साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परम कर्तव्य र खोलाका माछा

परम कर्तव्यहरू हाम्रा लागि खोलाका माछा र किताबका माछाजस्तै हुन् । माछा खानु हुँदैन । कहिले हुन्थ्यो । किताबका माछा खानु हुँदैन । तर खोलाका माछा काँचै सुलुक्क निलिदिए पनि आचारहीनता, अकर्तव्य र हिंसाको दाग लाग्दैन ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

यस शीर्षकको अघिल्लो आधा भागले तपाईंलाई भगवान् बुद्धका उपदेशको सम्झना आउला भने पछिल्लो आधाले तुरुन्तै त्यस अहिंसा भावलाई फुमन्तर गराएर शान्तिका दूत महात्माका भावनाविपरीत हिंसातर्फ लैजाला । तापनि मैले यो शीर्षक रोजेर कुनै नीति वा आचारशास्त्रको प्रथम पाठ उतार्न खोजेको होइन । त्यस्तो भए परम्परागत आदर्शका डोरेटाबाट हटेर यथार्थवादी पाराले शुरु गर्दो हुँ- स्वार्थ देवो भवः । किनभने आधुनिक र विकासका पथमा आफूले फड्को मारेको देख्नेहरूका विचारमा पुराना रुचाउने आदर्शका सुकेलूताले नछोडेर नेपालको प्रगति-शरीर यति बिघ्न अत्यासलाग्दो र हरेसखाइँदो भएको हो । आधुनिक हुन नसकेको हो । त्यसैले पुराना भनेपछि हामीले जङ्गल, काठ, मन्दिर, मूर्ति, बोलीचाली, मिजास, सौहार्द र खानपान मात्र नभएर बाबुबाजे पनि नरुचाउने हावा प्रबल छ आजभोलि । यिनका अगाडि धार्मिक-नैतिक उपदेश र विचार त कुन ड्याङका मूला हुन् र ? अझै कतिपयलाई यति मात्र होइन देश पनि पुरानो पुरानो लागेर अर्कै रुच्न थालेको छ । र नेपालसँग ‘यही माटामा उम्रेँ, फुलेँ र यही माटामा निभ्छु’ को नातो, नेपाल जसका कण-कणले शरीरका कण-कण भिजेका छन्- त्यस नेपालसँगको नातो, सात समुद्रका पानीले धोएर-पखालेर पनि नजाने यस देशको नातो, यस माटाको नातो, यो श्वासप्रश्वास र जन्मजन्मान्तरको सम्बन्धको नातो, यो तातो रगत र न्यानो मुटुको नातो पुरानो पुरानो लाग्न थालेको छ । चित्त दुख्छ तपाईंको ? दुख्दो होला । तर दुखाउनुपर्दैन । देशभन्दा देशवासी ठूला हुन थालेपछि यस्तै हो ।

त्यसैले स्वार्थ देवो भवः जस्तो यथार्थवादी पाराले उपदेश र परम कर्तव्यहरू लेखिए पो तपाईंहामीमध्ये आफूलाई यथार्थवादी आलोचक-समालोचक ठान्ने कतिपय महापुरुषले यसको विवेचन-विश्लेषण गर्ने क्रममा आफ्ना अग्रज दुईचार लेखकका उद्धरणका भरमा बाग्जाल-शब्दजाल फैलाएर सफल आलोचक-समालोचकका महिमामण्डित आसनमा विराजमान हुने जमर्को गर्दा हौँ । यो हाम्रो आचरणको खास पक्ष हो । साहित्यिक समालोचक नठहरिए पनि असाहित्यिक आलोचक हुनबाट कोही जोगिएका छैनौं होला। केही नपाए “मेरी स्वास्नीले यस्तो भन्छे हौ, तेरीले भन्दिन ?” नै सही । तर यस शीर्षकको उद्देश्य हाम्रा परम कर्तव्यहरूको स्मरण र बोक्रा बोक्रा कोट्ट्याउने चियोचर्चा गर्नु मात्र छ । त्यसैले यसलाई नडराई पक्रेर यसको शिर-पुच्छर निस्सङ्कोच पढ्नुभए हुन्छ । पढिसकेपछि तपाईंले परम कर्तव्य पालना गर्नुभएन भएको सोधपुछ वा केरकार गरिनेछैन । “पायजामे के अन्दर सभी नंगे होते हैं” हैन ? तपाईंलाई थाहै छ । नभए पनि अब हुने नै छ ।

