साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो गाउँको नाउँ छैन

निरन्तर नेपाली माटो र पानी जस्तै मेरो गाउँले बिदेशिए पनि गाउँ रित्तो, जनशून्य, निर्जन हुने कुरै छैन। आबाद छ। आफूबीच भगीरथ जन्मने विश्वास पालेर गाउँलेहरू बाँचेका छन्। गाउँलेहरुको विश्वास त विदेशिएको छैन।

Nepal Telecom ad

चाेलेश्वर शर्मा :

अनाम ! मेरो गाउँको कुनै नाउँ छैन। यो वल्लो गाउँदेखि पल्लो हो। पल्लो गाउँदेखि वल्लो। तल्लो गाउँदेखि माथिल्लो । माथिल्लोदेखि तल्लो। नाउँ नभए पनि गाउँ छ। यो गाउँ छिमेकी नगरबाट टाढा भए पनि नक्सा र सरकारी लेखापढीका आवश्यकतामा नजीक छ तर न्यूनतम सुविधाबाट सधैं वञ्चित, सधैं टाढा ।

घरहरू नै गाउँ हो । यस्तै एक-दुई हजार घर टेढामढा उभिएर बजार नगर / शहर हुन्छ नेपालमा। अरू केही हुनुपर्दैन। मेरो गाउँमा साना ठूला पचास घर हुनन् । प्रत्येक पाँच घरमा तीन घर बन्द छन्। अथवा तिनमा सिट्टो व्यक्ति छ जो आपनो जीवनको उपलव्धि आधा समय कसैलाई कोसेर र आधा झोंक्राएर /निदाएर मूल्याङ्कन गरिरहन्छ । तर विगतको मूल्याङ्कन गरेको हो वा बाँच्न बाँकी दिन गनेको हो उसैलाई थाहा होला। अधिकांश घरका व्यक्ति हङकङ / वम्बई/कलकत्ता / दिल्ली / काठमाडौं अथवा यिनैका नाउँमा भारत नेपालको कुनै ठाउँमा दिन गुजारिरहेका छन् । अरू घरहरू गुल्जार छन् । तर गाउँ झैं गाउँलेको पनि नाउँ छैन । गाउँ झैं गाउँले पनि यति अविकसित छन् भनिसाध्य छैन । तिनका नाउँ कतै पुरुषार्थ/पुरस्कारका काममा वा सुन/लागु औषधि/काठ/युवतीका निकासीमा पैठारीमा समेत कहिल्यै सुनिन्न ।

कृषि नितान्त उपेक्षित भए पनि नेपाल कृषिप्रधान कहलिन नछोडेजस्तै मेरो गाउँ पनि कृषिप्रधान छ । देश कृषिप्रधान भएपछि मेरो यो सानो गाउँ नहुनु प्रधानताको अवहेलना हुने । नत्र यसलाई कृषि कर्मसँग टाढाको पनि नातो रहन छोडेजस्तो छ। गाउँलेहरूले कसरी काम नगर्ने हो भन्ने राम्ररी जानेका छन् । तिनले ‘कृषिप्रधान’ को उच्चारण ‘कुर्सीप्रधान’ गर्छन्। दुई-चार घरमा केही कुखुरा छन् र कुखुराहरूले नै कृषिप्रधानताको धर्म थामिदिएका छन्। कुनै दिन पन्जाव, हरियाणाबाट आएर उसिनिएका/अम्लेट बनाइएका फुलले पनि गाउँको कृषिप्रधानता थामिदिनेछन्- मलाई विश्वास छ । गाउँका सबै मानिस किसानका सन्तान छन् । गाउँमा खेतीलायक जग्गा पनि छ । निश्चय नै, जग्गा नभए गाउँ खालि कागजमा रहन्थ्यो । त्यसो त धेरै कुरा कागजमै रहेर पनि हामीले चित्त बुझाएका छौं ।

