साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्तरीय रचनाको प्रश्न

मलाई दुःख छ, म तपाईंलाई स्तरीय हास्यव्यङ्ग्य निबन्ध त के स्तरीय गन्थन पठाउन पनि असमर्थ छु। वागेश्वरीले तपाईंको महान् तथा मेरो क्षुद्र र स्तरहीन आत्मालाई शान्ति दिऊन् ।

Nepal Telecom ad

चाेलेश्वर शर्मा :

प्रिय मित्र पशुपतिनाथज्यू,

तपाईंको रचना दिई सहयोग गर्ने विषयको पत्र पाएँ। रचनाका लागि अनुरोध र “रचना कार्तिक २५ सम्म पठाउनुहोला” को आदेश पनि। हार्दिक आभार। आदेश शिरोपर । ‘जनजागृति साहित्यिक परिषद्’ ले आगामी पौषमा प्रकाशित गर्ने ‘चिप्लेटी’ नामक मुखपत्रका लागि स्तरीय रचना माग्नुभएको रहेछ, त्यस परिषद्‌का सचिवका हैसियतले । वास्तवमा तपाईं पारखी हुनुहुँदो रहेछ, मचाहिं सचिवभन्दा निम्न स्तरका कुनै पनि व्यक्तिलाई र पशुलाई समेत रचना दिई सहयोग गर्दिनँ। सचिवै हुनुपर्छ, श्री ५ को सरकारका कुनै मन्त्रालयका सचिव वा गाउँ पञ्चायतका वा तपाईंजस्तै साहित्यिक परिषद्‌का। थोक रूपमा ट‌ङ्कित जुन पत्र तपाईले मलाई पठाउनुभयो, त्यो हेर्नासाथ मलाई कति विश्वास थियो भने त्यो अवश्य पनि स्तरीय रचनाका लागि नै हुनुपर्छ। सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) ले त्यस पत्रको लेखोट कुनै पुरातात्त्विक वस्तुझे हेरिसकेपछि त्यो विश्वास प्रमाणित भयो । मलाई यहाँनेर के स्पष्ट भयो भने स्तर भन्नु नबुझिने हुनु हो र जुन जति नबुझिने हुन्छ, त्यो त्यति स्तरीय हुन्छ – तपाईंको पत्रजस्तै ।

आज जहाँ सारा संसारले नै स्तरको कुरा गर्दै छ भने तपाईंले गर्न किन नहुनु ? र जनजागृतिका श्रेष्ठतम उद्देश्यका लागि स्तर किन नखोज्नू ? तर तपाईंले उल्लेख गर्नुभएन-आफ्नो मुखपत्रलाई कुन स्तरकाे रचना चाहनुहुन्छ ? कुन स्तरलाई स्तरीय ठान्नुहुन्छ ? जहाँ आज बजारमा आनन्दसँग बिक्ने कुहिएका आलु र मूलाका पनि स्तर छन्, चार्ली बुटपालिस र टायर सोल बूटका स्तर छन्, कालोबजार र कालाबजारियाका स्तर छन्, वेश्या र चरित्रवती स्त्री/युवतीका पनि स्तर छन्, हाकिम र अधिकृतका स्तर छन्, तिनका चरित्र र मनोरञ्जनका पनि स्तर छन्, सदाचार र भ्रष्टाचारका पनि स्तर छन्, मन्त्री र सचिवका स्तर छन्, तिनका केही नबुझिने हाउभाउ र जन्ममा, मृत्युमा, विकासमा, विनाशमा बिहान, दिउँसो, साँझ समान रूपले वातावरणमा बिलाउने भाषण र नीला, काला, राता, हरिया मसीयुक्त हस्ताक्षरका स्तर छन्, आश्वासन र “हुन्छ हुन्छ” का स्तर छन् भने तपाईंको पत्रिकाको किन नहुनु ? मुखपत्र भइसकेपछि त्यसको स्तर त भइहाल्छ। जस्तो, हरेक मुखको/अनुहारको स्तर हुन्छ। जस्तो, मान्छे हुनु नै प्राणीहरूको/पशुहरूको एक स्तर हो। अनि मान्छेमा पनि ए क्लास, बी क्लास, सी-क्याट-बिरालो क्लास, डी-डग – कुकुर क्लास पनि स्तर। त्यसैले तपाईंले स्तरीय रचना माग गर्नुभएको छ। तपाईं आफ्ना ठाउँमा ठिक हुनुहुन्छ ।