हिजोआज आउन थालेपछि जे पनि अति नै भएर आउँछ । र यस्तै स्थितिमा ममा आत्महत्याको प्यारो प्यारो लोभ जागेर आउँछ जसलाई मैले तपाईंहरूद्वारा सदैव अनुकरणीय आफ्नो यस अमूल्य र महान् जीवनमा कैयौँपटक पर सार्दै आएको छु । र जिउँदै छु । म जिउँदै छु- यो तपाईंलाई थाहै छ । नभए म आजसम्म तपाईंअघि हुने थिइनँ । हुन्थे ? ज्यूँदो नभए त भूत भएर तपाईंका सारा मिठा सपनाहरूलाई बिथोल्दिनथेँ र ? राख्यै बाँकी ? तपाईंका बिपना त यसै चूरचूर छन् । सपना पनि झन् चकनाचूर पार्थे । त्यस बेला सपनाको पनि स्वाद लिन नपाएपछि बाँच्नुहुन्थ्यो बौलाहा नबनेर तपाईं ? तर अब मेरो स्वप्नसंसारको त्यो चिरप्रतीक्षित दिन आखिर आइ नै पुगेको छ र मलाई लाग्छ अब आत्महत्या मात्र आज मेरो प्रथम र अन्तिम परम कर्तव्य हो। किनभने परम कर्तव्यका जालमा तपाईंहामीजस्ता मुख मात्र चलाएर अति महत्त्वाकाङ्क्षा पाल्ने र हात बाँधेर पनि छातीमा रौँ छ भन्न नछोड्ने नेपाली उद्यमीहरूले गर्न सक्ने एक मात्र पुरुषार्थी काम यही नै हो । यसबाट नै हाम्मा पितापुर्खाले परलोकमा तृप्तिको अनुभव गर्नेछन् ।

निरन्तर ‘दाल भात डुकु’ का लागि सङ्घर्ष गर्दै अकालग्रस्त हुने देवकोटाले समेत सुख-स्वर्ग ठहर्‍याएको यो संसार पक्कै लोभलाग्दो हुनुपर्छ भने लोभलाग्दो यस संसारमा बाँचेर अझै बाँच्नाका लागि सङ्घर्षशील रही पितापुर्खा र आफ्नै पनि नाम प्रदीप्त गर्नुभन्दा आफै वीरतापूर्वक आत्महत्या गर्ने आँट गर्ने मजस्तो छोरो पाएकामा गजक्क परेर अपार तृप्तिको अनुभव गर्ने पितृहरू पनि गजबै हुन् बा ! जीवनभर तिनले परम कर्तव्य बखानिरहे र अकाल कालकवलित भए तापनि तिनका दिमाग बदलिएनन् । बदलिनु थियो न बदलिए ।

– बाबु, यसो नगर । पुत्रको परम कर्तव्य होइन यो-लाई लत्याएर पुत्रहरू गौरवान्वित भावले छाती फुलाउँछन् ।

– नानी, यसो नगर । पुत्रीको परम कर्तव्य यो होइन-लाई युवती पुत्रीहरूले झुसिलकीरा लागेका पेटीकोटझें टकटक्याइदिन्छन् । पुत्रीहरू सरस्वती नै किन नहुन्, परम कर्तव्यलाई भर्सेला पारेर ब्रह्मा बूढाझै सरस्वतीका पछि लाग्न बेर लगाउनुहुन्न । आफ्नी छोरीप्रति त यस्तो । अर्काका भए तपाईं कस्तो हुनुहोला ? डर लाग्छ मलाई। तर बाबुहरू मात्र किन ? आमाहरू पनि कम छन् ? लोग्ने लाइओसलाई शिकारका निहुँमा मर्न/मारिन पठाएर जोकाष्टा आफ्नै छोरासँग लहसिई र परम कर्तव्यका थाङ्ना पेटीकोटमै ओडिपसलाई सुताएर मनग्गे सन्तान पाइदिई । पाइन ? सोध्नुस् मनोवैज्ञानिक समालोचकहरूलाई । ओडिपस ग्रन्थि (ओडिपस कम्प्लेक्स) का कुरा कति चाखले बयान गर्छन् ती, आफ्नै पुर्खाहरूका अमर कथाझै । जे होस्, तपाई अझै परम कर्तव्यको गाँजा लागेझै तिनका टाउकामा परम कर्तव्य थोपर्न छोड्नुहुन्न । भिटामीन बी कम्प्लेक्स । बिहान दिउँसो साँझ-एक एक चम्चा । उता वैद्यका गलगाँडले प्रभाव देखाएरै छोड्छ र तपाईंहाम्रा परम कर्तव्य बढी भट्याइने घरका कणर्धारहरू नै यसप्रति बढी उदासीन हुन्छन् । र बाबुबाजेका परम कर्तव्यजीवी व्यक्तित्वका विरोधमा शहीदझै भएर उत्रन्छन् ।