गाउँको कृषियोग्य भूमि सबै बाँझो रहन्छ सगौरव । र त्यसको अधिकाश कृषककै सन्तानद्वारा फुटवल, क्रिकेट वा अन्य क्रीडा-मनोरञ्जनमा उपयोग हुन्छ । घरसँगै वा टाढा गोठ पनि छन् । तर धेरैजसो गोठ पनि खाली छन् । दुई-चारमा कुखुरा-पालन गरिएको छ । र कुनै कुनै गोठमा स्यालहरूले गोष्ठी-मन्त्रणा गरेर कुखुरामाथि आक्रमणका व्यूहरचना गर्छन् । धेरै स्यालहरू योजना मात्रमाभन्दा कार्यमा विश्वास राख्छन् र गोष्ठीका अमूल्य विचार-योजना त्यसै साँझ कुखुरामा उतार्छन्। यसले पनि गाउँलेलाई फाइदा भएकाे छ । गाउँलेहरु त्यति चलाख भएका छन् जति कुनै पनि स्कूल-क्याम्पसमा पढेर भइँदैन आजभोलि । तिनैमा यदाकदा छिमेकको जङ्गलबाट काजमा खटिई आएका चितुवा, वाघले पनि प्रमुख अतिथिका रूपले गाउँका ससाना जन्तु जलपान वा खाजा-स्वरूप ग्रहण गरी मेरो गाउँलाई आतिथ्यको अवसर दिन्छन् । तर आजसम्म कुनै चितुवा-वाघले कृतज्ञता प्रकट गर्दै गाउँलेसँग हात मिलाएको थाहा छैन । एक-दुई पटक गाउँलेले मैत्रीमा बढाएको हात चितुवा-वाघले अझै फिर्ता दिएका छैनन् ।

गाउँलेलाई गाई-भैंसी पाल्न फुर्सत् छैन । विशुद्ध दूद्ध-घ्यू ती गाउँले कसैलाई पच्दैन । पन्ध्र-वीस प्रतिशत दूध वा आठ-दश प्रतिशत रक्सी अल्कोहल। मिसाएको पानीसम्म भगवान् श्री पशुपतिनाथका असीम कृपाले सञ्चै पचाउदै छन् । दुखले गाई-भैंसी पाल्नु र गोरस खाएर पैदल हिंड्‌नुभन्दा गाईभैंसी र अझै घरखेत समेत बेचेर रक्सी खानु र मोटरसाइकल चढ्नु बुद्धिमानी/ प्रतिष्ठा ठहरिन्छ मेरो गाउँमा। मलका रूपमा गोबरको प्रयोग गरेर परम्परागत/अविकसित हुन पनि रुचाउन्नन् यिनले । गोठमा गोबर पनि छैन । गोठ र तिनका वरिपरिका क्षेत्रको पुरातात्त्विक अध्ययन गर्दा सिन्धुघाटीका सभ्यताको प्रारम्भभन्दा केही पछिसम्म मेरा गाउँलेले पशुपालन गर्थे भन्ने कुरा प्रमाणित भएको छ । त्यसैको परिणाम अझ तिनले टाढैबाट गाईभैंसी चिन्छन् । कुकुरलाई गाई वा भैंसी वा घोडा नै पनि भन्ने भूल गरेका छैनन् ।

