साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

अब देशै विज्ञापन भएको छ। राजनीतिक, सामाजिक, आर्थिक जीवन विज्ञापन - प्रबल छ । देशै विज्ञापित छ । घोडाजस्तो हिनहिनाउने हर्स ट्रान्स परेन्ट साबुनझै, तेसई भन्नुस् ... झै, खाएपछि सरासर पाइलट बनिने हर्लिक्सझैं ।

Nepal Telecom ad

चाेलेश्वर शर्मा :

म रेडियो सुन्दिनँ । नेपाल मात्र होइन-श्रील‌ङ्का, आकाशवाणी, पातालवाणी (सादृश्यः पाताल प्रवास : डा. तारानाथ शर्मा), बी. बी. सी., पेकिङ, मास्को कुनै सुन्दिनँ । मलाई किशोरहरूका ‘उडलई उडलई’ मन पर्दैन। बम्बईका होऊन् कि राजनीतिका । रुना लैलाले पनि टाउको दुखाउँछे । तर आजभोलि रेडियो र अन्य सञ्चारमाध्यमबाट यिनै अवतरित भएर टाउको खाइरहेका छन् । किशोर र रुनाका भक्त महोदयहरू, रिसानी माफ रहोस् ।

म रेडियो राख्तिनँ । छैन पनि । तापनि म रेडियो सुन्ने सौभाग्यबाट वञ्चित छैनँ । छिमेकी महोदयहरूका सदाशयले म पनि अनुगृहीत छु। र विकासको फल चाखिरहेको छु कानले । विकास रेडियोका ढ्वाङभरि भएर छताछुल्ल जो भइरहेको छ ।

नेपाल वर्तमानमा पग्लिएर खेर नजाने साबुनले लुगा धुन, चाउचाउका परिकार र स्टार वियर खान, स्टक हुँदासम्मका भाग्यशाली उपहार कुपन खोज्न, एकदम नयाँ सुट-सकेसम्म वागबजारमा सिलाइएको – लगाउन सुट नलगाई बैङ्कक जानु पनि त कसरी ? देशको इज्जतको प्रश्न – र ढाल र गुलाफ वा नीलोकन वा कमल वा प्यान्थरको प्रयोग गरी मिठो सपना देख्न मस्त छ । मक्ख छ । नेपाल यसै गरी बढिरहे सन् २००० सम्म आजको एशियाली स्तरमा अवश्य पुग्छ तर त्यति बेला एशियाली स्तर कता पुग्छ- म भन्न सक्तिनँ । हिसाबका मामलामा साहै कमजोर छु। गरिब ।

वास्तवमा नेपाली जीवनको चरम लक्ष्य-नूनचिनीपानीका भरमा बाँच्नु, लुगा धुनु सकेसम्म आफ्नो धुनु नभए अर्कैका भए पनि बेसै छ, चाउचाउ खाएपछि स्टार बियर खानु, नभए घरपालामा नै सन्तोष गर्नु, फुर्सद भए दुईचार दिन मातिदिनु, वागबजारको सुट लगाउनु-धरान बजार बस्ने होस् वा भैरहवा बजार-जहाँ बस्ने भए पनि सुट लगाउन वागबजार जानुपर्छ किनभने सुट लगाउने ठाउँ काठमाडौँ मात्र हो- अन्यत्र त अन्डरवेयर/अधोवस्त्र मात्र भए पुग्छ, अझै नयाँ सुट लगाएर मात्नु र गुलाफ, ढाल वा प्यान्थरको प्रयोग राम्ररी जान्नु । तर रेडियोले दिनभरिमा जतिपटक भन्छ त्यतिपटक बुद्धिमान्ले कहिल्यै प्रयोग नगर्नु – यत्ति हुन् ।