तपाईंले पत्याउनुहुन्न । नपत्याउनुहोस् । कुनै नयाँ कुरो होइन-तपाईंले नपत्याउनु । मैले- नेपालले गरेका प्रगतिका कुरा सुनाउँदा पनि मैले यसअघि कसैसँग यो कुरो गरेको छैन-तपाईंले नपत्याएरै उडाउनुहुन्छ। यो देख्दा तपाईं साँच्चै पूरा नेपाली नै हुनुहुन्छ कि तपाईंका शिरको भादगाउँले टोपी मात्र नेपाली हो भन्ने शङ्का लाग्छ । किनभने दुई रुपैयाँका तीन थान टोपी किनेर धेरैले नेपाली हौं भन्न थालेका छन् आजभोलि । र नेपाली बराबर टोपी समीकरण तयार हुन लागेझै छ । तर जे होस्, आज मैलेचाहिँ स्पष्टसँग तपाईंलाई कुन कुरो बताउन लागेको छु भने हाम्रो परम कर्तव्य “सौ चूहे खा बिल्ली हज को चली ।” को महान् आदर्श, अहिंसा र त्यागका भावनाबाट अनुप्राणित छ । सम्मोहित छ । तपाईंले पत्याउनुहुन्न । यस्ता नपत्याउनाको कुनै ओखती छैन । अरूसँग पनि त तपाईंको जस्तै सत्य-असत्यको पारख गर्न सक्ने शक्ति होला । भलै तपाईंमा जस्तै सूक्ष्म दृष्टि र नीर-क्षीरको विवेक नहोला । किनभने यो शक्ति नेपालमा आफूबाहेक अरूमा हुन नसक्ने कुरो सबैले प्रमाणित गर्न बल गरेका छन् । शङ्का छैन । यो कुरो प्रत्येक आदर्श पिता, पुत्र र पुत्रीलाई थाहा छ । माताहरू पनि अपवाद छैनन् । गजक्क पर्नै पर्दैन ।

एकातिर परम कर्तव्यका रास छन् । तपाईंले इच्छाअनुसार छानेर लिन सक्नुहुन्छ र तिनलाई चटकेले नचाउने बुद्धिमान् बाँदरले लट्ठीझैँ घरी काँधमा, घरी हातमा, घरी अन्यत्र अड्याएर आजीवन बोक्न सक्नुहुन्छ । तर अर्कातिर एकपटक मात्र पनि आफूलाई आफ्ना परम कर्तव्यका बाह्र हाते टाँगाले छुनुपर्दैन । किनभने हामीलाई आफ्ना मुखले बोलेका कुरा व्यवहारमा आफूले उतार्नुपर्ने कुनै खाँचो छैन । हामी सबै आफ्ना आङका भैँसी लुकाएर ठूला लट्ठी लिई अर्काका आङका जुम्रा पिट्न हिँड्ने अति उत्साही, वीर र साहसी हिमालपुत्रहरू हौँ । यही साहस, उत्साह र वीरताले सहित भएर रसिला भाकाले परम कर्तव्य भट्याउँदा भट्याउँदै तपाईं हाम्रा प्रातः स्मरणीय र मायालाग्दा बाबुबाजेहरू चालिस तर्दानतर्दै स्वर्ग सिधारे । तर हेर्नोस् तिनको दूरदृष्टि-आफूहरू बिसका हुँदानहुँदैदेखि म त अब बूढो भएँ- सुनाइरहे, सुनाइरहे । तर गन्ती नबिराएर एकुन् अँजुली पानी दिने सन्तान बर्सेनि एकुन्टा थप्ने जाँगरमा कत्ति बुढ्याइँ देखाएनन् । न त अल्छी नै लाग्यो तिनलाई । र बिस वर्षदेखि बूढो भएँ भनेर चिच्याउँदा चिच्याउँदै चालिस तर्ने जमर्को गरेरै मरे । त्यसरी निरन्तर परम कर्तव्य भट्याउने र सुर्तीका बासा खोल्नेबाँध्ने गरेर बाँकी बिस वर्षको सुका मानो घिउ खाने सौभाग्य र सन्तान प्राप्तिका दृष्टिकोणले सफल तर निचोरमा एकदम असफल र असन्तोषपूर्ण जीवनयापनपछि धर्मराजलाई पनि परम कर्तव्य बोध गराउने उत्कट अभिलाषाले प्रेरित भएर गए । कत्ति विचलित भएनन् । दृढ । हटी होइन डटी लड्ने नेपाली मैले आफ्नै ती दिवङ्गत बाबुबाजेबाहेक अरूलाई देख्ने अवसर पाएको छैन । भन्न त नेपालमा सबै छन् भन्छन् ।

