चाेलेश्वर शर्मापरम कर्तव्य र खोलाका माछा
परम कर्तव्यहरू हाम्रा लागि खोलाका माछा र किताबका माछाजस्तै हुन् । माछा खानु हुँदैन । कहिले हुन्थ्यो । किताबका माछा खानु हुँदैन । तर खोलाका माछा काँचै सुलुक्क निलिदिए पनि आचारहीनता, अकर्तव्य र हिंसाको दाग लाग्दैन ।

चोलेश्वर शर्मा :
यस शीर्षकको अघिल्लो आधा भागले तपाईंलाई भगवान् बुद्धका उपदेशको सम्झना आउला भने पछिल्लो आधाले तुरुन्तै त्यस अहिंसा भावलाई फुमन्तर गराएर शान्तिका दूत महात्माका भावनाविपरीत हिंसातर्फ लैजाला । तापनि मैले यो शीर्षक रोजेर कुनै नीति वा आचारशास्त्रको प्रथम पाठ उतार्न खोजेको होइन । त्यस्तो भए परम्परागत आदर्शका डोरेटाबाट हटेर यथार्थवादी पाराले शुरु गर्दो हुँ- स्वार्थ देवो भवः । किनभने आधुनिक र विकासका पथमा आफूले फड्को मारेको देख्नेहरूका विचारमा पुराना रुचाउने आदर्शका सुकेलूताले नछोडेर नेपालको प्रगति-शरीर यति बिघ्न अत्यासलाग्दो र हरेसखाइँदो भएको हो । आधुनिक हुन नसकेको हो । त्यसैले पुराना भनेपछि हामीले जङ्गल, काठ, मन्दिर, मूर्ति, बोलीचाली, मिजास, सौहार्द र खानपान मात्र नभएर बाबुबाजे पनि नरुचाउने हावा प्रबल छ आजभोलि । यिनका अगाडि धार्मिक-नैतिक उपदेश र विचार त कुन ड्याङका मूला हुन् र ? अझै कतिपयलाई यति मात्र होइन देश पनि पुरानो पुरानो लागेर अर्कै रुच्न थालेको छ । र नेपालसँग ‘यही माटामा उम्रेँ, फुलेँ र यही माटामा निभ्छु’ को नातो, नेपाल जसका कण-कणले शरीरका कण-कण भिजेका छन्- त्यस नेपालसँगको नातो, सात समुद्रका पानीले धोएर-पखालेर पनि नजाने यस देशको नातो, यस माटाको नातो, यो श्वासप्रश्वास र जन्मजन्मान्तरको सम्बन्धको नातो, यो तातो रगत र न्यानो मुटुको नातो पुरानो पुरानो लाग्न थालेको छ । चित्त दुख्छ तपाईंको ? दुख्दो होला । तर दुखाउनुपर्दैन । देशभन्दा देशवासी ठूला हुन थालेपछि यस्तै हो ।
त्यसैले स्वार्थ देवो भवः जस्तो यथार्थवादी पाराले उपदेश र परम कर्तव्यहरू लेखिए पो तपाईंहामीमध्ये आफूलाई यथार्थवादी आलोचक-समालोचक ठान्ने कतिपय महापुरुषले यसको विवेचन-विश्लेषण गर्ने क्रममा आफ्ना अग्रज दुईचार लेखकका उद्धरणका भरमा बाग्जाल-शब्दजाल फैलाएर सफल आलोचक-समालोचकका महिमामण्डित आसनमा विराजमान हुने जमर्को गर्दा हौँ । यो हाम्रो आचरणको खास पक्ष हो । साहित्यिक समालोचक नठहरिए पनि असाहित्यिक आलोचक हुनबाट कोही जोगिएका छैनौं होला। केही नपाए “मेरी स्वास्नीले यस्तो भन्छे हौ, तेरीले भन्दिन ?” नै सही । तर यस शीर्षकको उद्देश्य हाम्रा परम कर्तव्यहरूको स्मरण र बोक्रा बोक्रा कोट्ट्याउने चियोचर्चा गर्नु मात्र छ । त्यसैले यसलाई नडराई पक्रेर यसको शिर-पुच्छर निस्सङ्कोच पढ्नुभए हुन्छ । पढिसकेपछि तपाईंले परम कर्तव्य पालना गर्नुभएन भएको सोधपुछ वा केरकार गरिनेछैन । “पायजामे के अन्दर सभी नंगे होते हैं” हैन ? तपाईंलाई थाहै छ । नभए पनि अब हुने नै छ ।