यिनैबाट देशले विकास गरिरहेको छ भन्ने स्पष्ट देखापर्छ । नेपालीले जेसुकै गरोस् । देशले विकास गरेको नभए साबुनमा आत्मनिर्भर नेपालमा न सिमरीबख्तियारपुरको चश्मा गोला साबुन रेडियो विज्ञापन-सेवाका पसलमा बिक्न आउँथ्यो न नीलोकनदेखि गुलाफ र ढालदेखि प्यान्थरसम्मका कवितामय विज्ञापन ससाना छोराछोरीहरूलाई दिनको डेढसयपटक बुझाउँदा आमाबाबुहरू हैरान नभएर गद्‌गद हुँदै द्रवीभूत हुन पाउँथे।

किन किन सिमरीबख्तियारपुरको चश्मा गोला साबुन सुन्दा नेपाली साबुन कारखानाले कागजका खोलमा साबुन होइन, कविता र हल्ला मात्र पोको पारेर रेडियोका झ्यालबाट फाल्छन् जस्तो लाग्छ। कसिङ्गरझैँ। साबुनचाहिँ सिमरी बख्तियारपुरहरूले फालिरहेका छन् नेपालमा । लगातार ।

त्यसैले प्रत्येक चश्मा गोला साबुन, वागबजारको सुट, अमृतसरी नून र चिनी पानी, चाउचाउको पाकेट अनि गुलाफ, कमल, नीलोकन, ढाल र प्यान्थर हाम्रो विकासको क्रम हो।

खुसीको खबर, नेपालको विकाससँगै कविताको पनि विकास भएको छ । अझै यिनै कविताका माध्यमले देशकै विकास भएजस्तो लाग्छ ।

ढाल र गुलाफ कवितामय, नीलोकन, कमल र प्यान्थर कवितामय, सिमरीबख्तियारपुर कवितामय, चाउचाउ कवितामय, घोडाजस्तो हिनहिनाउने हर्स ट्रान्स… परेन्ट साबुन कवितामय, हम अपना दाँत फोरहन्स से… हा… हा… अशुद्ध भाषामै सही-कवितामय । मलाई विश्वास छ- नेपालमा यही विधिले कविताको विकास हुँदै रहे कविता अब यति व्यापक र जीवनसँग अभिन्न हुन्छ- प्रत्येक नेपाली कवितामै बोल्छ, हाँस्छ, रुन्छ, रिसाउँछ, खुसाउँछ, प्रेम गर्छ, विकास चिच्याउँछ, ठग्छ, चुनाउमा मत खसाउँछ, झगडा गर्छ, पोल हाल्छ, नारी निमोठ्छ, भारी बोक्छ, कालोबजार गर्छ, कागजी घोडा दौडाउँछ, बौलाउँछ, अर्काको घाँटी अँठ्याउँछ, मार्छ, पछुताउँछ र आत्महत्या गर्छ वा आत्महत्या गर्ने बुद्धि पुऱ्याएन भने कालगतिले मर्छ। बाँच्छ । नेपाली जीवन शेक्सपियरका नाटकझै हुन्छ काव्यात्मक । नेपालीहरू ह्यामलेटको अन्योल, मक्बेथको महत्त्वाकाङ्‌क्षा, लिअरका विवशता र आँसु, गनरिल र रेगनका दुष्ट्याइँ र स्वार्थ, कडेँलियाका मर्म र संवेदना, ओथेलोको विवेकहीनता, इयागोको ईर्ष्या, डेस्डिमोनाको निष्कलुषितता, शाइलकका कन्जूसी र निर्ममता र फल्स्टफको ‘ऋणं कृत्वा घृतं पिवेत्’ दर्शन बोकेर कवितामै बाँच्छन् ।

तर यथार्थमा न नेपाली बाँचेको बुझिन्छ न मरेको । न नेपाली विकास बुझिन्छ न विनाश। यही, यस्तै अर्थहीन भई भई, नबुझिई नबुझिई हामी बाँचिरहेछौं। अस्पष्ट, धूमिल । शायद हामी आज पहाडमा मात्र होइन, सबै कुरामा सगरमाथा भएका छौं । विश्वप्रसिद्ध ।