ती गए । तर तिनले रटाएर गएका परम कर्तव्य अविस्मरणीय छन् । आदर्श सन्तान ठहरिनु परम कर्तव्य । परिवार नियोजनका आदर्श परिवार सुखी परिवारका छापा पढ्न सक्ने भएर वर्षेपिच्छे नबिराई सन्तान जन्माउने आमाबाबु हुनु परम सामाजिक कर्तव्य अनि जाँगर, जोश र होश भएका कर्मठ, आदर्श युवा हुनु परम राष्ट्रिय अन्तर्राष्ट्यि कर्तव्य । सधैँका लागि हुन नसके ई. १९८५ का लागि मात्र भैदिए पनि बेस । र सम्पूणर्मा जिम्मेवार ईमानदार र भलो नागरिक हुनु परम राष्ट्रिय कर्तव्य । माम र नामले हैन, कामले पनि मानव हुनु परम शाश्वत कर्तव्य आदि आदि आदि। मर्नुअघि पनि “छोरा, फलको आशा नगरेस है जैरे, गीताजीमा भगवानले कर्मण्ये….” . खूबै सुनाए ।

तपाईंलाई यी परम कर्तव्य सम्झदा मस्तिष्कमा बोझ पर्‍यो हो । हो ? पर्‍यो ? पर्‍यो होला अवश्य । जस्तो र जतिसुकै होस् मस्तिष्क लिएर बाँच्नु साह्रै दुःखको कुरो हो । यो नहुँदो हो त कति राम्रो हुन्थ्यो । आखिर मस्तिष्कविहीन भएर पनि हाम्रो यस समाजमा लाखौं मानिसले जीवनको रस लिइरहेका छन् । चाहे त्यो कुकुरले सुक्खा हाड चबाउँदा आफ्नै गिजाबाट आएको रगतको स्वादजस्तो किन नहोस् । तपाईंहामी मात्र किन पृथक् भएका ? मस्तिष्कको अतिरिक्त र बिकम्मा भार बोकेको मानिस जहाँ पनि मीनमेख निकाल्छ । दुःख पाउँछ । सबै दुःखको मूल यही हो। अब काटेर मिल्काउन सक्नुहुन्न । नभएजस्तो गर्ने कोशिश गर्नुपर्छ कि ? मचाहिँ प्रयास गर्दै छु । जुन दिन म मस्तिष्क बिर्सेर बाँच्छु त्यस दिनदेखि तपाईंले शायद मलाई चिन्नुहुन्न । मैले पनि तपाईंलाई चिन्दिनँ है । त्यस बेला त्यो पनि चढेछ नभन्नुहोला । अहिल्यै क्षमायाचना ।

जब तपाईं दिनहुँ सुन्नुहुन्छ र सुन्नुहुन्छ मात्र, जिम्मेदार पदमा पुगेका र नपुगेकाहरूले पनि परम कर्तव्यका व्याख्यान दिन्छन्, त्यस बेला परम कर्तव्य परम कर्तव्य नभएर बाटाको लूते कुकुरजस्तो हुन्छ, जो आओस् एक लात भकुर्छ । तपाईं नसुनी सुख पाउनुहुन्न र गर्नचाहिँ केही पनि सक्नुहुन्न । हद सके भित्तामा ठोकेर आफ्नो टाउको फोर्न सक्नुहुन्छ । तर त्यतिले परम कर्तव्यको प्रकरण रोकिएला ? उहुँ ।