यसै स्वाभाविकताअनुरूप म विचारमग्न छु । जनजागृति विषयलाई कोट्याउँदै अलिकति शोषण, रगत, पसिना, भोक, सर्वहारा, बुर्जुआ, अत्याचार, सङ्घर्ष, क्रान्ति, मार्क्स र लेनिनजस्ता आठदश बहुप्रचलित शब्दहरूलाई ओल्टाई पल्टाई जनजागरणको बिगुल फुक्ने यथार्थवादी, प्रगतिशील रचना लेखूँ कि ? वा सोचमग्न छु: पत्रिका चिप्लेटी को नाउँसुहाउँदो र त्यसलाई प्रमुख महत्त्वको ठहरिने ‘केराको बोक्रो’ शीर्षकमा एक सार्थक हास्यव्यङ्ग्य निबन्ध लेखूँ ?

परिषद्‌को नाउँभन्दा मुखपत्रको शीर्षकअनुरूप केराका बोक्रातर्फ म आकृष्ट छु। केराका बोक्राको कुरा गर्दा पनि केरा नै अगाडि आउँछ। केरा नभई बोक्रो अवश्य भएन । केराको पनि मालभोग, फुस्रे, घिउ, रानी, हजारिया, मुङ्ग्रे (भानुभक्तको प्रिय) जहाजी, झत्री, मर्ची, हरीछाल आदिका रूपमा दुईचार पेजमा यसका स्तरको वर्णन गर्न सकिन्छ, विवेचनात्मक। सबै केरा एक ठान्नु प्रधानमन्त्री र प्रधानपञ्चलाई एकै ठान्नुझैं हो। वा सचिव र मुखियालाई मानिसै हुन् भन्नुजस्तो हो। वास्तवमा केराकाे बोक्राजस्तो सार्थक रचना चिप्लेटी’ का लागि अरू कुनै हुनेछैन। मुखपृष्ठमा पनि केराको कोसो राख्न सके झन् सुनमा सुगन्ध । यो तपाईंहरूकै काम। केरा राख्नुहोला वा तपाईं पनि केराप्रेमी हुनुहुन्छ भने केराको फल (गुदी) खाइसकेपछि बोक्रो मात्र राख्न सक्नुहुन्छ। बोक्राेसमेत खानुभयो भने बोक्रो पनि बाँकी रहन्न। त्यसैले अघिपछि केरा बोक्रैसित खाने गर्नुभएको भए पनि यसपटक पत्रिकाका लागि बोक्रो दिनुहोला मुखपृष्ठमा राख्न ।

सडक र हवाइ यातायातमा पनि केराका बोक्राको महत्त्वपूर्ण भूमिका छ। सोच्दै छु : यसबारे दुईचार पृष्ठ लेखूँ ।

हाम्रो जनजीवन र केराको अटूट सम्बन्ध छ। चिरकालदेखि नै हाम्रो समाज केराप्रेमी देखापरेको छ। तरकारीका रूपमा काँचो केरा जगत्प्रसिद्ध छ। अचारका लागि पनि । केराको फूल/बु‌ट्टो पनि अचार खाइन्छ। काँचो केरा पोलेर, उसिनेर स्वादिष्ट हुन्छ। दूध, दहीसँग पाकेका केराको सम्बन्ध र स्वाद यहाँ लेखेर वर्णन गर्न सकिन्न। खानैपर्छ। दाँत भएकालाई वा नभएकालाई, बूढालाई वा बालकलाई, तन्नेरी वा तरुनीलाई केरा पथ्य हो। केराका बोटको पानी र गड्‌यौलाको ठूलो आयुर्वेदिक महत्त्व छ। अनि केराका बोटका तन्तु/रेशाबाट विभिन्न वस्तु बनाइन्छन् । संसारका अनेक देशमा केरा प्रमुख राष्ट्रिय उत्पादन हो। संसारका धेरै देशमा केरा व्यवसायले करौडौले जीविकोपार्जन गर्छन् र यसकै माध्यमले कतिलाई चिप्ल्याउँछन् र आफू पनि चिप्लन्छन् । नेपाल र भारतमा कुहिएका केराको पनि ठूलो कदर हुने भएकाले यसबाट जीविकोपार्जन गर्ने र चिप्लनेको प्रतिशत अझै बढी छ। श्रद्धालुहरू व्रत-उपवासका दिन केराका स्वल्पाहारले स्वास्थ्य र पुण्य लाभ गर्छन् र बोक्राजति झ्यालबाट बाटामा हुर्याएर ‘चिप्लेटी मा सहयोग गर्दै आफ्नो परमार्थ लाभ गर्छन् । र दुईचारजनालाई परमधाम पुऱ्याउँछन्। कतिपय धार्मिक जनहरूले एकादशी वा यस्तै अन्य दिनमा केरा खानैका लागि व्रत-उपवास गर्छन्-त्यो यहाँ नलेखूँ । यसले तिनीहरूलाई र हामीलाई विश्वका अनेक हिन्दू धर्मावलम्बीहरूलाई चोट लाग्छ ।