हाम्रो विकास पनि कवितामय छ। हामी आफै कविताका शब्द, पदावली, पक्ति तथा विम्ब र प्रतीक भएका छौं। यसैले नै शायद विकास भएका छौं। र प्रत्येकपटक उपयुक्त सुर, ताल, लय, अर्थ, अभिप्राय, भाव दिन नसकेर फ्याँकिएका छौं- कविहरूका हातहरूबाट, मष्टाका हातहरूबाट । साटिएका छौं असफलतामा । अवहेलित छौं दुर्बलतामा । बेअर्थ छौं- ठानिएका छौं- विवशतामा । अर्थहीन छौं ठानिएका छौं- जीवनभर । ती जो अर्थयुक्त छन् र सफल पनि छन् – अरू कुराहरू पनि छन्-ती विज्ञापन-सेवाका ध्वनितरङ्गमा, छाया रूपमा व्याप्त छन् । समाचारका पङ्क्तिहरूमा क्रमबद्ध छन् र परेड खेलिरहेका छन्-लेफ्ट राइट । लेफ्ट राइट । लेफ्ट … लेफ्ट लेफ्ट… । लेफ्ट टर्न। राइट टर्न । क्वीक मार्च । प्रत्येक ठाउँ तिनलाई लेफ्ट टर्न छ । प्रत्येक ठाउँ तिनलाई राइट टर्न छ । ती प्रत्येक ठाउँ क्वीक मार्चमा छन् । अझै लङ मार्चमा छन् । पदमा, प्रतिष्ठामा, ईमानमा, योग्यतामा- कदाचित् अयोग्य भएरै पनि- समग्र जीवनमै । वागबजारका सुटमा ठाँटिएर, डिल्लीबजारका उकालाका सोफासेटमा ढल्केर जीवनलाई नै गरिमामय बनाइरहेका छन् । तिनको जिउनु नै जिउनु छ शायद। यिनै वागबजारहरू, यिनै डिल्लीबजारका उकालाहरू, जनकले हलो जोतेको धरतीले उमारेको गहुँका मैदाहरू, दश पैसामा विज्ञापित “राम, लक्ष्मण, जानकी र जय बोलो हनुमान् की” हरू, सिमरीबख्तियारपुरहरू, हम आपना दाँत फोरहन्स से… हा हा हरू, नेपालका विकास हुन् । सञ्चारमाध्यमका यिनै लयहरू (जिङ्ङ्गल्स) मा नेपालको विकास बाँच्छ ।

अब देशै विज्ञापन भएको छ। राजनीतिक, सामाजिक, आर्थिक जीवन विज्ञापन – प्रबल छ । देशै विज्ञापित छ । घोडाजस्तो हिनहिनाउने हर्स ट्रान्स परेन्ट साबुनझै, तेसई भन्नुस् … झै, खाएपछि सरासर पाइलट बनिने हर्लिक्सझैं । हाम्रो वर्तमान विज्ञापित छ । शायद यिनै विकास हुन् ।

यस्तै विकासको प्रमाणस्वरूप घन्कन्छ “ज्यादा खा लिया।” सुन्दैमा सुनिरहूँ लाग्ने । आनन्द लाग्ने। आवाज मात्र होइन। अर्थ, भाव पनि । यो गद्य-वर्तमान जीवनको भाषा, शैली र भावअनुकूल गतिशील र लयात्मक छ। सुनेर म आफैमा हराउँछु ।

नेपाल चवालिस वर्षे प्रौढ हुँदा कुनै एकजना मात्रले पनि “ज्यादा खा लिया” सकार्नु हाम्रो विकासको ठूलो प्रमाण हो । यसमा हामीले सन्तोष लिनुपर्छ । यही हाम्रो वर्तमान हो । यही मात्र विज्ञापन सुने पनि हामी सन् २००० मा पुगिसकेको लाग्छ । छौं लाग्छ । यसैका लागि नै सम्पूर्ण नेपाली आआफ्ना क्षेत्र, कुर्सीबाट प्रयासरत छौं। तपाईंहरू, अरूहरू । तर तपाईंहरूभन्दा म बढी । यो बिर्सन नहुने कुरो हो।