कृषिउत्पादनसम्बन्धी चर्चाको अवसर भए कृषिउत्पादनमा वृद्धि गर्नु कृषकको परम कर्तव्य । शिक्षाका सम्बन्धमा भए शिक्षा ज्ञानको ज्योति, देशको उन्नतिको मूल आधार हो । कर्मठ सक्षम र भोलिको राष्ट्रका कणर्धार निर्माणमा शिक्षकको महत्त्वपूर्ण भूमिका भएकाले शिक्षकहरू सदा आदर्श, नैतिक, सदाचारी र उदाहरणीय हुनु परम कर्तव्य । तपाईंले सुन्दै हुनुहुन्छ हैन ? कति मार्मिक यो अभिव्यक्ति । कति मिठो, कति सरल र कति यथार्थ । समाजमा शिक्षकबाहेक अरू कुनै पनि वर्गलाई आदर्श, नैतिक तथा देशप्रति निष्ठावान् र सदाचारी हुनुपर्ने आवश्यकता छैन । सुनमा सुगन्ध खोज्न सुहाउँछ ? अस्तु, शिक्षाको विकास सबैको परम कर्तव्य । यस्तै । यी नमूना मात्र हुन् । यहाँ सबैको उल्लेख व्यर्थ छ । तापनि तिनले परम कर्तव्य ठहऱ्याएका कुरा सत्य हुन् र यी सबै परम कर्तव्य सुन्दा ममा आत्महत्याको लोभ तीव्र भएर आउने कुरो पनि असत्य हुन सक्तैन ।

जे होस्, एकै ठाउँमा थुप्रिएपछि जे चीज पनि सड्न, मक्काउन सक्छ । परम कर्तव्य पनि यस्तै हुन सक्छ । दुई करोड पैसट्ठी लाख आसपासको जनसङ्ख्यामा एउटा मात्र परम कर्तव्यविरत व्यक्ति देखाउन सक्नुहुन्छ ? तपाईं हुनुहुन्छ ? हुनुहुन्न हैन ? ठिक । र म ? तपाईं मलाई नदेखाउनुहोस् । म त झन् पत्नीले पत्नीरूपको परम कर्तव्य पालना नगरेका आरोपमा बराबर उसलाई भकुन्ड्याएर भकुन्ड्याउनु परम कर्तव्य भएझैँ- आफ्नो बिरसिलो मन रसिलो बनाउन घरबाहिर कतै जान्छु । ठाउँ ? तपाईंलाई बताऊँ ? तपाईंको पनि त नियत ठिक छैन । पछि लाग्नुभो भने ? तपाईं होइन अस्ति भाउज्यूसँग छिः नभनूँ । तपाईंले बुझ्नुभो- मैले बुझें । अनि तिमी ? तिमी पनि त श्रीमान्ले एक आखर कठोर वचन भन्दा सरासर घरबाहिर सन्तोषका खोजमा निस्केकी ? हैन र ? तिमीलाई हामीले चिनेका छैनौं र ? भो बाबा दुवैलाई लैजान्न । तपाईं, तपाई मात्र हुनुहुन्न प्रत्येक पुरुष । तिमी तिमी मात्र होइनौ- प्रत्येक नारी । तिमी, तपाईं र म- समष्टिमा नेपाली, नेपाल ।