वास्तवमा सबभन्दा महत्त्वपूर्ण पाकेको केरा, बोक्राचाहिँ ‘चिप्लेटी’ को प्रमुख आधार हो। संसारले हिउँमा चिप्लेटी (स्केटिङ/स्कीइड) केराका बोक्राका प्रारम्भिक अनुभवबाट सिकेको हो। यसैले ‘केराको बोक्रो’ निबन्ध सार्थक छ।

मुखपत्र ‘चिप्लेटी’ का मुखपृष्ठमा केराको बोक्रो राखेर प्रकाशित गर्नुभयो भने केराजस्तै बहुविध प्रयुक्त भएर जनजनका हातमा पुग्नेछ। पत्रिका पढे साहित्यको रस । नपढे ओछ्याएर चिउरा, चना, भुजा, बादाम खाए चिउरा, चना, भुजाकै रस । भुइँमा ओछ्याएर बसे धूलो-मैलोबाट सुरक्षा । आवश्यक परे गोल्याएर प्रहरीका बेते-लौरीझै नेपालगञ्जका स्थायी निवासी लामखुट्टे महाशयहरूलाई ठटाए पनि भयो । पसिनाका याममा पङ्खाको काम लिन पनि उपयुक्त। सबेरै आगो सल्काउनु परे पनि लौ सही । साहित्यिक पत्रपत्रिकाजति सजिलै आगो सल्काउन मिल्ने अरू कागज हुँदैनन् भन्छन् गृहिणीहरू । साहित्यलाई केराजस्तै ठानेर पढ्न रुचाउनेहरू र केरालाई साहित्यको झै स्वाद लिएर चपाउन चाहने सबैले तपाईंको पत्रिका किन्नेछन् । नबिकेर बाँकी रहे थोक रूपमा बेचिदिनोस् चना-बादाम बेच्नेलाई। यसरी ‘चिप्लेटी’ को पनि केराको झैँ बहुविध प्रयोग हुनसक्छ। र यही नै साहित्यिक पत्रिकाको समुचित उपयोग हो नेपालमा। यसैले म सोच्तै छु चिप्लेटी’ मा ‘केराको बोक्रो’ विषयक एक पूर्ण निबन्ध लेखूँ। पढ्नुअघि र पढिसकेपछि सबै लाटा-बाठाहरूले घुटुघुटु थूक निल्दै केरा हेरिरहून् मन्त्रमुग्ध । नपाउनेले पनि बोक्रैसित खाऊन् । र ‘चिप्लेटी’ ले केरा खाएजस्तै स्वाद देओस् ।

हामी नेपालीहरू वर्षोंसम्म सारा संसारले गरेको उन्नति-प्रवास लाटाले केरा हेरेझैँ हेरेर बसिरहन सक्ने छौं- बस्तै छौं। यसैबाट पनि ‘केराको बोक्रा’ को राष्ट्रिय सार्थकता पनि छ। यसको सार्थकता नै ‘चिप्लेटी’ को सफलता हो। हार्दिक बधाई। अग्रिम ।

जे होस्, तपाईंको जस्तो साहित्यिक परिषद्ले प्रकाशित गर्नु र मजस्तो लेखकले रचना लेख्नु त्यसै पनि महत्त्वपूर्ण हुन्छ। र श्री भगवान् पशुपतिनाथको कृपादृष्टि रहिरह्यो भने तपाईंको पत्रिका अरू दुईतीन अङ्क अझै निस्कनेछ। पीर नगर्नुहोस् । त्यसपछि तपाईं र म मिलेर नेपालगञ्जको त्रिभुवनचोक वा वागेश्वरीतिर एउटा रक्सीपसल र मासुपसल वा चियासमोसाको पसल खोलौंला । हाम्रो समाजमा जुन स्तर एउटी राम्री रक्सीपसल्नी वा त्यसकी युवती छोरीको छ/हुन्छ वा नेपाली भान्सामा बाख्रीको मासुको छ/हुन्छ वा चिया पसलको सातबासी चिया समोसाका छ/हुन्छ त्यो तपाईंहाम्रो ‘चिप्लेटी’ को कदापि छैन/हुन सक्तैन । तपाईंले लाख कोशिस गर्नुहोस् । सबै व्यर्थ छ।