गाउँको हावापानी राम्रो छ । गाउँबाट दक्षिणमा महाभारतको लेक देखिन्छ । तर उत्तरमा हिमाल देखिन्न । केही देखिनु नदेखिनुले गाउँलाई केही फरक पर्दैन। जस्तो भए पनि राम्रै छ। कुनै नाइनास्ति छैन। पानीका सम्बन्धमा गाउँ भाग्यमानी छ । कुनै समस्या छैन । धारा-कुवामा पानी लिन, भर्न जाँदा आउँदा पानीको अनिवार्यता र अरू कुराको पनि चर्चा चिन्तन गर्न पर्याप्त समय पाइन्छ। गाउँलेहरू त्यस बेला पानी/जीवन/धन/मन/सन्तान/प्रेम/विवाह जे मन लाग्छ चर्चा गर्छन् । चर्चा पानी वाहेक जेसुकैमा गरियोस् पानी मिसाएर गरिन्छ । जलस्रोतको धनी देशमा यति सुविधा त हुनै पर्यो । सबै कुरामा पानी मिसाउनु देशको खास विशेषता भएको छ । दूध पन्यालो, पैसा पन्यालो, कुरा पन्यालो, सेवा पन्यालो, इमान पन्यालो, प्रेम पन्यालो, नीति पन्यालो । राजनीति पन्यालो, धर्म पन्यालाे, दर्शन पन्यालो । धारामा बाहेक सबै ठाउँ पानी प्रचुर प्रवाहित छ । अब नेपाली नसानसामा पनि रगतभन्दा पानी नै बग्न रुचाउँछ। बगेकै पनि छ। प्रायः किशोर-किशोरी धारा-कुवाबाट पानी भरेर घर फर्कंदा तिनमा शारीरिक परिवर्तन पनि देखा पर्ने गरेका छन् । किशोरका दाह्री जुँगा र किशोरीका वक्ष-नितम्बबाट ती परिवर्तन स्पष्ट देखिन्छन् । धारा-कुवाको जे जस्तो स्थिति छ त्यसले तिनलाई अब चलनचल्तीका धारा-कुवा भन्नुभन्दा पुरातात्त्विक महत्त्वका वस्तु, स्थल घोषित गरिनु बढी उपयुक्त हुन्छ । धारा-पानीका यी नमूनाले एक सय वर्ष काटिसकेका पनि छन् ।

हरियो वनलाई सर्वसम्मत रूपबाट नेपालको धन मानिएकाले वनको सरक्षणमा दत्तचित्त गाउँलेहरूले तमाम वन फाँडेर वैङ्कमा धन रोपेका छन् र बन चाहि वैङ्कका खाताहरूमा झाँगिदै गएका कुरा पासबुकहरूले देखाउँछन् । अब गाउँमा कुनै पनि गाउँलेको दृष्टिपथ कुनै पनि रूखले छेक्दैन । छेक्ने डर छैन । दूरदर्शी भएका छन् ती । मानिस भएपछि दूरदर्शी हुनै पर्छ । यसवारे गाउँले एकमत छन् ।भग्नावशेषले, खण्डहरले महल-भवनका भव्यताको अनुमान गर्न सकिएझैं मेरो गाउँका बाटाघाटा/पानी/स्कूलका शिलान्यास / उद्घाटनका लेखोटहरू हेरिसकेपछि यस ठाउँमा विकास धेरै पटक आवतजावत गरिसकेको अनुमान गर्न सकिन्छ ।

गाउँलेहरूले खेतवारीमा सफलताका साथ काँस-सिरू उमार्छन् । र बाँकी समयमा नेपाली सबैले गरेझैं विकासका कुरा गर्छन् । हुन पनि तिनका शरीरका हाडका टुक्राटुक्राले विकास बोलिरहेका हुन्छन् । तर पनि शायद विकासको अर्थ तिनी आफैलाई थाहा छैन । तिनले दिन पनि पर्याप्त नछिप्पिदै रात परेको ठानेर रक्सी वा छिप्पिएको जाँड खान्छन् । र जाँड-रक्सीले छोडिसकेपछि नजीकैको एस्प्रिन अस्पताल जान्छन् । दुई-चार जना नछोड्‌दै पनि जान्छन् र अस्पताललाई अङ्ग्रेजी सुनाउँछन् धाराप्रवाह । तिनले खाएको रक्सी र बोलेको अङ्ग्रेजी पनि गाउँमै बनेका हुन् । रक्सी खाएका बेला तिनको श्वासक्षेत्रभित्र पर्ने सबै अर्द्धवेहोश हुन्छन् भने तिनको अङ्ग्रेजी जसले सुन्छ त्यो प्रायः वेहोश हुन्छ, जतिसुकै टाढा बसेको होस् । यसबाट गाउँका रक्सी र अङ्ग्रेजी दुवै सक्कली हुन् भन्ने प्रमाणित हुन्छ । तिनलाई रक्सी-जाँडले छोड्दा अङ्ग्रेजीले पनि छोड्छ । यो निकै गम्भीर कुरो हो । मलाई लाग्छ नेपालमा अङ्ग्रेजी भाषाको खास समस्या पनि यही हो गाउँको, शहरको ।