परम कर्तव्यहरूका यी भुमरी र समर्थहरूका मुखमा झुन्डिएका यी परम कर्तव्यहरू हेर्दा मलाई बालककालमा हामीले कुकुर तिहारमा कुकुरका पुच्छरमा झुन्ड्याइदिएका सयपत्रीका मालाको सम्झना आउँछ। माला सयपत्रीका- असलमा अति राम्रा हुन्थे । र तिनको प्रयोजन-कुकुरलाई घाँटी वा पुच्छरमा जता झुन्डिए पनि एकै हो । कुकुरलाई माला, अझै सयपत्रीका । क्या हास्यास्पद । यसले मेरो वर्तमानलाई राम्ररी व्यक्त गर्छ । कतै केही अस्वाभाविकता छैन । मालाको प्रयोजन लगाउनु हो र कुकुरले पुच्छरमा लगाएको छ । र जता बोलायो चे- चेई उतै पुच्छर डोलाउँदै कुकुर दौडिरहेछ । पुच्छरमा माला पनि छ । र त्यो माला-माला होइन परम कर्तव्य हो । चोट लाग्छ तपाईंलाई ? हो ? यस्तो सुन्दा ? गजबको कुरो गर्नुभयो । तपाईंमा चोटको अनुभूति ग्रहण गर्ने अङ्गहरू अझै सजीव र संवेदनशील छन् ? चोट लाग्ने ठाउँ छ त अझै तपाईंको ? छ हगि ? ओहो ! भाग्यमानी । तपाईं भाग्यमानी । आफ्ना र चोट लाग्ने ठाउँहरू पनि सबै संवेदनहीन भइसके । तैपनि बाँचिएकै छ । खुसी । बेखुसी ।

हामीले अनुहारभरि भ्रष्ट आचरणका अमिट लाहाछाप बोकेर अर्काका चरित्रमा हिलो छ्याप्छौं । अर्काका आचरणमा औंलो ठड्याउने हामीले ऐनामा आफ्नो अनुहार हेर्ने अवसर कहाँ पाउँछौँ र ? ऐना पनि छैन । ऐना त मागे पाइएला तर अनुहार ? शायद हाम्रो अनुहार पनि छैन । भए पनि क्षण क्षण बदलिँदो र अस्पष्ट छ । तपाईं हाम्रो वर्तमानको कुनै अनुहार ठम्याउनुभएको छ ? मैले चाहिँ सकेको छैन । अनुहार भएर पनि मैले नसकेको हो वा वर्तमानको कुनै अनुहारै छैन ? कसरी, कसले निर्णय दिन्छ ? भूतले दिएन । भविष्यले दिन्छ ? देला ?

उपदेश दिनु, बताउनु र भन्नु, भन्नु, बताउनु र उपदेश दिनु-बस । र सबभन्दा महत्त्वपूर्ण कुरा तिनै उपदेश, कुरा र परम कर्तव्यहरू आफ्ना लागि नहुनु । यी हाम्रै-हामै मात्र विशेषता हुन् । यी विशेषतामा लालीगुराँसको रङ, हिमालको शुभ्रता, गण्डकीका जलको स्वाद, कस्तूरीको सुगन्ध, पहाडी छाँगाका ध्वनि, सगरमाथाको उच्चता र सम्पूर्ण संसारप्रसिद्ध नेपालीत्व छ । नेपालीको रूप छ । अरु कसैसँग मिल्दैनन् । यिनै विशेषताले हामी बाह्य संसारसँग परिचित छौँ ।

हामी परम कर्तव्य यति ओछ्याउँछौँ-ओढ्छौँ लोग्ने/स्वास्नीसँग रङ्गरसका बेला पनि-त्यस्तो पारिवारिक आनन्दको क्षण जीवनमा एकाधपटक मात्रै आएको होस् तापनि त्यस क्षणलाई परम कर्तव्यले अमिल्याउन बेर लगाउन्नौँ ।

परम कर्तव्यहरू हाम्रा लागि खोलाका माछा र किताबका माछाजस्तै हुन् । माछा खानु हुँदैन । कहिले हुन्थ्यो । किताबका माछा खानु हुँदैन । तर खोलाका माछा काँचै सुलुक्क निलिदिए पनि आचारहीनता, अकर्तव्य र हिंसाको दाग लाग्दैन । कसैले औंलो ठड्याउन सक्दैन । किताब र खोलाका माछाझै परम कर्तव्यका कुरा पनि खाने र देखाउने हुन्छन् । तपाईंहाम्रो यही अठोट छ । यसैलाई व्यवहारमा उतारेका छौँ । परम कर्तव्य भन्नु मात्र महत्त्वपूर्ण छैन । महत्त्वपूर्ण छ- खोलाका माछाजस्तो छ कि किताबका माछाजस्तो ?

०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 year ago

न टुप्पो न छेउ
पाइन मैले केही भेउ
चोलेश्वरलाई खबर देउ
सधैँ मजा आनन्द देऊ।

Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
1
0
Would love your thoughts, please comment.x
()
x