तपाईंले आफ्नो मुखपत्रलाई स्तरीय रचना माग त गर्नुभयो तर त्यसमा पत्रम्पुष्पम्को व्यवस्था छछैन उल्लेख गर्नुभएन नि ? आज जहाँ सबै कुराको मोल छ, त्यहाँ स्तरीय रचनाको छैन र ? के तपाईंको सहयोगभित्र सबै अटाएको छ ? नत्र तपाईंजस्ता यस जगत्‌का सृष्टि, स्थिति र संहारकर्ता पशुपतिलाई थाहा त हुनैपर्ने हो रचनाकारको मर्का। के रचना लेख्न लेखकलाई कुनै परिश्रम पर्दैन ? पसिना बगाउनुपर्दैन ? रचना लेख्न एकदुई पेज कागज चाहिँदो हो। सुका-मोहर पेन्सिलमा पनि लाग्दो हो। तपाईंले यो बुझ्नुहुन्न र ? के रचना लेखकका लागि कुठाउँको पिलो पीडा हो जो कसैलाई दिएर नपठाउँदासम्म उसलाई चैन हुँदैन ? तपाईंले रचनाकारका श्रमलाई महत्त्व दिनुहुन्छ र कदर पनि गर्नुहुन्छ भने उसलाई एकदुई गैंडा वा च्याङ्ग्रै सही फ्याँकिदिनुहोला। रचनाका अनुरोधमा-पुनश्चः प्रकाशित रचनाका लागि पारिश्रमिकको व्यवस्था छ थप्नु मात्र त हो । दिनु-खानु त्यस्तै हो। एक पाए लाखबराबर छ लेखकलाई । त्यसपछि हेर्नुहोस् तपाईंको पत्रिकाको स्तर। नत्र तपाईंले ‘चिप्लेटी’ का माध्यमले जुन ‘जनजागृति’ फैलाउने अठोट गर्नुभएको छ, त्यसमा शत प्रतिशत चिप्लने आश‌ङ्का देखिन्छ । लेखकका रचना पारिश्रमिकविना सहयोगस्वरूप लिएर प्रकाशित गर्दै साहित्यसेवा र ‘जनजागृति’ को लक्ष्य लिनुभएको हाे भने आफ्नो परिषद्‌को नाउँ जनशोषण राखे हुन्छ। रिसानी माफ रहोस् । लेखकलाई एकदुई गैंडा वा च्या‌ङ्ग्रा फ्याँक्न सक्नुहुन्छ रचना स्तरीय हुन्छ। पत्रिका स्तरीय हुन्छ। खैरातमा स्तर कसरी रहला ?

समाज त्यस्तै छ । तपाईंको स्तर समाजले पनि त्यति बेला देख्छ जब तपाईं कसैसँग मागेर वा चोरेर भए पनि दश हजार पर्ने बेलायती ऊनको कोटमा उभिनुहुन्छ । मागेरै दुईचार हजार पर्ने जुत्ता बजार्दै त्रिभुवनचोकमा घुम्नुहुन्छ । पाँचसात हजार रुपैयाँ फीस तिरेर पढ्ने नर्सरी, के. जी., बोर्डिङ र निःशुल्क सरकारी प्रा. वि. का विद्यार्थीहरूको स्तर पढाइले हैन, प्यान्टले बनाएको छ । रेडियो नेपाल र बी. बी. सी. को अन्तर यस्तै स्तरले बनाएको हो। तपाईंले जति मूल्य खर्चनुहुन्छ, त्यो त्यति स्तरीय हुन्छ । चुरोट नखानेमा देउराली नै भए पनि खाने स्तरीय हुन्छ। कम्तीमा उसले दश पैसाको धूवाँ त उडाइरहेछ । त्यसभन्दा स्तरीय क्रमशः गैंडा, याक वा पाँच सय पचपन्न। मोलमा स्तर छ। नेपाली चिनीभन्दा समुद्रपारबाट आएको ग्लुकोज चिनी स्तरीय छ। र नै कालोबजारमा बिक्छ बढी मोलमा । दाङ, बाँके र नवलपुरका मैदानमा उब्जने शुद्ध तोरीको तेलभन्दा भटमासको तेल स्तरीय हुन्छ। आलस, डिजेल-मोबिल मिसिएको भए उच्चस्तरीय । जुम्लाका स्याउभन्दा दिनको शयपटक गन्हाउने टालो/कपडाले पुछेर बेचिने भारतीय स्याउ स्तरीय । नेपाली बोलेर किनिने/पाइनेभन्दा इन्द्रचोक वा त्रिभुवनचोकमा अङ्ग्रेजी बोलेर किनिने/पाइने माल स्तरीय ।