वागबजारमा सुट तयार हुनु नै विकास हो नेपालको । वागबजार आफै पनि सुटजस्तो छ। चाउचाउका पाकेटमा पाँच-पाँच, दश-दश रुपैयाँका नोट भेटाइनु पनि विकास हो । पुस्तौं पुस्ता कोदालाले हत्केलाभरि ठेला पारेर माटाका चपरी चपरी पल्टाउँदा पसिनामा
पौरेर पनि कहिल्यै पपाँच, ददश त के एकएक मात्रका पनि नोट नसीब नहुने हामीलाई चाउचाउमा पाँचपाँच, दशदश । यो विकास नभए के हुन्छ ? चाउचाउ खाऊ, नोट कमाऊ । यो पनि कविता भयो उत्कृष्ट । देवकोटाको “दाल भात डुकु” उत्कृष्ट कविता हुन्छ भने चाउचाउ खाऊ किन नहुनु ? यसैमा विकास पनि छ। शायद विकास यस्तै अनुप्रासमा बाँच्छ हिजोआज । सात सात पञ्चवर्षीय योजनाकार र अर्थशास्त्रीहरूलाई सलाम छ। उप्रान्त तपाईंहरू तथ्याङ्क र योजनाका तर्जुमाकार, व्याख्याकार, भाष्यकार- आठौँ, नवौ, दशौं, बिसौं, पचासौं, शयों, हजारौं पञ्चवर्षीय योजनाका रूपरेखा बनाउँदै जानोस् । छपाउँदै जानोस् । शुभकामना छ। हामीचाहिँ चाउचाउमा नोट खोज्दै छौं। सन्चै छौं।

मैले फेरि टाढैबाट रेडियोमा आवाज सुन्छु। उही।

“गये थे दावत खाने और चले आ रहे हो पेट पकडे ?”

“ज्यादा खा लिया ।” किन यो आवाज घाइते सिपाहीको आर्तनादजस्तो ? ज्यादा खाएपछि खानेहरूको खुसी शायद यस्तै हुन्छ। तर आफूलाई एकपटक पनि यस्तो अनुभव भएन । अवसरै आएन। आजसम्म आएकै छैन ।

यद्यपि यसको भाषा हिन्दी छ तापनि यसले भारतको होइन नेपालकै विकास देखाउँछ । हामीहरू नेपालीभन्दा धेरै हिन्दी बुझ्ने र बोल्ने र बोल्न मन पराउने हुनु नै हाम्रो विकास हो । काठमाडौंमा तपाईं एक दिन हिन्दी नबोलेर बाँच्नोस् त हेरौं। आउँछ आँट ? एक दिन मात्र। यसले पनि हाम्रो विकास देखाउँछ। र हाम्रो विकास यही ‘ज्यादा खा लिया’ कै नापाले नापिन्छ। जति ‘ज्यादा खा लिया’ त्यति विकास । देशले त्यसै भन्छ। ज्यादा खान पाउनेहरू त्यसै भन्छन् ।

यही “ज्यादा खा लिया” कै समस्याले पिरोलिँदा मार्क्सको द्वन्द्वात्मक भौतिकवादी दर्शन निस्क्यो । ट्राट्स्की, गोर्की, कडवेल, राल्फ फक्स, फिसर, चाऊ याङ आदिले यही मार्क्सवादी दर्शन-चिन्तनको सामाजिक, साहित्यिक र कलासम्बन्धी स्थापनाको व्याख्या गरे । विवेचना गरे। ठोकेर, बजाएर। रौं रौं चिरेर। गर्दै छन् अरूहरूले पनि। हैरान, हैरान। समस्या सुल्झेको होइन । समस्या सुल्झाउन न वार्साहरूले सके, न त नाटोहरूले सकेका छन् । समस्या समाधान गर्न ती बन्दूक थुपार्दै छन्। तपाईं नआत्तिनुहोस्, कुनै दिन तिनले तिनै बन्दूक तेर्स्याएर समस्या समाधान गर्छन् । तर आजसम्म त उत्तरदक्षिण वार्ताले पनि सकेको छैन। उत्तर उत्तर हो, दक्षिण दक्षिण। रुडयार्ड किप्लिङ बाँचेका भए यो पनि भन्थे। सत्य भन्थे । र फेरि नोबेल पुरस्कार लिन्थे । सबैलाई पिरोल्ने यस समस्याको समाधान रेडियो नेपाल विज्ञापनसेवाले सुझाउँछ “हमदर्द का पचनोल” दश पैसे गोली । देशको यथार्थ। ज्यादा खाइरहेका छन् । पचनोल खाइरहेका छन्। कुनै समस्या छैन।