खेलकूदमा मेरो गाउँ होनहार छ। बाबुआमाले खेतीपातीतिर मन नलगाएपछि बाँझिएका जग्गामा ती गाउँलेहरू क्रिकेट खेल्छन् । फुटबल खेल्छन् । तिनले इमरान /गावस्कर/पेले/मेराडोना हुने सपना पालेका छन् । नेपालमा जन्मनु र पनि मेराडोना / इमरान हुने सपना पाल्नु तिनको विशेषता हो । नेपालका विशेष गरी बजार, नगर, शहर र यिनका सक्रमणक्षेत्रका किशोर-किशोरी यस महत्त्वाका‌ङ्क्षाबाट पीडित छन् तापनि तिनलाई हेरेर कुनै पनि गाउँलेले गर्व गर्न सक्तछ । सुकिला लुगा, फुटबल/क्रिकेट/फिलिमको गफ र चम्किला जुत्ता मात्र तिनका दृष्टिमा मान्छे हुनुको अर्थ हो ।

जुन बेला बाहिरका मान्छे बाटाघाटाको हावापानीको कटु वचनको असुविधाको चिन्ता नगरी हात जोडेर नम्रता र दाँत जोडेर निर्लज्जता प्रकट गर्दै नौनीका/व्वाँसाका प्रतिमूर्ति बनेर आउँछन् त्यस बेला गाउँलेले चुनाउ भन्ने महामारीले गाउँमा प्रवेश गरेछ भने थाहा पाउछन् र तिनले आफसँग बाँकी रहेको बारे पनि इमान/धर्म/विवेक त्यसै गरी सुकाउँछन् जसरी चीनको आक्रमणबाट आतङ्कित कुख्नाले आपना चल्लाहरू लुकाउँछ । मेरो गाउँ शहर जङ्गल दुवैतर्फबाट आडित छ। यम महामारीविरुद्ध आजका गाउँलेले देखावटी प्रदर्शनको नाटकको खोप लिइसकेकोले यसले गाउँमा कुनै नोक्सान गर्दैन । धेरथोर जाँड-रक्सी/भात-तरकारी आदि-इत्यादि चाहिं गाउँलेले चुनाउ नाउँको दशाैं ग्रहका नाउँमा चढाउँछन् । त्यस बेला गाउँ रङ्गमञ्च झैं लाग्छ। ग्रामीण वातावरण नाटकीय हुन्छ ।

आगन्तुक उम्मेदवार नेता नायक झैं, विदूषक झैं गाउँलेहरू सारा अन्य पात्र । ती विदूषकहरूले गाउँको पानी/बाटो/कृषि/स्वास्थ्य / शिक्षा/कुखुरा रक्सी/युवतीहरूका विषयमा साढ़े चिन्ता गर्छन् । थोरैले पछिल्लामा विशेष जोड दिएको पनि देखिन्छ । यसअघि गाउँमा विकासको कुनै काम पनि नभएको घोषणा गर्दै ती आफू प्रत्येक गाउँलेका अगाडि पग्लेको नौनी भएर भुईंमा पोखिन्छन् । दाँत जोडेर हाँसिरहन्छन् । तिनले हात जोडे दाँत र दाँत जोडे हात जोडेजस्तो देखिन्छ । केही समयदेखि नयाँ चलन देखा परेको छ । आफूलाई एकमात्र साँचो, निस्स्वार्थ जनप्रतिनिधि ठान्ने अनेक स्वयम्भू राजनीति / सामाजिक कार्यकर्ता सेवक/उद्धारकको नयाँ मोडेलको एक थान मकुण्डो गोजीमा राखेर गाउँ पस्छन् र गाउँलेसँग भेट गर्नुअघि गोजीबाट मकुण्डो झिकेर धारण गर्छन् । जब तिनीहरूले गाउँलेको दुःख र कष्टपूर्ण जीवनको स्मरण दिलाउदै रूस चीन अमेरिका बेलायतका जनताको उदाहरण दिईदिई धाराप्रवाह बाेल्छन् त्यस वेला मात्र गाउँलेलाई आफू गरीव, दुःखी भएझै लाग्छ। अघिपछि होइन ।