तपाईंको जस्तो श्रेष्ठतम साहित्यिक परिषदद्वारा श्रेष्ठतम – आज नभए भोलि अवश्य हुन्छ- चिप्लने गुण भएको मुखपत्र ‘चिप्लेटी’ ले मजस्ता हास्यव्यङ्ग्य लेखकका रचना प्रकाशित गर्दा स्तरको कुरा गरिरहनै पर्दैनथ्यो। जे छापिन्छ, त्यो स्तरीय हुन्छ । परिवार नियोजनका ढाल, गुलाफ, नीलोकन र प्यान्थरजस्ता विज्ञापनदेखि पत्रिकाका मृत्युका खबर (डेथ कलम) र हराएका सदस्यका सम्बन्धमा आफन्तले पोखेका भावनाका लहर (एगनी कलम) सबै स्तरीय छन् भने साहित्य नहोस् ? साहित्य कहिल्यै स्तरहीन हुन्छ र ? स्तरीय रचनाका कुरा गर्दागर्दै तपाईंजस्तै सचिवहरूले, तपाइँका जस्तै साहित्यिक परिषद्हरूले, सङ्घ-संस्थाहरूले खैरातमा रचना लिएर जेजस्ता प्रकाशित गरिरहेछन् ती सब स्तरीय छैनन् ? मलाई लाग्छ, तपाईंसँग पनि स्तरीयता नाप्ने कुनै प्रामाणिक र सर्वमान्य नाप त छैन। त्यसैले चुपचाप छाप्नुहोस्। जे छापिन्छ, त्यो स्तरीय हुन्छ। जे छाप्तै हुनुहुन्छ, साहित्य सम्झेर छाप्नुहोस्। तँ चिता, म पुऱ्याउँला। पशुपतिले चिताए पशुपतिले पुऱ्याउँछन् । साहित्य भइसकेपछि सधै स्तरीय हुन्छ। हैन, तपाईं अझै पनि खैरातमा साहित्यमा स्तर खोज्नुहुन्छ भने साहित्य छोडेर नेपालगञ्जका त्रिभुवनचोक वा वागेश्वरीजस्ता इलाका रोजेर तरकारी वा मासु वा जुत्ता वा चियासमोसा वा रक्सी अथवा गगनगञ्जमा भव्य होटल खोलेर मनोरञ्जनका व्यवसायमा लाग्नुहोस् । तपाईंसँग धन हुन्छ। तपाईंको मान हुन्छ, सम्मान हुन्छ र स्तर हुन्छ। त्यस बेला तपाईंले हकारेर कसैलाई बोलाउनुभए पनि स्तरीय र लालित्यपूर्ण साहित्य रचना हुन्छ। तपाईंको हस्ताक्षर पनि महान् काव्य हुन्छ । निद्राको घुराइ पनि कविता पाठ ।

तर देख्नुभएकै छ समाजलाई। साहित्यमा पैसा छैन, मान छैन, इज्जत छैन। त्यसैले त्यसमा आस्था पनि छैन । विश्वास पनि छैन। जहाँ पैसा छैन, त्यहाँ स्तर छैन। भोको मानिसको कुनै स्तर हुँदैन। मैले कहीं देखेको छैन। अनि भोको लेखकको कुन स्तर हुन्छ र म खोजूँ ? तपाईंलाई दिऊँ ? तापनि तपाईंलाई म विद्वान् देख्छु जो वर्तमानमा मूर्खहरू मात्र हिँड्ने ठानिएको साहित्यका बाटामा दायाँ बायाँ नहेरी जनजागरणको श्रेष्ठतम लक्ष्यसहित लाग्न सुरिनुभएको छ। मलाई दुःख छ, म तपाईंलाई स्तरीय हास्यव्यङ्ग्य निबन्ध त के स्तरीय गन्थन पठाउन पनि असमर्थ छु। वागेश्वरीले तपाईंको महान् तथा मेरो क्षुद्र र स्तरहीन आत्मालाई शान्ति दिऊन् ।

तपाईंको
चोलेश्वर शर्मा

०००
सगरमाथा एक पहाडको नाम होइन (२०६९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x