हिजोआज आउन थालेपछि जे पनि अति नै भएर आउँछ । र यस्तै स्थितिमा ममा आत्महत्याको प्यारो प्यारो लोभ जागेर आउँछ जसलाई मैले तपाईंहरूद्वारा सदैव अनुकरणीय आफ्नो यस अमूल्य र महान् जीवनमा कैयौँपटक पर सार्दै आएको छु । र जिउँदै छु । म जिउँदै छु- यो तपाईंलाई थाहै छ । नभए म आजसम्म तपाईंअघि हुने थिइनँ । हुन्थे ? ज्यूँदो नभए त भूत भएर तपाईंका सारा मिठा सपनाहरूलाई बिथोल्दिनथेँ र ? राख्यै बाँकी ? तपाईंका बिपना त यसै चूरचूर छन् । सपना पनि झन् चकनाचूर पार्थे । त्यस बेला सपनाको पनि स्वाद लिन नपाएपछि बाँच्नुहुन्थ्यो बौलाहा नबनेर तपाईं ? तर अब मेरो स्वप्नसंसारको त्यो चिरप्रतीक्षित दिन आखिर आइ नै पुगेको छ र मलाई लाग्छ अब आत्महत्या मात्र आज मेरो प्रथम र अन्तिम परम कर्तव्य हो। किनभने परम कर्तव्यका जालमा तपाईंहामीजस्ता मुख मात्र चलाएर अति महत्त्वाकाङ्क्षा पाल्ने र हात बाँधेर पनि छातीमा रौँ छ भन्न नछोड्ने नेपाली उद्यमीहरूले गर्न सक्ने एक मात्र पुरुषार्थी काम यही नै हो । यसबाट नै हाम्मा पितापुर्खाले परलोकमा तृप्तिको अनुभव गर्नेछन् ।
निरन्तर ‘दाल भात डुकु’ का लागि सङ्घर्ष गर्दै अकालग्रस्त हुने देवकोटाले समेत सुख-स्वर्ग ठहर्याएको यो संसार पक्कै लोभलाग्दो हुनुपर्छ भने लोभलाग्दो यस संसारमा बाँचेर अझै बाँच्नाका लागि सङ्घर्षशील रही पितापुर्खा र आफ्नै पनि नाम प्रदीप्त गर्नुभन्दा आफै वीरतापूर्वक आत्महत्या गर्ने आँट गर्ने मजस्तो छोरो पाएकामा गजक्क परेर अपार तृप्तिको अनुभव गर्ने पितृहरू पनि गजबै हुन् बा ! जीवनभर तिनले परम कर्तव्य बखानिरहे र अकाल कालकवलित भए तापनि तिनका दिमाग बदलिएनन् । बदलिनु थियो न बदलिए ।
– बाबु, यसो नगर । पुत्रको परम कर्तव्य होइन यो-लाई लत्याएर पुत्रहरू गौरवान्वित भावले छाती फुलाउँछन् ।
– नानी, यसो नगर । पुत्रीको परम कर्तव्य यो होइन-लाई युवती पुत्रीहरूले झुसिलकीरा लागेका पेटीकोटझें टकटक्याइदिन्छन् । पुत्रीहरू सरस्वती नै किन नहुन्, परम कर्तव्यलाई भर्सेला पारेर ब्रह्मा बूढाझै सरस्वतीका पछि लाग्न बेर लगाउनुहुन्न । आफ्नी छोरीप्रति त यस्तो । अर्काका भए तपाईं कस्तो हुनुहोला ? डर लाग्छ मलाई। तर बाबुहरू मात्र किन ? आमाहरू पनि कम छन् ? लोग्ने लाइओसलाई शिकारका निहुँमा मर्न/मारिन पठाएर जोकाष्टा आफ्नै छोरासँग लहसिई र परम कर्तव्यका थाङ्ना पेटीकोटमै ओडिपसलाई सुताएर मनग्गे सन्तान पाइदिई । पाइन ? सोध्नुस् मनोवैज्ञानिक समालोचकहरूलाई । ओडिपस