“ज्यादा खा लिया” समस्याको समाधान पाएका भए मार्क्सले शय वर्षअघि नै द्वन्द्वात्मक पच्चनोलवाद प्रस्तुत गर्दा हुन् । र हाम्रो सामर्थ्य कुण्ठित हुन्थ्यो । अन्यत्रजस्तै यहाँ पनि हामी हेरेका हेन्यै हुन्थ्यौं। र उनको प्रसिद्धि पूँजी (क्यापिटल) यो त लेखिँदैनथ्यो-मा भन्दा पचनोल (यसको अङ्ग्रेजी बनाउने जिम्मा यहाँहरूलाई नै) मा नै हुन्थ्यो र मेरा विचारमा यो पनि नेपालमा भानुभक्तको रामायणझै पठनीय हुन्थ्यो । श्रेय प्रेय । आजका राम, लक्ष्मण, जानकीहरूलाई। हनुमान्, रावण र भरतहरूलाई। दुःखको कुरो, यस्तो हुन पाएन । संसारमा जन्म लिएपछि केही न केही त गर्नैपर्छ। र हामीले जे गर्दै छौं, त्यो हामीलाई नै थाहा छ। तर मार्क्सले चाहिँ नेपालीले झैँ परिवार नियोजनका अस्थायी साधनका विज्ञापन सुन्ने- मार्क्सका युगमा रेडियै थिएन शायद-र सन्तान जन्माउने काममा मात्र सन्तोष नगरेर द्वन्द्वात्मक भौतिकवादजस्तो कठिन दर्शन प्रतिपादन गरे। बसिबियाँलोझैं । जुन हामीजस्ताले मात्र होइन उनी आफैले पनि राम्ररी नबुझेरै मरे । तापनि हामीजस्ता अहम्मानीलाई बुझेको चश्मा ढल्काउने अवसर दिए। जे भए पनि उनीप्रति कृतज्ञ हुनुपर्छ हामी। मलाई यस्तो लागिरहन्छ सधैं ।

के तपाईंले यस्तो मिठो सुरिलो आवाज-मिठो नभए रेडियोबाट प्रसारित किन हुन्थ्यो ? -अन्यत्र कहीं सुन्नुभएको छ ?

*गये थे दावत खाने और चले आ रहे हो पेट पकडे ?”

“ज्यादा खा लिया”

“लो, हमदर्द की दो टिकिया खा लो। सब ठिक हो जाएगा।”

“हमदर्द का पचनोल ?”

यस ‘ज्यादा खा लिया” ले मलाई कुन्नि किन ज्यादा आकर्षित गर्छ। के अरूले ज्यादा खाँदा मैले आनन्द मानेर हेरिरहनुपर्छ ? सके यसले यसै भन्छ । के आजसम्म मैले अर्काका “ज्यादा खा लिया” मा आनन्द मानेको छैन र ? के म कहिल्यै पचनोल खानुनपर्ने नेपालीहरूको अधिकृत प्रतिनिधि हुँ ?

शायद हुँ। पचनोल खानुनपर्नेहरूको सन्तान ।

सन्तान- पचनोल खानुनपर्नेहरूको । हा… हा… हा।

०००
सगरमाथा एक पहाडकाे नाम हाेइन (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x