र घ्याम्पाको टाउको बनाएर घण्टाकर्णकाे नाङ्गो शरीरको प्रतिमूर्ति बनाई दोबाटा-चोबाटामा ठड्याइन्छ । गठेमङ्गलको लाश र गठेमङ्गलको दाहसंस्कार, काजकिरिया गर्न कर, जगात, पैसा असूल गरिन्छ । गठेमङ्गलको प्रतिमूर्तिमा पैसा, कर, जगात चढाउँदा मङ्गल हुन्छ र पाप काटिन्छ भन्ने धारणा प्रवल छ। पाप काटिने कुरो त म जान्दिनँ तर सबैले पैसा चढाएपछि पैसा, कर, जगात पाउनेको मङ्गल अवश्य हुन्छ। यो म निर्धक्क भन्न सक्छु ।
त्यसै दिन माग्नेले शरीरमा अश्लील कुराहरू लेखेर प्रदर्शित गरी हिँड्छ र ‘गठेमङ्ङ्गल (आजाजुः बूढाबा) को काजकिरिया गर्न पैसा, जगात, कर देऊ’ भन्छ । यति भएपछि पैसा हुनेले दिन्छन् । माग्ने काम त्यसै घृणित । नाङ्गो शरीर त्यसै अश्लील । अश्लील कुरा त्यसै अश्लील लेखिरहनै पर्दैन । माग्नु नै नाङ्गिनु हो । सुट-टाइमा विदेश गएर मागि हिँडे पनि नाङ्गिएकै त छौँ हामी । सन्दर्भ देशको होस वा व्यक्तिको, एकै हो। निर्लज्ज भएर उत्रिएपछि केही त पाइन्छ नै । निर्लज्जताको कदर गर्ने व्यक्ति यस संसारमा अझै छन् ।
घण्टाकर्णकाे पर्वले हाम्रो आर्थिक जगतमा राम्रो प्रभाव पार्न सक्छ । पूँजीवादी, समाजवादी वा मिश्रित आर्थिक प्रणालीभन्दा घण्टाकर्ण आर्थिक प्रणाली नेपालका सन्दर्भमा बढी प्रभावकारी र लाभकारी हुन सक्छ ।
सर्वप्रथम त यस घण्टाकर्ण आर्थिकप्रणाली अनुसार मानिसहरूले नर्कट, छ्वाली, तीतेपाती र सिस्नाको खेती गर्न प्रोत्साहन र प्रेरणा पाउँछन् । किसानहरूलाई सिस्नाका, तीतेपातीका र जौ-गहुँका बीउ तथा नर्कटका कलमी निःशुल्क वितरित गरिनेछ । सिस्नो, नर्कट र तीतेपातीका उन्नत जातका विकासका लागि अनुसन्धान केन्द्र खोलिने छन् । छ्वालीका लागि मात्र जौ, गहुँको खेती गरिने छ । जौ-गहुँका अन्नदानाभन्दा नल, छ्वालीको विकासमा बढी प्रयास गरिनेछ । मकै, जौ-गहुँ र धानका अन्नदानाका लागि त डलर सहयोगले खुमलटार, रामपुर, परवानीपुर, भैरहवा, तरहराजस्ता केन्द्रमा उहिल्यैदेखि अनुसन्धान हुँदैछ र त्यसको परिणाम जस्तो सोचिएको थियो त्यस्तै भएको छ । त्यसले निराश गराएको छैन । नेपालमा अन्वेषण र अनुसन्धानका स्थिति त्यसैले देखाउँछ । जति नै उन्नत जातको अन्न खेती गरे पनि सिस्नो गीठा, भ्याकुर र उपवास नै नेपालीका मुख्यआहार हुन् ।
यसैले घण्टाकर्ण आर्थिक प्रणालीमा सिस्नो र तीतेपातीका फाँट लहलहाउने छन् । तीतेपाती र सिस्नाबाट के कस्तो खाद्य परिकार बनाउन सकिन्छ भन्ने कुरा अनुसन्धान केन्द्र र खाद्य प्रयोगशालाहरूले हेर्नेछन् । तिनमा देशका तमाम वैज्ञानिकहरूले परिश्रम गर्ने छन् । के सिस्नो वा तीतेपातीबाट कुनै भान्जा स्न्याक्, फोक्सुण्डो वा युयु चाउचाउ वा पार्वती बिस्कुटजस्ता भोज्य पदार्थ वा तीतेकोला वा सिस्नु नामका पेय पदार्थ बन्न सक्छन् ? वा त्यस्ता निम्नकोटिका बन्न सक्तैनन् भने तीभन्दा उच्च कोटिका अवश्यै बन्लान् -तिनले हेर्नेछन् । नर्कटबाट कुनै निद्रा लगाउने, अचेत बनाउने औषधि पनि बन्छ कि ?