प्रत्येक चुनाउका बेला गाउँ जाग्छ। जस्तो नेपालको चलन छ, मेरा गाउँलेहरूले पनि उम्मेदवार प्रतिनिधि/नेताछाप व्यक्तिसंग बसेर प्रेमपूर्वक रक्सी खान्छन् । रक्सी त के कुरा कसैले प्रेमपूर्वक सित्तैमा खुवाउँछन् भने विष पनि खान्छन् जसले तिनलाई रक्सीका साथ भेट्छ त्यति वेला ती रक्सीको गिलास छोएर किरिया खान्छन्- ‘भोट तपाईलाई नै दिन्छु ।’ त्यस बेला तिनको अनुहारका चिराहरूमा ‘कागजका चिक्रटामा एक-दुई ठप्पा लगाउन केको कचकच जति ठप्पा लगाए पनि हामीलाई के फरक पर्छ र ?’ टासिएझैं लाग्छ । टीभी स्क्रिनमा आउने कुनै विज्ञापन भै । तिनले चुनाउका दिन रक्सीले सन्चै राखे सबैलाई आफ्नो भोट दिन्छन् । कसैको चित्त दुखाउन्नन् । थोरै रक्सीले छोएपछि मेरा गाउँलेहरू दयालु हुन्छन् । तिनलाई र तिनका घैँटालाई भगवान्‌ले चिरञ्जीवी बनाऊन् ।

गाउँका युवक-युवती पर्याप्त जागरूक भएका छन् । तिनले पचासौं जोर सर्ट, सयौं जोर स्कर्ट र तीसौं जोर जुत्ता राख्छन् । दिनमा छब्बीस घण्टा फिलिम र फोटाका कुरा गर्छन्। प्यान्टको मोहरी सुकाउँछन्, फुकाउँछन् । स्कर्टहरू छोट्याउँछन् । कति खुम्च्याउँदा सुती ज्याकेट मियामी भाइस (Miami Vice) को डन् जन्सन (Don Johnson) को जस्तो हुन्छ, खुम्च्याउँछन् । युवतीहरू कानमा चाँदी (Oxidised Silver) का पानका पातका आकारका जालीदार इर्यारिड र गलामा मसिनो सिक्री लगाएर झल्काउँछन् र त्यससँगै हातमा चौडा जालीदार कडा लगाउँछन् । केश फिंजाउँछन्, स्याहार्छन् । वक्ष नितम्ब कस्छन्, फुकाउँछन् । त्यसैमा तिनका कला साहित्य संस्कृति छ । चिन्तन मनन छ । जीवन/मरण छ। तिनका प्यान्ट माइकल ज्याक्सन्। Michael Jackson) का झैं गोलीगाँठाभन्दा दुई-चार इन्त्र माथि नै बस्छन्। कमेजभित्र गन्जी त्यस्तै र त्यसे गरी लाउँछन् जस्तो जसरी सिल्भेस्टर स्टालोन् । Sylvester Stallone । ले लगाउँछ ।