ग्रन्थि (ओडिपस कम्प्लेक्स) का कुरा कति चाखले बयान गर्छन् ती, आफ्नै पुर्खाहरूका अमर कथाझै । जे होस्, तपाई अझै परम कर्तव्यको गाँजा लागेझै तिनका टाउकामा परम कर्तव्य थोपर्न छोड्नुहुन्न । भिटामीन बी कम्प्लेक्स । बिहान दिउँसो साँझ-एक एक चम्चा । उता वैद्यका गलगाँडले प्रभाव देखाएरै छोड्छ र तपाईंहाम्रा परम कर्तव्य बढी भट्याइने घरका कणर्धारहरू नै यसप्रति बढी उदासीन हुन्छन् । र बाबुबाजेका परम कर्तव्यजीवी व्यक्तित्वका विरोधमा शहीदझै भएर उत्रन्छन् ।
तपाईंले पत्याउनुहुन्न । नपत्याउनुहोस् । कुनै नयाँ कुरो होइन-तपाईंले नपत्याउनु । मैले- नेपालले गरेका प्रगतिका कुरा सुनाउँदा पनि मैले यसअघि कसैसँग यो कुरो गरेको छैन-तपाईंले नपत्याएरै उडाउनुहुन्छ। यो देख्दा तपाईं साँच्चै पूरा नेपाली नै हुनुहुन्छ कि तपाईंका शिरको भादगाउँले टोपी मात्र नेपाली हो भन्ने शङ्का लाग्छ । किनभने दुई रुपैयाँका तीन थान टोपी किनेर धेरैले नेपाली हौं भन्न थालेका छन् आजभोलि । र नेपाली बराबर टोपी समीकरण तयार हुन लागेझै छ । तर जे होस्, आज मैलेचाहिँ स्पष्टसँग तपाईंलाई कुन कुरो बताउन लागेको छु भने हाम्रो परम कर्तव्य “सौ चूहे खा बिल्ली हज को चली ।” को महान् आदर्श, अहिंसा र त्यागका भावनाबाट अनुप्राणित छ । सम्मोहित छ । तपाईंले पत्याउनुहुन्न । यस्ता नपत्याउनाको कुनै ओखती छैन । अरूसँग पनि त तपाईंको जस्तै सत्य-असत्यको पारख गर्न सक्ने शक्ति होला । भलै तपाईंमा जस्तै सूक्ष्म दृष्टि र नीर-क्षीरको विवेक नहोला । किनभने यो शक्ति नेपालमा आफूबाहेक अरूमा हुन नसक्ने कुरो सबैले प्रमाणित गर्न बल गरेका छन् । शङ्का छैन । यो कुरो प्रत्येक आदर्श पिता, पुत्र र पुत्रीलाई थाहा छ । माताहरू पनि अपवाद छैनन् । गजक्क पर्नै पर्दैन ।
एकातिर परम कर्तव्यका रास छन् । तपाईंले इच्छाअनुसार छानेर लिन सक्नुहुन्छ र तिनलाई चटकेले नचाउने बुद्धिमान् बाँदरले लट्ठीझैँ घरी काँधमा, घरी हातमा, घरी अन्यत्र अड्याएर आजीवन बोक्न सक्नुहुन्छ । तर अर्कातिर एकपटक मात्र पनि आफूलाई आफ्ना परम कर्तव्यका बाह्र हाते टाँगाले छुनुपर्दैन । किनभने हामीलाई आफ्ना मुखले बोलेका कुरा व्यवहारमा आफूले उतार्नुपर्ने कुनै खाँचो छैन । हामी सबै आफ्ना आङका भैँसी लुकाएर ठूला लट्ठी लिई अर्काका आङका जुम्रा पिट्न हिँड्ने अति उत्साही, वीर र साहसी हिमालपुत्रहरू हौँ । यही साहस, उत्साह र वीरताले सहित भएर रसिला भाकाले परम कर्तव्य भट्याउँदा भट्याउँदै तपाईं हाम्रा प्रातः स्मरणीय र मायालाग्दा बाबुबाजेहरू चालिस तर्दानतर्दै स्वर्ग सिधारे । तर हेर्नोस् तिनको दूरदृष्टि-आफूहरू बिसका हुँदानहुँदैदेखि म त अब बूढो भएँ- सुनाइरहे, सुनाइरहे । तर गन्ती नबिराएर एकुन् अँजुली पानी दिने सन्तान बर्सेनि एकुन्टा थप्ने जाँगरमा कत्ति बुढ्याइँ देखाएनन् । न त अल्छी नै लाग्यो तिनलाई । र बिस वर्षदेखि बूढो भएँ भनेर चिच्याउँदा चिच्याउँदै चालिस तर्ने जमर्को गरेरै मरे । त्यसरी निरन्तर परम कर्तव्य भट्याउने र सुर्तीका बासा खोल्नेबाँध्ने गरेर बाँकी बिस वर्षको सुका मानो घिउ खाने सौभाग्य र सन्तान प्राप्तिका दृष्टिकोणले सफल तर निचोरमा एकदम असफल र असन्तोषपूर्ण जीवनयापनपछि धर्मराजलाई पनि परम कर्तव्य बोध गराउने उत्कट अभिलाषाले प्रेरित भएर गए । कत्ति विचलित भएनन् । दृढ । हटी होइन डटी लड्ने नेपाली मैले आफ्नै ती दिवङ्गत बाबुबाजेबाहेक अरूलाई देख्ने अवसर पाएको छैन । भन्न त नेपालमा सबै छन् भन्छन् ।
ती गए । तर तिनले रटाएर गएका परम कर्तव्य अविस्मरणीय छन् । आदर्श सन्तान ठहरिनु परम कर्तव्य । परिवार नियोजनका आदर्श परिवार सुखी परिवारका छापा पढ्न सक्ने भएर वर्षेपिच्छे नबिराई सन्तान जन्माउने आमाबाबु हुनु परम सामाजिक कर्तव्य अनि जाँगर, जोश र होश भएका कर्मठ, आदर्श युवा हुनु परम राष्ट्रिय अन्तर्राष्ट्यि कर्तव्य । सधैँका लागि हुन नसके ई. १९८५ का लागि मात्र भैदिए पनि बेस । र सम्पूणर्मा जिम्मेवार ईमानदार र भलो नागरिक हुनु परम राष्ट्रिय कर्तव्य । माम र नामले हैन, कामले पनि मानव हुनु परम शाश्वत कर्तव्य आदि आदि आदि। मर्नुअघि पनि “छोरा, फलको आशा नगरेस है जैरे, गीताजीमा भगवानले कर्मण्ये….” . खूबै सुनाए ।
तपाईंलाई यी परम कर्तव्य सम्झदा मस्तिष्कमा बोझ पर्यो हो । हो ? पर्यो ? पर्यो होला अवश्य । जस्तो र जतिसुकै होस् मस्तिष्क लिएर बाँच्नु साह्रै दुःखको कुरो हो । यो नहुँदो हो त कति राम्रो हुन्थ्यो । आखिर मस्तिष्कविहीन भएर पनि हाम्रो यस समाजमा लाखौं मानिसले जीवनको रस लिइरहेका छन् । चाहे त्यो कुकुरले सुक्खा हाड चबाउँदा आफ्नै गिजाबाट आएको रगतको स्वादजस्तो किन नहोस् । तपाईंहामी मात्र किन पृथक् भएका ? मस्तिष्कको अतिरिक्त र बिकम्मा भार बोकेको मानिस जहाँ पनि मीनमेख निकाल्छ । दुःख पाउँछ । सबै दुःखको मूल यही हो। अब काटेर मिल्काउन सक्नुहुन्न । नभएजस्तो गर्ने कोशिश गर्नुपर्छ कि ? मचाहिँ प्रयास गर्दै छु । जुन दिन म मस्तिष्क बिर्सेर बाँच्छु त्यस दिनदेखि तपाईंले शायद मलाई चिन्नुहुन्न । मैले पनि तपाईंलाई चिन्दिनँ है । त्यस बेला त्यो पनि चढेछ नभन्नुहोला । अहिल्यै क्षमायाचना ।
जब तपाईं दिनहुँ सुन्नुहुन्छ र सुन्नुहुन्छ मात्र, जिम्मेदार पदमा पुगेका र नपुगेकाहरूले पनि परम कर्तव्यका व्याख्यान दिन्छन्, त्यस बेला परम कर्तव्य परम कर्तव्य नभएर बाटाको लूते कुकुरजस्तो हुन्छ, जो आओस् एक लात भकुर्छ । तपाईं नसुनी सुख पाउनुहुन्न र गर्नचाहिँ केही पनि सक्नुहुन्न । हद सके भित्तामा ठोकेर आफ्नो टाउको फोर्न सक्नुहुन्छ । तर त्यतिले परम कर्तव्यको प्रकरण रोकिएला ? उहुँ ।