अन्यत्र कुनै कदर नगरिएर अलपत्र परेका, अकारण पनि साहै चिच्याउन र अर्काको कठालो वा गर्दन समाउन अघिसर्ने देशका कर्णधारहरूलाई काम-मामका अवसर खुल्नेछ । यसको यो साहै ठूलो प्रभाव नेपाली जीवन र अर्थ व्यवस्थामा पर्नेछ । देशका लाखौँ नागरिक काममामका खोजीमा गीत गाउँदै मुग्लान भासिने वाध्यताको अन्त्य हुनेछ । त्यस्ताको योग्यताको कदर त यस् बेला सारा संसारले नै गर्दछ । नेपालले फेरि, कसरी नगरोस् । यिनैले दोबाटा चौबाटामा घण्टाकर्ण ठड्याएर वा बेला मौका नठड्याएरै पनि आवश्यकता अनुसार प्रत्येकसँग जगात, कर, पैसा असूल गर्नेछन् । सहर-गाउँभरि यातायातमा बाधा पर्ने गरी घण्टाकर्णका प्रतिमूर्ति ठड्याइने र डोरीले बाटाहरू बन्द गरिने भएपछि डोरो व्यवसाय पनि फस्टाउनेछ ।
घण्टाकर्णकाे स्थापत्य र मूर्ति निर्माणमा चित्र लेखनमा अनेक नेपालीले दक्षता हासिल गर्नेछन् । थाङ्का चित्रहरू, पौवाहरू, मन्दिरका टूँडालद्वारा, चैत्यका गर्भ, ग्रीवा, चक्षु, भाल, छत्र, कलश, तोरण आदिमा काठ, ईंटा र धातुहरूमा, भित्ताहरूमा, घ्याम्पा र नाङ्लाहरूमा घण्टाकर्ण शैलीको कला फस्टाउनेछ ।
यसले नेपालको ललितकलामा नयाँ आयाम थप्ने छ । र सम्भवतः यसबाट ‘घण्टाकर्ण ललितकला प्रज्ञा-प्रतिष्ठान’ खोलिनेछ । देशको दुर्भाग्य २-४ प्राज्ञ अझै बढ्नेछन् ।
प्रत्येक बस्ती, गाउँमा घण्टाकर्ण बैङ्कका शाखा-उपशाखा खोलिनेछन् । तिनका लागि वास्तुकलाविद्हरूले घण्टाकर्ण शैलीमा भवन निर्माण गर्नेछन् र धेरै शताब्दीदेखि पगोडा शैलीको प्रचार भएको नेपालमा हिजोआज नेपाली शैली भनेर जुन नेपाली र विदेशी शैलीमा सिँगटी टायल छानाको टोपी लगाएका, खिँचडी शैलीका घर-भवन बनेका छन् तिनको ठाउँ घण्टाकर्ण शैलीले लिनेछ । अ-नि-को को आत्माले पनि चिरशान्ति पाउनेछ ।
घण्टाकर्ण बैङ्कले नेपाली नागरिकलाई बिना धितो ऋण दिनेछन् । वर्तमानमा जस्तो उद्यमीहरूले ऋण लिँदा वित्तीय संस्थाहरूलाई नै ७५ प्रतिशतसम्म सेवा शुल्क चढाउनुपर्ने छैन । फलतः वित्तीय संस्थाका व्यवस्थापक वा प्रबन्धकका पद महत्त्वहीन हुनेछन् प्रबन्धक- महाप्रबन्धकका कुर्सी धेरैजसो रिक्त हुनेछन् । यसले हाम्रा यातायातका साधन, टेलिफोन, पी.ए., स्टेनो र टाइपिस्टहरूमा परेको चाप कम हुनेछ । विदेशी महँगा विद्यालयमा भर्ना भएका यिनका सन्तान स्वदेश फर्कने छन् । यी प्रबन्धक-महाप्रबन्धकले देउराली चुरोट रुचाउन थाल्नेछन् । बैङ्कले साना ठूला सबै प्रकारका नेपाली उद्यमीहरूलाई जुँगा र मुख नहेरेर ऋण सहयोग प्रदान गरेर देशको आर्थिक विकासमा प्रत्यक्ष-अप्रत्यक्ष ठूलो गुन लगाउने छ । नेपाल यसबाट सजिलै औद्योगिक युगमा पुग्नेछ । नेपालका अर्थशास्त्रीहरूले यसलाई आर्थिक पुनर्जागरण नामले चिन्नेछन् ।