तिनलाई सौम्य रङ्ग मन पर्दैन । भड्किला चहक रङ्गमा तिनको विशेष रुचि छ- नीलो, रातो, हरियो, पहेंलो । तिनले लगाएका लुगा एउटै कीलामा टङ्चाएका पाल ( Conical Bell tent) जस्ता लाग्छन् । लुगा कम । लुगाका रङ्ग-बनोट जे जस्ता भए पनि युवक-युवती सबैले छाती/वक्ष खोल्ने तरीका एउटै हुन्छ, कलात्मक । यथार्थमा ती मान्छे कम प्रदर्शनी अधिक लाग्छन् । पूरा शरीरमा पूरा एक प्रदर्शनी । केश एक मण्डप । मुखमण्डल एक। घाँटी गर्धन । रङ्ग-रोगन र पुछपाछ । हातका औंला, नड औंठीहरू/छाती/बक्ष/पेट/पीठ/जाँघ/नितम्ब खुट्टा । एक एक मण्डप । क्यासेट बजेजस्ता प्रदर्शनीको सङ्गीत। आधुनिक । तिनले सगरमाथाको उचाइ, फेवा र राराको गहिराइ, छहराहरूको ध्वि, डाँफे-मुनालको रङ्ग र हरियो वनको दन्त्यकथामा प्रेम र पानी छर्केर माइकल ज्याक्सन वा मेडोना (Madonna) शैलीमा गाउँछन्- लाइक अ भर्जिन ( Like a virgin)। सुनेपछि हार्दिक प्रसन्नता हुन्छ मलाई । तिनीहरू जे जस्तो ढङ्गमा चिच्याए पनि तिनलाई गीत भन्ने चलन आम छ । देशको युवावर्गको मूलप्रवाहमा तिनीहरू पनि प्रवाहित छन् । जब तिनीहरू हिंड्छन् प्रदर्शनीस्थल नै हिंडेजस्तो लाग्छ । गतिशील, सङ्गीतमय । आई एम् नट् अ विग् डील् (I am not a big deal) टा रा रा टर रम् टर रम् रम् ।

जुन भित्तामा बाबु-बाजेले मकैका झुत्ता/धानका बालाका कलात्मक पुतली/खुर्सानीका माला/लसुन-प्याजका मूठा/कर्कलाका चुल्ठा/लुगाफाटा वा त्यस्तै केही झुन्ड्याउँथे तिनैमा तिनले श्रीदेवी/मिथुन/कपिल/गावस्कर /म्याराडोना/पेले/मेडोना झुन्ड्याउँछन् । र घिरौंलाका झिक्रा ठडिने खेतबारीमा टीभीका झिक्रा । र घरका जुन द्वारमा/भित्तामा/पूजास्थानमा वाबुबाजेहरूले श्रीगणेशायनमः / ऋद्धिसिद्धि शुभलाभ गौरीशङ्कर/ ०/स्वस्तिक वा त्यस्तै केही लेख्ये, यिनमा लभ् इज् गड् (Love is God), लभ् इज् लाइफ (Love is life ), लभ् (Love) लेख्छन् । तिनले पढेजतिमा सम्झेका अङ्ग्रेजी यति हो तापनि जीवनको सार सम्झेका छन् । सुखी जीवन जिउन धेरै अङ्ग्रेजी जान्नैपर्छ भन्नेहरूलाई यी प्रश्न भएका छन् । यथार्थमा प्रेम बुझ्नु नै ससार बुझ्नु हो । गाउँले परम्परागत युगकै प्रेम-सम्बन्धमा विश्वास राख्दछ । लुकीचोरी प्रेम गर्ने तर सबैलाई थाहा हुने प्राचीन नियममा गाउँले विश्वास राख्छन् । त्यसैमा सन्तुष्ट पनि छन् ।