कृषिउत्पादनसम्बन्धी चर्चाको अवसर भए कृषिउत्पादनमा वृद्धि गर्नु कृषकको परम कर्तव्य । शिक्षाका सम्बन्धमा भए शिक्षा ज्ञानको ज्योति, देशको उन्नतिको मूल आधार हो । कर्मठ सक्षम र भोलिको राष्ट्रका कणर्धार निर्माणमा शिक्षकको महत्त्वपूर्ण भूमिका भएकाले शिक्षकहरू सदा आदर्श, नैतिक, सदाचारी र उदाहरणीय हुनु परम कर्तव्य । तपाईंले सुन्दै हुनुहुन्छ हैन ? कति मार्मिक यो अभिव्यक्ति । कति मिठो, कति सरल र कति यथार्थ । समाजमा शिक्षकबाहेक अरू कुनै पनि वर्गलाई आदर्श, नैतिक तथा देशप्रति निष्ठावान् र सदाचारी हुनुपर्ने आवश्यकता छैन । सुनमा सुगन्ध खोज्न सुहाउँछ ? अस्तु, शिक्षाको विकास सबैको परम कर्तव्य । यस्तै । यी नमूना मात्र हुन् । यहाँ सबैको उल्लेख व्यर्थ छ । तापनि तिनले परम कर्तव्य ठहऱ्याएका कुरा सत्य हुन् र यी सबै परम कर्तव्य सुन्दा ममा आत्महत्याको लोभ तीव्र भएर आउने कुरो पनि असत्य हुन सक्तैन ।
जे होस्, एकै ठाउँमा थुप्रिएपछि जे चीज पनि सड्न, मक्काउन सक्छ । परम कर्तव्य पनि यस्तै हुन सक्छ । दुई करोड पैसट्ठी लाख आसपासको जनसङ्ख्यामा एउटा मात्र परम कर्तव्यविरत व्यक्ति देखाउन सक्नुहुन्छ ? तपाईं हुनुहुन्छ ? हुनुहुन्न हैन ? ठिक । र म ? तपाईं मलाई नदेखाउनुहोस् । म त झन् पत्नीले पत्नीरूपको परम कर्तव्य पालना नगरेका आरोपमा बराबर उसलाई भकुन्ड्याएर भकुन्ड्याउनु परम कर्तव्य भएझैँ- आफ्नो बिरसिलो मन रसिलो बनाउन घरबाहिर कतै जान्छु । ठाउँ ? तपाईंलाई बताऊँ ? तपाईंको पनि त नियत ठिक छैन । पछि लाग्नुभो भने ? तपाईं होइन अस्ति भाउज्यूसँग छिः नभनूँ । तपाईंले बुझ्नुभो- मैले बुझें । अनि तिमी ? तिमी पनि त श्रीमान्ले एक आखर कठोर वचन भन्दा सरासर घरबाहिर सन्तोषका खोजमा निस्केकी ? हैन र ? तिमीलाई हामीले चिनेका छैनौं र ? भो बाबा दुवैलाई लैजान्न । तपाईं, तपाई मात्र हुनुहुन्न प्रत्येक पुरुष । तिमी तिमी मात्र होइनौ- प्रत्येक नारी । तिमी, तपाईं र म- समष्टिमा नेपाली, नेपाल ।
परम कर्तव्यहरूका यी भुमरी र समर्थहरूका मुखमा झुन्डिएका यी परम कर्तव्यहरू हेर्दा मलाई बालककालमा हामीले कुकुर तिहारमा कुकुरका पुच्छरमा झुन्ड्याइदिएका सयपत्रीका मालाको सम्झना आउँछ। माला सयपत्रीका- असलमा अति राम्रा हुन्थे । र तिनको प्रयोजन-कुकुरलाई घाँटी वा पुच्छरमा जता झुन्डिए पनि एकै हो । कुकुरलाई माला, अझै सयपत्रीका । क्या हास्यास्पद । यसले मेरो वर्तमानलाई राम्ररी व्यक्त गर्छ । कतै केही अस्वाभाविकता छैन । मालाको प्रयोजन लगाउनु हो र कुकुरले पुच्छरमा लगाएको छ । र जता बोलायो चे- चेई उतै पुच्छर डोलाउँदै कुकुर दौडिरहेछ । पुच्छरमा माला पनि छ । र त्यो माला-माला होइन परम कर्तव्य हो । चोट लाग्छ तपाईंलाई ? हो ? यस्तो सुन्दा ? गजबको कुरो गर्नुभयो । तपाईंमा चोटको अनुभूति ग्रहण गर्ने अङ्गहरू अझै सजीव र संवेदनशील छन् ? चोट लाग्ने ठाउँ छ त अझै तपाईंको ? छ हगि ? ओहो ! भाग्यमानी । तपाईं भाग्यमानी । आफ्ना र चोट लाग्ने ठाउँहरू पनि सबै संवेदनहीन भइसके । तैपनि बाँचिएकै छ । खुसी । बेखुसी ।
हामीले अनुहारभरि भ्रष्ट आचरणका अमिट लाहाछाप बोकेर अर्काका चरित्रमा हिलो छ्याप्छौं । अर्काका आचरणमा औंलो ठड्याउने हामीले ऐनामा आफ्नो अनुहार हेर्ने अवसर कहाँ पाउँछौँ र ? ऐना पनि छैन । ऐना त मागे पाइएला तर अनुहार ? शायद हाम्रो अनुहार पनि छैन । भए पनि क्षण क्षण बदलिँदो र अस्पष्ट छ । तपाईं हाम्रो वर्तमानको कुनै अनुहार ठम्याउनुभएको छ ? मैले चाहिँ सकेको छैन । अनुहार भएर पनि मैले नसकेको हो वा वर्तमानको कुनै अनुहारै छैन ? कसरी, कसले निर्णय दिन्छ ? भूतले दिएन । भविष्यले दिन्छ ? देला ?
उपदेश दिनु, बताउनु र भन्नु, भन्नु, बताउनु र उपदेश दिनु-बस । र सबभन्दा महत्त्वपूर्ण कुरा तिनै उपदेश, कुरा र परम कर्तव्यहरू आफ्ना लागि नहुनु । यी हाम्रै-हामै मात्र विशेषता हुन् । यी विशेषतामा लालीगुराँसको रङ, हिमालको शुभ्रता, गण्डकीका जलको स्वाद, कस्तूरीको सुगन्ध, पहाडी छाँगाका ध्वनि, सगरमाथाको उच्चता र सम्पूर्ण संसारप्रसिद्ध नेपालीत्व छ । नेपालीको रूप छ । अरु कसैसँग मिल्दैनन् । यिनै विशेषताले हामी बाह्य संसारसँग परिचित छौँ ।
हामी परम कर्तव्य यति ओछ्याउँछौँ-ओढ्छौँ लोग्ने/स्वास्नीसँग रङ्गरसका बेला पनि-त्यस्तो पारिवारिक आनन्दको क्षण जीवनमा एकाधपटक मात्रै आएको होस् तापनि त्यस क्षणलाई परम कर्तव्यले अमिल्याउन बेर लगाउन्नौँ ।
परम कर्तव्यहरू हाम्रा लागि खोलाका माछा र किताबका माछाजस्तै हुन् । माछा खानु हुँदैन । कहिले हुन्थ्यो । किताबका माछा खानु हुँदैन । तर खोलाका माछा काँचै सुलुक्क निलिदिए पनि आचारहीनता, अकर्तव्य र हिंसाको दाग लाग्दैन । कसैले औंलो ठड्याउन सक्दैन । किताब र खोलाका माछाझै परम कर्तव्यका कुरा पनि खाने र देखाउने हुन्छन् । तपाईंहाम्रो यही अठोट छ । यसैलाई व्यवहारमा उतारेका छौँ । परम कर्तव्य भन्नु मात्र महत्त्वपूर्ण छैन । महत्त्वपूर्ण छ- खोलाका माछाजस्तो छ कि किताबका माछाजस्तो ?
०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)






































न टुप्पो न छेउ
पाइन मैले केही भेउ
चोलेश्वरलाई खबर देउ
सधैँ मजा आनन्द देऊ।