देशमा मुकुण्डो व्यवसाय बढ्नेछ । नेपालीले घण्टाकर्णकाे मुकुण्डो धारण गर्न रुचि लिनेछन् । लिएकै छन् । मुकुण्डो व्यवसाय यसरी बढ्दै गयो भने हाम्रा समाज नक्कली अनुहारको समाज हुनेछ, शङ्का छैन । थपडी बजाउने, नारा लगाउने र जय जयकार गर्ने माटहरूले वर्षभर काम पाउने छन् जो चुनावपछि झण्डै बेकम्मा हुन्छन् । गजात उठेको रकमको राम्रो हिसाब किताब राख्न प्रत्येक शाखामा ५-५ खजान्जी शरार्फ र नो. ग. जा. हरू भर्ना गरिने छन् । उठाइएको रकमको केही प्रतिशत घण्टाकर्णका मलामीहरूले त्यसै राति टोलकै भट्टी पसलमा आजभन्दा बढी पोखिने भएकाले भट्टीपसलहरू पनि पर्याप्त चल्नेछन् । तिनमा कृषि उत्पादन बढाउन विदेशबाट डलर तिरी पैठारी गरिएको युरियाबाट तयार भएको शुद्ध झोले नेपालीका स्वास्थ्यमा राम्रो प्रभाव पर्नेछ । यसले नेपालीको सरदर आयु बढाउन र गरिब भएर बाँच्नुको पीडा भुलाउन सहयोग गर्ने छ । र नेपालमा खेतबारीमा भन्दा भट्टीपसलहरूमा युरियाको बढ्दो उपभोगले विदेशी विशेषज्ञ र मल कारखानाहरूलाई बढी उत्पादनमा प्रेरणा दिनेछ ।
नेपालजस्तो कृषिप्रधान र पूँजीको कमी भएको देशमा घण्टाकर्ण बैङ्कका माध्यमले गरिने अनिवार्य-बलपूर्वकको बचत राष्ट्रकै अर्थव्यवस्थामा ठूलो महत्त्वको हुनेछ । आजझै १०-१५ वर्षीय विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋणले बजेट टालटुल पार्नु पर्ने छैन। विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैङ्क, साउदी कोष, जर्मन, स्वीस सहयोग, नेपाली सहयोग समूहका राष्ट्रका मुख ताकेर नाक मुख सुकाउनु पर्ने छैन। हचुवा र भ्रमपूर्ण तथ्याङ्क जथाभावी प्रस्तुत गरेर जसरीतसरी ऋण हत्याउने कोसिस गर्नु पर्ने छैन। साउँ त परै रहोस्, व्याजको पनि चिन्तै नगरी पाएसम्म ऋण लिने र तिर्न नसकेर मेक्सिको, ब्राजिल र अर्जेन्टिनाका हाराहारी पुग्न आँटेको आर्थिक नीति हराउने छ । आफ्नै देशमा अर्थसङ्कलन पर्याप्त हुनेछ र २-४ ठग पार्टीले-राजनीतिक पार्टीले होइन-व्यवसायिक ज्यूँदाव्यक्तिले २-४ करोड ठग्दैमा नेपालका बैङ्क डुब्ने छैनन् । राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लिमिटेड हल्लिए पनि घण्टाकर्ण बैङ्क हल्लिने छैन ।