मेरो गाउँ साधारण छ । कते अस्वाभाविकता देखा पर्दैन । गाउँमा हिजो जसरी सूर्योदय भयो आज जस्तै गरी भयो । उस्तै रुपमा ऋतुहरुका परिवर्तन भएको छ हुन्छ । बसन्त उस्तै सिगारिएर आउँछ र शिशिर उस्तै नाङ्गिएर जान्छ । ग्रीष्म उस्तै तात्छ । वर्षा वसन्त र शरद फुल्छ । हेमन्त कठ्याङ्ग्रिन्छ। उस्ते उस्तै । गाउँका दई-चार अम्बाका बोट र युवतीमा त्यत्तिकै समयमा फल लाग्छन् र त्यत्तिकै असमयमा टिपिन्छन् जति समयमा अघिका अम्बा र युवतीमा पनि लाग्थे र टिपिन्थे । किशोर-किशोरीहरू युवक-युवतीहरू त्यसै गरी प्रेमको उधारो नगद लेनदेनमा अति मस्त हुन्छन् जसरी हिजो हाम्रा तिनका बाबुबाजेहरू हुन्थे । हिजो बाबु-बाजेहरूले गोविन्द भज्थे । आज गोविन्दा भज्छन् तिनीहरू । बाबु-बाजेहरूले जुन काम अङ्ग्रेजी उच्चारण नजानेरे, नगरेरै प्रेम ठहऱ्याए हुरुक्क हुँदै गरे तिनै काम अड्ग्रेजीका तोप पड्काएर र फिल्मी गीतले वातावरण भत्काएर हुन्छन् । र परिणाम त्यही हुन्छ जो बाबु-बाजेका पालामा हुन्थ्यो । युवती स्त्री/सुन्दरीहरूले सन्तान जन्माउन आज पनि त्यति नै समय लगाउँछन् जति यिनका अगाडिकाले लगाउँथे । सके यति नै समय किराँत मल्लकालमा पनि लाग्थ्यो। केही परिवर्तन छैन ।

गाउँ प्यान्टका मोहरी सुकाइरहेछ, फुकाइरहेछ, स्कर्टहरू छोट्याइरहेछ-छोट्याइरहेछ । इरिङ झुलाइरहेछ । हातका कडा घुमाइरहेछ । भित्ताभरी बुस स्प्रिङ्गस्टिन (Bruce Springsteen) र म्याडोना (Madonna) उभ्याएर सङ्गीत उफारिरहेछ । गाउँ क्रिकेट खेलिरहेछ। गाउँ फुटवल भलिवल अङ्ग्रेजी उफारि रहेछ। उफ्रिरहेछ । गाउँ आपनै बाँझा खेत र चौरहरूमा दौडिरहेछ। गाउँ गफमा बसिरहेछ । जाँड-रक्सी बनाइरहेछ । खाइरहेछ। झगडा गरिरहेको छ। प्रेम गरिरहेको छ । सन्तान जन्माइरहेको छ । हाँसिरहेको छ । सन्तान नजन्माएर रोइरहेको छ । भगवान् सम्झिरहेको छ । गाली गरिरहेको छ ।

तर गाउँ नै हराउँदै छ भन्ने ठान्नु झूठो हुनेछ । गाउँ हराउने कुरै छैन। गाउँको धरती त उर्वर छ । गाउँले पनि त्यत्तिकै उर्वर छन्। निरन्तर नेपाली माटो र पानी जस्तै मेरो गाउँले बिदेशिए पनि गाउँ रित्तो, जनशून्य, निर्जन हुने कुरै छैन। आबाद छ। आफूबीच भगीरथ जन्मने विश्वास पालेर गाउँलेहरू बाँचेका छन्। गाउँलेहरुको विश्वास त विदेशिएको छैन। विश्वास छ बाँझा खेतबारी, अम्बाका रित्ता बोट र युवतीका ओठमा रससञ्चार हुनेछ । विश्वासमा नै संसार बाँच्छ ।

गाउँमा कुखुराहरू बासिरहेका छन् । दिनहरू उदाइरहेका छन् । स्यालहरू कराइरहेका छन् । दिनहरू अस्ताइरहेका छन् । यो साधारण छ । यसका सबै कुरा साधारण साधारण छन् । बाँझा बारी, सुख्खा खेत, अम्बाका रित्ता बोट, युवतीका फिका हाँसो, सुख्खा धारा पानी सपना विपना र मानिस । साधारण साधारण । अनाम अनाम। मानिस अनाम । गाउँ अनाम ।

यस गाउँको गीत कसैले गाउँदैन । मेरो गाउँको नाउँ छैन ।

०००
आधुनिक नेपाली हास्यव्यङ्ग्य (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x