वास्तवमा कुनै नेपाली अर्थशास्त्रीले यसतर्फ ध्यान नदिएकाले यो अवहेलित छ । यो अवहेलित हुनाले नै नेपाली अर्थव्यवस्था अवहेलित छ । हामीले चाँडै नै वर्षको एक एक दिन मात्रको साटो ३६५ दिनै घण्टाकर्ण मनाउनुपर्छ । कति नियमै आए, गए ।
घण्टाकर्ण सधैँ एक दिन मात्र । सूचना गरी दिनुसम्म मात्र न हो प्रत्येक दिन घण्टाकणर् हुनेछ । सामान्य नागरिक सबैले गजात कर तिर्नु अनिवार्य छ । यति मात्र भए शुमेकरको ‘सानो नै सुन्दर हुन्छ’ भन्ने प्रणाली नीतिभन्दा ‘नेपालका लागि घण्टाकर्ण नै सुन्दर हुन्छ’ भन्ने आर्थिक नीति निस्किसक्थ्यो तर खै, नेपालका महान् महान् अर्थशास्त्रीहरू जति मन्त्री, राजदूत वा त्यस्तै कुर्सीतिर लोभिए । आफ्नै आर्थिकस्थितिको चिन्ता छ, तिनलाई नेपालका लागि सुहाउँदो आर्थिक प्रणाली देखाउन हामी नै त रह्यौं बाँकी । हाम्रो विचारमा नेपालले वर्तमानमा पछ्याएको मिश्रित अर्थव्यवस्थाभन्दा यही ‘घण्टाकर्ण आर्थिक प्रणाली’ बढी प्रभावकारी देखापर्छ । १०-२० वर्ष यही प्रणालीअनुसार देशका आर्थिक नीति र कार्यक्रम तर्जुमा र कार्यान्वयन गरियून् । राम्रो भए नेपालमा राम्रो काम गर्न मात्रमा कहलिएका कुनै महापुरुषका नाउँमा यो चलोस् । यसको श्रेय उहाँलाई नै जाओस् नराम्रो ठहरिए-हामीलाई दण्डित हुन मन्जुर छ । हजार कुरा सयौं वर्षसम्म प्रयोग गरिने ठाउँ हो नेपाल, यो पनि एक प्रयोग नै सही ।
घण्टाकर्णकाे महत्त्व हृदयङ्गम गरी घण्टाकर्ण ठड्याएर वा नठड्याएरै पनि जगात कर पैसा माग्नेहरूलाई नहप्काएर कम्तीमा एक रुपियाँ दिनुहोला । दिए बढी पनि स्वीकार्य छ घण्टाकर्णका सन्तानलाई त्यो रुपियाँ व्यर्थ गएको नठान्नु होला । बरू तपाईंले पनि देशका सेवामा अचम्मको कुरो आर्थिक विकासमा गरेको योगदान ठान्नु होला । र साँझ जम्मा भएको पैसाको केही प्रतिशतको सदुपयोग भएको बेला भट्टी पसलमा (भट्टी पसलमा घीन लाग्छ ? त्यसो भए रेस्टुराँ/बारमा) तपाईं पनि पाल्नुहोला । पाल्नुहोस् महोदय । सबै प्रकारका आर्थिक प्रणालीको निष्कर्ष त उही हो, मह काढ्नेले हात त चाट्छ नै ।
०००
तानसेन, पाल्पा २०४५, साउन
‘मधुपर्क प्रतिनिधि हास्यव्यङ्ग्य’ (२०६७)
Subscribe
Login
0 Comments
Oldest







































